ईश्वर र राज्य दुवै पृथ्वीमा मानिसको चेतनाको सबैभन्दा उत्कृष्ट आइडिया हो । आइडियाविना कुनै पनि वस्तु अस्तित्वमा आउन सक्दैन । आइडिया वस्तुको इसेन्स अर्थात् सार हो । इसेन्स वा सारको जगमा वस्तुको अस्तित्व हुन्छ । यो धर्तीका कुनै पनि वस्तुलाई हेर्ने हो भने त्यो वस्तुभित्र इसेन्स वा आइडिया लुकेको हुन्छ । मानवनिर्मित टेबल, कुर्सी, मन्दिर, भवन, साइकल, मोटर, मोटरसाइकलदेखि हवाईजहाजसम्मका भौतिक वस्तुलाई निर्माण गर्न सबैभन्दा पहिले आइडियाको जन्म हुन आवश्यक हुन्छ । विनाआइडिया वस्तुको उत्पत्ति र अस्तित्व हुँदैन । यो संसारमा भएका सारा कुर्सी, टेबल, पङ्खा, मन्दिर, भवन नष्ट गर्ने हो भने पनि कुर्सी, टेबल, पङ्खा, मन्दिर, भवन, साइकलदेखि हवाईजहाजसम्मको आइडिया नष्ट हुँदैन । आइडिया अमर, नष्ट नहुने, अदृश्य र अमूर्त तत्त्व हो । आइडिया नै वास्तविकता हो, भौतिक वस्तु आइडियाको छायाकपी मात्र हो । प्राकृतिक वस्तुको हकमा वस्तुको प्राकृतिक स्वाद वा स्वभाव नै त्यो वस्तुको आइडिया वा इसेन्स हो ।
ईश्वर र राज्य दुवै मानिसकै सर्वोच्च आइडिया हो । मानिसले आफू सुरक्षित हुने उद्देश्यले सिर्जना गरेको आइडिया नै ईश्वर हो । मानव इतिहासको सुरुवाती दिनमा धर्तीमा घट्ने घटनाबारे मानिसलाई यथार्थ जानकारी नै थिएन । आकाशमा गर्जने मेघ, लगातार हुने वर्षा, अत्यधिक तातो र चिसो मौसम, दिन र रात हुने आदि घटना मानिसलाई अचम्मित पार्ने घटना थिए । यी घटनाबाट सुरक्षित हुन मानिसले सर्वशक्तिमान वस्तुको रूपमा ईश्वरको सिर्जना गर्न पुग्यो । यी वस्तुको पूजा–आराधना गर्दा सुरक्षित र डरबाट मुक्त हुन मानिसले ईश्वरको आइडिया जन्माएको हो ।
ईश्वरजस्तै मानिसले आफ्नो जीवन र सम्पत्तिको सुरक्षाका लागि राज्यको आइडिया जन्माएको हो । राज्य आजसम्मकै मानिसको चेतनाको उत्कृष्ट आइडिया मानिन्छ । यदि मानिसको चेतनाले राज्यको आइडियाको सिर्जना गर्न असमर्थ हुँदो हो त मानव समाज आजसम्म पनि जनावरको जस्तो हुने थियो । आजसम्म जनावरले आफ्नो राज्य निर्माण गर्न सकेको छैन । राज्य मानिस एक–आपसमा मिलेर आफ्नो जीवन र आर्जित सम्पत्तिको सुरक्षाका लागि सिर्जना गरेको ईश्वरसमानको आइडिया हो । राज्यको इसेन्स जीवन र सम्पत्तिको सुरक्षा र सन्तुष्ट जीवनयापन हो । मानिसको जीवनको मूल सार भनेको खुसी हो । सबै मानिसलाई असुरक्षित, असन्तुष्टिबाट सुरक्षित र सन्तुष्ट जीवन निर्वाहका लागि आवश्यक परिस्थितिको सिर्जनाका लागि मानिस आफैँले आफ्ना लागि सिर्जित उत्कृष्ट आइडिया नै राज्य हो । राज्य मानिसको सामूहिक चेतनाको उत्कृष्ट आइडिया हो ।
राज्य दलाल तथा पुँजीपतिको सञ्चालक समिति
नागरिक आफ्नो जीवन र मिहिनेतले आर्जित सम्पत्तिको सुरक्षा र आफ्नो जीवन निर्वाहबाट सन्तुष्ट वा खुसी हुने परिस्थिति नभएपछि असन्तुष्ट रहन्छ । यो असन्तुष्टि आफैंले आफ्नो लागि आफ्नै लगानीमा उत्पादन गरेको वस्तु आफैंले उपभोग गर्नबाट वञ्चित भएको स्थितिजस्तै हो । आफैँले जन्माएको सन्तान आफैँबाट अलग्गिएको अवस्थामा असन्तुष्टि जसरी चुलिन्छ ठिक त्यस्तै स्थिति हो । आफूले गरीखान र खुसीसँग जीवन निर्वाहको उचित वातावरण सिर्जना गर्ने आइडियाले जन्माएको ईश्वरजस्तै अदृश्य वस्तु नै राज्य हो । जब राज्य आफ्नो इसेन्सबाट अलग्गिन्छ र केही सीमित मानिसको सुख र समृद्धिको औजार बन्दछ भने मानिसमा चरम असन्तुष्टि जन्मन्छ ।
कार्लमाक्र्स आफ्ना दार्शनिक गुरु हेगेलको ईश्वर र राज्यको आइडियामा पूरै सहमत हुन सक्दैनन । कार्लमाक्र्स राज्यलाई ईश्वरको स्थानमा राख्नु भनेको वास्तविकता नभई भ्रमपूर्ण आइडिया मात्र हो भन्ने मान्यता राख्दथे । राज्य ईश्वरजस्तो नभई केही सीमित दलाल र पुँजीपतिको मात्र हित र तिनको सुख र समृद्धिका लागि काम गर्ने उपकरण मात्र हो । यदि राज्य ईश्वरकै जस्तै गुण भएको वस्तु हुँदो हो त सम्पत्तिविहीन श्रमजीवीको र सामान्य जनताको जनावरतुल्य जीवनलाई रूपान्तरण गर्न किन असमर्थ बन्दै छ ? तसर्थ राज्यमा ईश्वरीय गुण वा सार देख्नु अफिमजस्तो मादक पदार्थ सेवन गरेर सानो चिजलाई विराट आकारमा देख्ने भ्रमपूर्ण अवस्था हो । राज्यमा ईश्वरको होइन, मानिसभित्र ईश्वरीय गुण हुन्छ । मानिसको ईश्वरीय गुण अहिलेसम्म प्रकट भइसकेको छैन । मानिसको ईश्वरीय गुण बिस्तारैबिस्तारै प्रकट हुँदै जान्छ । मानिसभित्रको ईश्वरीय गुणको विराट रूप पुँजीवादको अन्त्यसँगै साम्यवादमा पुगेपछि पूर्ण रूपले प्रकट हुनेछ । साम्यवादमा मानिसको ईश्वरीय गुण पूर्ण रूपमा प्रकट भएपछि राज्यको अस्तित्व समाप्त हुन्छ । राज्यको अन्त्यसँगै मानव इतिहासको पनि अन्त्य हुन्छ । कार्लमाक्र्स आफ्ना दार्शनिक गुरु जिएफडब्लू हेगेलको मानिसको असन्तुष्टिको मूल कारण ईश्वर र राज्यसँग अलग्गिनु हो भन्ने मान्न तयार भएनन् । यसैगरी, राज्य पृथ्वीमा ईश्वरको अवतरण हो भन्ने दृष्टिकोण पनि पूरै खारेज गर्न पुग्दछन् ।
सिर्जनशीलताबाट अलग्गिनु
मानिसको प्राकृतिक स्वभाव सिर्जनशीलता हो । मानिस हरपल परिश्रम गरेर केही न केही सिर्जना गर्ने स्वभावको जीव हो । मानिसबाहेक प्रकृतिका सबै जीव प्रकृतिमा उपलब्ध कच्चा पदार्थ वा वस्तु उपभोग गरेर आफ्नो जीवन निर्वाह गर्दै सन्तुष्ट हुने गर्दछन् । मानिस पशुभन्दा एक श्रेणी माथिल्लो स्तरको जीव हो । मानिस प्रकृतिमा उपलब्ध कच्चा पदार्थलाई आफ्नो परिश्रम लगाई स्वादिष्ट ढङ्गले आफ्नो इच्छाअनुसार फरक–फरक स्वादमा भोजन तयार गरी आफ्नो जीवन निर्वाह गर्ने जीव हो । मानिस आफ्नो जीवन निर्वाहको सिलसिलामा आफूलाई, अरू मानिसको इच्छा र चाहनाअनुसार आवश्यक वस्तुको कलात्मक ढङ्गले उत्पादन गर्न सक्ने क्षमता भएको सिर्जनशील जीव हो । यसरी मानिसमा आफूलाई र अन्य मानिस तथा समाजका सदस्यलाई उसको इच्छा, स्वाद र स्वभावअनुसार वस्तुको उत्पादन गर्दा कामको भागबन्डा गर्दै अन्य मानिससँग मिलेर जीवन निर्वाहदेखि विभिन्न आकर्षक वस्तुको उत्पादन गर्ने क्षमतासमेत हुन्छ । मानिसमा धर्तीका अन्य जीवमा जस्तै आफ्नो सन्तानको निरन्तरताका लागि सन्तान उत्पादनका लागि अर्को मानिसको आवश्यकता महसुस भइरहेको हुन्छ । सन्तान उत्पादन र जीवन निर्वाहका आवश्यक वस्तुको उत्पादनका लागि मानिसलाई अर्को मानिसको आवश्यकताको महसुस हुन्छ । यही आवश्यकताले मानिसमा सामाजिक प्राणीको स्वभावको सिर्जना हुन्छ । मानिस मानिसबाट अलग्गिनुपर्दा असन्तुष्टिको सिर्जना हुन्छ । उत्पादनको प्रक्रियाबाट अलग्गिनुपर्दा मानिसमा असन्तुष्टि पैदा हुन्छ ।
मानिस श्रमजीवी प्राणी हो । विनापरिश्रम मानिस जनावरझैँ कुनै वस्तुको सिर्जना नगरी बस्न सक्दैन । मानिसबाहेक धर्तीका सबै जीव आफ्नो तत्कालीन जीवन निर्वाहको आवश्यक खाद्यान्नको अभावमा असन्तुष्ट रहने र पेटभरि खान पाएपछि सन्तुष्ट हुने स्वभावको हुन्छ । मानिस आफ्नो र सन्तानको जीवन निर्वाहको आवश्यक खाद्यान्न तथा लत्ताकपडादेखि वासस्थानका लागि आवश्यक वस्तुको अभावमा तनावमा हुने जीव हो । मानिस जीवन निर्वाहका वस्तुको अभावमा तनावमा हुने र ती वस्तुको सहज उपलब्धताको स्थितिमा सन्तुष्ट हुने जीव हो । मानिस जीवन निर्वाहको आवश्यक वस्तुलाई भविष्यका लागि समेत सञ्चित गर्ने स्वभाव बोकेको जीवसमेत हो । मानिसबाहेक धर्तीका अन्य जीवमा आफ्नो तत्कालीन जीवन निर्वाहको वस्तु भविष्यका लागि सञ्चित गर्ने स्वभाव हँुदैन । मानिससँग चेतनतत्त्वसहितको माइन्ड र दुई स्वतन्त्र हात उपकरणको रूपमा उपलब्ध छ । यी दुई उपकरणको सञ्चालनबाट मानिसले आफूलाई र अन्य मानिसको इच्छा र चाहनाअनुसारको वस्तुको उत्पादन र सिर्जना गर्ने क्षमतासमेत छ । मानिसको माइन्ड र दुई स्वतन्त्र हातबाट निरन्तर केही न केही सिर्जना वा उत्पादन हुन आवश्यक हुन्छ । लगातार यी दुई अङ्ग सञ्चालन भएन भने यसले पनि मानिसमा असन्तुष्टिको सिर्जना गर्दछ ।
आफूले उत्पादन गरेको वस्तुबाट अलग्गिनु
मानिस आफ्नो परिश्रमबाट उत्पादित वस्तुप्रति आफूलाई गर्व महसुस गर्ने जीव हो । मानिस आफ्नो सिर्जनामा अत्यधिक सन्तुष्ट हुने जीव हो । मानिस आफ्नो परिश्रमबाट सिर्जना भएको वस्तु हेर्दा आफूभित्रको प्रतिभा प्रस्फुटन भएकोमा अत्यन्त खुसी महसुस गर्दछ । मानिस आफ्नो सिर्जनामा आफूभित्रको आइडिया बाहिर प्रस्फुटन उक्त वस्तुमा अभिव्यक्त भएको महसुस गर्दछ । मानिस आफूलाई अगाडिको व्यक्तिले मानिसको रूपमा मान–सम्मान वा प्रतिष्ठा नदिँदा असन्तुष्टि जन्मन्छ । आफ्नो परिश्रमबाट उत्पादित वस्तुमा अर्को व्यक्तिले दिने मान–सम्मान प्रतिष्ठा र इज्जत नपाए पनि मान–सम्मान प्रतिष्ठा त्यही वस्तुबाट प्राप्त गर्दछ । मानिस लामो समयसम्म परिश्रमबाट अलग्गियो भने उसमा आफूलाई खालीपनको महसुस गर्दछ । यो खालीपन भर्न मानिस अर्को व्यक्तिबाट आफ्नो प्रशंसा, इज्जत मान–सम्मानबाट भर्न चाहन्छ । आफ्नो परिश्रमबाट वस्तुको उत्पादन गर्ने मानिसमा अर्को व्यक्तिबाट मान–सम्मान र इज्जतको आवश्यकता महसुस गर्दैन । आफ्नो उत्पादनको रूपमा जन्मने सन्तानमा मानिसले आफ्नै असली रूप देख्दछ र आफ्नो सन्तानमै दङ्ग पर्दै असिम सन्तुष्टिको महसुस गर्दछ र हुन्छ । संसारभर जन्मेका अरूको सन्तानभन्दा आफ्नै सन्तान राम्रो र असल लाग्दछ र त्यसले सन्तुष्टि दिन्छ । ठिक यसैगरी आफ्नो परिश्रमले सिर्जित उत्पादनमा मानिस आफैँ दङ्ग पर्ने र असिम खुसीको महसुस गर्दछ ।
मानिस जब आफूले उत्पादन गरेको सन्तान वा उत्पादन आफ्नो पहुँचबाट अलग्गिन्छ त्यसपछि बेचैनी महसुस हुन्छ । आफैँले उत्पादन गरेको वस्तु आफैँले उपभोग गर्न असमर्थ हुँदा मानिसमा निराशाको जन्म हुन्छ । आफ्नो मिहिनेतले उत्पादन गरेको वस्तुलाई बजारमा लगेर बेचेर त्यसबाट प्राप्त हुने मुद्राले उसको अन्य जीवन निर्वाहको वस्तु खरिद गर्न असमर्थ भएमा वा आफ्नो सन्तानको शिक्षा तथा स्वास्थ्योपचारमा खर्च गर्न असमर्थ भएको स्थितिमा मानिसमा असन्तुष्टि जन्मन्छ । कुनै व्यापारिक प्रतिष्ठान वा कलकारखानामा परिश्रम बगाउने श्रमिकले त्यहाँ आफूले उत्पादन गरेको वस्तुलाई उपभोग गर्ने आर्थिक क्षमता रहेन भने त्यो वस्तुवाट अलग्गिनुपरेको महसुस गर्दछ । यो स्थितिमा पनि मानिसमा असन्तुष्टि जन्मन्छ । आफ्नो परिश्रमबाट उत्पादित वस्तुले उचित मूल्य नपाउँदा, जीवन निर्वाह र अन्य आवश्यक वस्तुबाट वञ्चित हुने परिस्थितिमा मानिसमा निराशा र असन्तुष्टि हुर्किरहेको हुन्छ ।
अर्को व्यक्तिको सम्मानबाट अलग्गिनु
मानिसले आफ्नोबारेमा सबैभन्दा नजिकबाट आफैँले जानेको हुन्छ । अरू व्यक्तिबाट समेत आफ्नोबारेमा आफूले जानेअनुसार नै जानोस् वा बुझोस् भन्ने चाहना राखेको हुन्छ । त्यसैगरी, कुनै वस्तु वा घटना वा परिस्थितिलाई समेत आफूले जानेको वा बुझेकोअनुसार नै जानोस् वा बुझोस् भन्ने चाहना राखिन्छ । दुई व्यक्तिको बिचमा वार्तालाप हुँदा दुवै व्यक्तिले आ–आफ्नो बुझाइअनुसार बुझोस् भन्ने चाहना राखिन्छ । यो वार्तालापमा एकले अर्कोलाई आ–आफ्नो बुझाइअनुसार बुझाउने कोसिस हुन्छ । आफ्नोबारेमा अगाडिको अर्को व्यक्तिको बुझाइ आफ्नोजस्तो हुँदैन । यो भनेको द्वन्द्वको स्थिति हो । यो द्वन्द्वको स्थिति बिस्तारैबिस्तारै बढ्दै जान्छ । यो द्वन्द्व बढ्दैबढ्दै एउटाले अर्कोलाई मान–सम्मान र इज्जत लिने र अर्कोले मान–सम्मान र इज्जत दिने स्थितिमा पुग्दछ । यो स्थितिमा पहिलो व्यक्ति दोस्रोको मालिक बन्दछ र दोस्रो पहिलोको दास बन्दछ ।
मालिक सधैँभरि दोस्रो व्यक्तिबाट मान–सम्मान, इज्जत चाहिरहन्छ । दोस्रो व्यक्ति पहिलो व्यक्तिबाट मान–सम्मान र इज्जतबाट वञ्चित रहन्छ । यसले डरलाग्दो असन्तुष्टि जन्माउँछ । मालिक आफू आफैँ उत्पादनमा लाग्दैन । दासलाई उत्पादन र उसले उत्पादन गरेको वस्तुको उपभोगबाट सन्तुष्ट हुँदै जान्छ । दास उत्पादनमा लाग्दछ, तर मालिक उत्पादनबाट अलग्गिसकेको हुन्छ । हिजो मालिकले आपूmजस्तै समान चेतनासँग मान–सम्मान इज्जत चाहिरहेको थियो । तर, आज त्यो मान–सम्मान, इज्जत एउटा दासबाट प्राप्त भइरहेको छ । दासबाट प्राप्त मान–सम्मान, इज्जत मालिकलाई अब खोक्रो लाग्न थाल्दछ । मालिक पनि असन्तुष्ट हुन पुग्दछ । दास त हिजोदेखि नै मालिकबाट मान–सम्मान, इज्जत नपाउँदा असन्तुष्ट छँदै थियो ।
आफ्नै परिवार–समाजबाट अलग्गिनु
मानिस सन्तान उत्पादन होस् वा जीवन निर्वाहको वस्तु उत्पादनको काम होस् उसलाई अर्को मानिसको आवश्यक पर्दछ । उत्पादनको यो काममा सहकार्य वा मेलमिलापविना सम्भव हुँदैन । मानिसबाट आफूलाई चेतनाको क्रान्ति (Cognitive Revolution) देखि नै आपसमा मिलिजुली नै उत्पादनको कार्य सम्पादन गर्दै आइरहेको देखिन्छ । मानिसले आजभन्दा ७० हजार वर्ष पहिले चेतनाको क्रान्ति सम्पन्न गरेको वेलादेखि १० हजार वर्षअगाडि कृषि क्रान्तिसम्म उत्पादन र जीवन निर्वाहको सम्पूर्ण गतिविधि मिलिजुली नै गरेको देखिन्छ । यसबिचमा मानिसले थुप्रै औजार आविष्कार वा उत्पादन गर्दा आपसी सहकार्यमै गरेको देखिन्छ ।
कृषिक्रान्तिपछि मानिस स्थायी रूपले नदीकिनार तथा उब्जाउयोग्य भूमिमा रहन थाल्यो । अन्नबाली वा खाद्यान्नको उत्पादनपछि मानिसले आफूलाई उपभोग गरेर बढी भएको उत्पादन सञ्चित गर्ने र अर्को व्यक्तिबाट आफूलाई आवश्यक वस्तुसँग साटासाट गर्ने प्रचलन सुरु भयो । यो अवस्थापछि धर्तीको जमिन हडप्ने र सञ्चित गर्ने परम्परा सुरु भयो । एक–आपसमा डर र काटमारको स्थिति सुरु भयो । मिलेर बसेको समाज सम्पत्तिकै कारण बिस्तारै द्वन्द्वमा रूपान्तरण भयो । मानिस विस्थापित हुने र सुरक्षा खोज्दै अन्यत्र स्थानमा विस्थापित हुने क्रम चल्यो । यसले मानिस आफ्नो समाजबाट अलग्गिन बाध्य भयो ।
आधुनिक समाजमा पनि यो क्रम चलिरहेको छ । व्यापारिक कारोबारदेखि उत्पादनसम्मका कारोबारमा मेसिनको प्रयोगले सिर्जनशीलता हराएको छ । उत्पादनका काम मेसिनमार्फत हुने हुँदा मानिसको माइन्ड र हाइन्डको सिर्जनशीलता हराएको छ । मिलिजुलीभन्दा प्रतिस्पर्धात्मक स्थिति भित्रिएको छ । प्रतिस्पर्धात्मक वातावरणले मानिसलाई मानिसबाट अलग्गिन बाध्य हुँदैछ । औद्योगीकरणले मानिस-मानिसबिच प्रतिस्पर्धात्मक वातावरणले द्वन्द्व सिर्जना भइरहेको छ । मानिस आज अणुझैँ एक्लोपन महसुस गर्दै छ । कामको सिलसिलामा परिवार र आफू हुर्केको समाजबाट अलग्गिएर धेरै परको मुलुकमा जानुपर्ने बाध्यात्मक स्थिति छ । परिवार र समाजबाट धेरै समयसम्म अलग्गिनुपर्दाको पीडा असन्तुिष्टमा बदलिरहेको छ । यो पीडाले समाजमा धेरै ठुलो असन्तुष्टि हुर्किरहेको छ ।




प्रतिक्रिया