+
Search

ताजा अपडेट +

पपुलर +

वैदेशिक रोजगारी, विद्यार्थी पलायन र पारिवारिक विखण्डन

वैदेशिक रोजगारी, विद्यार्थी पलायन र पारिवारिक विखण्डन
राजनप्रसाद प्याकुरेल
१ दिन अगाडी

वैदेशिक रोजगारी तथा वैदेशिक क्षेत्रमा अध्ययनपश्चात् हुने विद्यार्थी पलायन नेपालको अर्थतन्त्र र सामाजिक संरचनाको दोहोरो पाटो बनेको छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्कअनुसार नेपालबाट वार्षिक रूपमा पाँच लाखभन्दा बढी युवा विदेश पलायन हुन्छन्, जसमध्ये एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि जान्छन् । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा रेमिट्यान्सको योगदान २५ प्रतिशतनजिक पुगेको छ ।

यो आर्थिक लाभ स्पष्ट छ, तर यसको पारिवारिक मूल्यमा पर्ने क्षति भने निकै गम्भीर छ । वैदेशिक रोजगारीले परिवारको संरचनामा चिरा पार्दै छ भने पछिल्लो समय अध्ययनका लागि युरोप, अमेरिका, अस्ट्रेलिया, जापान र क्यानडाजस्ता विकसित देशमा जाने युवाहरू उतै स्थायी रूपमा बस्ने र अभिभावकलाई पनि उतै लैजाने प्रवृत्तिले पारिवारिक विखण्डनलाई थप गहिरो बनाएको छ । युनिसेफ र आइओएमको २०२४ को संयुक्त प्रतिवेदनअनुसार, यस्ता पलायनले १५ लाखभन्दा बढी परिवारलाई प्रभावित गरेको देखिन्छ । यो लेखमा पङ्क्तिकारले नेपालको वैदेशिक रोजगारी र अध्ययनपश्चात् हुने विद्यार्थी पलायनले पारिवारिक विखण्डनमा पारेको बहुआयामिक असरको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

आर्थिक लाभ र पारिवारिक मूल्यको द्वन्द्व
वैदेशिक रोजगारी र विद्यार्थी पलायनले परिवारलाई आर्थिक सुदृढीकरणसहित आर्थिक स्थिरता दिन्छ । मलेसिया, कतार वा जापानमा काम गर्ने नेपालीले मासिक रु.५० हजारदेखि रु.एक लाख कमाउँछन् भने अस्ट्रेलिया वा क्यानडामा अध्ययनरत विद्यार्थीले पार्टटाइम जागिरबाट वार्षिक रु.२० लाखसम्म आम्दानी गर्छन् । यो पैसाले शिक्षा, घर निर्माण र स्वास्थ्य सुविधा जुटाउन सहज भएको छ । तर, यो लाभले पारिवारिक एकताको मूल्य चुकाउन बाध्य पार्छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को २०२४ को प्रतिवेदनले देखाउँछ कि वैदेशिक रोजगार र विद्यार्थी भिसामा गएका ७० प्रतिशत युवा १८-३५ वर्ष उमेरका हुन्छन्, जुन परिवारको मुख्य कमाउने र भावनात्मक सम्बन्धको आधार तयार गर्ने उमेर हो । उनीहरूको अनुपस्थितिमा परिवारको दैनिक सञ्चालन श्रीमती वा वृद्ध अभिभावकले सम्हाल्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) गरेको नेपाल सर्वेक्षणअनुसार, यस्ता परिवारका महिलामा डिप्रेसनको दर सामान्यभन्दा ४५ प्रतिशत बढी छ । पछिल्लो प्रवृत्तिमा, विद्यार्थीले अध्ययनपछि उतै जागिर पाएर स्थायी बसोबास लिने र अभिभावकलाई ‘फ्यामिली रियुनियन’ भिसामा लैजाने प्रक्रियाले नेपालमा बाँकी परिवारका सदस्यलाई थप एक्लोपन दिन्छ ।

बालबालिकामा पर्ने मनोवैज्ञानिक असर
बालबालिका वैदेशिक पलायनको सबैभन्दा ठुलो पीडित समूह हुन् । युनिसेफ नेपालको २०२४ को अध्ययनले खुलासा गर्छ कि अभिभावकविहीन बालबालिकाको सङ्ख्या १५ लाख नाघेको छ, जसमध्ये ४० प्रतिशत विद्यार्थी पलायनसँग जोडिएको छ ।

शैक्षिक ह्रास
अभिभावक विदेश गएपछि बालबालिकाको पढाइमा गिरावट आउँछ । काठमाडौँ विश्व विद्यालयको २०२४ शोधले देखाउँछ कि यस्ता बालबालिकाको एसइई पास दर सामान्यभन्दा २० प्रतिशत कम हुन्छ । जसको कारण हो अनुशासनको अभाव र भावनात्मक समर्थनको कमी । विद्यार्थी पलायनको अवस्थामा, दाजुभाइ-दिदीबहिनीबिच पनि द्वन्द्व बढ्छ किनकि सबैले ‘अध्ययन’को बहानामा विदेश जाने सपना देख्छन् ।

मानसिक स्वास्थ्य सङ्कट
बालबालिकामा चिन्ता, टोलाउने र आक्रामक व्यवहार बढ्छ । नेपाल मनोविज्ञान सङ्घको २०२४ सर्वेक्षणअनुसार ५० प्रतिशत यस्ता बालबालिकाले आत्महत्याको विचार गरेको स्विर्काछन् । उनीहरूले अभिभावकसँग भिडियो कल गर्दा पनि खासै भावनात्मक सामीप्यता महसुस गर्दैनन् । उदाहरणका लागि, नाम उल्लेख नगर्ने सर्तमा एक १२ वर्षीया बालिकाले भनिन्, ‘दिदि अमेरिका पढ्न गएकी छिन्, तर उनी फर्केर आउँदिनन् । मलाई लाग्छ, म पनि एक्लै हुनेछु ।’

दम्पतीबिच सम्बन्धविच्छेद
वैदेशिक पलायनले दाम्पत्य सम्बन्धमा दरार ल्याउँछ । लामो समयको भौगोलिक दूरीले विश्वासको सङ्कट उत्पन्न गर्छ । नेपाल प्रहरीको २०२५ को तथ्याङ्कले देखाउँछ कि सम्बन्धविच्छेदका मुद्दा हरेक वर्ष ३० प्रतिशतले बढ्दै गएको छ जसमध्ये ६० प्रतिशत वैदेशिक रोजगार वा विदेश पलायनसँग सम्बन्धित देखिन्छ ।

अविश्वास र वैवाहिक सम्बन्धमा खटपट
विदेशमा काम वा अध्ययन गर्न जानेको श्रीमान् वा श्रीमतीले स्थानीयसँग सम्बन्ध बनाउने वा निजको घरमा शङ्का बढ्ने घटना बढ्दो छ । सामाजिक सञ्जालले यो शङ्का झन् बढाउँछ । अध्ययनका क्रममा थाहा भयो एक महिलाको श्रीमान् जापान पढ्न गएका र उनीहरूबिचको सम्बन्धमा क्रमशः खटपट सिर्जना भई अन्ततः तीन वर्षपछि सम्बन्धविच्छेद गरिन् । उनले थप भनिन्, ‘अध्ययनपछि उनी उतै बस्छन्, हामीबिच पैसाको लेनदेन मात्र बाँकी रह्यो अनि सम्बन्धविच्छेद भयो ।’

यौन स्वास्थ्य जोखिम
लामो समय अलग्गिएर बस्दा यौन सन्तुष्टिको अभाव हुन्छ । आइओएमको २०२४ प्रतिवेदनअनुसार विदेश फर्केका ३५ प्रतिशत युवामा यौनरोगको जोखिम बढी पाइयो । यो परिवारमा तनाव र रोगको स्रोत बन्छ ।

वृद्ध अभिभावकको एक्लोपन
वैदेशिक पलायनले वृद्ध अभिभावकलाई पीडित बनाउँछ । छोराछोरी विदेश गएपछि उनीहरू नाति-पनातिको सहारामा बस्छन्, तर भावनात्मक एक्लोपन बढ्छ । नेपाल वृद्धाश्रम सङ्घको २०२५ तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष वृद्धाश्रममा भर्ना हुनेको सङ्ख्या ५० प्रतिशतले बढ्यो, जसमध्ये ७० प्रतिशतका सन्तान विदेशमा छन् ।
पछिल्लो समय विकसित देशमा अध्ययनका लागि जाने विद्यार्थीले अध्ययनपछि उतै स्थायी बसोबास लिने र अभिभावकलाई पनि उतै लैजाने प्रवृत्तिले नेपालमा ‘खाली घर’को सङ्ख्यालाई बढाएको छ । सन् २०२४ मा प्रकाशित एक प्रतिवेदनअनुसार क्यानडा र अस्ट्रेलियाजस्ता देशमा नेपाली विद्यार्थीले ‘परन्ट्स स्पोन्सरसिप’ भिसामा अभिभावक लैजाने मुद्दा ४० प्रतिशत बढेको छ । यसले नेपालमा बाँकी भाइबहिनी वा आफन्तलाई थप विखण्डित बनाउँछ । काठमाडौँका ७५ वर्षीय एक वृद्धले भन्नुभयो, ‘छोरा अमेरिका पढ्न गए, अब उनले मलाई पनि उतै लैजान्छन् । तर, मेरा अरू बुहारी र नातिहरू यहाँ कसले हेर्छन् ? परिवार टुक्रियो ।’ यो एक्लोपनले वृद्धहरूमा अल्जाइमर र डिप्रेसनको जोखिम ६० प्रतिशत बढाउँछ ।

सामाजिक र सांस्कृतिक विखण्डन
वैदेशिक पलायनले परम्परागत सामाजिक बन्धन कमजोर पार्छ । गाउँमा दसैँ-तिहारजस्ता चाडपर्वमा परिवार एकै ठाउँमा भेला हुने चलन हराउँदै छ । विदेशबाट फर्केका वा उतै बस्ने युवामा पश्चिमी संस्कृति भित्रिन्छ, जसले पुस्तागत द्वन्द्व निम्त्याउँछ । सन्तान विदेशी स्थायी भएपछि नेपालमा भएका परिवारजनमा एक्लोपन बढ्छ । आइओएमको २०२४ अध्ययनअनुसार युरोप र अमेरिकामा नेपाली विद्यार्थीको स्थायी बसोबास दर ७५ प्रतिशत छ, जसले नेपालको जनसाङ्ख्यिक संरचनालाई असन्तुलित बनाउँदै छ । तथ्याङ्कअनुसार वैदेशिक रोजगारी तथा विद्यार्थी पलायनका कारण :
पारिवारिक विखण्डन : सन् २०२३ मा एक लाख १० हजार देखिन्छ । (शिक्षा मन्त्रालय, २०२४)
सम्बन्धविच्छेद दर : २०२० मा १५ प्रतिशत, २०२५ मा ३० प्रतिशत (सर्वोच्च अदालत)
बाल मानसिक रोग : ५० प्रतिशतभन्दा बढी (नेपाल मनोविज्ञान सङ्घ, २०२४)
वृद्धाश्रम भर्ना : ५० प्रतिशत वृद्धि (नेपाल वृद्धाश्रम सङ्घ, २०२५)
विप्रेषण : जिडिपीको २५ प्रतिशत (नेपाल राष्ट्र बैंक, २०२५)
यो तथ्याङ्कले आर्थिक लाभको पछाडि पारिवारिक मूल्यको क्षति स्पष्ट पार्छ ।

निष्कर्ष र समाधान
वैदेशिक रोजगारी र विद्यार्थी पलायनले परिवारलाई आर्थिक रूपमा सबल त बनाउँछ, तर भावनात्मक र संरचनात्मक रूपमा खोक्रो बनाउँदै छ । बालबालिकाको भविष्य, दम्पतीको विश्वास र वृद्ध अभिभावकको सम्मान गुम्दै छ । विद्यार्थीको स्थायी पलायन र अभिभावक लैजाने प्रवृत्तिले यो विखण्डनलाई अन्तिम रूप दिन्छ । यो रोक्न निम्न कदम चाल्नुपर्छ :
सरकारी नीति : वैदेशिक रोजगार र विद्यार्थी ऐनमा परिवार पुनर्मिलन र फर्किने प्रोत्साहनको प्रावधान ।
मनोपरामर्श केन्द्र : गाउँ-गाउँमा पलायन प्रभावित परिवारका लागि निःशुल्क परामर्श ।
शिक्षा अभियान : स्कुलमा ‘परिवार र स्वदेशको महत्त्व’ पाठ्यक्रममा समावेश ।
वैकल्पिक रोजगारी : स्वदेशमै सिपमूलक तालिम, उद्यमशीलता र गुणस्तरीय शिक्षा विस्तार
प्रविधिको उपयोग : नियमित भिडियो कल र पारिवारिक भेटघाटको सुविधा ।

नेपालजस्तो विश्व प्रतिस्पर्धी शिक्षा तथा रोजगारीको अवसर न्यून भएको मुलुकका लागि वैदेशिक रोजगारी तथा वैदेशिक अध्ययन अपरिहार्य छ, तर यसलाई पारिवारिक विखण्डन हुने माध्यम बन्न दिनुहुँदैन । पैसा कमाउनु मात्र होइन, परिवार जोगाउनु पनि राज्य र समाजको दायित्व हो । यदि यी असरलाई बेवास्ता गरियो भने निकट भविष्यमा नै नेपालले आर्थिक समृद्धिसँगै सामाजिक पतनको मूल्य चुकाउनुपर्ने देखिन्छ ।

विदुर-१०, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

राजनप्रसाद प्याकुरेल