नेपाल राष्ट्रको जीवनमा भदौ २३ र २४ गते घटेको जेन-जी विद्रोह एउटा अभूतपूर्व घटनाको रूपमा इतिहासमा लेखिने छ । राष्ट्रमा घट्ने हरेक महत्त्वपूर्ण घटनाको क्रमबद्ध सङ्ग्रह नै त्यो राष्ट्रको इतिहास हो । ऐतिहासिक घटनाको यथार्थ र वास्तविक कारणको खोजी गर्नु नै दर्शनको मुख्य उद्देश्य हो । जेन-जी विद्रोह नागरिकभित्र सङ्ग्रहित असन्तुष्टिको महाविस्फोट हो भन्ने नेपालको इतिहासमा लेखिनेछ । ऐतिहासिक घटनाको वास्तविकताको अनुसन्धान गर्ने एउटा चिन्तनलाई ऐतिहासिक आदर्शवादी दर्शन र अर्को चिन्तनलाई ऐतिहासिक भौतिकवादी दर्शनको जगमा जेन्जी विद्रोहको चिरफार गर्नु यो लेखको मुख्य उद्देश्य हो ।
दर्शन के हो ?
दर्शनको मुख्य काम इतिहासमा घट्ने घटना तथा परिघटनाको मूल कारणको खोजी गर्नु हो । जीवन, जगत्, समाज वा राज्यको इतिहास भनेको घटनाको क्रमबद्ध सङ्ग्रह हो । मानिसको जीवनमा घट्ने घटनाको क्रमबद्ध सङ्ग्रह मानिसको जीवनको इतिहास हो भने पृथ्वी वा धर्तीदेखि ब्रह्माण्डसम्म घट्ने घटनाको क्रमबद्ध सङ्ग्रह नै जगत्को इतिहास हो । जीवन र जगत्मा घट्ने घटनाको क्रमबद्ध सङ्ग्रह नै जीवन र जगत्को इतिहास हो । इतिहासमा घट्ने घटना के-कति कारणले घट्न पुग्यो र ती घटनाको दायाँबायाँ तलमाथि अर्थात् सहायक कारणभन्दा पनि मुख्य वा मूल कारणको खोजी गर्दै घटनाको वास्तविकताको जिज्ञासा मेटाउने काम नै दर्शन हो । घटना र अस्तित्वको मुख्य कारण वा मूल तत्त्वको खोजी नै दर्शनको मुख्य काम हो । मूल तत्त्वको खोजीलाई सार तत्त्वको जिज्ञासासमेत भनिन्छ । मूल तत्त्वको खोजी गर्नु भनेको अन्तिम सत्यको खोजी गर्नु हो । जीवन, जगत्, समाज र राज्यको इतिहासमा घट्ने घटनाको अन्तिम सत्यको खोजी गर्दै वास्तविकताको उद्घाटन गर्नु नै दर्शनको मुख्य काम हो । भौतिक जगत्मा उपलब्ध सारा वस्तु, ब्रह्माण्डदेखि विभिन्न ग्रह, तारामण्डलसम्मको उत्पत्तिको घटना र तिनको श्रृष्टि र अस्तित्वको मूल कारणको रहस्य जान्नु दर्शनको मुख्य क्षेत्र हो । जीवन र जगत्पछि समाज र राज्यको उत्पत्ति वा श्रृष्टिको मूल कारण र यसको अस्तित्वको मूल तत्त्वको जिज्ञासा मेटाउने काम पनि दर्शनकै हो । दर्शन जीवन र जगत्को उत्पत्ति र अस्तित्वको अन्तिम कारण वा अन्तिम सत्यको खोजी गर्ने विज्ञान हो । यो विज्ञानलाई मेटाफिजिक्स वा अन्टोलजी भनिन्छ । पूर्वीय दर्शनमा यो विधालाई तत्त्व मिमांस भन्ने गरिन्छ ।
मेटाफिजिक्स वा तत्त्व मिमांस भनेको के हो ?
मेटाफिजिक्स जीवन र जगत्को अन्तिम सत्यको खोजी गर्ने दर्शनको शाखा हो । जीवन र जगत्को उत्पत्ति र अस्तित्वको अन्तिम सत्यको खोजी गर्नु नै दर्शनको मुख्य दायित्व हो । जीवन र जगत्मा घट्ने घटनाको अन्तिम सत्य वा सारको खोजी गर्ने दर्शनको क्षेत्र नै मेटाफिजिक्स हो । मेटाफिजिक्स जीवन, जगत्, समाज र राज्यमा घटने घटनाको अन्तिम रहस्य खोज्ने विधा हो । अन्तिम सत्यको मतलब सार तत्त्वको खोजी नै हो । युनानी दार्शनिक प्लेटोदेखि जर्मन दार्शनिक जिएफडब्लू हेगेलसम्मले जीवन र जगत्को अन्तिम सत्य पदार्थ नभई आइडिया हो भन्ने चिन्तन अगाडि सारेको देखिन्छ । आइडिया पहिलो र जीवन र जगत्पछि भन्ने चिन्तन आदर्शवादी चिन्तन हो । कुनै पनि भौतिक वस्तुको सिर्जनाको मुख्य कारण आइडिया हो । आइडियाविना कुनै पनि वस्तुको सिर्जना हुन सक्दैन । कुनै पनि वस्तुलाई गहिरोसँग हेर्ने हो भने वस्तुको पछाडि आइडिया लुकेको हुन्छ । मानिसले पहिलोपटक कुर्सी बनाउन सुरु गर्दा मानिसको माइन्डमा कुर्सीको आइडिया जन्मेपछि मात्र कुर्सीे नामको भौतिक वस्तुको सिर्जना सम्भव हुन्छ । तसर्थ कुनै पनि भौतिक वस्तुको पछाडि आइडियाको अमूर्त तत्त्व लुकेको हुन्छ । भौतिक वस्तु वास्तविकता होइन, आइडियाको छायाकपी मात्र हो भन्ने चिन्तन नै आदर्शवादी चिन्तन हो । आइडिया नै जीवन र जगत्को उत्पत्ति र अस्तित्वको मूल कारण हो भन्ने मान्यता अगाडि सार्दै समाज र राज्यको उत्पत्ति र अस्तित्वको मूल कारण वा तत्त्व न्यायलाई मान्दछन् । हेगेल प्लेटोझैँ आदर्शवादी चिन्तक थिए । जीवन र जगत्को अस्तित्वको मूल तत्त्व आत्मा, समाज र राज्यको मूल तत्त्व न्यायलाई मान्ने चिन्तन नै आदर्शवादी चिन्तक हुन् । यसको ठिक विपरीत जीवन र जगत्लाई मूल तत्त्व मान्ने र आइडिया भौतिक परिस्थितिले जन्माउँछ भन्ने मान्यता भौतिकवादी चिन्तन हो ।
मानिसको असन्तुष्टिको मुख्य कारण के हो ?
मानिस असन्तुष्ट प्राणी हो । असन्तुष्ट रहने स्वभावले मानिसलाई गतिशील बनाइरहेको हुन्छ । मानिसको गतिको मुख्य कारण असन्तुष्ट स्वभावलाई मानिन्छ । मानिसको सबैभन्दा ठुलो असन्तुष्टि नै गाँस, बास र कपासको अभाव हो । खान लाउन र बस्ने बासको अभावले मानिसलाई सबैभन्दा धेरै असन्तुष्ट बनाउँछ । खान-लाउन र बासको व्यवस्थाले मानिसलाई सन्तुष्टि दिन्छ । गास, बास र आवासपछि मानिसमा सुरक्षाको अभावले असन्तुष्टि उत्पन्न हुन्छ । आफ्नो जीवन र सम्पत्तिको सुरक्षाको व्यवस्था भएपछि मानिसलाई साथीभाइ, इष्टमित्रको अभावको महसुस हुन्छ । इष्टमित्र, साथीभाइसँग भेटघाटको अभावमा मानिस फेरि असन्तुष्ट रहन्छ । यो सामाजिक असन्तुष्टिले मानिसलाई समाजमा वा समूहमा मिलेर बस्ने त्यसको सदस्य हुने चाहना हुन्छ । यो असन्तुष्टिकै कारण मानिस सामाजिक र राजनीतिक गतिविधिमा संलग्न भइरहेको हुन्छ । सामाजिक गतिविधिले मानिसलाई बिस्तारैबिस्तारै आफ्नो पदप्रतिष्ठा मानसम्मानको असन्तुष्टिको सिर्जना गर्दछ । यही मानसम्मान र प्रतिष्ठाको असन्तुष्टिले मानिसलाई राजनीतिक पद, पैसा र शक्तिको पछाडि दौडाइरहेको हुन्छ ।
मानिसको गतिको मुख्य कारण के हो ?
मानिसलाई सबैभन्दा पहिले जीवन निर्वाहको वस्तुको अभावले गतिशील बनाइरहेको हुन्छ । जीवन निर्वाहको व्यवस्थापछि मानिस आफ्नो जीवन र सम्पत्तिको सुरक्षा त्यसपछि समाज साथीभाइसँग रहने सामाजिक चाहनाले गतिशील बनाइरहेको हुन्छ । यो चिजको व्यवस्थापनपछि मानिसमा मानसम्मान र प्रतिष्ठाको अभावले असन्तुष्ट बनाइरहेको हुन्छ । मानसम्मान र प्रतिष्ठाको प्राप्तिपछि मानिसलाई संसारकै उच्च पद र शक्तिमा पुग्ने तीव्र इच्छाले मानिसलाई गतिशील बनाइरहेको हुन्छ । यसरी मानिसलाई जीवन निर्वाहको वस्तुको अभावदेखि जीवन र सम्पत्तिको सुरक्षाको अभावदेखि सामाजिक गतिविधिबाट मानसम्मान, इज्जत प्रतिष्ठा र उच्चतम प्रतिष्ठित व्यक्ति बन्ने तथा समाज र मानव कल्याणका लागि महत्त्वपूर्ण योगदान गर्नै चाहनाले मानिसलाई गतिशील बनाइरहेको हुन्छ । यही इच्छा र चाहनाको आपूर्तिको अभाव नै मानिसको गतिको कारण हो ।
चेतना नै मानिसको गतिको मूल कारण हो ?
मानिसको गतिको मूल कारण मानिसको चाहना नै हो । चाहना नै मानिसको असन्तुष्टिको मूल कारण हो । मानिस चाहनाको पछाडि दौडेर जीवनको अन्तिम घडीसम्म पनि असन्तुष्ट रहन्छ । यो असन्तुष्ट रहने मानिसको प्राकृतिक स्वभाव हो । यही स्वभावले मानिसलाई गतिमा राख्दछ । मानिसभित्र चाहनाको सिर्जना गर्ने मूल तत्त्व मानिसको चेतना वा आत्मा हो । आत्मा चेतनशील अमूर्त वस्तु हो । यो चेतनशील वस्तुकै कारण मानिसमा असन्तुष्टिको जन्म भएको हुन्छ । चेतना यो धर्तीमा सबैभन्दा विकसित अवस्थामा मानिसको उत्पत्तिसँगै हुन्छ । यही चेतन तत्त्व नै मानिसको असन्तुष्टि कारण हो । धर्तीका अन्य प्राणीमा चेतनतत्त्व कम विकसित अवस्थामा भएको कारण विचार गर्न सक्ने, तर्क-वितर्क गर्न सक्ने बुद्धि वा विवेकको क्षमता हुँदैन । आत्माको यो चिन्तन गर्न सक्ने तत्त्व नै मानिसको असन्तुष्टिको कारण हो । धर्तीका अन्य जीवमा जस्तै मानिसमा पनि आँखा, कान, नाक, छाला तथा जिब्रोजस्ता अङ्ग नै इन्द्रीय हुन् । इन्द्रीयको कारण असन्तुष्ट हुने हो भने धर्तीका अन्य जीव पनि असन्तुष्ट हुनुपर्ने हो । तसर्थ चेतनाको कम विकसित अवस्थाको कारण अन्य जीव जीवन निर्वाहको स्थितिमा सन्तुष्ट हुन्छन् भने मानिसमा यही चेतना विकसित अवस्थामा रहेको कारण एकपछि अर्को चाहनाको अभावको महसुस हुनु नै असन्तुष्टिको मुख्य कारण हो ।
चेतना, आत्मा वा माइन्ड एउटै अमूर्त वस्तुको नाम हो । यो अमूर्त वस्तुको असन्तुष्टिको मूल कारण के हो ?
पूर्वीय दर्शनअनुसार आत्मा परमात्माको एउटा अंश हो । आत्माविना जीवनको उत्पादन र अस्तित्व सम्भव छैन । परमात्माको अंशको रूपमा ब्रह्माण्डको उत्पत्तिको समयमा चेतना पदार्थसँगै मृत अवस्थामा टाँसिएर पदार्थसँगै धर्तीमा आयो । आत्मा परमात्मासँग अलग्गिएर पदार्थसँग बिस्तारैबिस्तारै हुर्कन थाल्यो । पहिला भौतिक वस्तु जड पदार्थको जन्म भयो । धेरै समयपछि जगत्को जड पदार्थ जीवनमा बदलियो । धर्तीमा जड पदार्थपछि विपरीत वस्तु जीवनको रूपमा वनस्पतिको उत्पत्ति भयो । धेरै कालपछि वनस्पति बिस्तारैबिस्तारै विपरीत वस्तु प्राणी वर्गको उदय भयो । वनस्पति र प्राणी वर्गमा चेतन तत्त्वको थोरै मात्र विकसित भएको कारण वनस्पति र प्राणी वर्गमा गति देखा पर्यो । धेरै कालपछि आजभन्दा लगभग तीन लाख वर्षअगाडि दुई खुट्टाले हिँड्ने दुई हात स्वतन्त्र भएको मानव जीवनको उदय भयो ।
जीवन र जगत् चेतना र पदार्थको विपरीत वस्तुको संयुक्त रूप हो ।
दुईखुट्टे जीवको रूपमा उदय भएको धेरै कालसम्म पनि मानवमा चेतन तत्त्व विकास भएको थिएन । आजभन्दा लगभग सत्तरी हजार वर्षअघि मात्र यो दुई खुट्टाले हिँड्ने प्राणीमा चेतन तत्त्व विकसित भएको देखिन्छ । यही चेतन तत्त्व ब्रह्माण्डको उत्पत्तिको समयमा परम् चेतन तत्त्व ईश्वरबाट अलग्गिएर मृत अवस्थामा पदार्थसँग शून्य अवस्थामा टाँसिएर रहेको थियो । यो चेतन तत्त्व पहिले जड पदार्थमा मृत वा शून्य अवस्थामा थियो र पछि विकसितहुँदै जैविक पदार्थमा सानो अंशबाट विकसित हुँदै सरलबाट जटिल वनस्पति र प्राणी जगत्मा क्रमशः विकसित हुँदै दुईखुट्टे जीव मानिसमा आइपुग्दा पूर्ण विकसित अवस्थामा आइपुग्यो । चेतन तत्त्वको पूर्ण विकसित अवस्थाकै कारण मानिसमा तर्किकता, बौद्धिकता, नैतिकता र असन्तुष्टिको मूल कारण बन्न पुग्यो ।
चेतन तत्त्व मानिसमा सक्रिय र विकसित अवस्थामा रहेको हुन्छ । यो तत्त्व ब्रह्माण्डको उत्पत्तिको समयमा ईश्वरीय तत्त्व परमात्मासँग अलग्गिएर धर्तीमा सुषुप्त अवस्थामा पदार्थसँग टाँसिएर करोड वर्षसम्म रह्यो । ब्रह्माण्डको उत्पत्तिको समय आजभन्दा एक हजार तीन सय ८० अर्ब वर्षअगाडि आजको ब्रह्माण्ड सियोको टुप्पोजस्तो पदार्थ र चेतन तत्त्वको संयुक्त सूक्ष्म कणको रूपमा विद्यमान थियो । आजको पूरै ब्रह्माण्ड पदार्थ र चेतन तत्त्वको संयुक्त रूपमा सानो अदृश्य सूक्ष्म विन्दुमा खाजियको अवस्थामा विद्यमान थियो । यो अदृश्य सूक्ष्म विन्दुको पदार्थ र चेतनाको सूक्ष्म कण पूर्ण रूपले विकसित हुने मूल स्वभावको कारण महाविस्फोटसहित पदार्थ तीव्रगतिमा फैलिन थाल्यो भने चेतन तत्त्व सूक्ष्म कणको रूपमा मृत अवस्थामा पदार्थसँगै टाँसिएर फैलिन थाल्यो । प्रकाशको गतिभन्दा तीव्र रूपले ब्रह्माण्डको फैलावट आज पनि जारी नै छ । यसको पुष्टि विज्ञानले ब्रह्माण्डको उत्पत्तिको आजसम्मको भरपर्दो सिद्धान्त महाविस्फोटको सिद्धान्तमार्फत गरिसकेको छ ।
यसरी चेतन तत्त्व र पदार्थ एकआपसमा विपरीत तत्त्वको रूपमा अलग्गिनै नसकिने गरी ब्रह्माण्डको हरेक कणमा विद्यमान छ । जगत्का सबै जड वस्तुपछि जैविक वस्तुमा बदलिँदै बिस्तारैबिस्तारै मानिसको रूपमा पूर्ण विकसित हुन पुग्यो । ब्रह्माण्डको श्रृष्टिको समयमा चेतन तत्त्व पदार्थसँगै मृत अवस्थामा परमात्मासँग अलग्गिनुको कारण नै मानिसमा असन्तुष्टिको स्वभावको मूल कारण हो । मानिस जब ईश्वर वा परमात्मासँग नजिक पुग्दछ त्यतिवेला सबै असन्तुष्टि बिर्सेर सन्तुष्ट अवस्थामा रहन्छ । जब परमात्मासँग वा ईश्वरबाट अलग्गिनुपर्दा पुनः असन्तुष्ट बन्दछ । यही क्रम दैनिक चलिरहन्छ । ईश्वरसँग नजिक रहँदा मानिसमा असन्तुष्टि हराउन थाल्दछ । मानिस ईश्वर वा परमात्मासँग विलीन भएको स्थितिमा मानिसमा असन्तुष्टिको सानो अंश पनि बाँकी रहँदैन । यही अवस्थालाई मुक्ति वा निर्वाण वा मानिसको पूर्ण स्वतन्त्रताको अवस्था भनिन्छ । क्रमशः …………..





प्रतिक्रिया