+
Search

ताजा अपडेट +

पपुलर +

चार महिनामा २० हजारले गरे लाङ्टाङ भ्रमण

चार महिनामा २० हजारले गरे लाङ्टाङ भ्रमण
सरस्वती न्यौपाने
११ महिना अगाडी

धुन्चे । चालू आवको चार महिनामा लाङ्टाङ राष्ट्रिय निकुञ्ज २० हजार ९२ जना आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन् । साउन, भदौ, असोज, कात्तिकमध्ये सबैभन्दा बढी कात्तिक महिनामा पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार साउनमा विदेशी एक सय १३ जना, सार्क मुलुकका एक सय १४ जना र नेपाली आठ हजार पाँच सय ६९ जना, भदौ महिनामा विदेशी तीन सय ७० जना, सार्क मुलुकका ११ जना र नेपाली सात सय ६९ जनाले भ्रमण गरेका छन् । असोज महिनामा विदेशी एक हजार पाँच सय १९ जना, सार्क ८७ जना, नेपाली तीन हजार सात सय ३५ जना, कात्तिक २० गतेसम्म विदेशी एक हजार नौ सय ९५ जना, सार्क मुलुकका ४४ जना र नेपाली दुई हजार आठ सय ४५ जना रहेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार दसैँ-तिहारको बिदा मनाउने उद्देश्यले धार्मिक क्षेत्र गोसाइँकुण्ड र लाङटाङ जाने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लागेको थियो । सबभन्दा बढी लाङटाङ जानेको सङ्ख्या बढी छ । चार महिनाको अवधिमा उक्त आन्तरिक तथा बाह्य पर्यटकबाट रु.एक करोड ३८ लाख १२ हजार ६ सय राजस्व उठेको विवरण कार्यालयले सार्वजनिक गरेको छ । विसं २०३२ चैत ९ गते स्थापना भई रसुवाको ५७ प्रतिशत भू-भाग, नुवाकोटको सात प्रतिशत र सिन्धुपाल्चोकको ३३ प्रतिशत गरी तीन जिल्लाका साबिकको ३४ गाविसको एक हजार सात सय १० वर्गकिलोमिटरमा फैलिएको छ । एक हजार मिटरदेखि सात हजार दुई सय ४५ मिटरसम्म फैलिएको यो निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ । वन क्षेत्र, घाँस, झाँडी बुट्यान तथा सिमसार क्षेत्र यस निकुञ्जको मुख्य विशेषतामा पर्दछ ।

Suzuki New Bike & Scooter

साल, कटुस, खोटेसल्ला, गोब्रेसल्ला, धुपी, भोजपत्र, गुराँस, ओखर, खस्रुलगायत एक सयभन्दा बढी प्रजातिका वनस्पति निकुञ्जका वनस्पति हुन् । वन्यजन्तुमा रेडपान्डा, कस्तुरी, मृग, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, सालक, चरीबाघ, आसामी बाँदर, हिमाली कालो भालु आदि पर्दछन् । लाङ्टाङ उपत्यका गोसाइँकुण्ड, दोर्जे लाक्पा, पास, मेलम्चीघ्याङ, हेलम्बु, पाँचपोखरी, तार्केघ्याङ, ह्योल्मो, आमायाङी, सेर्माथाङ, ध्याङफेदी, क्याङजिङ उपत्यका यस निकुञ्जका प्रमुख आकर्षण स्थल हुन् । समुद्री सतहबाट चार हजार तीन सय ६० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तथा क्यान्जिङ उपत्यका निकुञ्जका प्रमुख स्थल मानिन्छ । यहाँ रहेका धार्मिक, सांस्कृतिक, सामाजिक पहिचानले निकुञ्जको गरिमालाई उचाइ प्रदान गरेको छ । निकुञ्ज संरक्षणमा विविध चुनौती रहे तापनि जैविक विविधताको संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा उच्च मनोबलका साथ नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

निकुञ्ज कार्यालयको उद्देश्य हिमाली क्षेत्रमा पाइने वन्यजन्तुको वासस्थान संरक्षण तथा व्यवस्थापन गरी स्थानीय बासिन्दाको परम्परागत रहनसहनलाई संरक्षण गर्ने रहेको छ । निकुञ्जआसपासका बासिन्दाको जीविकोपार्जनमा सहयोग गरी मध्यवर्ती क्षेत्र कार्यक्रमबाट मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा स्थानीय जनताको जीविकोपार्जनमा सुधार गर्ने तथा हिमाली क्षेत्रमा पाइने वन्यजन्तुको वासस्थान संरक्षण र व्यवस्थापनमा जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने