विदुर । नुवाकोट जिल्ला, विदुर-४ सिमचौरको घुमाउने दहनजिकै त्रिशूली नदी किनारमा चार वर्षअघि निर्माण भएको वधशाला शीघ्र सञ्चालनको तयारी भइरहेको छ । चालू आवमा बागमती प्रदेश सरकारले रु.४० लाख बजेट विनियोजन गरेपछि नगरपालिकाले सञ्चालनको तयारीमा जुटेको छ ।
नगरपालिकाले वधशालाको पूर्वाधार निर्माणसहित आवश्यक सामग्री व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने नगर प्रमुख राजनलाल श्रेष्ठले बताउनुभयो । सङ्घीय सरकारको विशेष अनुदानमा चार रोपनी क्षेत्रफलमा निर्माण भएको यो वधशालामा रु. तीन करोड लगानी भइसकेको छ । मुख्य संरचना सबै निर्माण भए पनि नगरपालिकाले आवश्यक उपकरणको व्यवस्थापन गर्न नसक्दा सञ्चालनमा आउन सकेको थिएन । अहिले प्रदेशबाट विनियोजन भएको बजेटबाट सञ्चालनका लागि आवश्यक सामान उपकरण व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाइएको विदुर-४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले बताउनुभयो । सञ्चालनमा आएपछि आवश्यक सुविधा थप गर्दै लैजाने नगरप्रमुख श्रेष्ठले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई जानकारी दिनुभयो । नगरपालिकाले गत आव २०८१/०८२ मा केही रकम विनियोजन गरेर बाँकी भौतिक संरचना मर्मत गराएको थियो ।
मुख्य संरचना सबै निर्माण भएर पनि समयमै वधशाला सञ्चालन हुन नसक्दा करोडौँको सम्पत्ति जीर्ण भइरहेको गुनासो आएपछि नगरपालिकाले शीघ्र सञ्चालन गर्न लागेको हो । थप पूर्वाधार निर्माणसहित आवश्यक सामग्री व्यवस्थापन गरेर सञ्चालनमा ल्याउन अघिल्लो हप्ता नगरप्रमुख श्रेष्ठसहित वडा नं. ४ का अध्यक्ष ढुङ्गेल, वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपालसहित प्राविधिक शाखा र पशुसेवा शाखाका कर्मचारी र सरोकारवालाले वधशाला क्षेत्रको स्थलगत अवलोकन एवम् निरीक्षण गर्नुभएको थियो । भौतिक पूर्वाधार पूर्ण भए पनि वधशाला सञ्चालन नहुँदा सफा नगरपालिका निर्माणमा बाधा पुगिरहेको छ । करोडौँ रुपैयाँको लगानी उपयोग नहुँदा नगरभित्रका बजार क्षेत्रमा बिक्री हुने मासुमध्ये ७५ प्रतिशत अस्वस्थकर रहेको पशुसेवा कार्यालय नुवाकोटले बताउने गरेको छ । निर्माण सकिएको चार वर्षसम्ममा पनि वधशाला सञ्चालनमा नआउँदा भवन जीर्ण बन्दै गइरहेको छ भने ल्याइएका उपकरणसमेत काम नलाग्ने हुँदै गएको नाम नबताउने सर्तमा नगरका एक कर्मचारीले बताउनुभयो । जुन प्रयोजनका लागि निर्माण गरिएको भए पनि ती संरचनालाई प्रयोगमा ल्याउनुपथ्र्यो, तर हालसम्म त्यसलाई बेवारिसे अवस्थामा राखिएको नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्कीले बताउनुभयो ।





प्रतिक्रिया