+
Search

ताजा अपडेट +

पपुलर +

असहिष्णु र संस्कार शून्यताको वर्तमान राजनीति

असहिष्णु र संस्कार शून्यताको वर्तमान राजनीति
रामशरण प्याकुरेल
४ महिना अगाडी

एउटा उमेर समूहका नाममा युवालाई दिग्भ्रमित र दुरुपयोग गरेर विध्वंसको जगमा बनेको अवैधानिक अन्तरिम सरकारको छत्रछायामा बारा र मोरङमा आफ्नो सङ्गठनको काममा निस्किएका नेताहरूमाथि गरिएको पछिल्ला व्यवहारले स्थापित लोकतान्त्रिक अभ्यास, व्यवहार एवम् नागरिकको नैसर्गिक अधिकार र अपरिहार्य रहेको शान्ति-सुरक्षाजस्ता कुरामा गम्भीर संशय पैदा गर्नुका साथै ती घटनाक्रमबारे गरिएका गलत प्रचार, पुष्टिका झुटा प्रयत्न र थप धम्कीले नेपाली राजनीतिको वर्तमान स्वरूपको अत्यन्त चिन्ताजनक यथार्थ उदाङ्गो बनाएको छ । बढ्दै गएको दलगत आक्रमण, परस्परको असहिष्णुता र लोकतान्त्रिक संस्कारको क्षयीकरणले देश अघोषित द्वन्द्वतर्फ धकेलिन खोजिरहेको भान हुँदै गएको छ ।

नेपाली राजनीति विगत सात दशकदेखि रूपान्तरणको निरन्तर यात्राबाट गुज्रँदै आएको छ । राणाशासनको अन्त्यदेखि बहुदलीय प्रजातन्त्र, त्यहाँबाट पुनः निरङ्कुशता, जनआन्दोलन, राजतन्त्रको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदै आजसम्म शासन प्रणाली, संविधान, निर्वाचन प्रणालीदेखि लिएर दल-दलबिचका सम्बन्धसम्म सबै क्षेत्रमा परिवर्तनका धेरै प्रयास भए । परिवर्तनका यी ऐतिहासिक मोडहरूले आशा पनि जगाए, तर व्यवहारमा हाम्रो राजनीतिक संस्कृति भने अझै गहिरो समस्याले ग्रस्त छ । ‘अरूको विचारको सम्मान होइन, अस्तित्व अस्वीकार र निषेध गर्ने’ पुरानो, प्रतिगामी र असहिष्णु संस्कार फेरि ब्युँतन खोज्दै छ । खासगरी पछिल्ला समयमा देखिएको एउटा गम्भीर समस्या हो, एक दलले अर्को दलको अस्तित्वलाई नै स्वीकार नगर्ने प्रवृत्ति, व्यक्तिकेन्द्रित घृणा, खुट्टा तानातान, गालीगलौज र तथ्यविहीन आरोप-प्रत्यारोपको वृद्धिजस्ता बढ्दै गएको गलत संस्कृति । यो प्रवृत्तिले नेपाली लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने भन्दा उल्टै दुर्बल पार्दै छ र देश आपसी असहिष्णुता र राजनीतिक नैतिक शून्यताको दिशातर्फ उन्मुख हुँदै छ ।

राजनीतिक प्रतिद्वन्द्वीका विचार वा कार्यक्रमसँग असहमति जनाउनु लोकतान्त्रिक परम्परा नै हो तापनि, लोकतन्त्रमा जो-कोही प्रतिद्वन्द्वीको अस्तित्व नै निषेध र अस्वीकार गर्ने प्रवृत्ति राजनीति सञ्चालनको मुख्य आधार किमार्थ होइन । विचारको सङ्घर्षको सट्टा व्यक्तित्व हत्या, नीतिगत विमर्शको ठाउँमा आरोप-प्रत्यारोप, वैचारिक स्पष्टताको साटो सामाजिक प्लाटफर्ममा फैलिइरहेको भ्रम, तिक्तता, पैदा गरिएको त्रास र आतङ्कले नै आजको सार्वजनिक राजनीतिक जीवनलाई जटिलतातर्फ डोहो¥याइरहेको छ । परिणामस्वरूप मतभेदलाई प्रतिस्पर्धा होइन, शत्रुता ठान्ने प्रवृत्ति जन्मिएको छ । बहसलाई राजनीतिक परिपक्वतामा नभई हार-जितको खेलको रूपमा बुझिन्छ र विचारलाई चुनौती दिनुको सट्टा व्यक्तिलाई नै राजनीतिक वा चरित्रगत रूपमा समाप्त पार्ने अभ्यास दैनन्दिन राजनीतिक जीवनमा सामान्य बनिरहेको छ ।

अहिले देखिएको यो असहिष्णुता र निषेध केवल एउटा समूहविशेषको भावनात्मक प्रतिक्रिया मात्र होइन, राजनीतिक संस्कारको गहिरो अवनति, जसले दलगत प्रतिस्पर्धालाई परस्परको गालीगलौज, अपमान र चरित्र-हत्या गर्ने अभ्यासमा रूपान्तरण गर्नेको रूपमा लिनुपर्दछ । विडम्बना के छ भने देशका अग्रणी दलहरूलगायत आफूलाई नयाँ बताउने लोकप्रियतावादी, मधेशवादी शक्ति तथा नवप्रवेशी जेन-जी समूह सबै नैै कुनै न कुनै रूपले यस प्रवृत्तिको सक्रिय जन्मदाता वा अनुयायी बनेका देखिन्छन् । हामीले सङ्क्रमणकालीन राजनीति पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि दशक बितिसकेको छ, तर लोकतान्त्रिक मूल्य-मान्यताको अपेक्षित उचाइ हात पार्न सकेका छैनौँ । पछिल्ला वर्षमा राजनीतिक संवाद थप सभ्य होइन, झनै अहंकारी, असभ्य, व्यक्तिगत लाञ्छनायुक्त, तिक्त र निम्नकोटिको शैली र भाषामा रूपान्तरित भएका छन् ।

नेपाली राजनीतिमा केवल आवेशको शमन गर्न गालीगलौज गरिएको देखिन्छ । सभा-समारोहमा उपस्थित समूह वा भेलालाई उत्तेजित पार्न, समर्थकको ताली खान र हाइहाई हुन आफ्नो विपक्षीलाई राजनीतिक गाली दिएको पाइन्छ । एकले अर्कोलाई नाङ्गेझार पारेर गाली र बेइज्जत नगरेसम्म कुनै संवाद, कुराकानी, वार्ता र भाषण नै हुँदैनन् । आफू असाध्यै राम्रो अर्को अति नै अगतिलो, तुच्छ र घृणित भनेर सत्तोसराप गर्छन् । आफ्नो उचाइ बढाउन अर्कोलाई जतिसक्दो तल गिराउने प्रवृत्ति, राजनीतिमा अलोकतान्त्रिक र अमर्यादित क्रियाकलापका रूपमा स्थापित भइरहेको छ । नयाँ पपुलिस्टहरू र जेन-जीका नाममा देखिएका समूहले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन्, तिनका कुरा र हाउभाउबाट यस्तो देखिँदै छ कि राजनीति मानौँ चुड्कीको भरमा गरिने प्रक्रिया हो । नयाँ पुस्ता भनिनेहरूले त स्थापित प्रणाली र संरचनाप्रतिको गालीगलौज र अपशब्दलाई नै आफ्नो राजनीतिक विचारधारा बनाएका छन् ।

