+
Search

ताजा अपडेट +

पपुलर +

घरबास पर्यटनका सूत्रधार पर्रसँगको भेट

घरबास पर्यटनका सूत्रधार पर्रसँगको भेट
फुर्पा तमाङ
३ महिना अगाडी

बेलायती टोनी पर्रसँग करिब तीन दशकदेखि चिनजान छु । त्यसयता हामीबिच वेलावेलामा भेटघाट भइरहेको छ । भेट हुँदा हामी नेपालको पर्यटन क्षेत्रकै विषयमा एकछिन भए पनि छलफल गर्छौँ । उनी जहिल्यै नेपाल आउँदा मलाई भेट्न मन पराउँछन् । तर, कहिलेकाहीँ भने मेरो कामविशेषले भेट नभएको पनि छ । त्यतिखेर हामी फोनमा वा सामाजिक सञ्जालमा च्याट गरेर मित्रताको डोरी कस्ने गर्छौँ । गत वर्ष म महेन्द्रनगरमा हुँदा उनी आएका थिए । हामीले बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरेका थियौँ । वर्षात्पछि खुलेको जङ्गल सफारी गर्नेमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा उनी पहिलो विदेशी पर्यटक थिए ।

यसपालि पनि म काठमाडौबाहिर भएकोले उनी मलाई भेट्न जनकपुर आएका थिए । यसअघि लामो समय नेपालमा बसेर पर्यटन क्षेत्रमा काम गरेको भए पनि जनकपुर आएका रहेनछन् । मिथिला सभ्यतासँग जोडिएको जानकी मन्दिर र जनकपुर क्षेत्रमा रहेका पर्यटकीय आकर्षक हेर्न भनी र अर्का पर्यटन व्यवसायी राज भट्ट जनकपुर आए । दुई दिन हामीले जनकपुर क्षेत्रका पर्टकीय गन्तव्य साइट सिइङ (हेर्ने काम) गर्यौँ। साँझ गङ्गासागरमा भक्तजनको आरती र बिहानी स्नान हेर्यौँ। पूर्णिमा भएकाले मिथिलावासीको घुइँचो थियो । जानकी मन्दिरपरिसरमा परिक्रमा गर्यौँ । धनुषाधाम जनकपुरबाट आधा घण्टा गाडीमा जानुपर्ने र मिथिलावासीको गाउँघर झल्किने गरी सञ्चालनमा ल्याएको कल्चरल भिलेज १२ किमि टाढा रहेछ । लहलह झुलेको धानबाली, गाईभैँसीको गोठ, पोखरी, ग्रामीण कृषिबजार हेर्दै ग्रामीण पर्यटनको दृश्यपान गर्यौ । प्यास लाग्दा मोही, भैँसीको शुद्ध दुध हालेर पकाइएको मिठो चिया, जनकुपरे रहु माछाको परिकार खाइयो । साढे १२ बिघा जग्गा क्षेत्रफल भएको कल्चरल भिलेजमा २० वटा कोठा क्षमता रहेछ । एक रात बास, स्थानीय परिकार, पोखरीबाट माछा बल्छीमा मार्न पाइने, बर्ड वाचिङ, साँझ मिथिला नाचसहितको प्रतिव्यक्ति रु. तीन हजार पाँच सय र जोडीलाई सो मूल्यमा २० प्रतिशत कम लाग्ने रहेछ । कल्चरल भिलेजभित्र प्रवेश गरेपछि सीताको जन्मदेखि कन्यादानसम्मको दृश्य माटाको मिथिला कला सभाहलको भित्तामा कुँदिएको पाइयो ।

