विदुर । नुवाकोट एउटा यस्तो सुन्दर भूमि हो, जुन उत्तरमा सेता हिमालका राजा गणेश र लाङटाङका काखमा लुटपुटिएको सपनाजस्तै देखिन्छ । यसको उपत्यकालाई तादी र त्रिशूली नदीले चाँदीको चम्किलो फित्ताले बेरेझैँ सिञ्चित गरेका छन्, जसले यसलाई अझ मनमोहक बनाएको छ । चारैतिरका डाँडाकाँडामा फैलिएको हरियालीले मानौँ हरियो मखमलको पछ्यौरा ओढेर नुवाकोट मुस्कुराइरहेको छ । यो त्यही भूमि हो, जहाँका ढुङ्गा, माटो र दरबारले पनि इतिहासको जीवन्त कथा सुनाउँछन् ।
यहाँको अग्लो डाँडामा उभिएको साततले दरबार केवल एउटा भवन होइन, यो त समयको साक्षी हो, जसले शताब्दीयौँदेखिका घटनाक्रमलाई चुपचाप हेरिरहेको छ । यहाँको हावामा देवी भैरवीको शक्ति र मानिसको आस्था घुलेको छ, जुन बताससँगै बगेर सबैतिर फैलिन्छ । ठुलीवनको घना हरियालीले यहाँका पहाडलाई हरियो मुकुट पहि¥याइदिएजस्तो देखिन्छ र हरेक घुम्ती तथा मोडमा पुर्खाको वीरता र गौरवको गाथा कुँदिएको छ ।
यथार्थमा नुवाकोट भूगोलको एउटा भाग मात्र होइन, यो त वीरता, साधना र सिर्जनाको एउटा विशाल क्यानभास हो । यो त्यस्तो पवित्र भूमि हो, जहाँ हाम्रा पुर्खाको पौरख र प्रकृतिको असीम मिठास एकैसाथ पाइन्छ । त्यसैले जब कोही यसका काखमा पुग्छ, उसले शान्तिको अनन्त सागरमा डुबुल्की मारेको अनुभव गर्छ ।
काठमाडौँको कोलाहल र धुलो–धुवाँबाट उम्केर केही घण्टाको यात्रामा पुगिने नुवाकोट केवल एक भौगोलिक गन्तव्य होइन; समयको त्यो पाना हो, जहाँ इतिहासका अक्षर धुमिल भएका छैनन्, बरु जीवन्त भएर बसेका छन् । यो प्रकृतिको एउटा खुला सङ्ग्रहालय हो, जहाँ हरेक डाँडाकाँडा, खोलानाला र मठमन्दिरले आफ्नै कथा सुनाउँछन् । गणेश र लाङटाङ हिमालको छत्रछायामा अवस्थित र तादी–त्रिशूलीको पवित्र सङ्गमले सिञ्चित यो उपत्यका, मानौँ, धर्तीमा कुँदिएको एउटा अनुपम कविता हो ।
यसको परिचय शब्दमा मात्र अटाउन असम्भव छ । यो त्यही पुण्यभूमि हो, जहाँ राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम अध्याय बिताउँदै दिव्योपदेशजस्तो कालजयी विचार छाडेर गए । यही त्यो पुरानो बाटो हो, जहाँबाट राजकुमारी भृकुटीले माइतीको मायालाई मनमा साँचेर ज्ञानको प्रकाश फैलाउन तिब्बततर्फ पाइला चालेकी थिइन् र यही त्यो व्यापारिक धमनी थियो, जसले परापूर्वकालदेखि नेपाल र तिब्बतलाई नुन, ऊन र अन्नको व्यापारसँगै संस्कृति र मित्रताको डोरीमा बाँधेको थियो ।
यसको नाम नै यसको वीरता र रणनीतिको परिचय हो । सल्यानकोट, प्यासकोट, धुवाँकोट, भैरुमकोट, कालिकाकोट, बेलकोट, मालाकोट, सिमलकोट र धैबुङकोट– यी नौ किल्लाको एउटा शक्तिशाली हार नै ‘नुवाकोट’ हो । यी अग्ला टाकुरामा बनाइएका कोट केवल किल्ला मात्र थिएनन्, ती त त्यस भेगका आँखा थिए, जसले चारै दिशाको निगरानी गर्थे र भूमिको रक्षा गर्थे (यद्यपि सल्यानकोट र धुवाँकोट हाल धादिङ जिल्लामा पर्छ) ।
यहाँको माटो आस्थाले भिजेको छ । चिम्टेश्वर, दुम्चेश्वर, तारकेश्वर र कपिलेश्वर महादेवका पवित्र धामले भक्तजनलाई आकर्षित गर्छन् भने देवीघाट र भैरवी मन्दिरका शक्तिपीठले आध्यात्मिक ऊर्जा प्रदान गर्छन् । राहुचुली, ककनी र सूर्यगढीका अग्ला टाकुराबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले मनलाई मन्त्रमुग्ध बनाउँछ । अनि सामरी, सलाँखु, फलाँखु, सिन्दुरे, कोल्पु, लिखु, तादी र त्रिशूलीजस्ता नदीले अविरल बगेर नुवाकोटको सौन्दर्य र जीवनलाई निरन्तरता दिइरहेका छन् ।
एक नेपाली हुनाको नाताले नुवाकोटप्रति गौरव लाग्नु स्वाभाविक हो, तर यहीँ जन्मिन पाउनु त्यसभन्दा ठुलो सौभाग्य हो । हामी साँच्चै गर्व गर्छौँ, किनकि यहाँ गर्व गर्नलायकका अनगिन्ती कथा छन् । हामी भाग्यमानी छौँ, किनकि हामीसँग गौरवशाली इतिहासको धरोहर, सुखदुःख बिसाउने तादी र त्रिशूलीका किनार तथा पुर्खाको रगत–पसिनाले भिजेको त्यस खुकुरीको विरासत छ, जसले यस राष्ट्रलाई एउटा मालामा उनेको थियो ।
इतिहासको मौन पहरेदार : साततले दरबार
लगभग एक हजार मिटरको उचाइमा एउटा पहाडको टुप्पामा अटल उभिएको साततले दरबारविना नुवाकोटको परिचय अधुरो रहन्छ । यो दरबार केवल इँटा र काठको संरचना मात्र होइन, नेपाल एकीकरणको सपनाको एउटा बलियो स्तम्भ हो, पृथ्वीनारायणको अदम्य साहस र दूरदृष्टिको भौतिक प्रतीक हो ।
यसको निर्माणको कथा पनि उत्तिकै रोचक छ । काठमाडौँ उपत्यकाका मल्ल राजाहरूको वैभव र शक्तिलाई मनोवैज्ञानिक रूपमा चुनौती दिन पृथ्वीनारायणले यो भव्य दरबार बनाउने अठोट गर्नुभएको थियो । उपत्यकाका दरबार सामान्यतया पाँच तलाका हुन्थे, तर उनले तिनीहरूको घमन्ड तोड्न नौ तलाको विशाल दरबार बनाउन लगाएका थिए जुन वि.सं. १८१९ मा निर्माण सम्पन्न भएको थियो । तर, समयको क्रूर प्रहारस्वरूप वि.सं. १९९० को महाभूकम्पले यसका माथिल्ला दुई तलालाई धराशायी बनायो र त्यसपछि यो ‘साततले दरबार’का नामले चिनिन थाल्यो । यदि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले यसको जीर्णोद्धार नगरेका भए सायद यो दरबार उतिवेलै इतिहासको भग्नावशेषमा सीमित भइसक्थ्यो । दरबार साढे दुई सय वर्षपछि वि.सं. २०७२ को भूकम्पबाट जोगिन सकेन । भुइँचालोले क्षति भएको एक दशकपछि मात्र चिनियाँ सहयोगमा पुनर्निर्माणको काम चलिरहेको छ । अझ सुखद कुरा, एक दशक लामो माओवादी द्वन्द्वको आँधीबेहरीले पनि यसलाई छुन सकेन र यो आफ्नो अस्तित्व जोगाउन सफल भयो, जबकि देवीघाटस्थित पृथ्वीनारायणको सालिक भने निशानामा परेको थियो ।
दरबारको वास्तुकला : कला र रणनीतिको सङ्गम
साततले दरबारको वास्तुकला सौन्दर्य र रणनीतिको उत्कृष्ट मिश्रण हो । यो केवल बस्नका लागि बनाइएको महल थिएन, एक सैन्य किल्ला र प्रशासनिक केन्द्र पनि थियो ।
अद्वितीय बनोट : उत्तर–दक्षिण फैलिएको यो दरबारको उचाइ करिब ७५ फिट छ । यसको गारोको मोटाइ अनौठो र वैज्ञानिक छ– भुइँतलामा साढे ६ फिट बाक्लो पर्खाल उकालो लाग्दै टुप्पासम्म पुग्दा साढे दुई फिटमा सीमित हुन्छ । यो पिरामिड शैलीको डिजाइनले दरबारलाई स्थिरता प्रदान गर्छ र भूकम्प प्रतिरोधी बनाउँछ ।
कलात्मकताको खानी : दरबारमा प्रयोग गरिएका तेलिया इँटा घाम पर्दा सुनजस्तै टल्किन्छन् । तर, यसको वास्तविक सौन्दर्य त काठमा कुँदिएका कलाकृतिमा लुकेको छ । ढोका, झ्याल, थाम, निदाल, टुँडाल आदिमा कुँदिएका फूल, देवीदेवता र ज्यामितीय आकृतिले तत्कालीन काष्ठकलाको अनुपम नमुना प्रस्तुत गर्छन् । हरेक बुट्टाले एउटा कथा भन्छ र दरबारलाई जीवन्त बनाउँछ ।
रहस्यमयी आँखीझ्याल : यो दरबार यसका रणनीतिक आँखीझ्यालका लागि विश्वप्रसिद्ध छ । यी झ्याल दरबारका आँखा हुन्, जसलाई शत्रुको हरेक गतिविधि नियाल्न डिजाइन गरिएको थियो । यसको विशेषता अनौठो छ– भित्रबाट बाहिरको संसार, टाढाका उपत्यका र बाटाघाटा छर्लङ्ग देखिन्छन्, तर बाहिरबाट भित्र हेर्दा केवल अँध्यारो मात्र देखिन्छ । यो सम्भव भएको हो झ्यालको भित्री भाग चौडा र बाहिरी भाग साँघुरो बनाइएकाले । यी झ्यालबाटै गोर्खाली सेनाले उपत्यकाका मल्ल राज्यको निगरानी गर्थे ।
कालकोठरी र दृश्यावलोकन : दरबारको छैटौँ तलामा रहेको अँध्यारो, झ्यालविहीन दलान युद्धबन्दीलाई थुन्ने खोर अर्थात् ‘कालकोठरी’का नामले चिनिन्छ । इतिहासका अनेकौँ शक्तिशाली पात्र जस्तै कीर्तिपुरका कमान्डर वंशराज पाण्डे र तनहुँका राजा त्रिविक्रम सेन यहीँ बन्दी बनाइएका थिए । यस कोठाले एकीकरण अभियानको क्रूरता र कठोरताको कथा भन्छ । तर, एक तलामाथि सातौँ तला पुग्दा भने दृश्य ठिक उल्टो हुन्छ । यहाँबाट चारैतिरको लेक, बेँसी, गणेश र लाङटाङ हिमालको मनमोहक दृश्य, सूर्यगढीको टाकुरा र तादी–त्रिशूलीको सङ्गमको अद्भूत दृश्य देख्न सकिन्छ । यो त्यही ठाउँ हो, जहाँबाट पृथ्वीनारायणले एकीकृत नेपालको सपना देखेका थिए ।
दरबारको भूमिका
वि.सं. १८०१ मा नुवाकोट विजयपछि करिब २५ वर्षसम्म यो दरबार नेपालको अघोषित राजधानी रह्यो । पृथ्वीनारायणले आफ्ना दिव्योपदेश यही दरबारमा बसेर दिएका थिए, जसले नेपाली राजनीति र समाजलाई आजसम्म पनि मार्गदर्शन गरिरहेको छ । त्यसैले नेपाली साहित्यको प्रारम्भिक जग पनि यहीँबाट बसेको मानिन्छ । वि.सं. १८३१ मा उनको देहावसान नुवाकोटको देवीघाटमा भएकाले यसले इतिहासको एक पवित्र तीर्थस्थलको महत्त्व बोकेको छ ।
दरबारले नेपालको इतिहासका अनेकौँ उतारचढावलाई मौनतापूर्वक हेरेको छ । पृथ्वीनारायणका नाति रणबहादुर शाहका पालामा पारिवारिक कलहका कारण देश दुई ठाउँबाट चल्दा गीर्वाणयुद्धले नुवाकोटबाट शासन चलाएका थिए । उनका कान्छा छोरा बहादुर शाहको जन्मदेखि बन्दीजीवनसम्मको साक्षी पनि यही दरबार हो । सन् १७९३ मा अङ्ग्रेज दूत विलियम कर्कप्याट्रिकदेखि नेपालका लागि बेलायतका प्रथम आवासीय प्रतिनिधि एड्वार्ड गार्डनरसम्मले यही दरबारमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझेका थिए, जसले यसको अन्तर्राष्ट्रिय कूटनीतिक महत्त्वलाई पनि दर्शाउँछ ।
संस्कृतिको जीवन्त उत्सव
नुवाकोटको सौन्दर्य यसको इतिहास र प्रकृतिमा मात्र सीमित छैन, यहाँको जीवन्त संस्कृति र परम्परामा पनि झल्किन्छ । यहाँका जात्रा र पर्व केवल मनोरञ्जनका साधन होइनन्, यहाँका पहिचान, आस्था र सामाजिक एकताका प्रतीक पनि हुन् ।
सिन्दुरे जात्रा
सिन्दुरे जात्रा नुवाकोटको सबैभन्दा ठुुलो, पुरानो र जीवन्त सांस्कृतिक पर्व हो । यो केवल एक धार्मिक अनुष्ठान मात्र होइन, यहाँको पहिचान, इतिहास र सामाजिक एकताको प्रतीक हो । हरेक वर्ष चैत्रशुक्ल पूर्णिमाको दिन मनाइने यस पर्वमा हजारौँ मानिस नुवाकोट दरबार क्षेत्रमा भेला हुन्छन् र सिन्दुर खेलेर देवी भैरवीप्रति आफ्नो आस्था र भक्ति प्रकट गर्छन् । ‘रङहरूको उत्सव’मा पूरै वातावरण सिन्दुरको रातो बादलले ढाकिन्छ र मानिस खुसियालीमा रङ्गिएका हुन्छन् । यस जात्रालाई ‘सिन्दुरको नदी’ रूपी जात्राको प्रक्रिया निकै रोचक र परम्परागत छ ।
यसका मुख्य चरण र विशेषता :
धामीको भूमिका : जात्राका मुख्य पात्र भैरवी देवीका मुख्य पुजारी हुन् । जात्राका समयमा देवी भैरवीको शक्ति धामीका शरीरमा प्रवेश गर्छ भन्ने जनविश्वास छ । उनी विशेष पहिरन लगाउँछन् र जात्राभरि एकप्रकारको ध्यान वा अलौकिक अवस्थामा रहन्छन् । उनैले रथयात्राको नेतृत्व गर्छन् र सम्पूर्ण जात्रालाई निर्देशन दिन्छन् ।
रथयात्रा : जात्राको सुरुवात भैरवी मन्दिरबाट देवीको रथ निकालेर गरिन्छ । हजारौँ भक्तजन खटलाई काँधमा बोकेर ‘हो…हैँसे !’को नारा लगाउँदै नुवाकोट दरबार क्षेत्रतर्फ लैजान्छन् । सो खटजात्रामा धिमे, झ्याम्टा, ट्याम्कोजस्ता परम्परागत बाजाको तालले वातावरणलाई थप ऊर्जावान् बनाउँछ ।
सिन्दुर खेल : जात्राको सबैभन्दा आकर्षक पक्ष भनेकै सिन्दुर खेल्नु हो । भैरवीसहित देवीघाटस्थित जाल्पादेवी लगिएको रथलाई जब दरबार क्षेत्रमा ल्याइन्छ, मानिसले त्यसमा र एक–अर्कालाई सिन्दुर छ्यापाछ्याप गर्छन् । सो सिन्दुरलाई देवीको प्रसाद मानिन्छ । यसले सुख, समृद्धि, सुस्वास्थ्य र शत्रुमाथि विजयको प्रतीकका रूपमा काम गर्छ भन्ने विश्वास छ । सो क्षणमा पूरै बजार र जात्रामा सहभागी सिन्दुरले रातै देखिन्छन्, जसले एक अविस्मरणीय दृश्य सिर्जना गर्छ ।
देवीहरूको भेट : सिन्दुरे जात्राको एक महत्त्वपूर्ण ऐतिहासिक र सांस्कृतिक पक्ष भनेको देवी भैरवी र तलेजु भवानीको भेट हो । भैरवीको रथलाई नुवाकोट दरबारको मूल ढोकामा रहेको तलेजु भवानीको मन्दिरअगाडि ल्याइन्छ । सो भेटले स्थानीय शक्ति (भैरवी) र राज्य शक्ति (तलेजु) बिचको सम्बन्ध र सामञ्जस्यतालाई दर्शाउँछ । पृथ्वीनारायणले नुवाकोट विजय गरेपछि यो परम्परा सुरु भएको मानिन्छ ।
बलि प्रथा : परम्पराअनुसार भैरवीलाई खुसी पार्न जात्राका समयमा पशु बलि दिने चलन पनि छ । यो शक्तिशाली देवीलाई गरिने एक प्रकारको पूजा र समर्पण हो ।
‘जीवन्त सङ्ग्रहालय’ सिन्दुरे जात्राको महत्त्व बहुआयामिक छ । धार्मिक, सांस्कृतिक, सामाजिक ऐतिहासिक महत्त्वको यस जात्राको सम्बन्ध मल्लकाल र शाहकालसँग जोडिएको छ । यसले नुवाकोटको ऐतिहासिक गौरव र नेपाल एकीकरणको कथालाई पनि स्मरण गराउँछ । रङ, सङ्गीत र शक्तिको यस उत्सवलाई जीवनमा एकपटक अवश्य अनुभव गर्नुपर्छ ।
गोरुजुधाइ
माघे सङ्क्रान्तिका अवसरमा तारूका, बेत्रावती र अन्य केही स्थानमा आयोजना हुने गोरुजुधाइ नुवाकोटको एक मौलिक परम्परा हो । बलिया गोरुहरूलाई जुधाएर मनोरञ्जन लिने यो परम्परा सयौँ वर्ष पुरानो मानिन्छ । जाडोको पारिलो घाममा हजारौँ दर्शकको भिड, गोरुहरूको गर्जन र मानिसको उत्साहले पूरै वातावरण रोमाञ्चित हुन्छ ।
अन्य सांस्कृतिक सम्पदा
यीबाहेक लाखेनाच, गाईजात्रा, देवीनाच, घाटुनाच, सिपाही जात्राजस्ता अनेकौँ सांस्कृतिक पर्वले नुवाकोटलाई बाह्रैमास जीवन्त राख्छन् । दरबार क्षेत्रमा रहेका रङ्गमहल, गारदघर, तलेजु भवानीको मन्दिर, पाटीपौवा र सत्तल पनि यहाँका अमूल्य सांस्कृतिक सम्पदा हुन् ।
पर्यटनको अथाह सम्भावना
नुवाकोट दरबार क्षेत्र इतिहासको एउटा खुला किताब हो, जुन विशेषगरी इतिहास, संस्कृति र पर्यटनका विद्यार्थीका लागि एक महत्त्वपूर्ण शैक्षिक गन्तव्य बन्न सक्छ । यसको सम्भावना यतिमा मात्र सीमित भने छैन ।
आदर्श पर्यटकीय गन्तव्य : काठमाडौँको कोलाहलबाट केही घण्टाका दूरीमा (छोटो बाटो हुँदै लगभग ४५ किलोमिटर) रहेको सो शान्तिको टापुलाई आन्तरिक र बाह्य दुवै पर्यटकका लागि एक आकर्षक गन्तव्य बनाउन सकिन्छ । साततले दरबार क्षेत्र आफैँमा एउटा ऐतिहासिक ‘भ्यु टावर’ हो, जसलाई व्यवस्थित गर्न सके यसले पर्यटकलाई घण्टौँ अलमल्याउन सक्छ ।
सांस्कृतिक र साहसिक पर्यटन : काठमाडौँ उपत्यका जसरी ‘कल्चरल टुर’का लागि प्रसिद्ध छ, नुवाकोटमा पनि त्यो अपार सम्भावना छ । यहाँका जात्रालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके सांस्कृतिक पर्यटनले ठुलो फड्को मार्न सक्छ । साथै बुढानीलकण्ठ–शिवपुरी–ककनी हुँदै नुवाकोट दरबारसम्मको पदयात्रा मार्गलाई व्यवस्थित र प्रचारप्रसार गर्न सके यो साहसिक पर्यटनको केन्द्र बन्न सक्छ ।
चुनौती र अवसर
यी सबै सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसार र पूर्वाधारका कमीले नुवाकोटले सोचेजस्तो लाभ लिन सकेको छैन । नुवाकोट सम्पदा संरक्षण मञ्चजस्ता स्थानीय गैसस, नेपाल सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको एकीकृत र दिगो सहकार्य आजको आवश्यकता हो । होमस्टे (घरबास)को विकास, स्थानीय पथप्रदर्शकलाई तालिम र यहाँका सम्पदाको डिजिटल मार्केटिङ गर्न सके वि.सं. २०२६ मा सदरमुकाम विदुर सरेपछि हराएको चहलपहल फेरि फर्काउन सकिन्छ । जिल्लाभरि ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सामरिक, सांस्कृतिक महत्त्वका अनगिन्ती सम्पदाको पहिचान र खोज–अनुसन्धान गरी प्रचारप्रसार गर्न स्थानीय सरकार, सङ्घसंस्थाको सक्रियता आवश्यक छ । यहाँस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले अहिले चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेको साततले दरबारलगायत सम्पदाका लागि सहयोग र समन्वय गरिरहेको छ ।
राजनलाल श्रेष्ठ, प्रमुख, विदुर नगरपालिका

जिल्ला र नगरको मात्र नभई देशकै पहिचान बनेको नुवाकोटको पहिचान कायम राख्नकै लागि खोज, अनुसन्धान, प्रचारप्रसार, संरक्षणका लागि स्थानीय तहले मात्र नसक्ने भएकाले प्रदेश र सङ्घ सरकारसँग सहयोगका लागि हामीले प्रस्ताव गरेका छौँ । जिल्लाबाट प्रदेश सभा सदस्य र सङ्घीय सांसदमार्फत पनि हामीले बोल्न लगाउने र दबाब दिने गरेका छौँ । हामीले सांसदसँगको समन्वयमा दुवै सरकार तथा नेपालस्थित विभिन्न राजदूतावाससँग आवश्यक पूर्वाधारको पनि माग गरिरहेका छौँ ।
अहिले त्यहाँ खानेपानीलगायत खोज–अनुसन्धानको काम पनि भइसकेको छ । हामीले नथाकीकन घचघच्याइरहेकाले चिनियाँ टोलीले काम पुनः सञ्चालन गर्न थालेको छ । यो काम छिट्टै सकिने आशा छ । यसका लागि जनतासँग पनि सहयोगको आग्रह गरिरहेका छौँ । साततले दरबार, तलेजुलगायत सात सम्पदाको काम सुरु भइसकेको छ । चिनियाँ टोलीले भग्नावशेष भण्डारण गर्न स्थान, पानी, बिजुली, बाटोलगायतको माग गरेकामा हामीले त्यसलाई पूरा गरेका छौँ । स्थानीयवासीबाट हुने अवरोध हटाउन पनि चिनियाँ टोलीले माग गरिरहेको छ । यसमा तिनको पनि अपनत्व हुने गरी निर्माणको काम भइरहेको छ ।
दरबार क्षेत्रका अतिक्रमित भएका जग्गाको पुनः रेखाङ्कनको काम पनि सकी आफ्नो स्वामित्वमा ल्याइसकिएको छ । हामीले परम्परागत जात्रापर्व, दिवस चलाउन र मनाउन, कुमारीलाई भत्ता दिन पनि सहयोग गरेका छौँ ।
धननारायण चित्रकार, पूर्वाध्यक्ष, नुवाकोट उद्योग वाणिज्य सङ्घ

हिजोको राजधानी आज खण्डहर भएको छ, ओझेलमा परेको छ । सम्पदाबाट आवश्यक लाभ लिन सकेनौँ । अब समयसापेक्ष केबलकार, जिपलाइनजस्ता आधुनिक पर्यटकीय पूर्वाधार बनाउनु, होटेल–रिसोर्ट स्थापना गर्नु, प्रचारप्रसार गर्नु आवश्यक छ । रसुवा जाने पर्यटकलाई नुवाकोटमा पनि अड्याउनुपर्छ । नगरपालिकाले निजी क्षेत्रसँग पनि सहयोग, लगानी लिएर पूर्वाधार बनाउनुपर्छ । यसलाई पर्यटकीय क्षेत्र घोषणा गरिनुपर्छ ।
रामलाल श्रेष्ठ, बुद्धिजीवी तथा पर्यटन अभियानकर्मी

नगरपालिकाको कार्यालय नै नुवाकोट दरबार क्षेत्रमा हुनुपर्छ । नुवाकोट दरबार क्षेत्र पुग्ने सबै सडकको स्तरोन्नति हुनुपर्छ । शेराबाट नुवाकोट दरबार हुँदै गेर्खुसम्मको पदयात्रा अभियान चलाउनुपर्छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, नुवाकोट सङ्घ सरकारले कार्यालयमार्फत सम्पदा संरक्षण, अभिलेख उतार, जग्गाजमिनको अवस्था अध्ययन गरिरहेको छ । भविष्यको काठमाडौँ नुवाकोटलाई बनाउने अभियानमा सबैले सहयोग गरौँ ।




प्रतिक्रिया