तथ्यहरूलाई आफ्नो निहित स्वार्थका लागि सजिलै ‘मोडिफाई’ गर्ने गलत प्रवृत्ति पनि मौलाउँदै गएको छ । यसले सत्य-तथ्य वा यथार्थ चरित्रको पहिचान गर्न सकिँदैन । सत्य–तथ्य पहिचान नगरी समस्यालाई चिन्न सकिँदैन । हाम्रो राजनीतिमा सिद्धान्त, विचार, दृष्टिकोण र मूल्य-मान्यतालाई विश्वास गर्ने संस्कृति छैन । गालीगलौज माथि चढ्ने भ¥याङ बनिरहेको छ । भर्खरै, आफ्नो राजनीतिक पहिचान नै गुमाइसकेका भट्टराई थरका एक नेताले तीन ठुला दल एमाले, काङ्ग्रेस र माओवादीका नेतालाई लखेट्नुपर्ने ‘साँढे’को नामकरण गरिदिए । हिजो एउटै पार्टी बनाएका, गठबन्धनमा सँगै रहेका नेताहरूले कोही आफूलाई ‘जादुगर’ बताउँदै जादुले काम गर्न छोडेको भोलिपल्टै आफ्नो समकक्षी एवम् सहकर्मी तत्कालीन प्रधानमन्त्रीलाई देशकै ‘जाली, झेली, कपटी, बेइमानी’ भन्नसमेत छुटाएनन् भने अर्कोतर्फबाट उनलाई पनि ‘सत्तालोलुप, ज्यानमारा, हत्यारा, दरबारिया’ भन्न भ्याए । आफ्नो मूल घरलाई तोडफोड गरेर वास खोज्दै यत्रतत्र भौँतारिरहेकाले पनि ‘भगौडा, कुहिएको पर्सी, वृद्धाश्रम’को गाली खाइरहेका छन् । आजको राजनीतिमा जति विचारको खडेरी छ, त्यति नै असभ्य बोलीको बाढी आएको देखिन्छ । नेताहरूको भाषण र वाक्युद्धले जनतालाई उत्प्रेरणा दिनुको साटो विभाजन, घृणा र निराशा फैलाइरहेको छ ।

उदाहरणका रूपमा, नेपालको पार्टी प्रणालीले दशकौँसम्म विचारधाराका आधारमा प्रतिस्पर्धा गरेको देखिए पनि, पछिल्ला वर्षमा आपूmसँग असहमत एवम् प्रतिद्वन्द्वीलाई वैचारिक रूपमा कमजोर प्रमाणित गर्ने होइन, ‘देशद्रोही’, ‘भ्रष्ट’, ‘ठग’, ‘दलाल’, ‘नाटकबाज’जस्ता पदावली प्रयोग गरेर बदनाम गर्ने संस्कृति जडवत् बनिरहेको छ । एमाले र काङ्ग्रेसबिचको ताजा राजनीतिक द्वन्द्वमा बारम्बार दोहोरिने आरोप ‘सत्ता लोलुपता’, ‘अलोकतान्त्रिक चालबाजी’, ‘राष्ट्रिय स्वार्थ बिक्री’जस्ता गालीले नीतिगत बहसलाई पूर्णतः विस्थापित गरेको छ । तत्कालीन माओवादी केन्द्रप्रति लक्षित ‘हिंसामा रुचि राख्ने शक्ति’ भन्ने अभिव्यक्ति वा माओवादीतर्फबाट अन्य दलहरूलाई ‘सामन्ती मानसिकताको समूह’ भन्ने उल्टो आरोप दुवैले राजनीतिक विमर्शको तह खस्काएकै थियो । रास्वपाको गठन नै ‘पुराना दल, पुरानै रोग’ भन्ने तिखो टिप्पणीबाट सुरु भएको थियो । प्रत्युत्तरमा उसले ‘अपरिपक्व, पपुलिस्ट, विचार र सिद्धान्तहीन राजनीति गर्ने’ समूहको तीक्ष्ण आरोप खेप्यो ।

मधेशवादी दलहरूलाई केही मुख्यधारका दलहरूले ‘क्षेत्रीय साम्प्रदायिकता भड्काउने, पहिचानको राजनीतिमा अडिएको, राष्ट्रिय एकता कमजोर पार्ने’ आरोप लगाउँछन् भने उनीहरूले पनि ‘मधेशको अस्तित्व अस्वीकार गर्ने पहाडी केन्द्रीकृत शक्ति’ भनेर अरूलाई प्रत्यारोप गर्छन् । हालै सतहमा आएका जेन-जी समूहलाई पुराना दलहरूले ‘अराजक’ वा ‘मिडिया-निर्मित पङ्क्ति’ भनेर मूल्याङ्कन गरिँदा, प्रत्युत्तरमा पुराना दलहरूलाई उनीहरूले ‘भ्रष्ट संरचना’कै रूपमा प्रस्तुत गर्नेे गरेका छन् । यी र यस्ता अभिव्यक्तिले केवल दुर्भावनापूर्ण राजनीतिक वातावरण सिर्जना मात्र गरेका छैनन्, इमानदार बहस र समाधानकेन्द्रित संवादको ठाउँमा अनपेक्षित वैयक्तिक आक्रमणलाई सामान्य रूपमा गरिने व्यवहारजस्तै बनाइदिएका छन् ।

अहिले विचार प्रतिस्पर्धाबाट व्यक्तिमुखी आक्रमणतर्फको विचलन यतिसम्म बढ्दै छ कि यहाँ त अरूलाई मरुन्जेल गाली गरेर आफ्नो स्पेस बनाउने प्रचलन व्यापक रहेको छ । खेलको मैदान होस् वा धार्मिक सभा-सम्मेलन, त्यहाँ राष्ट्रप्रमुखलाई ‘…….चोर, देश छोड् …’ जस्ता नारा लगाउने जत्था तयार पार्नु भनेको यो एक किसिमको मनोविकार हो । हामी यस्ता दूषित मनोविकारले यति ग्रस्त छौँ कि, हाम्रो इन्द्रियले पनि ठिकसँग काम गर्न सकिरहेको छैन । अरूले राम्रो गरेको, राम्रो भनेको, न हामीसँग सुन्ने कान छ, न हेर्ने आँखा छ । न त बुझ्ने मन नै छ । हामी यस्ता कुरा अनुभूत पनि गर्दैनौँ, बरु ‘ठिक्क भो’ भन्न थाल्छौँ । त्यो भोलि आफैँतिर फर्कन सक्छ भन्ने हेक्का राख्दैनौँ । भदौको परिवर्तनपछि नयाँ दलहरूले बजारमा थापेका ठुटे पसलमा गालीका नयाँ संस्करण हामीले पुनः सुन्ने नै छौँ । यो चिन्ताको विषय हो, हामी कस्तो राजनीतिक संस्कार बसाउन उद्यत् छौँ ?

नेताहरू गालीगलौजमा उत्रनुमा उनीहरूलाई मात्रै पनि दोष दिन मिल्दैन । नेताहरूले गम्भीर खालका कुरा गरिरहँदा मान्छेले चाख दिएर बुझ्ने प्रयास नै गर्दैनन् । तर, जब नेताहरू गालीगलौजमा उत्रन्छन्, तब सबैजना गडगडाहट ताली दिन तयार हुन्छन् । यसले नेताहरूलाई आफूले यस्तै बोल्नुपर्ने रहेछ भनेर उत्साहित बनाइरहेको हुन्छ । गज्जब भन्यो भन्ने हिसाबले ‘अडियन्स’बाट प्रशंसा पाएको बुझेर नेताहरू झन् यसै गर्नुपर्ने रहेछ भन्नेतिर लाग्छन् । राजनीतिक दलका कार्यकर्ताको पनि नेतृत्वले जे-जे भन्यो त्यसैमा ताली बजाउने अर्थात् समर्थन गर्ने परिपाटीको विकास भइरहेको छ । नेताका गलत अभिव्यक्ति, आचरण र व्यवहारमाथि प्रश्न उठाउने हो भने मात्रै पनि राजनीतिक शुद्धीकरण हुन सक्छ । नत्र नागरिकलाई चुनावको भोटबैंक मात्र ठानेर आफ्नो फाइदाका लागि प्रयोग गर्ने मात्रै सोच्ने हो भने राजनीति झन् बिग्रँदै जान्छ । किनभने लोकतन्त्रमा पार्टी, राजनीतिक कार्यकर्ता र राजनीतिक समूह नै समाजको ठुलो हिस्सा हो ।

अहिले राजनीतिक दलका नेताहरूले जस्तो भाषा र शैली प्रयोग गरिरहेका छन्, त्यसलाई उनीहरूको कार्यकर्ता र समर्थकले मात्रै नियालिरहेका छैनन् । सामाजिक सञ्जालको प्रयोगले कार्यक्रममा सहभागी नभएका, कोठामै बसिरहेका सबै उमेर-समूहकाहरूले नेताहरूको अभिव्यक्ति र शैलीलाई हेर्ने, सुन्ने र विश्लेषण गरिरहेका हुन्छन् । नेताहरू भनेका राम्रो अर्थात् नराम्रो दुवै अर्थमा रोलमोडल हुन् । नेताहरूका हाउभाउ, बोलीचाली र उनीहरूले गर्ने क्रियाकलाप भावी नेता अर्थात् अहिलेका कार्यकर्ताले त्यही सिकिरहेका हुन्छन् ।

राजनीति, समाज, परिवार वा कुनै पनि सामाजिक संवादमा सभ्य बोलीवचनको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । आउने पुस्ताले सिक्ने-सिकाउने कुरा हुन्छ । सभ्य बोली केवल शब्दको चयन मात्र होइन, त्यो व्यक्तिको चरित्र, संस्कार र मूल्यबोधको प्रतिबिम्ब पनि हो । सभ्य शब्दले सम्बन्ध सुधार्न सक्छ, मन जित्न सक्छ । अहिले गाली, आरोप र अपमानको संस्कार र व्यवहार देखाउने नेता वा राजनीतिक दलले समाजलाई कसरी सभ्य बनाउँछ भन्ने प्रश्न उठ्न थालेको छ र नेपाली राजनीतिक दलका शीर्ष नेताहरूको यी र यस्तै असभ्य तथा भद्दा अभिव्यक्तिकै कारण पछिल्लो समय युवापुस्ताले राजनीतिलाई घृणा गर्न थालेका छन् । नेताहरूले बुझ्न जरुरी छ कि गालीगलौज आफू र आफ्नो पार्टीलाई अब्बल साबित गर्ने राजनीतिक माध्यम होइन ।

जनताको दलहरूप्रतिको वितृष्णा, व्यवस्थाप्रतिको असन्तुष्टि र नेताहरूसँगको आक्रोशलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्दछ । यसो भएमा सरकार र दलहरूलाई दोषी करार गरेर राजनीतिक लाभ लिइरहेका कस्मेटिक, हुल्लडवाजहरूको एजेन्डा सिद्धिन्छ । तिनले जनतामा गरिरहेको निराशा र आक्रोशको व्यापार बन्द हुनेछ । जनताको पीडामा गोहीको आँसु बगाउँदै यो व्यवस्थामाथि गालीगलौज गर्नेहरूको मुखुन्डो उध्रिनेछ । देशलाई प्रतिगमनमा फर्काउन चाहने शक्ति पनि मेटिएर जानेछन् ।देश अहिले पनि गम्भीर सङ्क्रमणकै अवस्थामा रहेकाले हामीले बुझ्नुपर्नेछ कि राजनीति कुनै शत्रुताको मात्र खेल होइन, यो त सामूहिक समाधान खोज्ने प्रक्रिया हो । जबसम्म विरोधीलाई शत्रु, आलोचकलाई घातक र फरक मतलाई अपराध ठान्ने प्रवृत्ति कायम रहन्छ, तबसम्म हाम्रो लोकतन्त्रको विकास अपूरो नै रहन्छ । त्यसैले आजको अत्यावश्यक कार्य अरूको अस्तित्व अस्वीकार होइन, सम्मान र सहअस्तित्वको संस्कार निर्माण गर्नु हो । यही संस्कारले मात्र नेपालको अबको राजनीतिक यात्रालाई स्थिरता, प्रगतिशीलता र समृद्धितर्फ अघि बढाउँछ । सबैको जय होस् !

(लेखक नेकपा एमाले, केन्द्रीय पार्टी स्कुल विभागका सदस्य हुनुहुन्छ ।)

 

 

प्रतिक्रिया

लेखकको बारेमा

रामशरण प्याकुरेल