विदुर । विदुर-२ स्थित जयगणेश बहुउद्देश्यीय सहकारी संस्थाले दोहोरो सदस्यता अन्त्य गर्ने निर्णय गरेको छ । सहकारीको शनिबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
सहकारीको मूल्य, मान्यता, सिद्धान्त र प्रचलित सहकारी ऐनअनुसार विसं २०६४ मा नुवाकोटमा स्थापना भएको जयगणेशमा गत आवको असार मसान्तसम्म चार सय ४५ सेयर सदस्य रहेका छन् । कुल सेयरपुँजी रु. दुई करोड ६१ लाख २३ हजार एक सय रहेको सहकारीको कुल कर्जा लगानी रु. चार करोड ७९ लाख ९१ हजार तीन सय ८५ गरी खुद नाफा रु. चार लाख ५९ हजार ६ सय ९६ कमाएको छ । साधारणसभामा सहकारीका अध्यक्ष वैकुण्ठ मिश्रले आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी विभागले दोहोरो सदस्य हटाउन सबै सहकारीलाई गत वर्ष नै ऐन-नियमअनुसार निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभागको निर्देशनअनुसार एक व्यक्ति एक सहकारीको मात्र सेयर सदस्य हुनुपर्ने नियमलाई कार्यान्वयन गर्ने प्रतिबद्धता साधारणसभाले पारित गरेको छ ।’
सहकारी विभागले तोकेबमोजिमको आधार, ब्याजदर र स्पिड दरमा नबढ्ने गरी बचत तथा ऋणको कारोबार गर्ने, सहकारी व्यवसाय वा उद्योग स्थापना गर्न पहल गर्ने र सदस्यकेन्द्रित व्यवसाय सञ्चालन गर्नेलगायतको चुनौती समाधान गर्नेबारेमा समेत साधारणसभामा छलफल भएको छ । साधारणसभामा अध्यक्ष मिश्रद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक राजाराम ढकालद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, सचिव नारायण पौडेलद्वारा प्रस्तुत भावी कार्यक्रम र कोषाध्यक्ष शिवराम ढकालद्वारा प्रस्तुत आय-व्यय प्रतिवेदन सभाले छलफल गरी परिमार्जितसहित पारित गरेको उपाध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । साधारणसभाले लेखा परीक्षक नियुक्ति, निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने १० जना सेयर सदस्यका प्रतिनिधिलगायतका निर्णय गरेको व्यवस्थापक प्रकाशकुमार अधिकारीले बताउनुभयो । जिल्ला सहकारी सङ्घका लेखा सुपरिक्षक, समितिका संयोजक भोजराज पनेरूको उपस्थितिमा भएको साधारणसभामा उत्कृष्ट बचतकर्ता राजेन्द्रबहादुर बोगटी क्षेत्री र उत्कृष्ट ऋण कारोबार गर्ने मेघनाथ घिमिरेलाई सम्मान गरिएको थियो ।




प्रतिक्रिया