+
Search

ताजा अपडेट +

पपुलर +

पुराना दल पुनर्जीवनका खोजीमा

पुराना दल पुनर्जीवनका खोजीमा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

नेपालको राजनीतिक इतिहासमा ‘जेन-जी आन्दोलन’को जनउभारले परम्परागत राजनीतिक दलहरूको जग हल्लाइदिएको छ । यस विद्रोहले नेपालको राजनीतिलाई नयाँ आयाम दिएको छ । यो परिवर्तनको सङ्केत हो, विनाशको होइन । पुराना दलहरू यसलाई अवसर ठानेर आत्मसात् गरे भने मात्र बाँच्न सक्छन् । उनीहरूले युवाको ऊर्जा, प्रविधिको शक्ति र जनताको विश्वास पुनः प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्छ ।

यस आन्दोलनको पृष्ठभूमि केलाउँदा यसको बीजारोपण २०७९ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङको स्वतन्त्र विजयबाट भएको मान्न सकिन्छ । यी दुवै व्यक्तित्वले दलको लेबलविना जनताको समर्थन जिते, जसले युवा पुस्तामा नयाँ आशा र आत्मविश्वास जगायो । टिकटक, फेसबुक, इन्स्टाग्राम र एक्स (पूर्वट्विटर) जस्ता सामाजिक सञ्जालमार्फत जेन-जी आन्दोलन ह्यासट्यागले लाखौँ युवालाई एकै सूत्रमा बाँध्यो । आन्दोलनले भ्रष्टाचार, कुशासन, युवा बेरोजगारी, पर्यावरण विनाश र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सशक्त आवाज उठायो ।

जेन-जी आन्दोलनको जरा २०७७ को कोभिड-१९ महामारीमा गाडिएको थियो । लकडाउनका समयमा अक्सिजन अभाव, कालोबजारी र स्वास्थ्य सामग्री घोटालाजस्ता विषयले जनताको धैर्य तोड्यो । युवाले सामाजिक सञ्जालमा सरकार असफलजस्ता ह्यासट्यागमार्फत असन्तोष व्यक्त गरे । शाह र राईको जितले जनता अब दलको झन्डा नभई व्यक्तिको कार्ययोजना र पारदर्र्शितालाई मत दिन तयार छन् । स्थानीय निर्वाचनपछि आन्दोलनले सङ्गठित रूप लियो । ‘हामी नेपाल’ नामक अनौपचारिक जेन-जी नेटवर्क गठन भयो, जसमा इन्जिनियर, चिकित्सक, शिक्षक, उद्यमी र कलाकार सामेल भए । उनीहरूको मुख्य माग भ्रष्टाचारमा शून्य सहनशीलता र डिजिटल ट्रयाकिङ प्रणाली थियो । उनीहरूले पाँच वर्षभित्र १५ लाख युवालाई रोजगारी, स्मार्ट सिटी मोडलमा आधारित स्थानीय विकास, पर्यावरण संरक्षण र जलवायु परिवर्तन नीति, शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको नियमन थियो ।

आन्दोलनले परम्परागत ¥यालीभन्दा अनलाइन क्याम्पेन, भर्चुअल टाउनहल र क्राउडफन्डिङलाई प्राथमिकता दियो । पृष्ठभूमि हेर्दा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले १२ पालिकामा जित हासिल गरे, जुन अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय थियो । पुराना नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र आदिलाई गम्भीर सङ्कटमा पुर्यायो। सो सफलताले २०८०/०८१ मा राष्ट्रियस्तरमा आन्दोलनलाई तीव्रता दियो । भ्रष्टाचारमा शून्य सहनशीलता, युवा रोजगारी, डिजिटल गभर्नेन्स र पर्यावरण संरक्षण मागको आन्दोलनले राजनीतिक परिदृश्यलाई आमूल परिवर्तन गर्यो। पहिलो, दलहरूको मत आधार खस्कियो । यस परिदृश्यले बहुदलीय प्रणालीलाई थप प्रतिस्पर्धी बनायो, तर अस्थिरताको जोखिम पनि बढायो ।

पुराना दलहरू जेन-जी आन्दोलनसामु लाचार बनेका छन् । काङ्ग्रेस आज आन्तरिक गुटबन्दी र भ्रष्टाचारको आरोपले ग्रस्त छ । एमाले केन्द्रीकृत निर्णय प्रक्रियाले युवाबाट टाढिएको छ । माओवादी केन्द्रले सशस्त्र युद्धको विरासत बोके पनि शान्ति प्रक्रियापछि सत्ताकेन्द्रित बनेको छ । नेतृत्वको पुरानोपन, भ्रष्टाचार र कुशासन, नीतिगत असफलता, सङ्गठनात्मक कमजोरी, मतदातासँग दूरीजस्ता कमजोरीले दलहरूलाई ‘डाइनोसोर’ जस्तै बनाएको छ । पुराना दलहरूले आफूलाई जीवित राख्न र जेन-जी आन्दोलनको सकारात्मक ऊर्जालाई समावेश गर्न सङ्गठनात्मक सुधार, आन्तरिक लोकतन्त्र, डिजिटल सङ्गठन र विकेन्द्रीकरणमा जोड दिनुपर्छ । नीतिगत नवीनता, युवाकेन्द्रित नीति हुनुपर्छ । तिनले डिजिटल गभर्नेन्स, पर्यावरण, दिगो विकास र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्छ । युवा समावेशिताका साथै मेन्टरसिप प्रोग्राम दिनुपर्छ ।

स्वतन्त्रसँग सहकार्य, पारदर्शिता र जवाफदेहिता, सम्पत्ति सार्वजनिक, लेखापरीक्षण प्रणाली र जनसंवादजस्ता परिवर्तन कार्यान्वयन गर्न दलहरूले सुधार आयोग गठन गर्नुपर्छ, जसमा स्वतन्त्र विशेषज्ञ समावेश गरिनु आवश्यक देखिन्छ । अन्यथा इतिहासले उनीहरूलाई पछाडि छाड्नेछ । नेपालको लोकतन्त्रलाई मजबुत बनाउन पुरानो र नयाँबिच संवाद र सहकार्य आवश्यक छ । यस परिवर्तनको खाका केवल सुरुवात हो; भविष्य यिनको कार्यान्वयनमा निर्भर रहन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह