- सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन गरी व्यक्तिगत विवरण सच्याउन सकिने व्यवस्था गरेको छ ।
- नाम, थर, जन्ममिति, बसाइँसराइ, विवाहजस्ता व्यक्तिगत विवरणमा गल्ती भए एकपटकका लागि मात्र सुधार गर्न सकिनेछ ।
- विवरण सच्याउनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।
- ऐनमा व्यवस्था भए पनि नियमावली अस्पष्ट भएकाले कार्यान्वयन हुन सकेको थिएन; अब स्पष्टता आएको छ ।
- नियमावली यो साता राजपत्रमा प्रकाशन भएपछि तत्क्षण कार्यान्वयनमा आउनेछ, जसबाट विद्यार्थीहरू र फरक–फरक विवरण भएका व्यक्तिलाई राहत मिल्नेछ ।
काठमाडौँ । नाम, जन्ममिति, बसाइँसराइ, विवाह दर्ताजस्ता विवरण एकपटकलाई सच्याउन मिल्ने भएको छ । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन गरी यसलाई सहज बनाएको छ । यसअघि नै ऐन संशोधन भए पनि नियमावली नबन्दा कार्यान्वयन हुन सकेको थिएन ।
सोमबारको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधनलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार यसअघि नै ऐनले व्यक्तिगत घटना दर्ता सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा प्रस्ट नहुँदा वडा कार्यालयले कार्यान्वयन गर्न सकेका थिएनन् । ‘नियमावली संशोधन भएपछि यसमा प्रस्टता भएको छ,’ उहाँले भन्नुभयो, ‘अब नाम, थर, जन्ममितिलगायत विवरणमा त्रुटि रहेछ भने एकपटकलाई सच्याउन मिल्नेछ ।’ यसका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । खासगरी १४ वर्ष उमेर नपुगेर एसइई दिन नपाएका विद्यार्थीले सच्याउन नमिल्ने प्रावधानका कारण समस्या झेल्दै आएका थिए । त्यस्तै, कतिपयको जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा फरक-फरक विवरण भएरसमेत समस्यामा परेका थिए । अब उनीहरूले सच्याउन पाउनेछन् । सरकारले यही साता नियमावली राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएलगत्तै यससम्बन्धी व्यवस्था कार्यान्वयन हुनेछ ।




प्रतिक्रिया