+
Search

ताजा अपडेट +

पपुलर +

दिगो उज्यालोको चाहना

दिगो उज्यालोको चाहना
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

हिन्दु नेपालीको अर्काे ठुलो पर्व तिहार आउने हप्तादेखि सुरु हुँदै छ । हाम्रा धार्मिक विश्वास जे-जे जोडिए पनि यमपञ्चक उज्यालोको पर्व हो । तिहारले सामाजिक, आर्थिकका साथै राजनीतिक पक्षलाई पनि छोएकै हुन्छ ।

यस वर्षको तिहार नेपाली जनताका लागि केवल धार्मिक र सांस्कृतिक पर्व मात्र बनेको छैन, नयाँ राजनीतिक यात्राको सुरुवातबिच मनाइँदै छ । नेपालीको दुई प्रमुख ठुला चाड बडादसैँ र तिहारका मुखैमा जेन-जी आन्दोलनको सफलतापछि देशले नयाँ अन्तरिम सरकार पाएको छ । भ्रष्टाचार अन्त्य गर्दै विधिको शासन स्थापना गराउने जिम्मा पाएको सरकारले यसै वर्षको फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने जनादेशसमेत पाएको छ । लोकतन्त्र ल्याउन सक्रिय र सफल दलहरू लोकतान्त्रिक संस्कार अँगाल्न नसक्दा १० वर्षमै जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेका छन् । लोकतन्त्रमा दलहरूको विकल्प हुँदैन, तर दलका नेता सेवक नभई शासक बन्दा प्रजातन्त्र नै असफल हुन पुगेको छ । नागरिकको सरकार हुने गरी दलहरूले सत्ता सञ्चालन नगरी दम्भ, कुशासन, भ्रष्टाचार, पक्षपात र अपराधलाई प्राथमिकता दिँदा लोकतान्त्रिक व्यवस्थालाई दोष दिने अवस्था आएको हो ।

जेन-जी आन्दोलनले पुराना सत्ता संरचनालाई चुनौती दिँदै नयाँ पुस्ताको राजनीति गर्न सक्ने र सुशासनको विकल्प सम्भव छ भन्ने सन्देश दिएको छ । तिहार सदैव नेपाली समाजमा उज्यालोको प्रतीक मानिन्छ । यही उज्यालोसँगै आएको राजनीतिक परिवर्तनले जनतालाई भविष्यप्रति थप उत्साहित बनाएको छ । जेन-जी आन्दोलनका मागहरू भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, उत्तरदायित्व र सुशासन जनताको गहिरो अपेक्षासँग जोडिएको छ । यसलाई सार्थक बनाउन नयाँ सरकारलाई खुट्टा कमाउने छुट छैन । आन्दोलनको उद्देश्य नयाँ अनुहार ल्याई सरकार बनाएर जनताको मन जित्नु होइन, ती त परिवर्तनको प्रत्यक्ष अनुभव गर्न चाहन्छन् । नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पारदर्शिता र तीव्रता देखिनु जरुरी छ । नयाँ अन्तरिम सरकारका लागि आगामी फागुन २१ गते घोषित निर्वाचन गराउनु अवसर र चुनौती रहेको छ ।

सरकारलाई जनताले असामान्य विश्वास र समर्थन दिएर कामको निगरानी गरिरहेकाले अवसर छ भने यही विश्वासलाई कर्ममार्फत प्रमाणित गर्नुपर्ने चुनौती छ । निर्वाचन समयमै सम्पन्न गर्ने, आर्थिक पुनर्निर्माणको बाटो खोल्ने, युवालाई रोजगारी सिर्जना गर्ने, सेवा वितरणमा सुधार ल्याउने, विगतमा सरकारले गरेका भ्रष्टाचार वडा तहसम्मको छानबिन गराउने, दलका नेताको सम्पत्ति सार्वजनिक गर्ने र स्रोत नखुलेको सम्पत्ति जफत गर्नेजस्ता काम अब ढिलो गर्नु भनेको सरकारप्रति अविश्वास बढाउनु हो । जेन-जी आन्दोलनमा बगेको युवाको रगत र शक्तिका बलमा बनेको सरकार उही पुराना नेताकै पथमा हिँड्न पाउनेछैन । त्यसैले यस सरकारको असफलतामा जनताको निराशा झन् गहिरो हुन सक्छ । अहिले सरकारका लागि तिनै जेन-जी खतरा नहोला भन्न सकिँदैन ।

पुराना दलहरूको असफलताबाट थाकेका नेपाली नागरिकले यस सरकारबाट स्पष्ट कार्ययोजना, समयमै निर्वाचन र भ्रष्टाचारमुक्त प्रशासनको अपेक्षा गरेका छन् । यस सरकारले यी अपेक्षा पूरा गर्न सके तिहारले दिने उज्यालो सार्थक हुनेछ । परिवर्तन र विध्वंसका बिचमा आशा र पुनर्जागरणको सन्देश तिहारले दिन सकोस् । नयाँ पुस्ताको साथलाई सम्मान पुगोस्, सामूहिक घाउहरू निको पार्ने एकता बनोस्, समुन्नत नेपालको बाटो उज्यालो बनोस् । यस तिहारले प्रत्येक नेपालीको जीवनमा खुसी, शान्ति, समृद्धि ल्याओस् र नयाँ राजनीतिक यात्रातर्फ देशलाई अगाडि बढाओस्, देशलाई स्थायी सुशासन तथा विकासका बाटामा अगाडि लैजाओस्, सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीको भविष्य उज्यालो बनाओस् । जेन-जी आन्दोलनको उपलब्धिलाई सबैले आत्मसात् गर्दै दलका नेताहरू सच्चिँदै देशलाई उज्यालोमा हिँडाउन एकजुट होऊन् । सबै राजनीतिक नेतृत्व तहमा रहेकाहरूमा सद्बुद्धि पलाओस् । यमपञ्चकको शुभकामना !

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह