+
Search

ताजा अपडेट +

पपुलर +

परिश्रम, सम्पत्ति र असन्तुष्टि

परिश्रम, सम्पत्ति र असन्तुष्टि
रामलाल श्रेष्ठ
१ महिना अगाडी

नेपाली समाज धेरै समयदेखि असन्तुष्ट छ । समाजभित्रको असन्तुष्टि वेलावेलामा भूकम्प र कहिलेकाहीँ महाभूकम्प गएजस्तै आन्दोलन र विद्रोहको रूपमा विस्फोट हुने गर्दछ । समाजको असन्तुष्टिलाई विद्रोहको रूपमा विस्फोट हुन नदिन राजनीतिलाई दर्शनले देखाएको बाटोमा हिँडाउन आवश्यक हुन्छ । नेपाली समाजमा पटकपटक किन विद्रोहको विस्फोट हुन्छ भन्ने प्रश्नको उत्तर खोज्नु यो लेखको उद्देश्य हो ।

समाज व्यक्ति र परिवारको सङ्ग्रह हो । निश्चित भूगोलभित्र रहने व्यक्ति र परिवार नै वास्तवमा एउटा देश हो । देश चलाउनु भनेको व्यक्ति र परिवार चलाउनु हो । व्यक्ति र परिवार राम्रोसँग चलिरहेको छैन भने समाजमा असन्तुष्टि जन्मन्छ । असन्तुष्टिको सङ्ग्रह एक दिन विद्रोहको रूपमा बाहिर प्रकट हुन्छ । प्रत्येक १०-१० वर्षमा नेपाली समाज किन विद्रोही हुन्छ भनेर जान्न व्यक्तिको प्राकृतिक स्वभावबारेमा जान्न आवश्यक हुन्छ । मानिसको चिन्तनविना असन्तुष्टि र विद्रोहको मूल कारण जान्न सकिँदैन । समाजको असन्तुष्टि व्यक्तिको असन्तुष्टिको सङ्ग्रह हो । कुनै पनि विद्रोह असन्तुष्टिको चाङमाथि पटकपटक प्रकट हुने गर्दछ । समाजको असन्तुष्टि जान्न मानवीय चाहना र चेतनाबारे सूक्ष्म अध्ययन जरुरी हुन्छ ।

सम्पत्ति मानिसको परिश्रमको फल
यो भनाइ प्रसिद्ध अङ्ग्रेजी दार्शनिक जोनलकको हो । जोनलकलाई लोकतन्त्रका पितासमेत भनिन्छ । सन् १६३२ मा बेलायतमा जन्मेका बेलायतको राजनीतिक उथलपुथल आफैँले भोगेका लक अमेरिकी स्वतन्त्रता आन्दोलनका प्रेरक चिन्तकको रूपमा चिनिन्छ । मानिसबाहेक धर्तीका सबै जीव चेतना र चाहनाको मात्रा अत्यन्त कम भएका प्राणी हुन् । मानिसबाहेक धर्तीका अन्य जीवमा चेतना र चाहनाको मात्रा अत्यन्त कम विकसित अवस्थामा रहेको कारण मानिसबाहेक सबै जीवमा असन्तुष्टिको मात्रा पनि अत्यन्त कम हुन्छ । मानिसलाई अरू प्राणीभन्दा असन्तुष्ट बनाउने मूल तत्त्व भनेको चेतना र चाहना हो । चाहना मानिसको अभाव र असन्तुष्टिको अवस्था हो । चाहनाको वस्तुको उपलब्धता नै मानिसको सन्तुष्टिको अवस्था हो ।

मानिसबाहेक धर्तीका अन्य प्राणी धर्तीमा जे उपलब्ध छ, त्यही उपभोग गरेर सन्तुष्ट रहने प्राकृतिक स्वभावका हुन्छन् । मानिस पनि धर्तीका अन्य प्राणीजस्तै धर्तीमै उपलब्ध भौतिक वस्तुको उपभोग गरेर जीवन निर्वाह गर्ने प्राणीमध्येकै एउटा प्रजाति हो । मानिसको जीवन निर्वाह धर्तीमा उपलब्ध ढुङ्गा, माटो, हावा, पानी, प्रकाश, वनस्पति, जीवजन्तुविना सम्भव हुँदैन । मानिसको जैविक शरीरको सञ्चालन शरीरबाहिरको भौतिक पदार्थविना असम्भव छ । प्रकृति, हावा, पानी, ढुङ्गा, माटो, प्रकाश, वनस्पति मानिसको बाहिरी शरीर हो । मानिसको प्रकृतिसँगको निरन्तर सहबासले मानव शरीरलाई आवश्यक वस्तु उपलब्ध गराएको हुन्छ र जीवन निर्वाह सम्भव गरिरहेको हुन्छ । धर्तीका अन्य प्राणी प्रकृतिमा उपलब्ध भौतिक कच्चा पदार्थलाई उपभोग गरेर जीवन निर्वाहमा सन्तुष्ट हुन्छन् भने मानिसले प्रकृतिमा उपलब्ध भौतिक कच्चा पदार्थमाथि निरन्तर परिश्रम लगाएर स्वादिष्ट र पचाउन सक्ने वस्तुमा रूपान्तरण गरी उपभोग गर्ने गर्दछन् ।

मानिसबाहेक धर्र्तीका अन्य जीवमा चेतनशील परिश्रम गर्ने क्षमता छैन । चेतनशील परिश्रमविना प्रकृतिमा उपलब्ध प्राकृतिक कच्चा पदार्थलाई आकर्षक र स्वादिष्ट वस्तुमा बदल्न सकिँदैन । मानिसबाहेक धर्तीका अन्य जीव प्रकृतिमा उपलब्ध कच्चा पदार्थको सिधै उपभोग गरेर जीवन निर्वाह गरिरहेका हुन्छन् । मानिसले मात्र धर्तीमा उपलब्ध प्राकृतिक कच्चा पदार्थलाई आफ्नो चेतनशील परिश्रमको प्रयोग गरेर स्वादिष्ट र आकर्षक वस्तुमा बदलेर उपभोग गर्ने क्षमता राख्दछ । यो क्षमता मानिसको चेतनाको कारण उत्पन्न भएको हो । सुरुवाती अवस्थामा मानिसको चेतना कम विकसित अवस्थामा थियो र कम स्वादिष्ट र कम आकर्षक वस्तुको उत्पादन सम्भव भयो । यो क्रम निरन्तर विकसित हुँदैहँुदै मानिसले पृथ्वीभित्र र बाहिरी सतहमा उपलब्ध भौतिक पदार्थ, खनिज पदार्थ, दुर्लभ खनिज पदार्थ, फलामदेखि विभिन्न रसायन तथा धर्तीको उर्वर भूमिको उपयोग गरेर विभिन्न आकर्षक वस्तुको उत्पादन गर्दै मानिसको बौद्धिक, तार्किक र शारीरिक परिश्रमले यन्त्रको निर्माण गर्न सक्षम भयो । यन्त्र मानिसको परिश्रमको उत्पादनको पछिल्लो प्रकटीकरण हो ।

मानिस यान्त्रिक युगमा प्रवेश गरेपछि नै प्रकृतिको दोहन तीव्र गतिमा फैलिन सुरु भयो । मानिस यान्त्रिक युगमा प्रवेश गर्नुभन्दा अगाडि मानिसको चेतनशील परिश्रमबाट प्राकृतिक कच्चा पदार्थलाई विभिन्न वस्तुमा बदल्ने काम हुन्थ्यो । मानिसको परिश्रमले प्राकृतिक पदार्थलाई उपभोगयोग्य वस्तुमा बदल्नु नै निजी सम्पत्तिको सिर्जनाको प्रस्थानविन्दु हो । प्रकृतिमा मानिसको परिश्रमको मात्रा नै सम्पत्तिको सिर्जना हो भन्ने चिन्तन दिने पहिलो व्यक्ति नै लोकतन्त्रका पिता जोनलक हुन् । परिश्रमविना सम्पत्तिको सिर्जना हुन सक्दैन भन्ने पहिलो चिन्तक नै लक हुन् । परिश्रमको सङ्ग्रह नै सम्पत्ति हो । परिश्रमविना सम्पत्ति आर्जित हुन सक्दैन । यदि कसैले प्रकृतिमा परिश्रमको मात्रा धेरै लगाउँछ र सम्पत्ति आर्जित गर्दछ भने त्यो मानिसको प्राकृतिक अधिकार हो । विनापरिश्रम सम्पत्तिको सिर्जना गर्न नसकिने हुँदा परिश्रमविनाको सम्पत्ति प्राकृतिक सम्पत्ति होइन । त्यस्तो सम्पत्ति अरूको परिश्रमको चोरी हो । त्यस्तो सम्पत्ति गैरकानुनी वा अप्राकृतिक सम्पत्ति हो । यस्तो सम्पत्ति भ्रष्ट आचरणबाट आर्जित सम्पत्ति हो ।

मानिसको परिश्रमविना प्रकृतिलाई सम्पत्तिमा रूपान्तरण गर्न असम्भव हुन्छ । सम्पत्ति भनेको परिश्रमको फल हो । मानिसले आफ्नो परिश्रम प्रकृतिमा जति मात्रामा लगाउँछ । सम्पत्तिको सिर्जना त्यही मात्रामा हँुदै जान्छ । मानिसले धर्तीमा परिश्रम लगाएपछि सागसब्जी, अन्नपात, भाँडावर्तन, यन्त्र, उपकरण, यातायातका साधन, मोबाइल, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, उद्योग, कलकारखाना सबै मानिसकै परिश्रमको फल हुन् । मानिसको परिश्रमविना कुनै पनि वस्तु तथा यन्त्रको उत्पादन सम्भव छैन । तसर्थ मानिसको परिश्रमको सङ्ग्रह नै सम्पत्ति हो । १९औँ शताब्दीमा आइपुग्दा मानिसको परिश्रमबाट निर्मित बेचबिखनका लागि तयार वस्तुको सङ्ग्रह नै सम्पत्ति हो भन्ने परिभाषाको जन्म हुन पुग्दछ ।

मानिसको चेतनशील परिश्रम र प्रकृतिको अति घनिष्ट सम्बन्ध हुन्छ । मानिसले आफ्नो चेतनशील परिश्रममार्फत प्रकृतिलाई बदलिरहँदा मानिस स्वयम्को चेतना आफैँ बदलिरहेको हुन्छ । परिश्रमले प्रकृतिलाई बदलिरहँदा बदलिएको प्राकृतिक अवस्थाले फेरि मानिसलाई बदल्ने काम गर्दछ । मानिसले प्रकृतिलाई र प्रकृतिले मानिसलाई बदल्न परिश्रमले महत्त्वपुर्ण भूमिका खेलेको हुन्छ । जब मानिसको परिश्रम प्राकृतिक पदार्थमा पोखिन्छ, त्यहाँ सम्पत्तिको सिर्जनाको सुरुवात हुन्छ । खेतमा जब किसानको परिश्रम पोखिन्छ-सागसब्जी, अन्नपातको सिर्जना हुन्छ । धर्तीमा उपलब्ध खनिज पदार्थको उत्खनन परिश्रमविना सम्भव हुँदैन । हिराको खानीबाट हिरा उत्खनन र त्यसको आकर्षक डिजाइनमा मानिसको परिश्रमको मात्रा धेरै लगानी भएको हुन्छ । हिराको मूल्य धेरै हुनुमा त्यसको उत्पादनमा लागेको परिश्रमको मात्रा नै हो । धर्तीमा हावा र पानी प्रचुर मात्रामा उपलब्ध छ । प्रचुरताको कारण हावा, पानी र प्रकाश सित्तैमै उपलब्ध छ । तसर्थ कुनै पनि वस्तुको मूल्य त्यसको उत्पादनमा लागेको परिश्रमको मात्रा र त्यसको उपलब्धताको प्रचुरताको मात्राले निर्धारण गर्दछ ।

परिश्रम र प्रचुरताको मात्राले वस्तुको मूल्य र त्यो मूल्य नै सम्पत्तिको आधार हो । सम्पत्तिसँग परिश्रम र मूल्यको अत्यन्त गहिरो सम्बन्ध छ । परिश्रमलाई अलग्याई सम्पत्तिको सिर्जना गर्न सकिँदैन । यदि कसैले परिश्रमभन्दा ज्यादा सम्पत्ति आर्जित भएको छ भने त्यो अरूको परिश्रमको चोरीबाट आर्जित सम्पत्ति हो । व्यक्तिको परिश्रम लागेर आर्जित सम्पत्तिमा राज्यले करमार्फत जनताको जीवन र सम्पतिको सुरक्षा र देशको सुरक्षाका लागि आवश्यक राजकीय प्रबन्ध गर्न खर्च व्यवस्थाको लागि कर लिने गर्दछ । व्यक्तिले तिर्ने कर भनेको व्यक्तिको परिश्रमबाट आर्जित सम्पत्तिको केही हिस्सा राज्यले व्यक्ति र सम्पत्तिको सुरक्षा र शिक्षा, स्वास्थ्य, यातायात, सडकजस्ता पूर्वाधार निर्माणको आवश्यक खर्चको व्यवस्थाका लागि हो । धेरै ठुलो जमात राज्य सञ्चालनका लागि खडा नगरी केही सीमित व्यक्ति राज्य सञ्चालनमा लगाई बाँकी सबै व्यक्ति र परिवारको सेवा, सुविधाको जोहो गर्नु नै राज्यको प्रमुख दायित्व हो । धेरै ठुलो जमात राज्य सञ्चालनमा खर्च गरियो भने व्यक्तिकै परिश्रमको हिस्साबाट भुक्तान गर्नु हो । व्यक्ति र परिवारको परिश्रमविना संसारमा सम्पत्तिको सिर्जना हुन सक्दैन । यही सिर्जित सम्पत्तिको सानो हिस्सा करको रूपमा राज्य सञ्चालनका लागि आवश्यक रकम भुक्तानी गर्ने, बाँकी व्यक्ति र परिवारलाई आफ्नो अधिकतम परिश्रम लगाई सम्पत्ति आर्जन गर्ने व्यवस्था नै लोकतान्त्रिक व्यवस्था हो ।

परिश्रमविना सम्पत्ति सिर्जना नहुने आइडिया नै सम्पत्तिको लोकतान्त्रिक व्यवस्था हो । परिश्रमबाट सम्पत्ति सिर्जना गर्न कहीँकतैबाट व्यवधान सिर्जना हुनुहुँदैन । राज्यका अङ्ग र त्यसका सञ्चालक मिलेर व्यक्तिको परिश्रममाथि अंकुश लगाउने अवस्थाको सिर्जना गर्नुहँुदैन । राज्यका अङ्ग र त्यसका सञ्चालकको मिलेमतोमा व्यक्तिको परिश्रम गर्ने अधिकार, सम्पत्ति सिर्जना गर्ने अधिकारमा दृश्य-अदृश्य ढङ्गले व्यवधान सिर्जना गरिन्छ भने व्यक्ति र परिवारमा असन्तुष्टिको सिर्जना हुन्छ । व्यक्ति र परिवारलाई परिश्रम गर्ने र सम्पत्ति आर्जन गर्ने परिस्थिति निर्माण गर्न नै राज्यको जन्म भएको हो । राज्यका अङ्ग र त्यसका सञ्चालकले व्यक्ति र परिवारलाई परिश्रम गरेर सम्पत्ति सिर्जना गर्न अवरोध सिर्जना गरियो भने समाजमा असन्तुष्टिको जन्म हुन्छ । राज्य सञ्चालकले आफ्नो परिश्रमभन्दा बढी आर्जित सम्पत्ति जनताको परिश्रमको चोरीको सम्पत्ति हो । चोरीको सम्पत्ति थुपिँ्रदै गयो भने समाजमा असन्तुष्टिको मात्रा बढ्दै जान्छ र एक दिन महाभूकम्प गएजस्तो विद्रोह हुन्छ ।

सिर्जनशील उत्पादन चेतनशील परिश्रमको प्रकटीकरण
यो भनाइ प्रसिद्ध दार्शनिक कार्लमाक्र्सको हो । सन् १८१८ मा जर्मनीमा जन्मेका कार्लमाक्र्सको पछिल्लो जीवन पूरै बेलायतमा बित्दछ । मानिसको चेतनशील परिश्रम र त्यसको प्रकटीकरण उत्पादन र मानिसको असन्तुष्टिबारे चिन्तन निकै चाखलाग्दो छ । मानिस प्रकृतिकै उत्पादन हो । प्रकृतिले चाहनासँगै चेतन तत्त्वसमेत समाहित गरेर मानिसको उत्पादन गरेको हुन्छ । प्रकृतिमा यत्रतत्र सर्वत्र प्राणी, चराचुरुङ्गी प्रकृतिको नियमभित्र बाँधिएर जीवन निर्वाह गरिरहेको देखिन्छ । प्रकृतिको नियमभन्दा बाहिर आफ्नो गतिविधि गरेको देखिँदैन । माहुरीलाई प्रकृतिले प्रकृतिमा उपलब्ध फूलको पराग सङ्ग्रह गरेर मह उत्पादन गर्ने क्षमता दिएको हुन्छ । यही नियमभित्र बसेर मौरीले मह उत्पादन गर्ने गतिविधि गरिरहेको हुन्छ । मौरीको यो गतिविधिलाई प्राकृतिक जैविक क्षमता भनिन्छ । मौरीको मह उत्पादनमा चेतनाको प्रयोग भएको हँुदैन । यस्तो क्षमतालाई बौद्धिक र तर्करहित प्राकृतिक परिश्रमको क्षमता भनिन्छ । त्यसैगरी, माकुराले आफ्नो वासस्थानको निर्माण गर्दा प्रकृतिबाट कुनै पनि कच्चा पदार्थ सङ्ग्रह नगरी आफूभित्रबाट स-सानो धागोजस्तो जालो उत्पादन गरेर आफ्नो वासस्थान निर्माण गरेको देखिन्छ । मानिसबाहेक अन्य प्राणीले आफ्नो तत्कालीन जीवन निर्वाहको आवश्यक वस्तु तथा साधनको उत्पादन गर्दा बौद्धिक र तार्किक क्षमताको प्रयोगविना नै उत्पादन गरेको देखिन्छ । मानिस मात्र धर्तीको यस्तो प्रजाति हो जसले आफ्नो जीवन निर्वाहको वस्तुको उत्पादन गर्दा बौद्धिक र तार्किक क्षमताको समेत उपयोग गरेर प्रकृतिमा उपलब्ध कच्चा पदार्थमा परिश्रममार्फत आकर्षक र स्वादिष्ट ढङ्गले उत्पादन गर्ने क्षमता राख्दछ । घरको भान्सादेखि यत्रतत्र मानिसले आफ्नो परिश्रम लगाई प्रकृतिमै उत्पादन भएको कच्चा पदार्थलाई स्वादिष्ट भोजनमा बदलेर खाना बनाउने गर्दछ भने आफ्नो लत्ताकपडादेखि वासस्थान र हिँडडुल गर्न आवश्यक साधनको उत्पादनमा मानिसकै बौद्धिक, तार्किक र शारीरिक परिश्रमको लगानीमा जीवन निर्वाहका आवश्यक आकर्षक तथा कलात्मक वस्तुको उत्पादन गरिरहेको हुन्छ ।

मानिसले आफ्नो चेतनशील परिश्रम लगाएर उत्पादन भएको वस्तुमा आत्मसन्तुष्टिको अनुभूति गर्दछ । चेतनशील परिश्रमको उत्पादनले मानिसलाई अलग्गै पहिचान दिइरहेको हुन्छ । एउटा किसान, मजदुर, कलाकार, लेखक, पत्रकार, मूर्तिकार, सिकर्मी, दर्जी, डकर्मी, चिकित्सक, इन्जिनियर, वैज्ञानिक, एकाउन्टेन्ट, पाइलट, शिक्षक, प्राध्यापक सबै पेसाभित्र चेतनशील परिश्रमको उत्पादन गाँसिएको हुन्छ । मानिसले गर्ने यी सबै गतिविधि चेतनशील परिश्रम हो । मानिसले प्रत्येक पेसागत गतिविधि गर्दा र परिश्रम गर्दै गर्दा बौद्धिकता र तार्किकताको समेत उपयोग गरेको देखिन्छ । मानिसले आफूले गर्ने यही बौद्धिक, तार्किक र शारीरिक श्रम नै चेतनशील परिश्रम हो । चेतनशील परिश्रमले एकातिर सम्पत्तिको सिर्जना गरिरहेको हुन्छ भने अर्कोतिर परिश्रमले उत्पादन गरेको फलबाट असिम सन्तुष्टिसमेत सिर्जना गरिरहेको हुन्छ । मानिस आफ्नो परिश्रमबाट उत्पादित उत्पादन आफ्नो भित्री चेतना बाहिर प्रकट भएकोमा अत्यन्त सन्तोष मान्दछ । परिश्रमको वस्तुबाट मानिसलाई सन्तुष्ट र आनन्द, अर्थपूर्ण र भरिएको महसुस दिन्छ । एउटा चिकित्सकले बिरामी निको बनाउँदा सन्तुष्ट महसुस गर्दछ भने एउटा कलाकार आफ्नो चलचित्र सफल हुँदा अत्यन्त आनन्द महसुस गर्दछ । एउटा लेखक आफ्नो परिश्रमले लेखेको पुस्तक धेरै मानिसले मन पराउँदा सन्तुष्ट हुन्छ भने एउटा किसान आफ्नो खेतमा फलेको कृषि पैदावारमा मक्ख पर्दछ ।

मानिसको परिश्रमले उत्पादित वस्तुले मानिसलाई उसको पहिचान दिन्छ । एउटा वकिल, कलाकार, पत्रकार, लेखक, साहित्यकार, चित्रकार, चिकित्सक, शिक्षक, प्राध्यापक, इन्जिनियर, सिकर्मी, डकर्मी, दर्जी यी सबै मानिसको परिश्रमले प्रकट भएको मानिसको पहिचान हो । मानिस आफ्नो परिश्रमको पहिचानमा गर्व महसुस गर्दछ । मानिसको परिश्रम र त्यसको जगमा उभिएको पहिचानले समाजलाई बदलिरहेको हुन्छ र मानिस आफैँ हिजोभन्दा आज बदलिँदै गइरहेको हुन्छ । मानिसको परिश्रम जब बेचबिखनको वस्तु बन्दछ त्यो परिश्रम पहिचानरहित बन्दछ । मालिकको वरिपरि उसको खटनपटनमा मानिसको परिश्रमले आफ्नो पहिचान गुमाइरहेको हुन्छ । यस्तो परिश्रममा मानिसको बौद्धिकता र तार्किकताको भरपूर उपयोग भएको हुँदैन । मानिसभित्रको बौद्धिकता र तार्किक क्षमता बाहिर प्रस्फुटन हुन सकेन भने मानिसमा बेचैनी र निराशाको जन्म हुन्छ । यदि समाजभित्र व्यक्तिलाई उसको परिश्रममा बौद्धिक, तार्किक र शारीरिक क्षमताको उपयोग हुनबाट वञ्चित वा बाधा-व्यवधान सिर्जना भयो भने मानिस असन्तुष्ट हुन्छ । धेरै समयसम्म समाजमा यस्तो परिस्थिति विद्यमान रहिरह्यो भने असन्तुष्टि महाभूकम्पजस्तो समय-समयमा विद्रोहको रूपमा विस्फोट हुने गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

रामलाल श्रेष्ठ