नेपाल तीन दशकयता २०४६ को आन्दोलन, सशस्त्र युद्ध र त्यसपछिको राजनीतिक रूपान्तरण, २०७२ को विनाशकारी भूकम्प, कोरोना महामारी र हालैको जेन-जी आन्दोलनजस्ता घटनाक्रमले देशको राजनीतिक वा भौतिक संरचनामा मात्र क्षति पुयाएका छैनन्, सम्पूर्ण नेपाली समाजको मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यमा गहिरो प्रभाव पारेको छ ।
नेपालले पछिल्लो केही दशकमा धेरै राजनीतिक परिवर्तन भोगेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्रको उदय, सङ्घीयताको अभ्यास, सङ्क्रमणकालीन राजनीति-यी सबै घटनाले समाजलाई कुनै न कुनै रूपमा प्रभावित गर्दै आएको छ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले छोटो समयमा ठुलो सत्ता परिवर्तन गराउन सफल भयो । सो आन्दोलनले देशलाई यति गहिरो चोट दिने कल्पना धेरैले गरेका थिएनन् । यो आन्दोलन मुख्य रूपमा सामाजिक सञ्जाल प्लाटफर्ममा लगाइएको प्रतिबन्ध, भ्रष्टाचार, बेरोजगारी र अव्यवस्थाविरुद्ध युवा पुस्ताको सडक प्रदर्शन थियो । यसले सरकार परिवर्तनसम्म पु¥यायो, तर हिंसात्मक झडपका कारण ७० भन्दा बढीको ज्यान गयो र सयौँ घाइते भए । आन्दोलनको प्रत्यक्ष असर भनेको विशेष गरी बालबालिका, युवा र समुदायमा देखिएको गहिरो मानसिक आघात हो । ‘सेभ द चिल्ड्रेन’ र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) को संयुक्त अध्ययनले यसलाई स्पष्ट रूपमा उजागर गरेको छ । यस अध्ययनका अनुसार प्रहरीको अत्यधिक बल प्रयोगले युवामा अविश्वास र दीर्घकालीन तनाव उत्पन्न गरेको छ ।
राजधानीदेखि विभिन्न सहर र जिल्लासम्म फैलिएको यस आन्दोलनमा केवल सडक प्रदर्शन मात्र भएन, राज्यका संवेदनशील निकाय-अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, सङ्घीय संसद् भवन, सिंहदरबारसम्म आगजनी र ध्वस्त भयो । राजनीतिक तहका केही नेता, व्यक्तिका घर, पसल, व्यवसायीका डिपार्टमेन्ट स्टोर, फर्म र निजी सम्पत्तिसमेत जलाइए । यसले केवल भौतिक क्षति मात्रै गरेन, सम्पूर्ण नेपाली समाजको मानसिक र भावनात्मक संरचनामा एक पुस्ताले बिर्सने नसक्ने गहिरो घाउ बनायो । राज्यका सबैभन्दा सुरक्षित मानिने संरचना ध्वस्त हुँदा नागरिकको मनमा प्रश्न उब्जिन्छ-‘अब हामी कहाँ सुरक्षित छौँ ?’ यस्तो अविश्वासले सरकार र नेतृत्वप्रतिको भरोसा घटाउँछ, जसले सामाजिक असन्तोषलाई अझ चर्काउन सक्छ । यस्तो किसिमको घटनाक्रमले व्यक्तिमा प्रत्यक्ष रूपमा मानसिक स्वास्थ्य समस्या र मनोसामाजिक प्रभाव देखिन सक्छ । आन्दोलनमा सहभागी व्यक्ति वा प्रत्यक्षदर्शी व्यक्ति र पीडित व्यक्तिमा मानसिक आघात हुन सक्छ । सुरक्षित स्थानमै असुरक्षा भएको अनुभवले अनिद्रा, चिन्ता, निराशा, पुनः स्मरणजस्ता दीर्घकालीन मानसिक समस्या निम्त्याउन सक्छ । युवाले विशेषगरी रोजगारी, अवसर र न्यायको कमी महसुस गर्दा आक्रोश प्रकट गर्छन् । आन्दोलन हिंसात्मक हुँदा नागरिकमा ‘हिंसाबाट या विध्वंसात्मक गतिविधिबाट मात्र परिवर्तन सम्भव छ’ भन्ने सोच बस्न सक्छ जसकारण सम्पत्ति, कार्यालय वा प्रतीकात्मक संरचना नष्ट हुँदा केवल पीडित मात्र होइन, सम्पूर्ण समाजले सामूहिक पीडा भोग्छ । साझा स्मृति र भावनात्मक बन्धनमा दरार आउँछ ।
समाजमा पर्न सक्ने दीर्घकालीन असर : आन्दोलनले समाजलाई दुई भागमा बाँड्यो-आन्दोलनलाई समर्थन गर्ने र विरोध गर्ने । यसरी उभिएको विभाजनले परिवारभित्र, छिमेकभित्र र सम्पूर्ण समाजमा अविश्वास र आपसी दूरी बढाउँछ । राजनीतिक अस्थिरता र संस्थागत क्षति अतुलनीय भयो । राज्यका अङ्ग जलेर ध्वस्त हुनु केवल तत्कालीन क्षति होइन, दीर्घकालीन संस्थागत कमजोरी हो । यसले न्यायपालिकामा विश्वास घटाउन सक्छ अपराध गरेकाको प्रमाण नष्ट हुन सक्छन्, आपराधिक क्रियाकलाप गर्ने व्यक्तिको मनोबल बढ्न सक्छ, सुरक्षा निकायप्रति रहेको नागरिकको विश्वास घट्न सक्छ, नागरिकले सुरक्षाको महसुस नगर्न सक्छन्, संसद् र सिंहदरबारप्रतिको सम्मान कम हुन सक्छ । शान्तिपूर्ण सङ्घर्षभन्दा हिंसात्मक आन्दोलन प्रभावकारी ठानिने हो भने समाजमा चलिआएको सामाजिक मूल्य प्रणाली नै कमजोर हुन्छ । युवा पुस्ताले शान्तिपूर्ण संवादलाई बेवास्ता गर्न सक्छन् जसले गर्दा द्वन्द्वात्मक स्थिति निम्तिन पनि सक्छ ।
सामूहिक मनोविज्ञानमा चोट फैलिने हुनाले समाजले लामो समयसम्म आक्रोश, डर र असुरक्षाको भावना बोकेर बस्नुपर्ने हुन्छ । यसले सामूहिक मानसिक स्वास्थ्य कमजोर पार्छ जसबाट व्यक्तिमा त्रास, चिन्ता, निद्रा भावनामा गडबडी, स्वयम् हानिजस्ता विचार आउन सक्छ । यसले गर्दा समाजमा दीर्घकालीन असर पार्न सक्छ । युवाहरू, जसले आन्दोलनको नेतृत्व गरे, अब ‘मिश्रित ट्रमा’बाट गुज्रिरहेका छन् । उनीहरू परिवर्तन ल्याएकामा गर्व गर्छन्, तर हिंसाका मूल्यमा आएको यस विजयले उनीहरूलाई निराश र क्रोधित बनाएको छ । समाजमा फैलिएको अस्थिरता-जस्तै जेलब्रेक, लुटपाट र आर्थिक क्षतिले पनि मानसिक तनाव बढाएको छ । यसले नेपालको ४.३ प्रतिशत वयस्कमा पहिले नै रहेको मानसिक स्वास्थ्य समस्यालाई थप जटिल बनाएको छ ।
सिक्नैपर्ने सवाल : नेतृत्वले युवाको मागलाई समयमै सम्बोधन नगरे आन्दोलन आन्दोलनमा मात्र सीमित नभई हिंसात्मक रूप लिन सक्छ भन्ने हेक्का राख्दै साझा सम्पत्तिको संरक्षण, विधि-विधानप्रतिको सम्मान र त्यस्ता निकायको संरक्षण आवश्यक छ भन्ने बोध गराई नागरिकप्रति पूर्ण उत्तरदायी भई सामाजिक न्याय, समान अवसर र पारदर्शितामै दिगो शान्ति सम्भव हुन्छ भन्ने अनुभूति दिलाउन सकेमा पक्कै पनि आजसम्म भई आएका राजनीतिक आन्दोलनले सार्थकता पाउन सक्छन् । यदि विगतको झैँ परिपाटी दोहोरिने हो भने ध्वंसकारी बाटो रोज्दा पनि आवाज बुलन्द गर्न सकिन्छ भन्ने गलत धारणाको वृद्धि भएर राजनीतिक लाभ वा ध्यान खिच्न हिंसालाई सामान्यीकरण गर्ने सम्भावना बढ्न सक्छ । यदि यस्तो भएमा राज्यले नसोचेको निकै ठुलो जनधनको क्षति पनि हुन सक्छ । हामीले वकालत गर्दै आएको लोकतन्त्रमा संवाद, वार्ता र सहमतिको संस्कृतिलाई बेवास्ता गर्ने जोखिम बढ्न सक्छ, यसमा अबको नेतृत्वले बेलैमा ध्यान दिनु जरुरी छ । यदि हामीले यो घटनाबाट समयमै पाठ सिकेनौँ भने समाजको सामूहिक मानसिक स्वास्थ्यमा बस्ने घाउ दीर्घकालीन हुनेछ, जसको असर पुस्तौँपुस्तासम्म रहिरहनेछ ।
- मुख्य मानसिक स्वास्थ्य असर : हिंसा, गोली प्रहार र मृत्युका घटनाले फैलाएको शोक, डर र अनिश्चितताले समुदायमा सामूहिक ट्रमा सिर्जना गरेको छ जुन व्यापक छ । यी असर अध्ययनबाट प्रमाणित छन्, जसमा साक्षात्कार र सर्वेक्षणका आधारमा बालबालिका तथा युवामा ‘गहिरो मानसिक आघात’ र ‘अविश्वासको अवस्था’ देखिएको उल्लेख छ । आन्दोलनका क्रममा काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेमा पनि यस्ता लक्षण देखिएका थिए ।
- हिंसाको प्रत्यक्ष प्रभाव : प्रहरीको घातक बल प्रयोग (गोली प्रहार) ले प्रदर्शनकारीमा तत्कालीन डर र पछि लामो समयसम्म रहने आघात निम्त्यायो । संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले पनि यसको निन्दा गर्दै पारदर्शी छानबिनको माग गरेको थियो ।
- सामाजिक सञ्जाल प्रतिबन्ध : जेन-जी डिजिटल नेटिभ भएकाले, फेसबुक, टिकटकजस्ता प्लाटफर्म बन्द हुँदा उनीहरूको संवाद र समर्थन प्रणाली प्रभावित भयो । यसले अलगाव र तनाव बढायो ।
- राजनीतिक अशान्ति : आन्दोलनले सरकार ढाल्यो, तर आर्थिक क्षति (कार्यालय जलाउने, लुटपाट) ले रोजगारी र स्थिरता गुमायो, जसले मानसिक स्वास्थ्यमा थप बोझ थप्यो ।
- बालबालिकामा विशेष असर : उनीहरूले प्रत्यक्ष हिंसा नदेखे पनि, परिवारको तनाव र समाचारबाट प्रभावित भए । अध्ययनले राजनीतिक अशान्तिमा बालबालिकालाई लक्ष्य नगर्न सुझाव दिएको छ ।
विश्वव्यापी सन्दर्भमा, जेन-जी पहिलेदेखि नै सामाजिक सञ्जाल, महामारी र आर्थिक दबाबका कारण मानसिक स्वास्थ्य समस्यामा ग्रस्त छ । तर, नेपालको यस आन्दोलनले यसलाई हिंसात्मक रूपमा तीव्र बनायो ।
समाधानका उपाय
- मानसिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि बालमैत्री काउन्सिलिङ र मनोसामाजिक सहयोग बढाउनुपर्छ । सङ्घीय तथा स्थानीय तहका सरकारले तुरुन्त कदम चाल्नुपर्छ ।
- विश्वास पुनस्र्थापनाका लागि शान्ति निर्माण र द्वन्द्व रूपान्तरण कार्यक्रममार्फत युवा-राज्यबिच संवाद सुरु हुनुपर्छ ।
- भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र डिजिटल पहुँच सुनिश्चित गर्दा यस्ता आन्दोलनका असर कम हुन सक्छ ।
- व्यक्तिगत सल्लाहबाट प्रभावित व्यक्तिले योग, ध्यान वा साथीसँग कुराकानीजस्ता सकारात्मक व्यवहार गर्न सक्छन् ।
यस्तो अवस्था अचानक आइहाले प्रोजेक्ट ग्रिन सर्कल, क्लिनिक वन, हिलर नेपाल युनिसेफ नेपालजस्ता सङ्घसंस्थाले मानसिक स्वास्थ्य समस्यामा सहयोग गरिरहेका छन् । ती संस्थाले प्रभावित बालबालिका र युवाका लागि निःशुल्क परामर्श दिइरहेका छन् । सम्पर्क गरी उक्त सेवा लिन सकिन्छ । यदि बालबालिका वा किशोरकिशोरी प्रभावित छन् भने, कान्ति बाल अस्पताल वा नजिकको स्वास्थ्य केन्द्रमा पनि जान सकिन्छ । अध्ययनअनुसार यस्ता घटनापछि बालबालिकामा ११ प्रतिशतले आत्महत्याको विचार आउने जोखिम बढेको छ ।
आशाको किरण
आन्दोलनले नेपालको युवा शक्तिलाई जागृत गरेको छ, जसले भविष्यमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । तर, यसले छाडेको मानसिक घाउलाई बेवास्ता गर्नुहुँदैन । सहयोग माग्नु कमजोरी होइन, यो बलियो कदम हो । यदि तपाईं वा तपाईंको नजिकका कोही प्रभावित हुनुहुन्छ भने, आजै सम्पर्क गर्नुहोस्-तपाईं एक्लो हुनुहुन्न । यस ट्रमाबाट उभिएर नेपालले थप मजबुत समाज निर्माण गर्न सक्छ, जहाँ युवाको आक्रोशलाई रचनात्मक दिशामा मोड्न सकिन्छ । (लेखक मनोसामाजिक परामर्शकर्ता हुन् ।)




प्रतिक्रिया