+
Search

ताजा अपडेट +

पपुलर +

अबको बाटो : पुनर्जागरण र पुनर्निर्माण

अबको बाटो : पुनर्जागरण र पुनर्निर्माण
रामशरण प्याकुरेल
१ हप्ता अगाडी

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनपछि देश एउटा नयाँ मोडमा आइपुगेको छ । भ्रष्टाचारविरुद्ध सुशासनको माग राखेर नवपुस्ताले गरेको आन्दोलनपश्चात् मुलुकमा फरक परिस्थिति सिर्जना भएको छ । सामाजिक सञ्जालमाथिको सरकारको प्रतिबन्ध, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता नहुँदा युवामा उत्पन्न असन्तुष्टि सडकमा आइपुग्दा राजनीतिमा नै ठुलो परिवर्तन भयो ।

आन्दोलनले पुराना राजनीतिक दलहरूको कुशासन, भ्रष्टाचार र असमानताविरुद्ध आवाज उठाउँदै नयाँ नेतृत्वको आवश्यकता औँल्यायो । यसका कारण नेकपा (एमाले) लगायत पुराना दलहरूको सत्ता बहिर्गमन भयो र नयाँ अन्तरिम सरकार गठन गरियो । तथापि, यसको वैधानिकतामाथि ठुलो प्रश्न हाम्रासामु छ । समयले त्यसको कित्ताकाटसँगै एउटा निक्र्याेल अवश्य निकाल्नेछ । तर, आन्दोलन र सरकार परिवर्तनले मात्र सबै समस्या हल गर्ने देखिँदैन । नयाँ सरकार गठन भए पनि जनता, विशेष गरी युवामा निराशा कायमै छ – किनकि उनीहरूको वास्तविक मागको सम्बोधन र तत्अनुसारको कार्यान्वयन, न्याय, संरचनागत परिवर्तन र भ्रष्टाचारविरुद्धका ठोस कदम समयमा अगाडि नबढ्दा विश्वास कम र अन्योल ज्यादा भइरहेको छ । यसले पुनः आन्दोलनको सम्भावना वा थप राजनीतिक अस्थिरतालाई निरन्तरता दिने जोखिम हुँदै छ ।

यस दबाबलाई संस्थागत सुधारमा परिणत नगरे भ्रष्टाचार र अस्थिरता यथावत् रहन सक्छ । यस्ता खालका आन्दोलनका पृष्ठभूमिमा अर्को कारण पनि हामीसँग विद्यमान छ । हाम्रो समाजमा नकारात्मकता त्यस्तो सोच, व्यवहार वा सन्देश हो जसले डर, असन्तोष, घृणा, निराशा वा विभाजन फैलाउँछ । अर्कातर्फ आलोचनात्मक सोच र सहिष्णुता नहुँदा मानिस सजिलै उकासिन्छन् वा प्रभावित हुन्छन् । एक पक्षले अर्कालाई दोष मात्र दिने तथा राजनीतिक र सामाजिक ध्रुवीकरण, आर्थिक कठिनाइ र असन्तुष्टिले उत्पन्न बेरोजगारी, असमानता वा अन्यायका कारण उत्पन्न निराशाले समाजमा उत्पन्न नकारात्मक ऊर्जा एवम् प्रेरणा वा सहानुभूति दिने सकारात्मक नेतृत्वको अभावका कारण पनि नकारात्मकता अझ गहिरिइरहेको थियो, जसले आन्दोलनमा इन्धन थप्ने काम गर्यो।

आन्दोलनभित्र अराजक स्वार्थी तत्त्वको घुसपैठ देखियो र भयावह परिणाममा टुङ्गियो । २७ घण्टाको आन्दोलनले अप्रत्याशित सत्ता परिवर्तन हुन पुग्यो । ७६ जनाको ज्यान गयो, अर्बौँको सरकारी र निजी सम्पत्ति नष्ट गरिए, राष्ट्रलाई अपूरणीय क्षति भयो । राजनीतिक व्यवस्थालाई नै प्रभाव पारेपछि यसलाई राजनीतिक आन्दोलन भन्नुपर्ने अवस्था आयो । अब यस आन्दोलनलाई नेपालको राजनीतिक आन्दोलनको इतिहाससँग जोडेर उल्लेख गरिनेछ । तर, अहिले पनि हाम्रो पार्टीका ठुल्ठुला नेताहरूले यस्तो हुनामा पार्टी र सरकारी नेतृत्वको कमजोरी मात्र रहेको जसरी अभिव्यक्ति दिने काम रोकिएको छैन । अन्तर्राष्ट्रिय केही देशका उदाहरणले पनि हामीलाई धेरै कुरा सिकाइरहेको थियो, जसको समयमा हेक्का राखिएन । विश्वका युवा आन्दोलन, डिजिटल स्वतन्त्रता, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी आन्दोलनले महत्त्वपूर्ण सुधार ल्याएका वा पाठ सिकाएका कुरालाई आत्मसात् गरिएन । मोरक्कोमा हालै भएको युवा आन्दोलनले कर, शिक्षा, स्वास्थ्य सेवा र असमानताविरुद्ध आवाज उठाएका थिए । त्यहाँ ‘जेन-जेड २१२’ नामक समूहले सामाजिक न्यायका लागि आन्दोलन गरी सार्वजनिक सेवामा प्राथमिकता दिन र भ्रष्टाचार घटाउन सरकारलाई दबाब दिएका थिए । यस्ता अनुभवबाट सिक्ने कोसिस हामीले गरेनौँ ।

हामीले एउटा खास समयान्तरमा किन विद्रोह हुन्छ र सत्ता किन अस्थायी हुन्छ भन्ने कुरा र कारणलाई सधैँ ख्याल गर्नुपर्ने हुन्छ । मूलतः विद्रोहको कारण भनेको असमानता र अन्याय नै हो । सर्वसाधारणको जीवन र अधिकारको उपेक्षा, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार खोसिने खालको राजनीतिक दमन, बेरोजगारी, मूल्यवृद्धि, सम्पत्ति सीमित वर्गमा मात्र केन्द्रित हुने खालको आर्थिक असन्तुलन, भ्रष्टाचार र दुरुपयोग, भाषा, धर्म, जाति, समुदायको सांस्कृतिक वा पहिचान उपेक्षित हुँदा समाजमा विद्रोहको सधैँ सम्भावना रहिरहन्छ ।

प्रतिनिधिसभाका दुई ठुला दल एमाले र नेपाली काङ्ग्रेसलगायत अन्य दल मिलेर बनेको करिब दुईतिहाइको सरकार यसरी सत्ताबाट अप्रत्याशित बाहिरिनुपर्ला भन्ने कसले सोचेको थियो होला ? तर, राष्ट्रहितका कतिपय राम्रो काम गर्दा गर्दै पनि सत्ता स्थायी हुँदो रहेनछ भन्ने हामीले प्रत्यक्ष भोग्यौँ । सत्ताको आधार जनताको समर्थन हो, जुन स्थायी हुँदैन । सत्तामा बस्नेहरू शक्ति, सुविधा र भ्रष्टाचारतर्फ आकर्षित भए भने जनताको विश्वास गुम्छ । समयसँगै नयाँ पुस्ता, नयाँ विचार आउँछ र पुरानो सत्तालाई चुनौती र टक्कर दिन सक्छ । कुनै पनि सत्ता चिरस्थायी हुँदैन । परिस्थिति यस्तो देखिँदै छ कि इतिहासले हरेकपल्ट नयाँ मार्ग त देखाउँछ, तर हरेकपटक हामी वस्तुनिष्ठ भएर परिस्थितिको विश्लेषण गरी नयाँ मार्गमा आफूलाई अभ्यस्त गराउनेभन्दा पनि आँखामा पट्टी बाँध्ने बानी लागेको छ । अहिले नेकपा (माओवादी केन्द्र), रास्वपा र राप्रपा यस खेलमा लागेको देखिन्छ । जब सत्ता मात्र सबैको विकल्प बन्न जान्छ, राज्य सङ्कटग्रस्त बन्न बाध्य हुन्छ, सुधार र समृद्धिको यात्रा अवरुद्ध हुन्छ ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धका विरुद्ध गाउँघरदेखि सहरबजारमा रहने सबै नागरिकमा समेत सरकारप्रति एक प्रकारको घृणा र विद्रोहको भावना पैदा गराएको थियो, त्यसलाई हामीले समयमै बुझ्न सकेनौँ । अब जेन-जी आन्दोलनले सिर्जना गरेका सकारात्मक र नकारात्मक पक्षको वस्तुनिष्ठ समीक्षा गर्दै देशको सङ्कटको निकास खोज्न बृहत् योजना, कार्यक्रम र सङ्घर्षको साझा अवधारणा निर्माण गर्नु मुख्य काम हो । राजनीतिक निकासका लागि प्रतिनिधिसभा विघटन मात्रै सर्त किन राखियो भन्ने प्रश्नको अहिलेसम्म पनि उत्तर खोज्ने प्रयास गरिएको छैन । बरु संविधान संशोधनको सर्त राख्नुपर्ने थियो । निश्चित विषयमा केही दिनभित्रै संविधान संशोधन गरेर प्रतिनिधिसभा विघटन गर्ने सम्झौता गर्न सकिन्थ्यो । राजनीतिक दल र उनीहरूको प्रतिनिधित्व रहेको संसद्लाई बाधक मान्नु सार्वभौम जनताको अपमान हो । संसद्बाटै निकास निकाल्न सकिएला कि भनी सोच्दै सोचिएन । आन्दोलनका रापमा त्यसलाई अनुकूल प्रयोग गर्न सक्ने अवसर गुम्यो । अहिले संविधान कायम छ, प्रतिनिधिसभा छैन । कतै मुलुक अँध्यारोको भुमरीमा त फस्दै छैन ?

देश स्थिरता, सुशासन र समृद्धिको यात्रामा अगाडि बढ्ने आशा, अपेक्षालाई संस्थागत रूपमा सङ्क्रमण गर्न खोजिरहेका अवस्थामा अप्रत्याशित भएको यो राजनीतिक परिवर्तनका अल्पकालीन र दीर्घकालीन प्रभाव रहिरहनेछन् । जेन-जीका गुटहरूले सरकारलाई अहिल्यै चेतावनी दिन थालिसकेका छन्, कार्यालय, कार्यालयमा गएर धम्की, अल्टिमेटम दिने, हिस्सा खोज्नेजस्ता काम सुरु भइसकेको छ । आफ्नो मर्जीअनुसार नभए प्रधानमन्त्रीकै राजीनामा माग्ने, राष्ट्रिय राजनीतिमा हस्तक्षेप र सरकार परिवर्तनको माग फेरि पनि उठ्न सक्ने सम्भावनाले राजनीतिक अस्थिरता कायम रहने सङ्केत गरिरहेको छ ।

आन्दोलनको परिणामस्वरूप आर्थिक क्षेत्रमा पनि व्यापक प्रभाव पर्ने अवस्था देखिएको छ । पर्यटन, होटेल व्यवसाय, व्यापार तथा निजी क्षेत्रलाई ठुलो असर परेको छ । पुँजी लगानी, व्यावसायिक विश्वासमा कमी आउने अवस्था सिर्जना भएको छ । आन्दोलन र त्यसका क्रियाप्रतिक्रियाले सुरक्षा संयन्त्रको मनोबल गिराउने काम भएको छ जसले जनताको सेवा-सुरक्षामा सङ्कट उत्पन्न गर्न सक्छ र सामाजिक विभाजन ल्याउने खतरा पैदा हुन सक्छ । चोरी गरिएका हतियार, फरार भएका कैदीका कारण सार्वजनिक सुरक्षा चुनौती र जोखिम बढाउन सक्छ ।

जेन-जी आन्दोलनपछि एमालेको सत्ता बहिर्गमन भएको छ र पार्टीको छवि कमजोर बनाउने एकसूत्रीय कार्यसूची बनेको छ । आन्दोलन जुन उद्देश्यले भए पनि एमाले र यसको नेतृत्वपङ्क्तिविरुद्ध लक्षित हुनु र ८० प्रतिशतभन्दा बढी एमालेका संस्था, नेता/कार्यकर्ताको छानीछानी भौतिक सम्पत्तिमा क्षति पु¥याइनुबाट पनि यसको पुष्टि हुन्छ । पार्टीका नेताहरूको भ्रष्टाचार र असमानताको ‘न्यारेसन’ तयार गरेर जनतामा थप अविश्वास पैदा गर्ने र मनोबल गिराउने कोसिस भइरहेको छ । यसका साथै अप्ठ्यारो घडीमा समेत नेतृत्वलाई ताछ्ने र पार्टीका आन्तरिक विवादलाई मलजल गर्ने प्रवृत्ति एकातर्फ छ भने नेतृत्व तहमा देखिएको अकुशलता र अदूरदर्शिताले पार्टीको स्थिति थप कमजोर बन्ने अवस्था पनि कायम छ । किन एमालेलाई तारो बनाइयो भनेर गम्भीर समीक्षा गर्नु अहिलेका लागि मात्र नभई भविष्यका लागि समेत त्यत्तिकै जरुरी छ । कतिपय स्विकार्नुपर्ने कुरा पनि छन् र भविष्यका लागि हेक्का राख्नुपर्ने पनि । एमालेलाई निशाना बनाउनाको पहिलो कारण, सरकारको नेतृत्व गरिरहेको सत्तारूढ पार्टीको पहिचान नै हो । आन्दोलनका समयमा एमाले सरकारमा प्रमुख शक्ति थियो । त्यसैले जनताको आक्रोश प्रत्यक्ष सत्तामा बसेको दलतिर केन्द्रित भयो । ठुला घोटाला, नियुक्ति विवाद, विकास बजेटको दुरुपयोगजस्ता मुद्दामा एमाले नेतृत्वलाई प्रत्यक्ष/अप्रत्यक्ष संलग्न देखाउने निरन्तर प्रयत्न भइरहेको थियो । वास्तविक कुरा जनताको तहमा बुझाउने काममा पार्टी संयन्त्रको कमजोरी रहेका कारण सत्ता र भ्रष्टाचारसँग जोडिएको छवि एमालेको बन्न पुग्यो ।

अर्को कारण एमालेसँग बलियो स्थानीय संरचना हुनु पनि हो । उससँग सबैभन्दा बलियो सङ्गठन र कार्यालय सञ्जाल थियो । आक्रोश देखाउन आन्दोलनकारीले प्रत्यक्ष देखिने संरचना (कार्यालय, नेताको घर) लक्षित गरे । माओवादी केन्द्र, रास्वपा वा राप्रपाजस्ता दलले आफूलाई नयाँ/वैकल्पिक दल भनेर प्रस्तुत गरिरहेका थिए । एमाले-काङ्ग्रेस गठबन्धनका कारण सत्ताबाहिर रहेकाले सरकारका विरुद्ध हरसम्भव षड्यन्त्रको तानाबाना बुन्न उनीहरू सफल भए । आन्दोलनमा उनीहरूको घुसपैठ र उक्साउने काममा सहयोग गरेकाले उनीहरू सिधा निसानामा परेनन् । एमालेलाई विरोधको थप तारो बनाउनामा लक्षित प्रतीकवादले पनि काम गरेको छ । यसलाई विशिष्ट जनसमूहलाई प्रभावित गर्न वा उनीहरूमा समर्थन र सहानुभूति जगाउनका लागि चिह्न, रङ, शब्द, व्यक्तित्व वा सांस्कृतिक सन्दर्भको नियोजित प्रयोग गर्ने सञ्चार-रणनीतिका रूपमा बुझ्न सकिन्छ । विद्रोहमा प्रायः सबभन्दा ठुला र प्रत्यक्ष शत्रु मानिएकाको प्रतीक वा प्रमाण नष्ट पार्ने कोसिस हुन्छ । जेन-जी र त्यहाँभित्र घुसपैठ भएकाहरूले एमाले कार्यालय र नेताहरूको घर र सम्पत्ति तोडफोड गर्नु भनेको ‘सत्ताको मुख्य प्रतीक’ नष्ट गर्नु भन्ने भान थियो ।

इतिहास लामो र सङ्घर्षमय भएको एमालेमा वर्तमान समयले माग गरेबमोजिम आफ्ना रणनीतिमा गम्भीर सुधारको आवश्यकता महसुस भएको छ । दलले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेतृत्व गरिरहेको दलका रूपमा चिनारी बनाएको छ । समयसँगै दलको दृष्टिकोणमा विवेकपूर्ण सुधार र युवा वर्गलाई केन्द्र भागमा राख्नुपर्ने जिम्मेवारी आएको छ । त्यसैले एमालेका अगाडि अब दुई मुख्य चुनौती छन् – पहिलो युवाको निराशा र असन्तुष्टिको समाधान गर्ने र दोस्रो, दलको प्रासङ्गिकता नयाँ ढङ्गले कायम राख्ने । यसका लागि एमालेले आफ्नो रणनीतिमा रोजगारी, शिक्षा, सामाजिक न्याय र समावेशी शासनका विषयमा गम्भीर रूपमा राख्नुपर्छ । युवा वर्गको आकाङ्क्षालाई सम्बोधन गर्न नेतृत्वलाई अधिक प्रगतिशील र समावेशी बनाउनु आवश्यक छ ।

एमालेका लागि अहिले पनि चौतर्फी घेराबन्दी कायमै छ, रहनेछ । उपयुक्त रणनीति र नेतृत्वका साथ पार्टीले आफ्नो स्थिति सुधार्नेछ । यसका लागि पार्टीले आफ्नो आन्तरिक संरचनामा सुधार गर्दै जनताको विश्वासलाई जित्नु आवश्यक छ । साथै युवासँगको सम्बन्ध सुधार्दै उनीहरूको समस्या समाधानका लागि पहल गर्नु आवश्यक छ । पार्टीले आगामी राजनीतिक अभियान वा चुनावमा स्पष्ट र व्यावहारिक नीति प्रस्तुत गर्दै जनताको विश्वास कायम राख्न सक्नुपर्छ । एमालेको पुनर्जागरण र पुनर्निर्माणका लागि नेतृत्वको परिष्करण, पार्टीको आन्तरिक जीवनमा सुधार, भ्रष्टाचारविरुद्धको अभियान, युवासँगको सम्बन्ध सुधार र स्पष्ट, व्यावहारिक र पारदर्शी चुनावी रणनीति तयार गरेर कार्यान्वयनमा जान ढिलो गर्नुहुंँदैन ।

गैरसंवैधानिक गतिविधि, अराजकता, अन्योल र अनिश्चितता अहिले पनि नेपाली राजनीतिका अँध्यारा पक्ष हुन् भने सहिष्णुता, समावेशिता, सुशासन, भ्रष्टाचारमुक्त समाज र समृद्धितर्फको यात्रा जनताले अपेक्षा गरेको उज्याला पक्ष हुन् । पार्टीले यथास्थिति र निराशा होइन, पुनर्जागरण र पुनर्निर्माणमा थप उज्यालो थपोस् । सबैमा तिहारको शुभकामना !

 

प्रतिक्रिया

लेखकको बारेमा

रामशरण प्याकुरेल