+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर मन्दिरमा सन्ध्या आरती भोलीदेखि तेस्रो वर्ष प्रवेश

दुप्चेश्वर मन्दिरमा सन्ध्या आरती भोलीदेखि तेस्रो वर्ष प्रवेश
त्रिशूली प्रवाह
४७ मिनेट अगाडी

समुन्द्रटार । बागमती प्रदेशको दोस्रो पशुपतिनाथका रूपमा पुजिँदै आएको दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर महादेव मन्दिरमा भोली शनिबार (साउन २ गते) सूर्यमती-दुप्चेश्वर सन्ध्या आरती वार्षिक कार्यक्रम हुँदैछ । मन्दिरमा सन्ध्या आरती सुरू भएको भोली दुई वर्ष पुगेको अवसरमा मध्यान्ह १२ बजे विशेष आरती हुने जानकारी दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । विसं २०८१ साउन ७ गते पहिलो सोमबारबाट सन्ध्या आरती सुरू भएको थियो ।

Utsuk Books & Stationery

परमपिता भगवान दुप्चेश्वर महादेवको असिम कृपा र समाजसेवी, बुद्धिजिवी, धार्मिक व्यक्तित्व, श्रद्धालु भक्तजनको अमूल्य साथ, सहयोग तथा आस्थाका कारण ‘सूर्यमती-दुप्चेश्वर सन्ध्या आरती’ ले गौरवमय यात्राको दुई वर्ष सफलतापूर्वक पूरा गरी शनिबारबाट तेस्रो वर्षमा प्रवेश गर्ने समेत कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । महादेवको पावन धाममा उपस्थित भई दीप प्रज्ज्वलन, शिव आराधना, भजन-किर्तन तथा सामूहिक सन्ध्या आरतीमा सहभागी बन्न समेत समितिले आग्रह गरेको छ । सन्ध्या आरती केवल दीप प्रज्ज्वलनको कार्यक्रम मात्र होइन, यो श्रद्धा, भक्ति, आध्यात्मिक शान्ति, संस्कृतिको संरक्षण र समाजलाई एकताको सुत्रमा बाँध्ने दिव्य अभियान भएकाले सहभागी भएर कार्यक्रमलाई अझ पवित्र, भव्य र अर्थपूर्ण बनाउने समेत बताइएको छ । गौरवमय पूजा आराधनाको समय फेरबदल गर्ने तयारी कोषले गरिरहेको छ । कोषले बिहान ६ बजेदेखि खुल्ने, बेलुका ६ बजे बन्द हुने, लामो र छोटो दिनलाई सोहीअनुसार सञ्चालन गर्ने विषयमा बृहत छलफल भइरहेको जानकारी दिएको छ ।

धाम परिसरका सम्पूर्ण प्रवेशद्वारको सञ्चालन समय निर्धारण गरी धार्मिक मर्यादा, सुरक्षा, सरसफाइ तथा समग्र व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र अनुशासित बनाउने उद्देश्य राखिएको छ । धाम परिसरका सम्पूर्ण प्रवेशद्वार बिहान ४ बजे खुल्ने र बेलुका ६ बजे बन्द गर्न प्रस्ताव गरिएको छ । यो व्यवस्था श्रद्धालु भक्तजनको धार्मिक आस्था, धामको पवित्रता, सुरक्षा, सरसफाइ तथा दीर्घकालीन संरक्षणलाई थप सुदृढ बनाउने उद्देश्यले लागू गर्न लागिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा श्रद्धालु भक्तजनको उपस्थिति दिनानुदिन बाक्लो हुँदै जानुले मन्दिरको सुरक्षा र सरसफाइमा चुनौती थपिदै गएकोले मन्दिरको पूजा आराधनाको समय निर्धारण गर्न लागिएको हो । साउन महिना धेरै भक्तजन आउने भएकाले मन्दिरसम्म पुग्ने सडकको खाल्डा-खुल्डी पुर्ने, हिलो हुने स्थानमा क्रसरमा खेरा गएको डस्ट र हाइड्रोपावरको सहयोगमा खोलाको ग्राभेल राख्न र तादी खोलामा स्नान गर्दा वा पूजापाठ गर्दा हुन सक्ने दुर्घटनाबाट जोगिन सचेत गराउन सूचना बोर्ड बनाएर राख्न कोषलाई भक्ताजनले सुझाव दिएका छन् ।

साउन शिवको महिना भएकाले ऐतिहासिक तथा धार्मिक गन्तव्य ‘दुग्धेश्वर’ महादेव मन्दिर परिसरमा एक महिना पूजार्चना र दर्शनको लागि भक्तजनको भिड हुने गरेको छ । सामाजिक सञ्जाल, मिडिया र धार्मिक नेटवर्कमार्फत दुप्चेश्वरको धार्मिक-पर्यटकीय सम्भावना बिस्तारै उच्चस्तरमा फैलिँदै छ । विशेषगरी युवा, पर्यटक, आध्यात्मिक साधक तथा पहाडी क्षेत्र अध्ययन गर्नेका लागि दुप्चेश्वर भ्रमणयोग्य साँस्कृतिक-प्राकृतिक संयोजनस्थल बनिरहेको छ । नुवाकोट जिल्लाको उत्तर भागमा अवस्थित दुप्चेश्वर मन्दिर अहिले धार्मिक श्रद्धा र पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । समुद्र मन्थनपछि शीतलता पाउन हिँडेका शिव यही क्षेत्र भएर नीलाद्री पर्वत पुगेको धार्मिक विश्वास छ ।

मन्दिरमा साउन महिना, प्रत्येक सोमबार, शिवरात्रि, तिज, माघेसङ्क्रान्तिजस्ता अवसरमा हजारौँ भक्तजनको भिड लाग्छ । हालका वर्षमा स्थानीय तह र धार्मिक समितिका संयुक्त प्रयासमा मन्दिर क्षेत्रलाई सुविधासम्पन्न बनाइएको छ । मन्दिर परिसरमा बाटो, झिलिमिली बत्ती, सिसिटिभीबाट निगरानी, शुद्ध पिउने पानी, शौचालय, पार्किङ क्षेत्र, विश्राम गृह, स्नानको व्यवस्थालगायत विभिन्न सुविधा छ । दुप्चेश्वर मन्दिरपरिसरबाट देखिने पहाड, धवल हिमाल, तादी नदीको रमणीय दृश्य, वरिपरि हरियाली वनजङ्गल र शान्त वातावरणले भक्तजनलाई आध्यात्मिक शान्ति प्रदान गर्छ । कोषले मन्दिर क्षेत्र सफा र आकर्षक राख्ने काम गरिरहेको छ । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य झल्काउने दुप्चेश्वर अब केवल पूजा गर्ने स्थान मात्र नभई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा समेत विकसित हुँदै गइरहेको छ । दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाडौँलगायत देशभरबाट धार्मिक पर्यटक तथा विदेशी पर्यटकसमेत आउने गर्छन् ।

मन्दिर कसरी पुग्न सकिन्छ
काठमाडौँबाट जाने यात्रु काठमाडौँको टोखा-छहरे सडकखण्ड हुँदै चौघडा-खरानीटार-समुन्द्रटार भई दुप्चेश्वर मन्दिर करिब ६५ किलोमिटर यात्रा गर्दा करिब तीन घण्टामा पुग्न सक्छन् । दैनिक काठमाडौँका बालाजुचोक, गोंगबु, सामाखुशीबाट सवारीसाधन सञ्चालन भइरहेको छ भने धादिङ–गल्छी हुँदै यात्रा गर्दा नुवाकोटका कोल्पुटार, रातमाटे, देवीघाटबाट गँगटे-ढिकुरे-माछापोखरी-खरानीटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिब ९५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ । यी दुवै सडक पक्की कालोपत्र गरिएको सडक हो । यात्रा गर्न यी मार्ग सहज र सुलभ छन् ।

किंवदन्ती
पौराणिक कथनअनुसार करिब पाँच सय वर्षअघि स्थानीयवासी एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरामा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वास रह्यो । यिनलाई ‘मागेको पुग्ने, आँटेको पूरा हुने देवता’ का रूपमा विश्वास गरिन्छ । किंवदन्तीअनुसार समुद्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाईँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वरलाई सानो पशुपतिनाथका रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्छ । जोडी जुराउन र सन्तान माग्नकै लागि पनि यहाँ हजारौँ भक्तजन आउने गर्छन् । सन्तान नभए सन्तान दिने (विशेष-छोरा), चौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुटेमा बोली फुट्ने, आफूले चिताएको माग्दा पाइनेलगायत जनविश्वासमा भक्तजन आउने गरेका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीले दुग्धेश्वरलाई मान्ने गर्छन् ।

आन्तरिक पर्यटनको प्रचुर सम्भावना
धार्मिक पर्यटनको गन्तव्यका लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको यस धार्मिक स्थलको सरकारी र गैरसरकारीस्तरबाट प्रचारप्रसार हुन सके आन्तरिक एवम् बाह्य पर्यटक सजिलै भित्र्याउन सकिन्छ । सरकारी तथा निजी क्षेत्रबाट प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिइएमा दुप्चेश्वर नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने छ । पशुपतिनाथको दर्शन गर्न आउने भारतीय धार्मिक तीर्थयात्रीलाई दुप्चेश्वर ल्याउन सरोकार निकायले पहल गर्नु जरूरी छ । केही वर्षदेखि दुप्चेश्वर घ्याङफेदी हुँदै गोसाईँकुण्ड जाने सहज पदमार्ग बनेकाले भविष्यमा शिव परिपथ अर्थात् पशुपति-दुप्चेश्वर-गोसाईँकुण्ड धार्मिक मार्ग बनाउन सकिने पर्यटन व्यवसायी एवम् नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) का पूर्वाध्यक्ष दीपक महतले बताउनुभयो । पञ्चधाम सेवा समितिले पनि पशुपतिनाथ, बौडेश्वर, दुप्चेश्वर, उत्तरागया बेत्रावती र गोसाइँकुण्डलाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धन गर्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह