नेपालको वाम-राजनीतिमा फेरि एकपटक ‘एकता’को नारा गुन्जिन थालेको छ । कतिपय नेताहरूका मुखमा मिठा शब्द झुल्किन्छन्, ‘टुक्रे खुद्रा पसल बन्द गरौँ, वाम ध्रुवीकरण गरौँ ।’ तर, जब ती शब्दको अन्तर्यमा पुगिन्छ, तब बुझिन्छ, ती एकताको आवरणमा लुकेका सुधारवादी सत्ताको सौदा हुन्, जसले क्रान्तिको बाटो छेकेर सत्ता-संसद्को दलदलमा डुबाउने काम गरिरहेका छन् ।
माओवादी केन्द्रका नेताहरूले अहिले दिन थालेको अभिव्यक्तिले यही प्रवृत्तिको प्रतिबिम्ब दिन्छ । उनीहरूले विचार मिल्ने वामपन्थीले ‘खुद्रे पसल थप्ने टुक्रे मानसिकता’ त्यागेर ‘एकीकृत भण्डार’ निर्माण गर्नुपर्ने बताएका छन् । सतहमा यो कुरा आकर्षक देखिए पनि वस्तुगत अर्थमा यसले क्रान्तिको धारा र सुधारको मार्गबिचको भिन्नता लुकाउने प्रयास गरेको छ ।
क्रान्ति कि सुधार
कम्युनिस्ट आन्दोलन विचारले बाँच्छ, न कि केवल सङ्गठनका नारा र गठबन्धनले । आज माओवादी केन्द्रले बोलिरहेको ‘वाम एकता’ मूलतः विचाररहित गठबन्धन हो, जसको लक्ष्य क्रान्ति होइन, सत्ताको पुनर्वितरण हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल (कपाने) भने स्पष्ट वर्गीय दृष्टिकोणमा अडिएको छ । यसको वैचारिक आधार माक्र्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवाद हो जसले उत्पादन, स्वामित्व र राज्यसत्ताको स्वरूपलाई वैज्ञानिक रूपमा व्याख्या गर्छ । यो विचार सुधार होइन, रूपान्तरणको पक्षधर छ । जब सुधारवादीले ‘वाम एकता’ भन्छन्, उनीहरूको लक्ष्य जनताको सत्ता होइन, संसद्को कुर्सी हो । क्रान्तिकारी दृष्टिले हेर्दा त्यो एकता होइन, आत्मविलयको प्रक्रिया हो ।
वर्गसङ्घर्षको निरन्तरता
कपाने नेतृत्वको राजनीतिक कार्यदिशा स्पष्ट छ – नेपाल अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक समाज हो । यस अवस्थाको समाधान नयाँ जनवादी क्रान्तिबाट बाहेक सम्भव छैन । माओवादी केन्द्र र त्यसका सहयात्री दलहरूले यही अवस्थालाई ढाकछोप गरेर संसद्भित्रको सत्ता बाँडफाँटलाई नै ‘जनताको उपलब्धि’का रूपमा बेचिरहेका छन् । तर, जनताको वास्तविक उपलब्धि त सत्ताको रूपान्तरण हो, जहाँ जनता नै उत्पादनका मालिक बन्छन्, निर्णयमा भाग लिन्छन् र राज्यको दिशानिर्देश जनआधारित हुन्छ । त्यसैले आजको ऐतिहासिक प्रश्न ‘एकता’को रटान होइन, जालझेल र षड्यन्त्र पनि होइन, मात्र क्रान्तिकारी ‘दिशा’ हो ।
नयाँ आर्थिक मार्ग
नेपालको अर्थतन्त्र विदेशी निर्भरता र आयातोन्मुख ढाँचामा जकडिएको छ । सुधारवादी दलहरू यही संरचनाभित्र टेकेर ‘विकास’को नारा लगाउँछन्, तर त्यो जनताको होइन, विदेशी पुँजी र ठेकेदार वर्गको हो ।
विप्लव नेतृत्वले प्रस्तुत गरेको ‘नयाँ आर्थिक मार्ग’ भने आत्मनिर्भरताको नीति हो । यसको उद्देश्य जनतालाई उत्पादनको मालिक बनाउनु, स्थानीय स्रोत–साधनमा आधारित उद्योग विकास गर्नु, र साम्राज्यवादको आर्थिक नियन्त्रण तोड्नु हो । यो नीति साँचो अर्थमा जनमुखी अर्थक्रान्तिको खाका हो जसले विदेशी सहयोग होइन, स्वदेशी श्रम र चेतनालाई राष्ट्रनिर्माणको इन्धन बनाउँछ ।
सी संस्कृतिको नयाँ चेतना
क्रान्ति केवल राजनीतिक मात्र होइन, सांस्कृतिक रूपान्तरण पनि हो । विप्लव नेतृत्वले प्रस्तुत गरेको ‘सी संस्कृति’ आजको वाम आन्दोलनमा नयाँपनको प्रतीक बनेको छ । सी संस्कृति कुनै नारा मात्र होइन; यो सादगी, समर्पण, सिर्जनशीलता र सामूहिकताजस्ता गुणहरूको अभ्यास हो । यसले नेताभन्दा विचारलाई अगाडि राख्छ, पदभन्दा प्रतिबद्धतालाई महत्त्व दिन्छ । आजका सुधारवादी दलहरूमा नेताहरू सत्ताको दलालमा रूपान्तरण भएका छन् । त्यहाँ संस्कृतिको साटो ठेक्का–संस्कृति र पद–संस्कृति फस्टाएको छ । तर, सी संस्कृतिले कर्मयोगीलाई क्रान्तिको आत्मा बनाउँछ, जनसेवकलाई विचारको सिपाही बनाउँछ । त्यसैले सांस्कृतिक क्रान्तिविना राजनीतिक क्रान्ति अधुरो रहन्छ । यही दृष्टिले सी संस्कृति आजको नेपालमा क्रान्तिकारी नैतिकताको पुनर्जागरण हो ।
विचारमा आधारित एकता
साँचो वाम एकता नारामा होइन, विचारमा हुन्छ । विचारगत स्पष्टताविना एकता भनेको घोचापोची र सत्ताको भागबन्डा हो । यदि माओवादी केन्द्रका नेताहरू साँचो वाम ध्रुवीकरण चाहन्छन् भने पहिलो सर्त सुधारवाद त्याग, दोस्रो सर्त संसदीय दलाल सञ्जालबाट विच्छेद र तेस्रो सर्त क्रान्तिका धारमा पुनः एकाकार हुन तयार हुनु हो । त्यसपछि मात्रै एकता सम्भव छ, त्यो पनि सत्ताका लागि होइन, समाज रूपान्तरणका लागि ।
दिशा तय गरौँ
नेपालको वर्तमान वाम आन्दोलन दुई दिशामा बाँडिएको छ – एकातर्फ सत्तामुखी सुधारवाद र अर्कातर्फ जनमुखी क्रान्तिवाद । सुधारवादीले ‘एकता’ भन्छन्, तर त्यो सत्ता-साझेदारीको हो । क्रान्तिकारीले ‘एकता’ भन्छन्, तर त्यो वर्गसङ्घर्षको सुदृढीकरण हो । त्यसैले आजको ऐतिहासिक कार्यभार खुद्रे पसलको कुरा होइन, साँचो क्रान्तिकारी भण्डार निर्माण गर्ने हो जहाँ विचार, सङ्गठन, अनुशासन र सी संस्कृति मिलेर जनताको मुक्तिको नयाँ यात्राको जग बसाल्छन् ।
नेपालको वाम आन्दोलनको भविष्य संसद्का गलैँचामा होइन, जनताको खेत-खलियान, कारखाना र गाउँका माटामा लेखिँदै छ । त्यो इतिहास लेख्ने कलम अहिले पनि क्रान्तिकारी विचारकै हातमा छ । जहाँसम्म दल दर्ताको कुरा छ, त्यो एकीकृत जनक्रान्तिको सिद्धान्तअन्तर्गत नै छ । सम्पूर्ण मोर्चाबाट लडाइँ लड्ने र क्रान्तिको लक्ष्य पूरा गर्ने क्रान्तिकारी पार्टीलाई आफ्नो हक रहन्छ । तिमीले किन हक खोज्यौ भन्न पाइन्छ र ?
(जिल्लाको राजनीतिक वृत्तमा विज्ञान उपनामले परिचित लेखक हाल नेकपा (विप्लव) को केन्द्रीय सदस्य हुनुहुन्छ ।)






प्रतिक्रिया