+
Search

ताजा अपडेट +

पपुलर +

‘कुञ्जिनी’ लेखिएको स्थानमा महाकवि देवकोटाको सालिक अनावरण

‘कुञ्जिनी’ लेखिएको स्थानमा महाकवि देवकोटाको सालिक अनावरण
त्रिशूली प्रवाह
४ महिना अगाडी

बेलकोटगढी । महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान बेलकोटगढी-५ झिल्टुङ, दुईपिपलले यही कात्तिक १ गते ११७औँ लक्ष्मीजयन्तीका अवसरमा सालिक अनावरण गरेको छ । बेलकोटगढीस्थित कुञ्जिनी उद्यानमा निर्मित महाकवि देवकोटाको सालिक अनावरण गरिएको हो । महाकवि केही समय आफ्नो मामाससुराल झिल्टुङ आई नुवाकोट परिवेशको ‘कुञ्जिनी’ खण्डकाव्य, ‘पहाडी जीवन’ निबन्धलगायत लेखेका थिए ।

सो अवसरमा देवकोटाको मूर्ति निर्माण गर्ने मूर्तिकार दिनेश्वर महतो र हरिराम अधिकारी, कुञ्जिनी उद्यान निर्माणमा सहयोग गर्ने बेलकोटगढीका पूर्वनगर उपप्रमुख कविता ढुङ्गाना, सोही वडाका पूर्ववडाध्यक्ष अनन्त नेपाल, स्थानीय समाजसेवी मोहन नेपाल र द्वारिकाप्रसाद नेपाललाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले जानकारी दिनुभयो । सोही कार्यक्रममा झिल्टुङ र देवकोटा विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा आठ विद्यालयका विद्यार्थी सहभागी भए । प्रतियोगितामा गौलिङ्गेश्वर मावि बेलकोटगढी-६ का साम्राट तामाङ प्रथम, पञ्चासे मावि बेलकोटगढी-४ का जमुना पौडेल द्वितीय, मालिका मावि बेलकोटगढी-६ का सञ्जिता तामाङ तृतीय र कामरुदेवी मावि बेलकोटगढी-५ का प्रतिभा खतिवडाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । उनीहरूलाई क्रमशः रु.पाँच हजार, रु.तीन हजार, रु.दुई हजार, रु.एक हजार र प्रमाणपत्र नगरप्रमुख जगतबहादुर गुरुङले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा सहभागी सबैलाई रु.पाँच-पाँच सय प्रोत्साहस्वरूप प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि विभिन्न महानुभावबाट रु.२५ हजार ६९० सहयोग सङ्कलन भएको थियो । कुञ्जिनी उद्यान र सालिक निर्माण गर्न बेलकोटगढी नगरपालिकाबाट २०७८ सालमा रु.पाँच लाख, २०८० मा रु.दुई लाख र सङ्घीय सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत आवमा रु.१८ लाख विनियोजन भएको प्रतिष्ठानका सचिव नारायणप्रसाद नेपालले जानकारी दिनुभयो । सो दिन स्रष्टा पदयात्रा नेपालको टोलीले बेलकोटगढी-निरञ्जना-बाघखोर-झिल्टुङ डबली-ठिहीचौर-झिल्केश्वरहुँदै कुञ्जिनी उद्यानसम्म पदयात्रा तथा रचना वाचन कार्यक्रमसमेत सम्पन्न गरेको थियो । कार्यक्रममा बेलकोट नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल, वडाध्यक्षलगायत साहित्यकार, स्रष्टा तथा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि एवम् स्थानीय समुदायको सहभागिता थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह