+
Search

ताजा अपडेट +

पपुलर +

इन्द्रायणी माविको प्रेरणादायक रूपान्तरण

इन्द्रायणी माविको प्रेरणादायक रूपान्तरण
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिका-१ स्थित इन्द्रायणी माध्यमिक विद्यालय केही वर्षअगाडिसम्म कमजोर भौतिक अवस्था, जोखिमपूर्ण वातावरण र न्यून विद्यार्थी सङ्ख्याका कारण सङ्कटमा थियो । विद्यालयको प्राङ्गणबाटै सार्वजनिक बाटो जाँदा गाईवस्तु हिँड्ने र बालबालिकाका लागि खेल्ने ठाउँसमेत नहुनु सामान्य कुरा थियो । अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउन डराउँथे । २१ वर्षदेखि त्यहीँ पढाउँदै आएका शिक्षक विमलकुमार थपलिया भन्नुहुन्छ, ‘विद्यालयमा भौतिक संरचना, शैक्षिक सामग्री, विद्यार्थी सङ्ख्या केही थिएन, जेनतेन चलाउनुपरेको थियो ।’

विद्यालयको रूपान्तरणको थालनी २०७८ सालमा भयो, जब कुमार पाठकलाई प्रधानाध्यापक नियुक्त गरियो । पाठक पहिले तादी-५ स्थित जनकल्याण आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । स्थानीय नेताहरू र विद्यालय व्यवस्थापन समितिको अनुरोधमा उहाँ प्रधानाध्यापक बन्न सहमत हुनुभयो । त्यसवेला विद्यालय अस्तव्यस्त थियो र गाउँका हुनेखाने तथा शिक्षकका छोराछोरीसमेत त्यहाँ पढ्दैनथे । पाठकले शिक्षण प्रणालीमा सुधार ल्याउन साना कक्षाबाट थालनी गर्नुभयो । शिशु कक्षा हटाएर संस्थागत विद्यालयजस्तै नर्सरी, एलकेजी र युकेजी सञ्चालन गरियो । कक्षाकोठाहरूमा कार्पेट बिच्छ्याइयो, रङ लगाइयो, शैक्षिक सामग्रीको प्रबन्ध मिलाइयो । पठनपाठनलाई अङ्ग्रेजी माध्यममा पनि सुरु गरियो । विद्यालयवरपरका खोल्साहरूलाई सुरक्षित बनाइयो, सार्वजनिक बाटो हटाइयो, पर्खाल र तारजाली लगाइयो । साना कक्षाका शिक्षकहरूलाई तालिम दिइयो र जनशक्ति थपियो । यी सुधारका परिणामस्वरूप विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो । २०७८ मा जम्मा १७८ जना विद्यार्थी थिए भने एक वर्षमै ३५० पुगे । विद्यालयले कक्षाहरूलाई सङ्ख्याको साटो नामहरू (जस्तै कञ्चनजङ्घा, सिन्धुली, रामेछाप) दिन थाल्यो, जसले बालबालिकालाई ठाउँको परिचयसँग पनि जोड्ने काम ग¥यो । विद्यालयमा हाल २३ शिक्षक कार्यरत छन्, जसमा ६ जना स्थायी र अन्य अनुदान, करार तथा निजी स्रोतबाट छन् ।

विद्यालयले ‘बोर्डिङ स्कुल’ शैली अँगालेपछि वरपरका निजी विद्यालयहरूमा असर प¥यो । एक समय अभिभावकको रोजाइमा रहेको आठबिसे युनिभर्सल बोर्डिङ स्कुल नै बन्द भयो । त्यहाँका विद्यार्थी मात्र होइन, शिक्षकहरूसमेत इन्द्रायणीमा आए । शिक्षक ठाकुरप्रसाद लामिछाने भन्नुहुन्छ, ‘हामी जहाँ भए पनि शिक्षण पेसा नै गर्ने हो, विद्यार्थीलाई व्यावहारिक बनाउनुपर्छ ।’ विद्यालयले विद्यार्थीलाई अतिरिक्त ज्ञान र सिप प्रदान गर्न सुरु गरेको छ । कोही गायक, शिक्षक वा डाक्टर बन्ने सपना बोकेका छन् । विद्यार्थी पुनम तामाङले गायक बन्ने सपना बोकेकी छिन् र विद्यालयले उनलाई गीत गाउने अवसर पनि दिएको छ । नेपाली विषयकी शिक्षिका तुलसा मिश्र भन्नुहुन्छ ‘घोकाएर पढाउने होइन, फरक शैलीले पढाउन सकिन्छ ।’ शिक्षक लामिछोको नेतृत्वमा गठन भएको खाजा समितिले विविध मेनुअनुसार पोषणयुक्त दिवा खाजा प्रदान गर्छ । खाजा बनाउन विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दिएको सहयोगबाट विद्यालयको भान्सा, हात धुने स्थान र सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । पहिले एकै प्रकारको खाजा खुवाइन्थ्यो भने अहिले सिजनअनुसार फलफूल, तरकारी र पोषणयुक्त खाना दिइन्छ ।

विद्यालयसँग आफ्नै खेतीयोग्य जमिन नभएकाले भाडामा लिएर तरकारी खेती गरिएको छ । विद्यार्थीले बालीविज्ञान पढ्दै उत्पादन गर्छन्, जुन विद्यालयमै प्रयोग गरिन्छ र त्यसको मूल्य विद्यार्थीलाई दिइन्छ । यसरी शिक्षासँगै व्यावहारिक जीवन सिपको पनि अभ्यास गरिन्छ । दूध आपूर्तिका लागि अभिभावक संलग्न सहकारी संस्था सञ्चालन गरिएको छ, जसले प्रत्येक सोमबार दूध विद्यालयमा पठाउँछ । डब्लुएफपीको ‘ग्रिन स्कुल’ अवधारणाले विद्यालयलाई दैनिक खाजा वितरण, उपस्थिति र व्यवस्थापनमा डिजिटल प्रणाली जडान गरिदिएको छ । खाजा खाएको विवरण मोबाइलबाट अपडेट गरिन्छ । यसै कार्यक्रमअन्तर्गत शिक्षक तालिम, कक्षा सुधारलगायत विविध सहयोगहरू उपलब्ध छन् । विद्यालयले प्रत्येक पक्षसँग सहकार्य गर्दै आर्थिक स्रोतको उचित उपयोग गरिरहेको छ ।

प्रधानाध्यापक कुमार पाठक स्वयम् यही विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ । उहाँले यही विद्यालयबाट कक्षा पाँच पास गर्नुभएको हो । आफ्नो जीवनमा पढाइ स्थगित हुँदै अघि बढे पनि शिक्षण पेसामा लागेको अनुभवले उहाँलाई इन्द्रायणीमा सुधार गर्न प्रेरित ग¥यो । क्यानडा जान चाहनुभएका उहाँले विदेश जाने सपना त्यागेर आफ्नै गाउँको विद्यालयलाई उत्कृष्ट बनाउने निर्णय गर्नुभयोे । उहाँ भन्नुहुन्छ, ‘यो स्कुललाई विदेशबाट विद्यार्थी आउँछ भन्ने बनाउने योजनामा छु ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम पाठक भन्नुहुन्छ, ‘विद्यालय सुधारमा शिक्षक, अभिभावक, स्थानीय सरकार सबैको सकारात्मक भूमिका अनिवार्य हुन्छ ।’ विद्यार्थीको पठनपाठनबारे प्रत्यक्ष छलफल आयोजना गरिन्छ र दरबन्दी थपजस्ता प्रशासनिक कामहरूमा समेत समितिले सहयोग गरिरहेको छ । तीन वर्षको अवधिमा विद्यालयले सस्तो, असुरक्षित र अपठनीय अवस्थाबाट उठेर आधुनिक, सुरक्षित, शैक्षिक गुणस्तरमा उन्नत र समुदायमै उदाहरणीय विद्यालय बन्ने सफलताको कथा रचेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह