नेपालमा वाम राजनीति र कम्युनिस्ट आन्दोलन विगत साढे सात दशकदेखि राजनीतिक परिवर्तनको प्रमुख शक्तिका रूपमा रहँदै आएको छ । तर, बारम्बारको फुट, अस्थिर एकता र सत्तामुखी राजनीतिले आज यो आन्दोलन विचारगत रूपमा कमजोर र बिस्तारै जनविश्वासको सङ्कटमा पर्न सक्ने सङ्केत देखा परिरहेको छ । वि.सं. २००६ वैशाख १० गते भारतको कलकत्तास्थित श्यामबजारमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी पाँचजनाको सक्रियतामा गठन भएको नेपालको पहिलो कम्युनिस्ट पार्टी जबजब हुर्कँदै गयो, जुटभन्दा धेरै फुटको इतिहास पनि बनाउँदै गयो ।
भनिन्छ-७६ वर्षे इतिहास बनाएको नेपालको कम्युनिस्ट पार्टी ७० भन्दा बढी पटक नै फुटिसक्यो । सामान्यतः समाजमा सबै मानिस बराबर हुनुपर्छ, उत्पादनका साधन (जस्तैः कारखाना, जमिन) सबैको साझा स्वामित्वमा हुनुपर्छ, वर्गहीन समाज बनाउने, जहाँ धनी-गरिबको भेद नहोस् भन्ने विचार राख्ने राजनीतिक विचारधारालाई नै नेपाली कम्युनिस्टले समाजवाद हुँदै साम्यवादसम्म पुग्ने यात्रामा विश्वास गर्नेहरूको सङ्गठन भने पनि त्यसैमा शङ्का उठ्ने गरी पार्टी फुटाउँदै गए । कहिले आफ्नै नेतामा विश्वास गरेनन्, कहिले पार्टीको विचार र सिद्धान्तमै शङ्का-उपशङ्का गरे । स्वार्थ मिल्दा आफैँ अब्बल क्रान्तिकारी बने भने स्वार्थ नमिल्दा एक-अर्कालाई गद्दार र प्रतिगामी पनि उनीहरूले नै भने । नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्दा एउटा नियमितजस्तै साझा रोग भेटिन्छ-फुटको परम्परा र एकताको नाटक ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कम्युनिस्ट नाम जोडिएका १६ भन्दा बढी दल निर्वाचन आयोगमा दर्ता छन्, र अझै नयाँ दलहरू उस्तै नाम लिएर दर्ता हुने तयारीमा छन् । यसो हुनुमा ‘कम्युनिस्ट’ शब्द लोकप्रिय भएकाले दलहरूले जनमत आकर्षित गर्न नाममा यो शब्द राख्न चाहन्छन् । मूल राजनीतिक विचार र दर्शन एउटै भए पनि नाममा ‘कम्युनिस्ट’को फुर्को जोडेरै अरूभन्दा भिन्न रहेको देखाउने प्रतिस्पर्धा नै चलेको देखिन्छ । तिनीहरूमध्ये केहीले ‘माक्र्सवादी लेनिनवादी’ त कसैले ‘माक्र्सवादी’, कोही ‘माओवादी’, कसैले ‘समाजवादी’ मात्रै लेखेरसमेत आपूmलाई भिन्न देखाउने प्रयास गरेका छन् । हालै आत्मसमीक्षा, वैचारिक पुनर्निर्माण र व्यावहारिक जन–राजनीतिक नवजागरणविना नै माओवादी, समाजवादी र अन्य साना–ठुला दलहरू मिलेर फेरि एउटा नयाँ कम्युनिस्ट एकता घोषणा गरिएको छ । नेपालमा ‘कम्युनिस्ट’ शब्दावली लोकप्रिय भएकाले पनि यसलाई छोड्न नचाहेको देखिन्छ । जनताको मत आकर्षित गर्न पनि पार्टीहरूले नाममा कम्युनिस्ट शब्द राखिरहन चाहेको देखिन्छ ।
तर, सबैले के स्वीकार गर्छन् भने संसारभरका कम्युनिस्टको मार्गदर्शक सिद्धान्त माक्र्सवाद हो । विश्व विगतलाई हेर्दा पनि समय, परिस्थिति र आफ्नै देशको विशिष्टताका आधारमा अघि बढ्दै जाने क्रममा लेनिनवादको उदय भएको थियो । चिनियाँ क्रान्तिको विशेषतामा माओका निश्चित मान्यताको विकास भएको थियो । कोरियाली क्रान्तिको सन्दर्भमा जुछे विचारधाराका रूपमा अघि आयो । क्युबाको क्रान्ति र भियतनामलगायत मुलुकका क्रान्तिका आफ्नै मौलिकता र भिन्न विशेषता छन् । त्यस्तै नेपाली क्रान्तिको मौलिक विशेषताको आधारमा जनताको बहुदलीय जनवादको विकास भयो । नेपालको कम्युनिस्ट आन्दोलनको मूलप्रवाह र शक्तिका रूपमा रहेको नेकपा (एमाले) ले यही जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा लिएको छ भने विगतको माओवादीलगायत केही दिन अघिसम्मको समाजवादी पनि यही विचारको सेरोफेरोमै आफ्नो रोटी सेकिरहेका थिए ।
‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने’ र ‘राजनीतिक दलहरू जनताको परीक्षामा उत्तीर्ण भइरहनुपर्ने’ मूल आधार बनाएको नेपाली विशेषताको यो विचारकै कारण नेपालका कम्युनिस्टहरूले सङ्घीय गणतन्त्रपछि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा शक्तिशाली भूमिका पाए । नेकपा एमाले त जनताद्वारा सर्वाधिक रुचाइएको पार्टीको रूपमा स्थापितसमेत भयो र त्यो स्थान अहिले पनि सुरक्षित नै छ । राज्यका स्रोतसाधन, नीति निर्माण र कार्यान्वयनको जिम्मा उनीहरूकै हातमा आयो । कम्युनिस्ट आन्दोलनको इतिहासले आजसम्म यो देशमा ६ जना कार्यकारिणी प्रमुख प्रधानमन्त्री बने, राष्ट्रपति, उपराष्ट्रपति बने, मुख्यमन्त्री र मेयरसम्ममा उनीहरूनै रहे । कम्युनिस्टहरूको सरकार हुँदा पनि जुन वर्गको उत्थानका निम्ति कम्युनिस्ट पार्टीहरूको उपस्थिति र अगुवाइ अपेक्षित थियो, त्यो कति पूरा भयो कति हुन बाँकी छ, त्यो नेपाली समाजले मूल्याङ्कन गरिनै रहेको छ ।
तैपनि अहिलेसम्म दक्षिण एसियाभरिमा नेपाल कम्युनिस्टहरूको सर्वाधिक लोकप्रियता रहेको मुलुकका रूपमा रहेकोे छ । दक्षिण एसियाको र अझ भनौँ एसियाकै कुनै पनि मुलुकमा कम्युनिस्टहरू संसदीय चुनावबाट केन्द्रीय सत्ताको शिखरमा गएको रेकर्ड छैन, तर नेपालमा यो एकपटक होइन, धेरैपटक सरकारको नेतृत्व गर्न पुगेको छ । तर, सरकारमा पुगेर पनि तात्विक महत्त्वको रूपान्तरणकारी काम गर्न नसक्नाले कम्युनिस्टको क्रेज घट्दो छ । तुलनात्मक रूपमा राष्ट्रिय हितका निमित्त अपरिहार्य रहेको राष्ट्रिय स्वाभिमानका पक्षमा वामपन्थी अगाडि छन् । वामपन्थीहरूको पक्षमा आम जनचाहना उर्लिएको देखेर देशी–विदेशी उदारवादी, विस्तारवादी र साम्राज्यवादी शक्तिहरू वामपन्थी नेता र पार्टीबिचमा अन्तरविरोध सिर्जना गराउन चाहान्छन् । यदि वामपन्थी दलहरू एकताबद्ध हुने हो भने आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनुका साथै चुनावका माध्यमबाट निरन्तर सरकार सञ्चालनको हैसियतमा रहने कुरामा विमति छैन ।
नेपालको कम्युनिस्ट आन्दोलन, ऐतिहासिक विरोधाभासबाट पनि मुक्त हुन सकिरहेको छैन । नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले सामाजिक न्याय, वर्गीय समानता र राष्ट्रिय स्वाधीनताको मुद्दा उठाएर राजनीतिक चेतनाको नयाँ अध्याय लेखेको थियो । तर, यो आन्दोलन आफैँ आन्तरिक विरोधाभास, सत्ता–लालसा र सङ्गठनात्मक विघटनको सिकार बनिरहेको छ । नेपालमा अधिकांश कम्युनिस्ट दलहरू ‘माक्र्सवाद–लेनिनवाद’ भन्ने साझा शब्द प्रयोग गर्छन्, तर त्यसको नेपाली सन्दर्भमा अर्थ बुझाउन र व्यवहारमा उतार्न उदासीन छन् । सैद्धान्तिक रूपमा समाजवादको बाटो, व्यवहारमा पुँजीवादी शासनसत्ताको अनुकरणजस्ता उनीहरूमा देखिएको वैचारिक द्वैधता, आन्तरिक विरोधाभास, सत्ता–लालसा र सङ्गठनात्मक विघटनजस्ता व्यवहारले आन्दोलनलाई दिशाहीन बनाइरहेको छ ।
अर्कोतर्फ नेपाली जनताको मुक्तिका लागि कम्युनिस्ट पार्टीभन्दा पनि उनीहरूले ‘संसदीय कम्युनिस्ट’को पहिचान बनाउँदै गएका छन् । उनीहरूको मुख्य सरोकारको विषय ‘जसरी पनि’ चुनाव जित्नु, ‘जोसित मिलेर भए पनि घाँटी जोड्नु’ संसद्मा बहुमत जुटाउनु र येनकेन प्रकारेण सरकारमा जानुसिवाय अर्को देखिँदैन । एउटा संसद्बाट अर्को संसद्सम्म र एउटा चुनावबाट अर्को चुनावसम्म मात्र सम्पूर्ण ध्यान–ध्याउन्ना र शक्तिलाई केन्द्रित गर्नु उनीहरूको मुख्य चरित्र भएको छ । भन्नैपर्छ, कम्युनिस्ट दलहरू पनि सत्तामा पुगेपछि वर्गीय रूपान्तरण होइन, संसाधनको कब्जा र सत्ताको वितरणमा केन्द्रित भए । सरकारमा रहेर जनताको पक्षमा काम गर्ने एउटा अवसर त होला, मुख्यतः कुनै पनि कम्युनिस्ट पार्टीलाई जीवन्त, शक्तिशाली र विशाल बनाउन, आमजनता र उत्पीडित वर्गको प्रत्यक्ष सरोकारका विषयमा निरन्तर वैचारिक, साङ्गठनिक काम र त सडक–सङ्घर्षका कार्यक्रमले नै हो । त्यो काम उनीहरूको प्राथमिकतामै परेको छैन । सत्ताकेन्द्रित सोच र अवसरवादले कम्युनिस्ट आन्दोलनको विचार र नीति कमजोर बन्यो ।
नेपालको कम्युनिस्ट राजनीतिको चुनौती भनेको सङ्गठनात्मक अनुशासनमा ह्रास आउनु पनि हो । पहिलेका कम्युनिस्ट दलहरू सङ्गठन, अनुशासन र सिद्धान्तका लागि चिनिन्थे । तर, अहिले दलभित्र आर्थिक पारदर्शिता छैन, आन्तरिक लोकतन्त्र कमजोर छ र कार्यकर्ताको आवाज सुन्ने संस्कृति हराएको छ । यसले पार्टीभित्र असन्तुष्टि र अविश्वास जन्माएको छ । यो अवस्थाको आत्मसमीक्षा नगरी पछिल्ला वर्षमा नेपालका कम्युनिस्ट दलहरू निरन्तर विघटन, पुनर्गठन र विवादको चक्रमा फसिरहेका छन् । माले, एमाले, माओवादी, समाजवादी, नेकपा– नाम बदल्दै, नेताहरू सर्ने, फेर्ने क्रम चलिरहेकै छ । दलहरूबिचको एकता पनि सिद्धान्तगत आधारमा होइन, सत्ताको समीकरणमा टिकेको देखिन्छ । चुनाव नजिकिँदा वा सत्ताको खेलमा लाभ हुने वेला ‘एकता’को हल्ला हुन्छ, अनि सत्ताको भागबन्डा बिग्रिँदा ‘विभाजन’को नाटक दोहोरिरहेको छ ।
अन्तमा, नेपालको कम्युनिस्ट आन्दोलन अहिले सङ्कटको मोडमा छ, तर अझै ढोका बन्द भने भएको छैन । नेपालको वाम आन्दोलनलाई पुनः प्रासङ्गिक बनाउने सम्भावना ज्युँका त्युँ छ, जेन–जी आन्दोलनले सिकाएको पाठले पनि नेपालका कम्युनिस्टहरूलाई आत्मसमीक्षाका लागि थप झकझकाएको छ । यो आफैँमा सुधार, रूपान्तरण र आत्मसमीक्षाको अवसर पनि हो । यसका लागि पुरानै सत्तामुखी, गुटीय र व्यक्तिकेन्द्रित प्रवृत्ति नदोहोरिने गरी नेताहरूले आत्मसमीक्षा गर्न सकून्, दलहरूले जनतासँग पुनः सम्बन्ध स्थापित गर्न नचुकून् र सङ्गठनहरूले विचार र नैतिकतालाई पुनर्जीवित गरून्, नेपालको कम्युनिस्ट आन्दोलन फेरि उठ्न सक्छ । वाम आन्दोलन फेरि एकपटक जनताको आन्दोलन बन्न सक्छ । सबैको जय होस् । (पङ्क्तिकार नेकपा (एमाले), केन्द्रीय पार्टी स्कुल विभागको सदस्य हुनुहुन्छ)
२५ कात्तिक, २०८२




प्रतिक्रिया