+
Search

ताजा अपडेट +

पपुलर +

असन्तुष्टि, विद्रोह र अलगाव चिन्तन

असन्तुष्टि, विद्रोह र अलगाव चिन्तन
रामलाल श्रेष्ठ
१ महिना अगाडी

गत भदौ २३ र २४ गतेको घटनालाई विभिन्न ढङ्गले व्याख्या गर्न खोजिँदै छ । इतिहासमा पहिले कहिल्यै नभएको सो घटनालाई विभिन्न ढङ्गबाट केलाउने प्रयास जारी छ । आन्दोलनमा भएको दमनबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न गठित गौरीबहादुर कार्की आयोगले प्रतिवेदन सार्वजनिक गरेपछि घटनाको सत्यतथ्य बाहिर आउने नै छ । अहिलेलाई भदौ २३ जेन–जी आन्दोलन थियो भने २४ गते जनविद्रोह थियो भन्न सकिन्छ । भदौ २३ र २४ नवयुवाको आन्दोलन र जनविद्रोहका रूपमा नेपालको इतिहासमा लेखिनेछ ।

दर्शनको संसारभित्र जम्माजम्मी चार क्षेत्रको अध्ययन गरिन्छ । पहिलो-पराभौतिक संसार अर्थात् मेटाफिजिक्स, दोस्रो-नैतिकता अर्थात् मोरालिटी र इथिक्स, तेस्रो-ज्ञान अर्थात् नलेज वा इपिस्टोमोलजी र चौथो-राजनीति अर्थात् पोलिटिक्स पर्छन् । सामान्य हिसाबले भौतिक दुनियाँभन्दा परको दुनियाँ अर्थात् अमूर्त दुनियाँका बारेमा चिन्तन गर्ने क्षेत्रलाई पराभौतिक दुनियाँ मेटाफिजिक्स भनिन्छ । यसभित्र अमूर्त वस्तु ईश्वर, आत्मा, परमात्मासँग सम्बन्धित अभौतिक वस्तुबारे चिन्तन गरिन्छ । नैतिकताभित्र असल र खराब, सही र गलतजस्ता मानवीय गतिविधिबारे चिन्तन गरिन्छ । मानिसले गर्ने कस्तो गतिविधि वा कार्यलाई असल र कस्तालाई खराब भन्नेजस्ता मानवीय गतिविधि र स्वभावबारे चिन्तन गर्ने शाखाको नाम नैतिकता हो । ज्ञान के हो, ज्ञान प्राप्त गर्ने विधि के हो, सही ज्ञान र भ्रमपूर्ण ज्ञान के हो, बौद्धिक ज्ञान र अनुभवजनित ज्ञान के हो जस्ता प्रश्नको सही उत्तर खोज्ने दर्शनको शाखा नै ज्ञान वा इपिस्टोमोलजी हो । त्यसैगरी राज्य के हो, राज्य सञ्चालनका उपाय के-के हुन्, राज्य र नागरिकको सम्बन्ध के हो, राज्यका उत्पत्तिका कारण के-के हुन्, समाज के हो, समाज सञ्चालनका विधि के-के हुन्, मानिसको असन्तुष्टिको कारण के-के हुन्, राज्य र नागरिकको दायित्व के-के हुन् जस्ता यावत् प्रश्नको उत्तर दर्शनको राजनीतिक शाखामा खोजिन्छ ।

दर्शनको पहिलो शाखा पराभौतिक क्षेत्रभित्र मानिसको प्राकृतिक स्वभावबारे चिन्तन हुन्छ । मानिसको प्राकृतिक स्वभावले उसलाई अरू जीवबाट अलग गरेको हुन्छ । अरू जीवमा नपाइने, तर मानिसमा मात्र पाइने प्राकृतिक वस्तुले उसलाई वास्तविक मानिस बनाइरहेको हुन्छ । पश्चिमा राजनीतिक दर्शनका पिता प्लेटो वस्तु भनेको मानिसको चेतना हो भन्ने मान्यता अगाडि सार्दै आफ्नो राजनीतिक चिन्तन अगाडि सार्छन् । मानिस चेतनाका कारणबाट अरू जीवभन्दा भिन्दै जीवका रूपमा अस्तित्वमा हुन्छ । मानिसका शरीरबाट चेतना भन्ने वस्तु अलग्याइदिने हो भने उसको अस्तित्व समाप्त हुन पुग्छ ।

अलग्गिने चिन्तन

प्लेटोबाट सुरु भएको यो चिन्तन-परम्परा प्लेटोपछिका सबै दार्शनिकले निरन्तर रूपले विकसित गर्दै अगाडि बढाएको देखिन्छ । यस चिन्तनमा प्राकृतिक वस्तुको असली गुणबारे चिन्तन गरिन्छ । प्रकृतिले सिर्जना गरेका सारा भौतिक वस्तुभित्र खास किसिमको स्वाद वा स्वभाव विद्यमान हुन्छ । कुनै पनि भौतिक वस्तु अर्को भौतिक वस्तुको स्वाद र स्वभावसँग मेल खाँदैन वा अलग स्वाद वा स्वभावको हुन्छ । केराको स्वाद अङ्गुरभन्दा अलग हुन्छ, स्याउको स्वाद सुन्तलाको भन्दा अलग हुन्छ । त्यसैगरी कुकुरको स्वभाव बिरालोको भन्दा अलग हुन्छ, घोडाको स्वभाव गाईगोरुको भन्दा अलग हुन्छ । मानिसको स्वभाव अन्य जीवभन्दा अलग हुन्छ । यसरी यस धर्तीमा हरेक भौतिक वस्तु अर्को भौतिक वस्तुभन्दा अलग स्वाद र स्वभावसहित अस्तित्वमा हुन्छन् । यो प्राकृतिक स्वाद र स्वभाव नै त्यो भौतिक वस्तुको असली अस्तित्व हो ।  समाज र राज्य सञ्चालनका लागि आवश्यक अमूर्त वस्तु, सरकार, संसद्, अदालतजस्ता अमूर्त राजनीतिक वस्तु पनि खास स्वाद र स्वभावसहित सिर्जना भएका हुन्छन् । यदि मानवनिर्मित मूर्त वा अमूर्त वस्तु प्राकृतिक वस्तुजस्तै आफ्नो असली स्वाद र स्वभावबाट अलग हुँदै गयो भने त्यस वस्तुको अस्तित्व सङ्कटमा पर्दै जान्छ । स्याउको स्वाद त्यो जस्तै भएन भने त्यसलाई त्यो नाम भनिँदैन । घोडा, घोडाजस्तै स्वभावको रहेन भने त्यसलाई त्यस नामले बोलाइँदैन । कुनै पनि वस्तुलाई उसको प्राकृतिक स्वाद र स्वभावबाट अलग गरियो भने त्यो आफ्नो प्राकृतिक असली गुणबाट अलग्गिएको हुन्छ । यसै चिन्तनलाई अलग्गिने दर्शन भनिन्छ ।

असन्तुष्टिको चिन्तन
मानिसको असन्तुष्टिको मूल कारण के हो, यो अर्को गहन दार्शनिक चिन्तन हो । मानिस असन्तुष्ट जीव हो । ऊबाहेक अरू सबै जीव आवश्यक खाना पाएपछि सन्तुष्ट भएर जीवनयापन गरिरहेको हुन्छ । तर, मानिस मात्र आफ्नो जीवनयापनका लागि सधैँ असन्तुष्ट रहने प्राणी हो । मानिसको असन्तुष्टिका कारण खोज्ने चिन्तन-दर्शनको अर्को मुख्य क्षेत्र हो । नेपाली समाजभित्र निरन्तर असन्तुष्टिको चाङ लाग्दै थियो । विसं २०४६ को आन्दोलन जनतालाई स्वतन्त्रताबाट अलग गरिएका कारण उत्पन्न भएको दलहरूको सङ्गठित विद्रोह थियो । त्यसपछि संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्थापना गरियो । विसं २०५२ मा संवैधानिक राजतन्त्रलाई अलग्याउने उद्देश्यले हिंसात्मक आन्दोलनको सुरुवात गरियो । एक थान संविधानका लागि संविधानसभाको माग राखेर जनयुद्ध सुरु गरियो । सो जनयुद्धको पछाडि संवैधानिक राजतन्त्रप्रतिको असन्तुष्टि थियो । संवैधानिक राजतन्त्रलाई अलग्याइएपछि मात्र समाज सन्तुष्ट हुने हिसाबले गणतन्त्र, समावेशिता, समानुपातिकता, सङ्घीयता र धर्मनिरपेक्षताको नारा उरालियो ।

दसवर्षे हिंसात्मक आन्दोलन र ०६२/०६३ सालको जनआन्दोलनले संवैधानिक राजतन्त्रलाई अलग्याउन सफल भयो । राजनीतिबाट संवैधानिक राजतन्त्रलाई अलग्याइसकेपछि ती नारा स्थापित गरियो । दलहरूले रूपलाई समात्ने, तर सारलाई अलग्याउँदा समाजमा असन्तुष्टि चुलिँदै थियो । समाजमा भ्रष्टाचार नियन्त्रण हुन नसक्दा राज्य नैतिकता र विवेकबाट अलग्गिँदै गयो । राज्य विवेक र नैतिकताको सर्वोच्च अभिव्यक्ति हो । यी दुइटै राज्यबाट अलग्गिरहेको थियो । सङ्घ र प्रदेश सरकार तथा स्थानीय तहमा कहीँकतै पनि विवेक र नैतिकता भेटिँदैन थियो । विवेक र नैतिकता राज्यमा नदेखिनु भनेको अलग्गिनु हो ।समाजमा रोजगारीको चरम अभाव हुर्किरहेको थियो र समाजबाट रोजगारी अलग्गिरहेको थियो । रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक स्थितिले व्यक्ति परिवारबाट अलग्गिरहेको थियो । सिङ्गो परिवार देश, समाज र संस्कारबाट अलग्गियो । बाबुआमाबाट छोराछोरी अलग्गिरहेका थिए भने श्रीमान् श्रीमतीबाट अलग्गिरहेको थियो । नेपाली समाज रोजगारीका अभावमा राजनीतिक दलका कार्यकर्ताका रूपमा विकसित भइरहेको थियो । राजनीतिक कार्यकर्ताको काम भनेको बिहान, बेलुकी आफ्नो निवासवरपरको चिया पसलमा गफ चुट्ने र दिनभरि पार्टी काममा डुबिरहने थियो । यसले राजनीतिक कार्यकर्ता परिश्रमबाट अलग्गिरहेका थिए । मानिस परिश्रमबाट अलग्गिसकेपछि उसमा बिस्तारै असन्तुष्टि चुलिँदै गरेको हुन्छ । मानिसको हात र मस्तिष्कले कुनै चिजको सिर्जना गर्न सकेन भने असन्तुष्टि बढ्दै जान्छ ।

यस धर्तीमा प्रकृतिले सिर्जना गरेका चिजबिज वा वस्तु निश्चित कार्य गर्न सिर्जना भएका हुन्छन् । यी वस्तु जे प्रयोजनका लागि सिर्जना भएका हुन्छन्, त्यही गर्न असमर्थ भएमा त्यो उक्त प्रयोजनबाट अलग्गिएको स्थिति हो । वस्तु प्राकृतिक प्रयोजनभन्दा फरक कार्य वा प्रयोजनमा लाग्नु भनेको मूल वा प्राकृतिक प्रयोजनबाट अलग्गिएको हुन्छ । यस्ता स्थितिमा वस्तुको अस्तित्व विलय हुँदै जान्छ । वस्तु अस्तित्वविहीन हुँदै गर्दा असन्तुष्टि र विद्रोहको जन्म हुन्छ । नवपुस्ताको भदौ आन्दोलन त्यही असन्तुष्टिको जड हो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

रामलाल श्रेष्ठ