प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आमूल परिवर्तनका पक्षमा आएको छ । नेपाली जनताको बर्साैँदेखि गुम्सिएको आक्रोश यस पटकको निर्वाचनमा दलहरूलाई थला पर्ने गरी पोखिएको छ । गत २०७९ मा निर्वाचित सांसदको अवधि नसकिँदै यही २०८२ फागुन चौथो हप्तामा भएको निर्वाचनले नेपालको संसदीय इतिहासमा दशकौँदेखि जरा गाडेर बसेका राजनीतिक किल्लालाई भत्काइदिएको छ । यो निर्वाचन प्रतिनिधिसभाका सदस्य चयन गरिने नियमित निर्वाचनभन्दा फरक रह्यो । नेपाली जनताले नयाँ दलका पक्षमा अभिमत जाहेर गरेर परिवर्तनको तीव्र भोकको प्रस्फुटन गरेका छन् ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामानुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकलौटी सहज सरकार सञ्चालन गर्न दुई तिहाइ नजिक सङ्ख्या पुगेको छ । बहुमतसहित रास्वपा प्रतिनिधिसभामा पहिलो दल बनेको छ । यस परिणामका आधारमा नेपाली जनताले देशको राजनीतिक नेतृत्व रास्वपाका काँधमा सुम्पिएका छन् । मतदाताले रास्वपालाई मत मात्र दिएनन्, प्रजातन्त्र र गणतन्त्रको नाम दिएर स्वार्थ सिद्ध गर्न पल्की साढे तिन दशक नेतृत्व गर्नेको कालखण्ड अन्त्य पनि गरिदिएका छन् । निर्वाचनका माध्यमबाट नेपाली मतदाताले वर्गीय, क्षेत्रीय, जातीय, भौगोलिक, धार्मिक तथा साम्प्रदायिक दूरी कम गर्दै समाजलाई नयाँ ढङ्गले पुनःसंंरचना गर्न आवश्यक रहेको सन्देश पनि दिएका छन् । विसं २०७९ को आमनिर्वाचन आउनुभन्दा ६ महिनाअघि मात्र दर्ता भएर स्थापित हुँदै गरेको रास्वपालाई यस पटक जनताले सत्तामा पुर्याएर सुशासन कायम गर्न कार्यादेश सुम्पिएका छन् । यस निर्वाचनले विसं २०१५ देखि राजनीतिमा रहँदै २०४६ पछि सत्ता राजनीतिमा एक छत्र राज गरेका दललाई मात्र पछारेन, विसं २०६२/०६३ पछि नयाँ र परिवर्तनकारी शक्ति भएको जिकिर गर्दै उदाएको साबिक माओवादी अर्थात् नेपाली कम्युनिस्ट पार्टी पनि सोच्नुपर्ने गरी खुम्चिन पुगेको छ । विसं २०४६ को परिवर्तनपछि सत्ताको बागडोर सम्हाल्ने नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका नेता/कार्यकर्ताले हिजोसम्म गरेको रजगज यस निर्वाचनसँगै समाप्त भएको छ ।
रास्वपालाई दिइएको जनादेश सत्ताका लागि सिद्धान्त र नीतिको बेवास्ता गर्नका लागि होइन । सत्ताका लागि मिल्ने र झगडा गर्ने कांग्रेस, एमाले, माओवादी प्रवृत्ति अन्त्य गर्न तथा विकृत राजनीतिलाई फेर्न, भ्रष्टाचार निमूल गर्न र सुशासन कायम राख्न रास्वपालाई मतदाताले रोजेका छन् । सत्ताको प्रवृत्ति र भागबन्डाको खेल नखेली उसले एकल सत्ता सञ्चालन गर्न जनादेश पाएको छ । यो जनादेश सुशासनका लागि भ्रष्टाचार नियन्त्रण सँगसँगै समृद्धिका लागि पनि हो । रास्वपाले विजयको उन्माद सम्हाल्दै मर्यादित राजनीतिक संस्कारको सुरूआत गर्न विजयी जुलुस, सभा नगर्ने निर्णय गरेको छ । यससँगै रास्वपाले निर्वाचन हारेका नेता र दलहरूप्रति मित्र व्यवहार देखाउँदै प्रतिशोधात्मक व्यवहार गर्नुहुँदैन । विगतमा प्रजातन्त्र, लोकतन्त्र ल्याउन सङ्घर्ष गरेका पुराना दल र नेताको योगदानको सम्मान गर्न सक्नुपर्छ । सत्ता सम्हाल्ने दललाई अरूको आलोचना गरेर र विगतलाई दुत्कारेर बस्ने छुट हुँदैन । नागरिकले छिटोछिटो विकासनिर्माण र उत्कृष्ट सेवा प्रवाहको अपेक्षा नयाँ सरकारसँग राखेका छन् । अबको सरकारले राज्यले दिने सेवासुविधा निष्पक्ष र राजनीतिक स्वार्थरहित बनाउन सके मात्र जनमतको कदर हुने छ ।
विगतमा सरकार सञ्चालन गर्नेले जनापेक्षालाई ध्यान नदिँदा जेनजी आन्दोलन भयो । उक्त आन्दोलनले समाज परिवर्तनको चाहना उजागर गरेको छ । निर्वाचन परिणामले उक्त चाहना मतपत्रमार्फत मतदाताले उजागर गरेको प्रस्टिन्छ । साढे तिन दशकदेखि खोक्रो आश्वासन र केबल भाषण सुन्दा सुन्दै आजित नेपाली नागरिकले अहिले ठोस परिणाम खोजेका छन् । निर्वाचनबाट यति ठुलो बहुमत जनताले एउटै दललाई दिएको यो पहिलो पटक हो । अब उसले देश र जनताका लागि गर्ने कार्य बिनाबाधा गर्न सक्छ । भ्रष्टाचारमुक्त समाज आजको आवश्यकता हो । यसतर्फ रास्वापाले ध्यान पु¥याओस् । विगतको अस्थिर राजनीतिको बाछिटाबाट जोगिँदै रास्वपा नेतृत्व स्थिर रूपबाट पाँच वर्ष काम गर्न सक्षम होस् । निर्वाचनमा मतदाताले रास्वपालाई सरकार परिवर्तन गर्नका लागि मात्र अभिमत दिएका छैनन्, देशको राजनीतिक भविष्यलाई नयाँ दिशा दिने आशासमेत रोजेका छन् । निर्वाचनको नतिजाले रास्वपालाई ठुलो जिम्मेवारी र पुराना दललाई गम्भीर सबक सिकाएको छ । लोकतन्त्रको पर्यायवाची ठान्ने पुराना दलहरूले लोकतन्त्रभित्र नभई नहुने उत्तरदायित्व र पारदर्शीतालाई कहिल्यै आत्मसात् गर्न सकेनन् र सर्वनाक पराजय भोगे । यसबाट अब बन्ने सरकारले पाठ सिक्न सक्नुपर्छ ।






प्रतिक्रिया