समुन्द्रटार । बागमतीको दोस्रो पशुपतिनाथका रूपमा पुजिँदै आएको दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर महादेव मन्दिरमा यही मङ्सिर १५ देखि १८ गतेसम्म भव्य मेला लाग्दै छ । धान्यपूर्णिमाका अवसरमा ऐतिहासिक तथा धार्मिक गन्तव्य ‘दुग्धेश्वर’ महादेव मन्दिरपरिसरमा भव्य मेलाको तयारी भइरहेको छ । सो अवधिमा भव्य पूजार्चना, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी तथा दर्शनार्थीका लागि विशेष व्यवस्थापन गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई जानकारी दिनुभयो ।
मेलामा करिब दुई लाखभन्दा धेरै भक्तजनले महादेवको दर्शन गर्ने अनुमान गरिएको छ । उहाँका अनुसार मेलाको आवश्यक सम्पूर्ण पूर्वतयारी भइरहेको छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण दुप्चेश्वर क्षेत्रमा हरेक वर्षझैँ यस वर्ष पनि मेला ‘सफल, मर्यादित, भव्य र व्यवस्थित’ बनाउने लक्ष्यसहित पूर्वतयारीमा जुटेको कोषले बताएको छ । मेला अवधिमा पूजाअर्चना, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी तथा दर्शनार्थीका लागि विशेष व्यवस्थापन रहनेछ । भिड बढ्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षा योजना, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा, फोहोर व्यवस्थापन र सूचना केन्द्र स्थापनाजस्ता कार्य तीव्र रूपमा अघि बढाइएको कोषले जनाएको छ । शौचालय, पिउने पानी, पार्किङ, आपत्कालीन स्वास्थ्य सेवालगायत पूर्वाधार विस्तार गरिँदै छ । मेलामा मुख्य प्रवेश–निकासमार्ग, सांस्कृतिक मञ्च, व्यापारिक कक्ष र विश्राम क्षेत्रसमेत हुनेछ । स्थानीय पर्यटन प्रर्वद्धन, रोजगारी र आर्थिक गतिविधिमा ठुलो योगदान मेलाले पु¥याउने विश्वासका साथ दुप्चेश्वर महादेवलाई क्षेत्रीय धार्मिक गन्तव्यबाट राष्ट्रिय आकर्षणको केन्द्र बनाउन सहयोग पुग्ने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर थापाले विश्वास व्यक्त गर्नुभयो ।

मेला सुरु हुन अब केही दिन मात्र बाँकी रहेका वेला स्थानीय समुदाय, स्वयम्सेवक, सुरक्षा निकाय र गाउँपालिकाको सहकार्यमा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । पवित्र सूर्यमतीका किनारमा जङ्गलले घेरिएको दुप्चेश्वर क्षेत्र यस वर्ष धान्यपूर्णिमाका अवसरमा उत्सवपूर्ण वातावरणले भरिने भएको छ । धान्यपूर्णिमालाई कृषि, समृद्धि र जीवनचक्रसँग जोडिएको पर्व मानिँदा यहाँको मेलाले धार्मिक दर्शनसहित सांस्कृतिक विविधताको भव्य प्रदर्शन पनि गर्ने परम्परा छ । सामाजिक सञ्जाल, मिडिया र धार्मिक नेटवर्कमार्फत दुप्चेश्वरको धार्मिक-पर्यटकीय सम्भावना बिस्तारै उच्चस्तरमा फैलिँदै छ । विशेषगरी युवा, पर्यटक, आध्यात्मिक साधक तथा पहाडी क्षेत्र अध्ययन गर्नेका लागि दुप्चेश्वर भ्रमणयोग्य सांस्कृतिक-प्राकृतिक संयोजनस्थल बनिरहेको छ । नुवाकोट जिल्लाको उत्तर भागमा अवस्थित दुप्चेश्वर मन्दिर अहिले धार्मिक श्रद्धा र पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । समुद्रमन्थनपछि शीतलता पाउन हिँडेका शिव यही क्षेत्र भएर नीलाद्री पर्वत पुगेको धार्मिक विश्वास छ ।
यहाँ हरेक वर्ष मङ्सिर धान्यपूर्णिमामा पाँच दिनसम्म विशेष मेला लाग्ने गरेको छ । मन्दिरमा साउन महिना, प्रत्येक सोमबार, शिवरात्रि, तिज, माघेसङ्क्रान्तिजस्ता अवसरमा हजारौँ भक्तजनको भिड लाग्छ । हालका वर्षमा स्थानीय तह र धार्मिक समितिका संयुक्त प्रयासमा मन्दिर क्षेत्रलाई सुविधासम्पन्न बनाइएको छ । मन्दिरपरिसरमा बाटो, झिलिमिली बत्ती, सिसिटिभीबाट निगरानी, शुद्ध पिउने पानी, शौचालय, पार्किङ क्षेत्र, विश्राम गृह, स्नानको व्यवस्थालगायत विभिन्न सुविधा छ ।दुप्चेश्वर मन्दिरपरिसरबाट देखिने पहाड, धवल हिमाल, तादी नदीको रमणीय दृश्य, वरिपरि हरियाली वनजङ्गल र शान्त वातावरणले भक्तजनलाई आध्यात्मिक शान्ति प्रदान गर्छ । कोषले मन्दिर क्षेत्र सफा र आकर्षक राख्ने काम गरिरहेको छ । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य झल्काउने दुप्चेश्वर अब केवल पूजा गर्ने स्थान मात्र नभई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा समेत विकसित हुँदै गइरहेको छ । दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाडौँलगायत देशभरबाट धार्मिक पर्यटक तथा विदेशी पर्यटकसमेत आउने गर्छन् ।
मन्दिर कसरी पुग्न सकिन्छ ?
काठमाडौँबाट जाने यात्रु काठमाडौँको टोखा–छहरे सडकखण्ड हुँदै चौघडा–खरानीटार–समुन्द्रटार भई दुप्चेश्वर मन्दिर करिब ६५ किलोमिटर यात्रा गर्दा करिब तीन घण्टामा पुग्न सक्छन् । दैनिक काठमाडौँका बालाजुचोक, गोंगबु, सामाखुशीबाट सवारीसाधन सञ्चालन भइरहेको छ भने धादिङ-गल्छी हुँदै यात्रा गर्दा नुवाकोटका कोल्पुटार, रातमाटे, देवीघाटबाट गँगटे–ढिकुरे–माछापोखरी–खरानीटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिब ९५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ । यी दुवै सडक पक्की कालोपत्र गरिएको सडक हो । यात्रा गर्न यी मार्ग सहज र सुलभ छन् ।

किंवदन्ती
पौराणिक कथनअनुसार करिब पाँच सय वर्षअघि स्थानीयवासी एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरामा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वास रह्यो । यिनलाई ‘मागेको पुग्ने, आँटेको पूरा हुने देवता’का रूपमा विश्वास गरिन्छ । किंवदन्तीअनुसार समुद्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वरलाई सानो पशुपतिनाथका रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्छ । जोडी जुराउन र सन्तान माग्नकै लागि पनि यहाँ हजारौं भक्तजन आउने गर्छन् । सन्तान नभए सन्तान दिने (विशेष–छोरा), चौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुटेमा बोली फुट्ने, आफूले चिताएको माग्दा पाइनेलगायत जनविश्वासमा भक्तजन आउने गरेका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीले दुग्धेश्वरलाई मान्ने गर्छन् ।
आन्तरिक पर्यटनको प्रचुर सम्भावना
धार्मिक पर्यटनको गन्तव्यका लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको यस धार्मिक स्थलको सरकारी र गैरसरकारीस्तरबाट प्रचारप्रसार हुन सके आन्तरिक एवम् बाह्य पर्यटक सजिलै भित्र्याउन सकिन्छ । सरकारी तथा निजी क्षेत्रबाट प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिइएमा दुप्चेश्वर नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्नेछ । पशुपतिनाथको दर्शन गर्न आउने भारतीय धार्मिक तीर्थयात्रीलाई दुप्चेश्वर ल्याउन सरोकार निकायले पहल गर्नु जरुरी छ । केही वर्षदेखि दुप्चेश्वर घ्याङफेदी हुँदै गोसाइँकुण्ड जाने सहज पदमार्ग बनेकाले भविष्यमा शिव परिपथ अर्थात् पशुपति–दुप्चेश्वर–गोसाइँकुण्ड धार्मिक मार्ग बनाउन सकिने पर्यटन व्यवसायी एवम् नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) का पूर्वाध्यक्ष दीपक महतले बताउनुभयो । पञ्चधाम सेवा समितिले पनि पशुपतिनाथ, बौडेश्वर, दुप्चेश्वर, उत्तरागया बेत्रावती र गोसाइँकुण्डलाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धन गर्दै छ ।




प्रतिक्रिया