नेपाली समाजको आधार भूत चरित्रको व्याख्याविना गत भदौ २३ र २४ को विद्रोहको मूल कारणको गहिराइमा पुग्न सकिँदैन । समस्याको कारण पत्ता लाग्दैन । सो घटनाको मूल कारण सतह वा रूपमा खोज्ने काम भएको छ सारमा खोज्ने काम भएको छैन ।
टुल मेकरदेखि टोटल म्यान
मानिसको प्रजातिलाई होमो सेपिएन्स भनिन्छ । सेपिएन्सको अर्थ बुद्धि हो । मानिस बुद्धिमान् प्रजाति हो । धर्तीका सम्पूर्ण जीवलाई वर्गीकरण गर्ने क्रममा मानिसलाई एउटा प्रजाति (Species) अन्तर्गत वर्गीकरण गरेको पाइन्छ । प्रजाति भनेको यस्तो जीव हो जसको चरित्र वा गतिविधि अन्य जीवसँग मेल खाँदैन । यो हिसाबले मानिससँग मात्र भएको अन्य जीवमा नभएको गतिविधि वा चरित्र (Attribute) तुलना गर्दा मानिससँग तर्क-वितर्क गर्न सक्ने बैद्धिक अङ्गको आधारमा मानिसलाई बुद्धिमान् जीव (Wise Animal) भनिएको हो ।
मानिस प्रजातिलाई होमो फेवर (Tool Maker) पनि भनिन्छ । यो भनेको मानिस औजार बनाउने जीव हो । मानिसबाहेक यो धर्तीका अन्य जीवसँग औजार बनाउने क्षमता वा अङ्ग छैन । मानिसले औजार बनाउँदै आफूलाई धर्तीका अन्य जीवबाट अलग पहिचान बनाउन सुरु गरेको देखिन्छ । मानिसले दुई स्वतन्त्र हातबाट औजार निर्माण गर्न सक्षम भएको हो । मानिसलाई मानिस बनाउने जम्माजम्मी माथि उल्लेखित दुई गतिविधि मात्र हुन् । बाँकी सबै गतिविधि वा चरित्र अन्य जीवसँग समान छन् । भोक लाग्दा खाना खाने, थकाइ लाग्दा आराम गर्ने, सन्तान उत्पादन गर्ने, रातमा सुत्ने दिनमा खानाका लागि हिँड्ने सबै गतिविधि अन्य जीव तथा जनावरसँग समान छन् । मानिसले गर्ने दुई गतिविधिबाहेक बाँकी सबै गतिविधि जनावरले गर्ने गतिविधिअन्तर्गतकै गतिविधि हुन् । मानिसलाई मानिसको पहिचान दिने बुद्धि र औजार वा उत्पादन गर्ने गतिविधिले मात्र हो ।
मानिसले आफू मानिस हुने गतिविधिबाट वञ्चित भएको अवस्थामा मानिस विक्षिप्त वा असन्तुष्टको स्थितिमा रहन्छ । लामो समयसम्म मानवीय गतिविधिबाट अलग हुँदा मानिस बेचैन महसुस गर्दछ । राजनीतिक दलभित्र तर्क-वितर्क गर्न, बहस गर्नबाट वञ्चित भएको स्थितिमा मानिस आफूबाट अलग्गिएको महसुस गर्दै असन्तुष्ट हुन्छ भने लामो समयसम्म उत्पादन वा सिर्जनशील गतिविधिबाट वञ्चित हुँदा पनि मानिस बेचैन वा असन्तुष्ट महसुस गर्दछ ।
राजनीतिक दलका कार्यकर्ताहरू लामो समयदेखि मानवीय गतिविधिबाट वञ्चित छन् । मानिसलाई मानवीय गतिविधि गर्ने अवसरबाट वञ्चित गराउनु भनेको मानिस बन्नबाट अलग्गिन बाध्य बनाउनु हो । लामो समयसम्म मानवीय गतिविधिबाट अलग हुँदा मानिस असन्तुष्ट र विद्रोहको स्थितिमा पुग्छ । सबै राजनीतिक दलभित्र संवाद र बहसको अभाव छ । लामो समयसम्म तर्क-वितर्क, संवाद र बहसबाट वञ्चित हुनुपर्दा र कुनै सिर्जनशील गतिविधिबाट अलग हुँदा मानिस असन्तुष्ट र बेचैन हुन्छ । मानिसलाई मानिसको पहिचान हुने गतिविधिबाट वञ्चित गर्नु भनेको मानिसलाई जनावरजस्तो जीवन निर्वाहको स्थितिमा बस्न विवश पार्नु हो ।
लामो समयसम्म नेपाली समाजलाई जनावरजस्तो जीवनयापन गर्न बाध्य बनाउने मूल कारण नेपालको राजनीति र तिनका नेताहरू हुन् । नेपालको राजनीतिले मानिसलाई मानिसको पहिचान दिने गतिविधिबाट वञ्चित गरिरह्यो । नवयुवकहरू सिर्जनशील कामबाट अलग्गिन बाध्य भए । राजनीतिको मूल काम असल मानिसको निर्माण गर्नु हो, अश्लील मानिसको निर्माण गर्नु होइन । अरस्तु, प्लेटो र कार्लमाक्र्सको भनाइ राजनीतिक दलका नेतृत्वले नबुझेसम्म नेपाली समाजको रूपान्तरण सम्भव छैन ।
राजनीतिक दल र नेपाली समाजभित्र हुर्किरहेको पराइपन, एक्लोपन र उदासीपन
नेपालका राजनीतिक दलहरू राजनीतिक चिन्तनबाट अलग भएको दसकौँ भइसक्यो । राजनीतिको मूल काम मानिसको निर्यात नभई असल मानिसको निर्माण गर्नु हो । आजभन्दा चौबीस सय वर्षअघिको अरस्तुको यो भनाइ नेपालको राजनीतिले आजसम्म बुझ्न सकेको छैन ।
नेपालले मानिसको निर्यात गर्न थालेको पनि तीन दशभन्दा बढी नै भइसक्यो । देश मानिस बेचेर चलेको छ भन्ने कहीँ–कतै छिपेको छैन । नेपालको प्रमूख निर्यातयोग्य वस्तु अर्थात् कमोडिटी मानिसलाई बनाउँदा हामी आफूलाई गर्व महसुस गर्दछौँ । मानिस कमोडिटीको रूपमा बेचबिखन हुने अर्थव्यवस्थालाई पुँजीवादी व्यवस्था भनिन्छ भनेर आजभन्दा दुई सय वर्षअघि जन्मेका कार्लमाक्र्सले २६ वर्षको नवयुवक हुँदै भनेका थिए । आज नेपाली समाज मानिस बेचबिखनको दृष्टिकोणअनुसार यान्त्रिक पुँजीवादी संरचनाभित्रको यान्त्रिक पुँजीवादी समाज नै हो ।
यान्त्रिक पुँजीवादी समाज भनेको के हो ?
यान्त्रिक पुँजीवाद समाज यन्त्रहरूको सङ्ग्रह हो । यन्त्रको प्रयोगले कमोडिटी उत्पादन गर्ने समाज नै यान्त्रिक पुँजीवादी समाज हो । यस्तो समाजमा जैविक मानिस यान्त्रिक मानिस बन्दछ । नेपाली समाज विश्व यान्त्रिक मुलुकलाई मानवीय श्रम शक्ति बेचबिखन गर्ने मुलुक भएकाले नेपाली समाज श्रम आपूर्ति गर्ने पुँजीवादी समाजकै अङ्ग हो । यन्त्र र यान्त्रिक मानिस एउटै मुलुकभित्र हुने समाज मात्र पुँजीवादी मुलुक नभई यान्त्रिक मानव निर्यात गर्ने समाज पनि यान्त्रिक पुुँजीवादको अभिन्न अङ्ग हुन्छ । आज यन्त्र र यान्त्रिक मानव पुँजीवादी संरचनाको विश्वव्यापीकरण भएको छ । पूरै विश्व यान्त्रिक पुँजीवादी समाजमा रूपान्तरण भइसकेको छ । नेपालभित्र भर्खरै सामन्तवाद समाप्त भएको र यान्त्रिक उत्पादन हुन बाँकी भएको हुँदा नेपाली समाज यान्त्रिक पुँजीवादी समाज होइन भन्ने चिन्तन सही चिन्तन होइन । नेपाली समाजले यान्त्रिक मुलुकमा मानिसको श्रम बेचबिखन गर्न थालेपछि नेपाल पनि यान्त्रिक पुँजीवादी समाजवाट अलग्गिन नसक्ने अन्तरसम्बन्धित यान्त्रिक समाजको अङ्ग बनिसकेको हुन्छ ।
यान्त्रिक पुँजीवादी समाजभित्र मानिस यन्त्रजस्तो हुन्छ । मानिसको चेतना सिर्जनशील कार्यबाट अलग्गिन पुग्दछ । मानिसभित्रको चेतन तत्त्व गतिशील नभई गतिहीन अवस्था अर्थात् म्युट स्थितिमा पुग्दछ । लामो समयसम्म कुनै पनि अङ्ग सञ्चालनमा नआउँदा त्यो अङ्गले बिस्तारै–बिस्तारै कार्यसम्पादन गर्न सक्दैन । यान्त्रिक पुँजीवादी समाजको मानिस यन्त्रले जस्तै काम गर्ने उपकरणमा बदलिन्छ । मानिस यान्त्रिक उपकरणमा बदलिसकेपछि मानिसको प्राकृतिक स्वभावबट अलग्गिन पुग्दछ । रिमोट कन्ट्रोलले टेलिभिजन सेट खुल्ने र बन्द हुने भएजस्तै मानिसको शरीर मोबाइल वा यान्त्रिक उपकरणको आदेशबाट चल्ने अर्को उपकरण बन्दछ ।
नेपाली समाजलाई यान्त्रिक समाजमा बदल्ने काम राजनीतिक दलहरूको अर्को भूमिका छ । राजनीतिक दलको नेतृत्वले दलभित्रका आफ्ना कार्यकर्तालाई सिर्जनशील मानव नबनाई यान्त्रिक मानव बनाइरहेका छन् । नेतृत्वको आदेशमा नचल्ने वा नेतृत्वको विचारमा विमति राख्ने नेता–कार्यकर्तालाई पार्टी र पार्टीभित्रको समूहबाट अलग्याउने गरिन्छ । पार्टीभित्र अलग विचार र अलग विचार समूहलाई पार्टीबाट अलग्याउने भनेको यान्त्रिक मानव बनाउने काम नै हो । राजनीतिक दलभित्र यान्त्रिक मानव निर्माण गर्ने काम भएको तीन दशकभन्दा बढी नै भइसक्यो । यो तीन दशकभित्र नेपालका राजनीतिक दलहरूले मानिसलाई मानिस मार्ने यन्त्र बन्दुक चलाउनेदेखि युवा श्रम बल चलाउने युवा सङ्घ वा युथ फोर्स जन्माउने काम भयो । यो सबै मानिसलाई यान्त्रिक मानव निर्माण गर्ने काम नै हो ।
नेपालको राजनीतिले सिर्जनशील मानिस नभई यान्त्रिक मानव निर्यात र निर्माणमा समय खर्चेको दशकाँै बितिसक्यो । यन्त्र र यान्त्रिक मानव समाजभित्र एक दिन असङ्गठित विद्रोहको आगो दन्कने निश्चित हुन्छ भनेर कार्लमाक्र्सले अलग्गिने चिन्तनमार्फत आजभन्दा दुई शताब्दीअगाडि नै भनेका थिए । जब मानिस सिर्जनशीलताबाट यान्त्रिक मानवमा बदलिन्छ त्यसपछि ऊभित्र प्राकृतिक मानवीय स्वभावबाट अलग्गिनुपरेको पीडाले पराइपन, एक्लोपन र उदासीपन उत्पन्न हुन्छ । यस्तो मानिस आत्महत्या वा विद्रोहमध्ये एउटा बाटो समाउने दिशातिर होमिन्छ ।






प्रतिक्रिया