टोनी पर्र को हुन् ? भन्ने सम्बन्धमा पुराना पर्यटन व्यवसायीले चिन्दछन् । अहिलेका पिँढीलाई त्यति थाहा छैन । उनी नेपालमा लामो समय ट्रेकिङ व्यवसाय गरेर बसेका थिए । उनले नै स्याङ्जाको सिरुबारी भन्ने गुरुङबस्तीमा होमस्टे पर्यटन सञ्चालनका लागि अवधारणा बनाएका थिए । उनको त्यो अवधारणागत सूत्रको आधारमा भारतीय सेनाको सेवानिवृत्त क्याप्टेन रुद्रबहादुर गुरुङसँग मिलेर सिरुबारीमा होमस्टे सञ्चालन भएको थियो । सिरुबारीमा सञ्चालित होमस्टे पर्यटन राम्रो भएपछि लमजुङ जिल्लाको घले गाउँमा र त्यसपछि देशका अन्य गाउँमा समेत होमस्टे सञ्चालन हुन थाले । अहिले ग्रामीण पर्यटन क्षेत्रमा होमस्टे चल्तीको भाषा नै भइसकेको छ । यो नेपालको गाउँबस्तीको प्रकृतिअनुसार सुहाउँदो पनि छ ।

झन्डै आठ दशक पुग्न लागिसकेका पर्यटनविज्ञ टोनीलाई हिमालतिर ट्रेकिङ गर्न मन लागे पनि उमेरले साथ दिँदैन । उनी हिमाल देखिने छेउछाउका गाउँसम्म जान रुचाउँछन् । नेपालमा माओवादी द्वन्द्वपश्चात् ट्रेकिङ व्यवसाय छोडेर आफ्नो देश फर्केर गए पनि नेपाललाई उनले माया मार्न सकेका छैनन् । सकेसम्म बर्सेनि आइरहन्छन् । पुराना पर्यटन व्यवसायीसँग भेट्छन् । उनी र रुद्रबहादुर गुरुङ मिलेर प्रवद्र्धन गरेको होमस्टे सिरुबारी गइरहन्छन् । यसपालि पनि नेपाल छाड्नुअघि उनी सिरुबारी जाने योजना रहेको बताउँछन् । उनी भन्छन्, ‘स्व. क्याप्टेन रुद्रबहादुर र मैले सिरुबारीमा होमस्टे पर्यटन अवधारणा लागू गर्ने सम्बन्धमा धेरै मिहिनेत गरेका थियौँ । गाउँलेहरूले पनि धेरै सहयोग गरेका थिए । होमस्टे भन्नासाथ के-के नै गरिहाल्नुपर्छ भन्ने होइन । गाउँघरमा जे-जस्तो छ, त्यसलाई अलि आकर्षक ढङ्गले व्यवस्थापन गरेर सेवा दिने हो । घुम्न आउने सबै पर्यटक धनी हुन्छन् र खर्च गर्न सक्छन् भन्ने हुँदैन । कोही गरिब पनि हुन्छन् । कलेजका विद्यार्थी हुन्छन् । तर, घुम्न मन लाग्छ । त्यसैले गाउँघरमा भएको कुराबाट आधारभूत सेवा, सुविधा दिने र उनीहरूबाट थोरै मूल्य लिने नै होमस्टेको अवधारणा हो । यसो गर्दा ग्रामीण किसानको गोजीमा पैसा जान्छ । ग्रामीण अर्थतन्त्र बलियो हुन्छ । हराउँदै गएको गाउँघरको स्थानीय धर्म-संस्कृति, जनजीवनको संरक्षण हुन्छ ।’

टोनी पर्रले मलाई होमस्टे पर्यटन अवधारणाका अर्का सूत्रधर क्याप्टेन रुद्रबहादुरसँग पनि पोखरामा भेट गराइदिएका थिए । दुई दिन हाम्रो सिरुबारी होमस्टे सञ्चालनबारे गहन छलफल भएको थियो । त्यसबखत क्याप्टेन रुद्रबहादुर बिरामी अवस्थामा थिए । पछि उनको निधन भएको बुझियो । एकजना सूत्रधरको निधन भयो । अर्को सूत्रधर टोनी पर्र केही वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । तर, उनीहरू दुईजनाले परिकल्पना गरेको होमस्टे अवधारणाले भने नेपालका विभिन्न गाउँमा होमस्टे सञ्चालनमा आइरहेका छन् ।

ठुलोभार्खु, रसुवा

phurpatamang10@gmail.com

प्रतिक्रिया

लेखकको बारेमा

फुर्पा तमाङ