काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई आज कात्तिक २७ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई २९ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहनुभएका कार्की विसं २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० वर्र्षे सेवाअवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो । नवनियुक्त महानिरीक्षक कार्कीले आज बिहीबारदेखि औपचारिक रूपमा प्रहरी कमान्ड समाल्नुहुनेछ । कार्कीले विद्यमान ३० वर्षे सेवा अवधिका कारण करिब साढे दुई वर्ष प्रहरी सङ्गठनको नेतृत्व गर्नुहुनेछ । उहाँको आगामी कार्यकाल २०८४ चैत १७ सम्म रहनेछ । सङ्गठनभित्र कार्कीलाई एक इमानदार, व्यावसायिक र कुनै विवादमा नमुछिएका प्रहरी अधिकृतका रूपमा चिनिन्छ । गुल्मीको मालिका गाउँपालिका-७, घमिरमा २०२९ साउन १५ गते जन्मिनुभएका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा मानविकी, शिक्षाशास्त्र र कानुनमा स्नातक गर्नुभएको छ । २८ वर्ष लामो सेवा अवधिमा नवनियुक्त कार्कीले फिल्डदेखि नीतिगत तहसम्मको अनुभव बटुल्ने अवसर पाउनुभएको छ ।
कार्कीको व्यावसायिक जीवन निकै विविधतापूर्ण र चुनौतीपूर्ण जिम्मेवारीले भरिएको छ । महानिरीक्षक हुनुअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख गत भदौ २४ हुँदा जेन-जी आन्दोलन भएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को जिम्मेवारीमा कार्कीले काठमाडौँ जिल्ला प्रहरी परिसरको कमान्ड समाल्दा नै भुटानी शरणार्थी प्रकरणजस्तो देशव्यापी चर्चामा रहेको मुद्दाको अनुसन्धान अघि बढेको थियो । प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा उहाँले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गर्नुभएको थियो ।




प्रतिक्रिया