+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीको खर्च ६.१९ प्रतिशत

बागमतीको खर्च ६.१९ प्रतिशत
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आवका लागि विनियोजित कूल बजेटको छ दशमलव १९ प्रतिशत मात्र गत असोज मसान्तसम्ममा खर्च गरेको छ । प्रदेशमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा गत आवको पहिलो तीन महिनाको अनुपातमा कम बजेट खर्च भएको छ ।

गत आवको पहिलो तीन महिनामा प्रदेश सरकारले विनियोजित कुल बजेटको छ दशमलव ८८ प्रतिशत खर्च गरेको थियो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको गत असोज मसान्तसम्मको बित्तीय प्रगति विवरणअनुसार चालु आवको गत साउनदेखि असोजसम्म तीन महिनामा कूल बजेटको छ दशमलव १९ प्रतिशत अर्थात् रू.चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको छ । मन्त्रालयका अधिकृत इन्द्रराज सन्ज्यालका अनुसार गत असारमा प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू.६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा यस अवधिमा चालुतर्फ ११ दशमलव ४८ प्रतिशत अर्थात् रू.दुई अर्ब ९९ करोड छ लाख ११ हजार खर्च भएको जानकारी दिनुभयो ।

गत आवमा रू.६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन भएको पहिलो तीन महिना असोज मसान्तसम्ममा छ दशमलव ८८ प्रतिशत अर्थात् रू.चार अर्ब ४४ करोड एक लाख २४ हजार खर्च भएको थियो । चालु आवमा कूल बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ । पुँजीगततर्फको बजेटमा यो अवधिमा दुई दशमलव ८७ प्रतिशत अर्थात् रू.एक अर्ब १८ करोड ८५ लाख १४ हजार खर्च भएको छ । चालु आवमा चालुतर्फ रू.२६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ रू.४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । चालु आवका लागि मन्त्रालय, आयोग र निकायका लागि विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोक सेवा आयोगले १९ दशमलव ५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत बजेट यो अवधिमा खर्च गरेको छ । एक प्रतिशत भन्दा कम बजेट खर्च गर्नेमा संस्कृति तथा पर्यटन मन्त्रालयले शून्य दशमलव ८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयको पहिलो तीन महिनाको बित्तीय विवरणमा उल्लेख छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण बजेट कार्यान्वयन प्रभावित भएको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह