+
Search

ताजा अपडेट +

पपुलर +

११५ वर्षको बट्टार ढुङ्गेधारा

मरिचमानकोे कीर्ति मेटायो परिवारले

११५ वर्षको बट्टार ढुङ्गेधारा
शरण उत्सुक
१ हप्ता अगाडी

बट्टार । विदुर-४ स्थित पुरानो बट्टारबजारमा रहेको ऐतिहासिक ढुङ्गेधाराले एक सय १५ वर्षदेखि स्थानीयवासीको तिर्खा मेटाइरहेको छ । राणाकालको उत्तराद्र्धमा मुन्सी खलकका एक सदस्यले स्थानीय बासिन्दालाई परेको पानीको समस्या समाधान गर्ने आफ्ना पिताको अपूरो इच्छा पूरा गर्न सो धारा बनाएको स्थानीयवासी बताउँछन् । बट्टारबजारको मुख्य चोकमा रहेको सो धारा काठमाडौँ उपत्यकाको मध्यकालीन हिटी वास्तुशैलीको अनुकरण गरी बनाइएको छ । जमिनको सतहमुनि तीनतिर अर्धगोलाकार पेटी बनाई कलात्मक ढुङ्गेधारा जडान गरिएको छ । तीनमध्ये दक्षिणतिर परम्परागत टुटीको सट्टा आधुनिक पाइप जडान गरिएको छ । उत्तर र पूर्वतिरका दुवै परम्परागत टुटीको मुनितिर भगीरथका मूर्ति तथा पूर्वतिरको मुख्य टुटीमाथि शिखराकार संरचना बनाई विष्णुको मूर्ति हालिएको छ ।

काजी मरिचमानसिंहका सन्तानले आफ्ना पिता काजी बलवान्सी (बलवानसिंह) को इच्छा पूरा गर्न विसं १९६७ (सन् १९११) मा सो धारा बनाएका हुन् । विष्णु मूर्तिको मुनितिर राखिएको एक अभिलेखमा बलवानसिंहका पिता गौरीदासलाई ‘मुन्सी’ भनिएको छ । प्रारम्भिक शाहकालमा परराष्ट्र मामिला हेर्ने सचिव तहका कर्मचारीलाई मुन्सी भनिन्थ्यो । अभिलेखमा गौरीदासको थर उल्लेख छैन । सो समय काठमाडौँका प्रधानहरू नै मुन्सी नियुक्त हुन्थे । तीमध्ये नेपालको प्रशासनिक इतिहासका निकै प्रभावशाली व्यक्ति लक्ष्मीदास प्रधानलाई भीमसेन थापा (कार्यकाल सन् १८०६-१८३७) ले मुख्तियारी पाएपछि मिर मुन्सीमा नियुक्त गरेका थिए । पाटनका ६ प्रधान खलकमध्येका एक सदस्य पृथ्वीनारायण शाहको आक्रमणपछि भागेर बनारस पुगेका थिए । उनैका सन्तानमध्ये लक्ष्मीदासका पिता पनि पछि काठमाडौँको मरूटोलमा स्थायी रूपमा बस्न थालेका थिए । अभिलेखमा उल्लिखित मुन्सी गौरीदास पनि उनै लक्ष्मीदास प्रधान खलक भएको इतिहासकारले जिकिर गरेका छन् ।

गौरीदासका छोरा बलवानसिंहले बट्टारबजारमा पानीको अभाव भएकाले धारो बनाउने मनोकामना राखेका थिए । उनको इच्छाले पूर्णता पाउनुअगावै उनको देहावसान भएपछि उनका छोरा मरिचमानसिंहले सो धारा बनाएका थिए । अभिलेखमा ‘गौरीदास मुन्सीका पुर्खाले बट्टारबजारमा बनाएको पौवा समीपैमा यो धारा बनाएको’ भनिएको छ । प्रधान खलकले बजार र आसपासका बासिन्दा पानीको अभावमा दुःखमा परेको बोध भई लोकहितका खातिर धारा बनाएको पनि अभिलेखमा उल्लेख छ । धारामा पानी बजारबाट केही टाढा मुल्ली भन्ने स्थानबाट भूमिगत रूपमा ल्याइएको थियो । त्यतिवेलाको पानी शुद्धीकरण हेर्दा आधुनिक इन्जिनियरिङले अध्ययन गर्नुपर्ने देखिन्छ । बट्टार पुरानोबजारको पाटीपौवा मल्लकालीन वास्तुशैलीको रहेको प्रतीत हुन्छ । उनै मरिचमानसिंहका सन्तान नगेन्द्रमानसिंह अहिले नयाँ सडकमा बस्ने गरेका छन् जसले आफ्नो पुर्खाले बनाएको पाटीपौवा र धारा सञ्चालनका लागि ४०-५० रोपनी जग्गा निजी गुठी बनाई सञ्चालन गरेका थिए । विसं २०६०/०६१ तिर मोही कायम भएको उक्त गुठी जग्गा मोहीहरूलाई बेचबिखन गर्न तिलक भन्ने व्यक्ति अख्तियार लिई आएका थिए । जग्गा मोहीहरूलाई बेचबिखन गरी पितापुर्खाको पहिचानलाई मेटाउने काम सन्ततिले गरेको स्थानीयबासी बताउँछन् । उनका परिवारले धारा बनाउने मरिचमानसिंहको सालिक बनाउन केही रकम सहयोग गर्न र उनको तस्बिर उपलब्ध गराउन भन्दा पनि नगरेकाले सालिक बनाएर उनलाई सम्झिरहने स्थानीयवासीको इच्छा पूरा नभएको स्थानीयवासी नजरमान श्रेष्ठले बताउनुभयो ।

 

ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचान बोकेको बट्टार पुरानो बजार इतिहासको कुनै कालखण्डमा काठमाडौँबाट पश्चिम रसुवा, धादिङ, गोरखा, स्याङ्जा, कास्की, लमजुङ, पाल्पासम्म पैदलमार्गका रूपमा आवतजावत गर्ने मुख्य मार्ग थियो । पृथ्वी राजमार्ग खोल्नुभन्दा अगाडि पुरानो बजारमा रहेको पाटीपौवा र ढुङ्गेधारा त्यसवेला आवतजावत गर्नेहरूका लागि बास बस्न महत्त्वपूर्ण स्थान रहेको स्थानीयवासी बयोवृद्ध समाजसेवी वसन्तलाल श्रेष्ठले बताउनुभयो । पाटीपौवामा कँुदिएको कला, बुट्टा र ढुङ्गेधाराको शिलालेखबाट धारा मल्लकालीन धरोहर रहेको भन्न सकिने विदुर-४ का पूर्ववडाध्यक्ष टलकमान श्रेष्ठले जिकिर गर्नुभयो । कान्तिपुरको कलालाई प्रधान खलकले जीवन्त बनाएको देखिन्छ । अहिले पनि व्यक्तिगत एवम् सामाजिक स्वार्थ बाझिन जाँदा एवम् सो मुल्ली मुहान नेपाली सेनाको क्षेत्रमा पर्न गएकोजस्ता विविध कारणले ढुङ्गे धारामा दशकौँसम्म पानी आएन । सुनसान र खण्डहर भई बसिरहेको उक्त धारामा केही समय विदुर खानेपानी उपभोक्ता संस्थाको सार्वजनिक धारा जडान भई तालिकाअनुरूप पानी झर्ने व्यवस्था मिलाइयो । त्यसपछि साना सहरी खानेपानी आयोजना लागू भयो । सार्वजनिक धारा बन्द र व्यक्तिगत धारालाई प्रोत्साहन नीतिले ढुङ्गेधारा पुनः पानीविहीन भयो ।

विसं २०७६ मा टलकमान वडाध्यक्ष भएपछि नगरपालिकाबाट करिब रु. एक करोडको लागतमा पाटीसँगै जोडिएको ‘भ्वय छें’ र भीमसेन मन्दिर पुनर्निर्माण गराउन नीतिगत भूमिका निर्वाह गरेको स्थानीयवासी श्यामसुन्दर श्रेष्ठ बताउनुहुन्छ । ढुङ्गेधारा, पाटीको पुनर्निर्माण, ऐतिहासिकतालाई जीवन्त राख्न नगरपालिका, पुरातत्त्व विभागसँग समन्वय गरी बजेट व्यवस्था गराउन तत्कालीन नगर प्रमुख सञ्जु पण्डित सफल हुनुभएको थियो । पुरातत्त्व विभागका आर्किटेक इन्जिनियर गोविन्द अधिकारी र पुरातत्त्वको काम गर्ने निर्माण व्यवसायी पशुपति थापा जिल्लावासी भएकाले उहाँले लिएको ठेक्का पाटी र ढुङ्गेधारासँगैको चौतारो बनाउन सहज ढङ्गले सफल भएको उहाँ स्मरण गर्नुहुन्छ । आधुनिक संरचना निर्माणबाट मुल्लीको पानीको बहावमा अवरोध भएकाले विसं २०७५ मा विदुर खानेपानी उपभोक्ता समितिले पाइप लाइन प्रणालीबाट टुटीमा पानी झर्ने व्यवस्था गरेपछि हालसम्म धारामा नियमित पानी आइरहेको छ । धाराको ऐतिहासिकता र अत्यधिक प्रयोगलाई ध्यानमा राखी २४ घण्टा पानी झर्ने व्यवस्था त्यतिवेलाको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालको सहयोगले ढुङ्गेधारामा अहिले चौबिसै घण्टा पानी झरिरहेको, पुरानो पहिचानलाई जीवन्त दिइएको स्थानीय समाजसेवी शैलेन्द्र श्रेष्ठले बताउनुभयो ।

मुल्लीको मुहान करिब २० वर्गफिटजतिको भूमिगत ट्याङ्की, त्यस वरपर एक दर्जनजति पानी कुवाबाट सङ्कलित र प्रशोधित, माटाले निर्माण भएको पाइपमार्फत पानी झर्ने गरेको र अन्य नेवार बस्तीमा जस्तै यहाँ सिथिनखः (ज्येष्ठ शुक्लषष्ठी) का दिन धारापरिसर सफा गर्ने थिति थियो, जुन अहिले लोप भइसकेको छ । सो मुल्ली मुहान र सरसफाइ गर्ने थितिलाई पुनः जीवित गर्न सके त्यतिवेला पानीको शुद्धीकरण गरी खानयोग्य बनाउन गरिएका प्रयास आधुनिक इन्जिनियरिङका लागि अध्ययन-अनुसन्धानको विषय हुन सक्ने पूर्ववडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

शरण उत्सुक