+
Search

ताजा अपडेट +

पपुलर +

राज्य र ईश्वरबारेको दर्शन

रामलाल श्रेष्ठ

राज्य र ईश्वरबारेको दर्शन
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

दर्शनका चार मुख्य क्षेत्रभित्र पराभौतिक दुनियाँ, भौतिक दुनियाँ, नैतिकता र राजनीतिक दुनियाँका बारेमा तर्क र तथ्यका माध्यमबाट जान्ने, बुझ्ने प्रयास गरिन्छ । पराभौतिकदेखि राजनीतिक संसारसम्मको जान्ने, बुझ्ने र यथार्थ ज्ञान हासिल गर्ने क्षेत्र नै दर्शन हो ।

राजनीतिक संसारबारे जान्न र बुझ्न दर्शनको ज्ञानविना सम्भव नै हुँदैन । राजनीति दर्शनको उपरी संरचना हो भने पराभौतिक दुनियाँ दर्शनको जग हो । दर्शनको पहिलो, दोस्रो तला भौतिक र नैतिकताको दुनियाँ हो । यसरी दर्शन चारतले भवन हो, जसको जग पराभौतिक संसार हो भने पहिलो भौतिक संसार, दोस्रो नैतिकता र माथिल्लो तला राजनीति हो ।

दर्शनलाई जीवन र जगत् गरेर दुई भागमा अध्ययन गरिन्छ । जीवनभित्र सम्पूर्ण जीव, वनस्पति र प्राणी जगत्को अध्ययन गरिन्छ भने जगत्भित्र सम्पूर्ण निर्जीव वस्तुको अध्ययन गरिन्छ । निर्जीव वा जीवनरहित वस्तु भन्नाले धर्ती, पहाड, हिमाल, माटो, ढुङ्गा अर्थात् जीवनशून्य वस्तुको अध्ययन गरिन्छ । यी सम्पूर्ण निर्जीव वस्तुलाई एउटै डालामा राख्दा एकखाले स्वभावको वस्तु भेटिन्छ जसलाई अजैविक वस्तु भनिन्छ । यसको ठिक विपरीत जीवन वा गति भएका वस्तुलाई अर्को डालामा राखेर अध्ययन गरिन्छ जसलाई जीवन भएका वा जैविक वस्तु भनिन्छ । दर्शनको भाषामा जीवन र जगत् भनेर सम्पूर्ण भौतिक संसारलाई अध्ययन गर्ने विधा नै दर्शन हो ।

जीवन र जगत् दुई विपरीत वस्तु नै भौतिक संसार हो । ती दुई विपरीत वस्तुको एकता नै भौतिक संसार हो । भौतिक संसार किन र कसरी अस्तित्वमा आयो र यो कति समयसम्म अस्तित्वमा रहन्छ भन्ने जिज्ञासाको समाधान नै दर्शनको मुख्य उद्देश्य हो । भौतिक संसारको अस्तित्वको कारण र रहस्य खोज्ने सिलसिलाभित्र भौतिक संसारको पछाडि अर्को पराभौतिक अदृश्य संसारको अस्तित्व छ भन्ने चिन्तन र भौतिक संसार नै अन्तिम संसार हो, यसको पछाडि वा पर अर्को अदृश्य वा अमूर्त संसार छैन भन्ने चिन्तन सुरुदेखि नै परस्पर विपरीत चिन्तन दर्शनको क्षेत्रमा देखिन्छ । एकथरी चिन्तक भौतिक संसारको पछाडि अर्को पराभौतिक संसार छ र आत्मा, परमात्मा, ईश्वरजस्ता अदृश्य वा अमूर्त दुनियाँको अस्तित्व छ भन्ने मान्यता अगाडि सार्दै भौतिक संसारको अस्तित्वको आधार वा पछाडि पराभौतिक संसार छ भन्ने मान्यता अगाडि सार्छन् । अर्काथरी चिन्तक यो भौतिक जगत् वा दृश्य जगत् नै अस्तित्वको अन्तिम सत्य हो, यसको पछाडि अर्को अदृश्य वा अमूर्त वस्तु आत्मा, परमात्मा र ईश्वरजस्ता पराभौतिक वस्तुको अस्तित्व स्वीकार गर्दैनन् ।

ईश्वर
ईश्वर अदृश्य वा अमूर्त वस्तु हो । नेपाली समाजमा ईश्वरलाई सर्वशक्तिमान् र सर्वव्यापी अस्तित्वसहितको अदृश्य शक्तिका रूपमा मानिन्छ । मन्दिरभित्रको मूर्ति भौतिक वस्तु मात्र होइन, मूर्ति र मन्दिर ईश्वरको भौतिक संरचना मात्र हो । त्यसले अदृश्य शक्ति र निष्पक्षताको गुणसहितको संसार लुकेको छ भन्ने मान्यता बोकेको छ । ईश्वरको निष्पक्षतामा कतै प्रश्न गरिँदैन । ईश्वरका लागि यो भौतिक जगत्का जीवहरूबिच कतै भेदभाव हुँदैन भन्ने मान्यता छ । मन्दिरभित्र रहेको मूर्ति पूजा गर्दै गर्दा मानिस उनले रक्षा र कल्याण गरून् भन्ने याचना गरिरहेको पाइन्छ । यसको मतलब ईश्वर भौतिक संसार अर्थात् जीवन र जगत्को रक्षा र कल्याण गर्ने शक्तिशाली अदृश्य वस्तु हो भन्ने मान्यता राखिन्छ । ईश्वर अदृश्य शक्तिशाली वस्तु हो । उसको अस्तित्व भौतिक संसारभन्दा परको पराभौतिक संसारमा छ । ईश्वरलाई भौतिक संसारको सिर्जना गर्न सक्ने सर्वशक्तिमान् वस्तुका रूपमा बुझिन्छ । ईश्वर निष्पक्ष र निडर, सर्वव्यापी र सर्वशक्तिमान् तथा दयालु र करुणाले भरिएको वस्तु हो । अन्याय र अत्याचार बढ्दै चरमावस्थाका वेलामा पृथ्वीमा त्यसलाई समाप्त गर्ने उद्देश्यले विभिन्न अवतारका रूपमा अवतरण गरी मानव कल्याणका लागि सङ्घर्ष गर्ने अद्भूत चेतनाका रूपमा समेत ईश्वरलाई लिइन्छ । ईश्वर नैतिकता र विवेकको सर्वोच्च रूपसमेत हो । हामी उनको मन्दिर वा मूर्तिअगाडि उभिरहँदा अनैतिक र अश्लील वा भ्रष्ट आचरण नगरी सरल, नैतिक र विवेकपूर्ण कार्य गर्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिरहेका हुन्छौँ ।

राज्य
राजनीतिको संसारमा राज्यको परिभाषा विभिन्न चिन्तकले विभिन्न ढङ्गले गरेको पाइन्छ । निश्चित भूगोलभित्र निरन्तर बसोबास गर्ने मानिस नै राष्ट्र वा देश हो भन्ने परिभाषा प्रचलित छ । राजनीतिमा प्रचलित देश, राज्य, राष्ट्रियताजस्ता शब्दले अलग-अलग अर्थ बोकेको हुन्छ । राज्यको परिभाषाविना राजनीतिको बुझाइ सतही हुन्छ । राज्य पनि ईश्वरजस्तै अदृश्य र अमूर्त वस्तु हो । ईश्वरको भौतिक पक्ष मूर्ति र मन्दिर हो भने राज्यको भौतिक पक्ष भूगोल र जनसङ्ख्या हो । राज्यको अदृश्य पक्षको चर्चाविना राज्यको परिभाषा गर्न सकिँदैन । निश्चित भूगोलभित्र बसोबास गर्ने जीवन र जगत्को उचित व्यवस्थापन गर्ने उद्देश्यले सिर्जना गरिएको अदृश्य वस्तु नै राज्य हो । राज्यको भौतिक वस्तुका रूपमा राज्य सञ्चालनका लागि निर्माण गरिएका भवन कार्यालय हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत राज्य सञ्चालनका सर्वोच्च भवन हुन् भने देशैभरिका अड्डाअदालत, प्रहरी तथा सेना बस्ने कार्यालय र व्यारेक तथा सबै गाउँपालिका, नगरपालिका, महानगरपालिकाका भवन राज्यका भौतिक रूप हुन् । ती भवनभित्र कार्यरत मानिस भनेका ईश्वरका मूर्तिजस्ता हुन् । वास्तवमा राज्य सञ्चालनका लागि सिर्जना गरिएका ती सबै भौतिक वस्तु नै राज्यको बाहिरी संरचना हुन् ।

राज्यका यी भौतिक संरचनाभित्र अदृश्य रूपमा रहेका गुण नै वास्तविक राज्य हुन् । राज्य ईश्वरजस्तै सर्वशक्तिमान् छ । सेना र प्रहरी राज्यको भौतिक वस्तुभित्रका सर्वशक्तिमान् गुण हुन् । प्रहरी र सेना जनता र भूगोलको सुरक्षाका लागि सिर्जना गरिएका संरचना हुन् । समाजमा सम्पत्तिको कारण सिर्जना हुने झगडा र विभिन्नखाले मानवसिर्जित समस्याको समाधान गर्नु प्रहरीको मुख्य दायित्व हो । राज्यले चर्चेको निश्चित भूगोलमाथि अन्य राज्यबाट हुने हमलाबाट सुरक्षित गर्न सेनाको संरचना निर्माण गरिएको हुन्छ । समाज, राज्यभित्र उपलब्ध सम्पत्ति, अमूल्य स्रोतसाधनको उचित व्यवस्थापन र जनताको जीवनको सुख र समृद्धिका लागि आवश्यक शिक्षा, स्वास्थ्य संस्थाको यथोचित व्यवस्थापनका लागि विभिन्न संरचना निर्माण गर्नु र राज्यभित्र उपलब्ध स्रोत र साधनलाई जनतामा निष्पक्ष र न्यायपूर्ण वितरण गर्न आवश्यक सबैखाले संविधान र कानुन निर्माण गर्नु नै राज्यको मूल दायित्व हो ।

राज्य सञ्चालन गर्न निर्वाचित र नियुक्त पदाधिकारीको जनताको जीवन सुरक्षा गर्नु मुख्य कर्तव्य हो । जनताले राज्यलाई ईश्वरको गुणले भरिएको अदृश्य वस्तुका रूपमा देख्छन् । ईश्वरजस्तै दयालु, निष्पक्ष र सर्वसक्तिमान वस्तु नै राज्य हो । उनका अगाडि मानिसको केही नलागेजस्तै राज्यसामु व्यक्तिको केही लाग्दैन । राज्य एकातिर सर्वशक्तिमान् अदृश्य वस्तु हो भने अर्कातिर सर्वत्र सर्वव्यापी अस्तित्वसहितको वस्तुसमेत हो । जनताको प्रत्येक घर र भूगोलमा राज्यको अस्तित्व महसुस गर्न सकिन्छ । विपत् र प्राकृतिक दुर्घटनामा एकैचोटि ईश्वर र राज्य पुकारिन्छ । दुःख र आपत्मा मानिस जसरी ईश्वरसँग विपत् निवारणका लागि पुकार गर्छन्, त्यसैगरी अप्ठ्यारो अवस्थामा जनताले राज्यको सहयोगको याचना गरिरहेका हुन्छन् ।

राज्य निष्पक्षता र न्यायको समेत प्रतीक हो । ईश्वरले जसरी सबै मानवलाई निष्पक्ष व्यवहार गर्ने विश्वास गरिन्छ, ठिक त्यही रूपमा सबै नागरिकमाथि राज्यबाट न्यायपूर्ण व्यवहार हुने अपेक्षा गरिन्छ । यसरी राज्य दयालु मात्र नभई निष्पक्ष, न्यायपूर्ण र जनताको कल्याणका लागि सिर्जित ईश्वरजस्तै गुण भएको अदृश्य वस्तु हो । भवन राज्यको बाहिरी संरचना हुन् भने दयालु, निष्पक्ष, निडर, स्वतन्त्र, स्वच्छ, नैतिक, बौद्धिक, विवेकी र लोककल्याणका लागि सिर्जित ईश्वरीय गुणले भरिपूर्ण शक्तिशाली र सर्वव्यापक अदृश्य वस्तु नै राज्य हो । ईश्वरको सिर्जना गर्दा मानिसले आफ्नै असल गुणसहितको अदृश्य अस्तित्व बोकेको वस्तुका रूपमा सिर्जना गरेको देखिन्छ भने मानिसले ईश्वरीय गुणसहितको लोककल्याणका लागि आवश्यक अमूर्त वस्तुका रूपमा राज्यको सिर्जना गरेको देखिन्छ ।

तसर्थ राज्य मानिसको चेतनाले मानिसकै कल्याणका लागि सिर्जित सर्वोच्च अमूर्त वस्तु हो । संसारभरका राज्यहरू ईश्वरीय गुणअनुसार कार्य सम्पादन गर्दै अस्तित्वमा रहन्छन् । ईश्वरीय गुणअनुसार कार्य सम्पादन गर्नबाट अलग भएका स्थितिमा राज्य अस्तित्वविहीन हुँदै असफल राज्यमा बदलिन पुग्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह