विकास र जनताको सेवामा सधैंँ लागिरहने छु

डा.प्रकाशशरण महत, नेका, प्रतिनिधिसभा क्षेत्र नं १ (प्राप्त मत – १८,५९७)
यसपटकको आम निर्वाचनमा देखिएको अस्वभाविक परिणामका पछाडि स्थापित पार्टीप्रति मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग, भदौ २३ गतेको घटनाको प्रभावलगायतका धेरै कारण छन् । यसको विश्लेषण हुने नै छ ।
नेपाली कांग्रेस पार्टी यो प्रभावबाट अछुतो रहेन । नुवाकोट–१ मा पनि यसको प्रभाव रह्यो । यस्तो प्रतिकूलताका बाबजुद प्रतिस्पर्धी मत दिएर म र मेरो पार्टीलाई विश्वास गर्नुहुने सम्पूर्ण मतदाताप्रति आभारी छु र धन्यवाद दिन चाहन्छु । यस क्षेत्रको विकास र जनताको सेवामा सधैंझैँ लागिरहने नै छु । निर्वाचित रास्वपाका उम्मेदवार डा.विक्रम तिमिल्सेनालाई बधाई र शुभकामना व्यक्त गर्दछु ।
म सधैंँ जनमतको सम्मान गर्छु

हितबहादुर तामाङ, नेकपा, प्रतिनिधिसभा क्षेत्र नं १ (प्राप्त मत – १३,३७७)
विसं २०७४ र २०७९ मा निर्वाचित भएपछि तपाईंहरूले मलाई सुम्पिनुभएको जिम्मेवारीलाई मैले सधैं तपाईंहरूको विश्वास र आफ्नो कर्तव्यका रूपमा ग्रहण गरेको छु । स्रोत–साधनका सीमितता अवश्य थिए, तर मेरो नियत कहिल्यै त्रुटिपूर्ण थिएन । पूर्वाग्रहबिना हेर्ने हो भने, विगत तीन दशकमा हामीले अरूले प्रयास गर्ने साहससमेत नगरेका धेरै अधुरा सपना र विकासका योजना पूरा गरेका छौँ भन्ने कुरा विनम्रतापूर्वक भन्न चाहन्छु । पदमा रहँदा वा नरहँदा पनि मैले तपाईंहरूको शिर झुक्ने कुनै काम गरेको छैन । मैले सधैं राजनीतिलाई लोकतन्त्रको रक्षा, राष्ट्रिय सार्वभौमिकता र देशको समृद्धिका लागि पवित्र माध्यमका रूपमा लिएको छु । भ्रष्टाचारविरूद्धका मेरा आवाज केवल भाषणमा सीमित थिएनन्; मैले आफ्नो आचरण र व्यवहारबाट पनि त्यसलाई देखाउने इमानदार प्रयास गरेको छु । यही प्रतिबद्धताका कारण आज जनताको ठूलो हिस्साले मलाई साथ दियो र अन्य दलका धेरै साथी पनि हाम्रो साझा अभियानमा जोडिनुभयो ।
हो, सङ्ख्यात्मक परिणाम जे भए पनि नैतिक रूपमा हामीले विजय हासिल गरेका छौ । पार्टीभित्रको एकतालाई कायम राख्दै हामीले जनताको मन जित्न सफल भयौँ । हामीले प्राप्त गरेको हरेक मत कुनै प्रलोभन वा स्वार्थबिना आएको शुद्ध विश्वासको अभिव्यक्ति हो । म सधैं जनमतको सम्मान गर्छु । लोकतन्त्रमा जनताको निर्णय नै सर्वोच्च हुन्छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी र यसको लहरबारे धेरै टिप्पणी र बहस भएका छन्, तर म अहिले त्यसतर्फ जान चाहन्न । मेरो प्राथमिकता सधैं यस क्षेत्रको हित र यहाँका जनताको सेवा नै हो र रहने छ । यस निर्वाचनमा यस क्षेत्रको नेतृत्वका लागि निर्वाचित हुनुभएका डा.बिक्रम तिमिल्सनालाई हार्दिक बधाई ज्ञापन गर्दछु । हामी एउटै क्षेत्रका भएकाले उहाँको सफलता मेरो व्यक्तिगत र क्षेत्रीय सद्भावसँग पनि जोडिएको छ । जनताले नयाँ आशा र विश्वासकासाथ तपाईंलाई यो जिम्मेवारी दिएका छन् । तपाईंको कार्यकालमा यस क्षेत्रका जनताको आकांक्षा पूरा होऊन् र नुवाकोटको विकासले नयाँ गति पाओस् भन्ने मेरो हार्दिक कामना छ । म पदमा रहुँ वा नरहुँ, नुवाकोटको माटो र यहाँका प्रिय जनतासँग सधैं सुख-दुःखमा साथ रहने छु र यस स्थानको प्रगतिका लागि सकारात्मक सहयोग गर्न सधैं तयार रहने छु । हाम्रो राजनीतिक बाटो फरक हुन सक्छ तर हाम्रो लक्ष्य एउटै हुनुपर्छ-समृद्ध नुवाकोट ।
तपाईंहरूको निःस्वार्थ माया र अटल विश्वास नै मेरो जीवनको सबैभन्दा ठूलो ऊर्जा हो । मेरो सार्वजनिक सेवाको यात्रा यहाँ रोकिएको छैन । यसबाट प्राप्त अनुभवका आधारमा म अझ बलियो र परिपक्व भएर अगाडि बढ्नेछु, तपाईंहरूको सुख-दुःखमा साथ दिँदै।
सेवा गर्ने मेरो भावना कहिल्यै मर्दैन

बद्रीप्रसाद मैनाली, एमाले, प्रतिनिधिसभा क्षेत्र नं १ (प्राप्त मत – ८,९३२)
सर्वप्रथम नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.बिक्रम तिमल्सिनालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । उहाँले नुवाकोट र देशका लागि राम्रो काम गर्न सक्नुहोस् भन्ने कामना गर्दछु ।
लोकतन्त्रमा प्रतिस्पर्धा अत्यन्त स्वभाविक र सुन्दर प्रक्रिया हो–यहाँ कहिले जित हुन्छ, कहिले हार । तर हारले हाम्रो विश्वास र संकल्पलाई कहिल्यै हराउन सक्दैन । हामी न त आत्तिएका छौं, न त सकिएका छौं । मैले हजो गरेको पोष्ट समग्र मुलुको इतिहासको अनुभवको स्मरण मात्र हो असन्तुष्टि थिएन । धुलोमा लडेको एक सिपाही जस्तै, आम मतदाताको सेवाका लागि धुलो टक्टक्याउँदै हामी फेरि उठ्नेछौं, फेरि जुट्नेछौं । नुवाकोटका लागि, देशका लागि, राष्ट्रियताको रक्षा र समृद्धिको यात्राका लागि नेकपा (एमाले) र हामी सबै नेता, कार्यकर्ता तथा समर्थक निरन्तर अघि बढिरहनेछौं ।
यो परिणामले निराश हुने बेला होइन, आत्ममन्थन गर्ने समय हो । इतिहासले सिकाएको सत्य हो – अँध्यारोपछि उज्यालो अवश्य आउँछ, हारपछि जितको अवसर पनि अवश्य आउँछ । आजको परिणामले हामीलाई आपूmलाई सुधार्ने र अझ मजबुत बन्ने अवसर दिएको छ । सायद जनताले देखिएका विकासभन्दा पनि अझ ठूलो परिवर्तनको अपेक्षा गरेका रहेछन् । त्यो आकांक्षालाई म पूर्ण सम्मान गर्दछु । मैले हार्दा पनि जनताको सुखदुःखमा साथ दिने मेरो प्रण कहिल्यै कमजोर हुने छैन । तपाईंहरूलाई थाहा छ, म सधैं नुवाकोटका गाउँ, पाखा–पखेरा, खोल्सा–खोल्सी, बस्ती र आँगनमा पुगिरहेँ । गरिब, असहाय र बिरामीका बीच ‘म पनि तपाईंहरूसँगै छु’ भनेर सकेको सहयोगसहित उभिरहेँ । सरकारमा हुँदा पनि नुवाकोटलाई प्राथमिकता दिनुपर्छ भनेर निरन्तर आवाज उठाउँदै सयौं विकास योजनाका लागि पहल गरिरहेँ । सायद यही विश्वासका कारण मैले तपाईंहरूको अझ ठूलो समर्थन पाउने अपेक्षा राखेको थिए । अपेक्षाअनुसार अत्यधिक मत पाउन सकिन । तर जति विश्वास पाएको छु, त्यसलाई जीवनभर सम्मानपूर्वक जोगाएर राख्नेछु ।
मलाई मत दिनुहुने र नदिनुहुने सबै नुवाकोटबासीप्रति समान सम्मान र माया राख्दै म तपाईंहरूको आवाज सडकमा, सङ्घर्षमा र हरेक मञ्चमा उठाइ रहनेछु । कोही नुवाकोट फर्कलान् वा नफर्कलान्, तर म भने यही पाखा–पखेरा, यही कुनाकन्दरा र तपाईंहरूकै आँगनमा भेटिइरहने छु । किनकि मेरो राजनीति केवल संसदको एउटा कुर्सीका लागि होइन । मेरो राजनीति नुवाकोट बदल्न, समृद्धि ल्याउन, रोजगारी सिर्जना गर्न र राष्ट्रियताको रक्षा गर्नका लागि हो । सेवा गर्ने मेरो भावना कहिल्यै मर्दैन, नुवाकोटप्रतिको मेरो माया कहिल्यै घट्दैन र तपाईंहरूको विश्वास जित्ने मेरो प्रयास कहिल्यै रोकिने छैन । म फेरि पनि यही बाटोमा हिँडिरहनेछु ।
लोकतन्त्रको रक्षा, संविधानको सम्मान र जनताको सेवामा म प्रतिबद्ध रहन्छु

जगदीश्वरनरसिंह केसी, नेका, प्रतिनिधिसभा क्षेत्र नं २ (प्राप्त मत – १५,५०३)
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।”
— भगवद् गीता
श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा दिएको यो उपदेशले हामीलाई सिकाउँछ कि हाम्रो अधिकार कर्ममा हुन्छ, फलमा होइन । आफ्नो कर्तव्य निष्ठापूर्वक पूरा गर्नु नै सच्चा धर्म हो ।
केही महिनाअगाडि संविधानको ठेली नजिक-नजिक आगो पुग्दै थियो । लोकतन्त्रको मुटुमै प्रहार गर्ने प्रयास भइरहेका थिए । सुरक्षा निकायका सम्पूर्ण संयन्त्र निस्क्रियप्रायः देखिन्थे । व्यवसायीका प्रतिष्ठान दनदनी बलिरहेका थिए र आम जनताको मनभित्र त्रासले सीमा नाघिसकेको थियो ।
यस्तो भयावह परिस्थितिबाट देश र जनता जोगाउँदै लोकतन्त्रलाई जिवित राख्ने अन्तिम विकल्प भनेको चुनाव नै थियो । यसलाई म र मेरो पार्टीले कसैको जित वा हारलाई केन्द्रमा नराखी, चुनाव घोषणा भएकै दिनदेखि भइरहेका विभिन्न अड्कलबाजीलाई खण्डन र प्रतिवाद गर्दै निरन्तर चुनावको पक्षमा दृढतापूर्वक उभियौँ ।
हामीले सोचेअनुसार परिणाम हासिल गर्न नसके पनि संविधान सुरक्षित रहँदै लोकतन्त्रले जितेकोमा म खुशी छु । हार-जीत स्वभाविक हुने यही लोकतान्त्रिक प्रक्रियामा नुवाकोट क्षेत्र नं २ का विजयी उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । लोकतन्त्रको रक्षा, संविधानको सम्मान र जनताको सेवामा म सधैं प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गर्दछु ।
सँगै सोचौँ, सँगै काम गरौँ

केशवराज पाण्डे, एमाले, प्रतिनिधिसभा क्षेत्र नं २ (प्राप्त मत – ८,२८५)
यस निर्वाचनमा तपाईंहरूले देखाउनुभएको साथ, विश्वास र आत्मीयताका लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु । परिणाम हाम्रो पक्षमा आएन तर तपाईंहरूको भरोसा र माया मेरो लागि अत्यन्त मूल्यवान् छ ।
चुनाव केवल जित र हारको कुरा मात्र होइन । घरदैलोमा भेटिएका अनुहार, युवाको आशा, अभिभावकको अनुभव र समाजको अपेक्षाले मलाई अझ स्पष्ट बनाएको छ । हाम्रो काम चुनावसँगै समाप्त हुँदैन । नुवाकोटको विकास, युवाका अवसर, शिक्षा र सम्मानित जीवनका लागि प्रयास निरन्तर रहने छ । पदभन्दा ठूलो कुरा समाजप्रति हाम्रो जिम्मेवारी हो र त्यो जिम्मेवारी हामीले निरन्तर निभाइरहने छौँ ।
तपाईंहरूले दिनुभएको सुझाव, आलोचना र साथ सबैका लागि म कृतज्ञ छु । साथै, लोकतान्त्रिक प्रक्रियामा सहभागी भई विजयी हुनु भएका सबै उम्मेदवारलाई बधाई दिँदै, यही सम्बन्ध र संवादलाई हामी अघि पनि जारी राख्नेछौँ । हामीसँगै सोचौँ, सँगै काम गरौँ र हाम्रो समाज तथा देशलाई अझ राम्रो बनाउने यात्रामा अघि बढौँ । धन्यवाद ।
जनताको सेवा र विकासका लागि लागिरहने छु

हिरानाथ खतिवडा, नेकपा, प्रतिनिधिसभा क्षेत्र नं २ (प्राप्त मत – ६,७२०)
मेरो असल विद्यार्थीमध्येका एक अच्युतम लामिछाने रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
साथै, नुवाकोट क्षेत्र नं २ का सम्पूर्ण मतदाता महानुभावले तारा चिन्हमा मतदान गरी पार्टी र मप्रति देखाउनुभएको विश्वास, साथ र समर्थनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । तपाईंहरूको यो विश्वासलाई सधैं सम्मान गर्दै जनताको सेवा र विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।






प्रतिक्रिया