विदुर । बैंक तथा वित्तीय संस्थाहरूले नुवाकोटमा गत आवको असार मसान्तसम्म औद्योगिक कर्जा साढे १५ करोड रुपैयाँ प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले गत सोमबार (२०८२ कात्तिक २५ गते) सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधिसम्बन्धी आर्थिक वर्ष २०८१/०८२ को अध्ययन प्रतिवेदनले कर्जा लगानीको पुष्टि गरेको छ ।
सो प्रतिवेदनअनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी औद्योगिक कर्जा बैंक तथा वित्तहरूको ठुलो हिस्सा काठमाडौँमा र सबैभन्दा कम रसुवा जिल्लामा लगानी भएको छ । गत आवको असार मसान्तसम्म बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत रहेको छ । उक्त औद्योगिक कर्जामध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी रु. ११ खर्ब १९ अर्ब ३० करोड अर्थात् ९२.४ प्रतिशत कर्जा लगानी रहेको छ भने रसुवामा सबैभन्दा कम रु. १३ करोड ६ लाख ५० हजार अर्थात् ०.०१ प्रतिशत कर्जा लगानी भएको प्रतिवेदनमा उल्लेख छ । नुवाकोटमा रु. १५ करोड ५६ लाख अर्थात् ०.१३ प्रतिशत कर्जा लगानी भएको प्रतिवेदनमा सार्वजनिक भएको छ । त्यसैगरी, प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये रु. २१ करोड ६५ लाख अर्थात् ०.१८ प्रतिशत धादिङ जिल्लामा लगानी रहेको छ । उक्त प्रतिवेदनअनुसार गत आवको असार मसान्तसम्म दर्ता भएको दुई उद्योगबाट नुवाकोटमा ९० जना, रसुवामा एक उद्योगबाट २९ जना र धादिङमा आठ उद्योगबाट चार सय ६२ ले रोजगारी पाएको उल्लेख छ ।
बागमतीमा गत आवको असार मसान्तसम्म वाणिज्य बैंकका १८ सय ४३, विकास बैंकका तीन सय ३२, वित्त कम्पनीका एक सय नौ, लघुवित्त वित्तीय संस्थाका सात सय ५४ तथा पूर्वाधार विकास बैंकका एक गरी तीन हजार ३८ शाखा सञ्चालनमा रहेका छन् । त्यसमध्ये काठमाडौँमा सबैभन्दा बढी एक हजार दुई सय चार शाखा र सबैभन्दा कम रसुवामा ५२ शाखा सञ्चालनमा रहेका छन् । नुवाकोटमा एक सय १६, धादिङमा एक सय ५२, दोलखामा ६६, सिन्धुपाल्चोकमा ९६, भक्तपुरमा एक सय ७३, ललितपुरमा तीन सय १८, काभ्रेपलाञ्चोकमा एक सय ८६, रामेछापमा ५६, सिन्धुलीमा एक सय १३, मकवानपुरमा एक सय ५८, चितवनमा तीन सय ४८ शाखा सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको छ । बागमतीका सबै एक सय १९ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति रहेको छ । यो प्रदेशमा बैंक तथा वित्तीय संस्थाले आव २०८१/०८२ असार मसान्तसम्म रु. ४७ खर्ब ९७ अर्र्ब ५९ करोड पुगेको छ । प्रतिवेदनअनुसार नमुना छनोटमा परेको उद्योेगमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेकोे छ भने गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ । गत वर्ष नमुना छनोटमा समेटिएका उद्योगको उत्पादनमध्ये बियर, चुरोट, टान्सफर्मर तथा औषधिमध्येको ट्याबलेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइसिरप र लिक्विडको उत्पादन बढेको छ भने प्रशोधित दुध, पशुदाना, चाउचाउ, हल्का पेय पदार्थ, पस्मिना, गार्मेन्ट, रङ, इँटा र बिजुलीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा बागमती प्रदेशमा कुल पाँच सय ४३ उद्योग दर्ता भएका छन् । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट सङ्कलन गरेकोे कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १०.८४ प्रतिशतले र कर्जा प्रवाह ११.३५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वि.सं. २०८२ असार मसान्तमा कर्जा निक्षेप अनुपात औसतमा ६९.२७ प्रतिशत रहेको छ ।
काठमाडौँमा सबैभन्दा बढी कर्जा प्रवाह हुनुमा अधिकांश औद्योगिक प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौँमा रहेकोले औद्योगिक कर्जाको ठुलो हिस्सा त्यहीँ लगानी भएको देखिएको राष्ट्र बैंकले प्रस्ट पारेको छ । कुल औद्योगिक कर्जामा विद्युत्, ग्यास तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत, कृषि वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५ प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा ३.५ प्रतिशतले र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको छ ।




प्रतिक्रिया