+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कृषि परियोजना कार्यालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा परिणत

प्रधानमन्त्री कृषि परियोजना कार्यालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा परिणत
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाका रूपमा सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित आव २०७३/०७४ देखि नुवाकोट र रसुवामा सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिवर्तन भई चालू आव २०८२/०८३ देखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम भएको छ । दसवर्षे परियोजनाको अवधि चालू आव २०८२/०८३ सम्म रहेको छ ।

कृषिको आधुनिकीकरणका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तेस्रो सम्भारको रूपमा रहेको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम नुवाकोटमा आव २०७३/०७४ बाट आलु जोन, आव २०७४/०७५ बाट तरकारी जोन (पुरानो), आव २०७८/०७९ बाट धान जोन र आव २०८१/०८२ देखि तरकारी जोन (नयाँ) कार्यक्रम सञ्चालनमा रहेको वरिष्ठ कृषि अधिकृत रवीन्द्र पौडेलले जानकारी दिनुभयो । त्यसैगरी, रसुवा जिल्लामा आव २०७६/०७७ बाट आलु जोन र आव २०७८/०७९ बाट बाख्रा जोनको कार्यक्रम सञ्चालनमा रहेको छ । उक्त परियोजना आव २०७७/०७८ देखि एउटै परियोजना कार्यान्वयन इकाइअन्तर्गत नुवाकोटबाट सञ्चालन भइरहेको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि आव २०८१/०८२ मा कृषकलाई अनुदानमा कृषि यान्त्रीकरणका लागि पावर टिलर, मिनिटिलर वितरण, साना सिँचाइ निर्माण तथा मर्मत-सम्भार, पशु नश्ल सुधार, बाख्राको खोर निर्माण, चैतेधान क्षेत्रफल विस्तार, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक कृषि उत्पादन कार्यक्रम र धान तथा आलु बिउ उत्पादन, स्थायी प्लास्टिक घर निर्माण कार्यक्रमलगायतका प्रविधि प्रसारका क्रियाकलाप सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ । कार्यक्रमको सहयोगले कृषकलाई आधुनिकीकरणतर्फ  आकर्षित गर्दै उत्पादन वृद्धि भएको कार्यालय प्रमुख पौडेलले बताउनुभएको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७३/०७४ मा सुरु भएको आलुजोन परियोजनामा सुरुमा तीन सय ५० हेक्टर क्षेत्रफलबाट आव २०८१/०८२ मा वृद्धि भई आठ सय ५५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । नौ वर्षमा आलु बाली खेती गर्ने क्षेत्रफल दुई सय ४४ हेक्टर वृद्धि भई उत्पादनसमेत बढेको छ । आव २०७४/०७५ मा सुरु भएको तरकारी जोन (पुरानो) तीन सय हेक्टर क्षेत्रफलबाट वृद्धि भई गत आवसम्म आठ सय ५१ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । सो अवधिमा तरकारी खेती गर्ने क्षेत्रफल २८३.६७ हेक्टरमा वृद्धि भई उत्पादनसमेत बढेको छ । आव २०७८/०७९ मा ६ सय हेक्टर क्षेत्रफलमा सुरु भएको धान जोन नौ वर्षको अवधिमा आठ सय ७६ हेक्टरमा विस्तार भएको छ । यो अवधिमा धानखेती गर्ने क्षेत्र एक सय ७६ हेक्टरमा वृद्धि भएको छ । सरकारले आव २०८१/०८२ मा नुवाकोटको नयाँ क्षेत्रमा तरकारी जोन लागू गरेको थियो । सुरुमा तीन सय हेक्टर क्षेत्रफलबाट वृद्धि भई चार सय ७० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । तरकारी जोन (नयाँ) खेती गर्ने क्षेत्रफल १५६.६७ हेक्टरले विस्तार भई उत्पादनसमेत बढेको छ ।

त्यसैगरी, रसुवामा आव २०७६/०७७ मा आलु जोन कार्यक्रम लागू भयो । दुई सय ५० हेक्टर क्षेत्रफलमा सुरु भएको आलु उत्पादन कार्यक्रम आव २०८१/०८२ को मसान्तसम्म वृद्धि भई ६ सय ५५ हेक्टरमा विस्तार भएको छ । यो अवधिमा आलु खेती गर्ने क्षेत्र चार सय पाँच हेक्टरले विस्तार भएको हो । आलु जोन रसुवा खेती गर्ने क्षेत्रफल दुई सय ६२ हेक्टरले वृद्धि भई उत्पादन बढेको छ । आव २०७८/०७९ मा बाख्रा जोन परियोजना सुरु भएको थियो । सुरुको १५ हजार पाँच सय ११ सङ्ख्याबाट वृद्धि भई गत आव आव २०८१/०८२ मा वृद्धि भई १९ हजार नौ सय २४ वटा पुगेको छ । परियोजनाको पहिला लागू भएको (पुरानो) तरकारी जोन नुवाकोट जिल्लाका १५ वडामध्ये ककनीका वडा नं. १ देखि ७, शिवपुरीका वडा नं. ६, ७ र ८, पञ्चकन्याका वडा नं. ३, ४ र ५, दुप्चेश्वरका वडा नं. ३ र ५ रहेको छ । त्यसैगरी, जिल्लाका दशवटा वडामा कार्यक्षेत्र रहेको आलु जोन लिखुका वडा नं. १ देखि ६ सम्म, ककनीको वडा नं. ८, पञ्चकन्याका वडा नं. १ र २, सूर्यगढीको वडा नं. ५ रहेको छ । त्यसैगरी, जिल्लाका १५ वडा कार्यक्षेत्र रहेको धान जोन लिखुका वडा नं. १, २, ४, ५, ६, शिवपुरीका वडा नं. ७ र ८, पञ्चकन्याका वडा नं. १, २, तादीका वडा नं. २, ३, ४, ५, बेलकोटगढीका वडा नं. १२ र १३ रहेको छ । जिल्लामा आव २०८१/०८२ देखि तरकारी जोनको नयाँ कार्यक्रम दुई पालिकाका नौवटा वडामा लागू भएको थियो । पछिल्लो तरकारी जोन लागू भएको क्षेत्र म्यागङका वडा नं. २, ३, ४, ५, ६ तथा किस्पाङका वडा नं. १, २, ३, ४ रहेको छ ।

रसुवामा आव २०७६/०७७ मा आलु जोन कार्यक्रम पाँच पालिकाका १८ वडामा लागू भएको छ । आलु जोनको कमान्ड क्षेत्र आमाछोदिङ्मोका वडा नं. १, २, ३, ४, ५, उत्तरगयाका १, ४, ५, नौकुण्डका १, २, ३, ४, ५, ६, कालिकाका वडा नं. १, २, ३, ४, ५ तथा गोसाइँकुण्डका वडा नं. ५ र ६ रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह