विदुर । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पटक-पटक सांसद र मन्त्री भएका कतिपय नेताहरूले भटाभट चुनाव नलड्ने भनी स्वघोषणा गरे पनि नुवाकोटमा भने विसं २०३८ देखि निर्वाचनमा उम्मेदवार भएका नेताहरूकै नाम अग्रपङ्क्तिमा सिफारिस भएको छ । नेपाली काङ्ग्रेस नुवाकोट कार्यसमिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम शुक्रबार निर्णय गरेर केन्द्र पठाएको छ ।
बैठकले नुवाकोट क्षेत्र नं १ बाट केन्द्रीय कार्यसमितिका प्रवक्ता डा. प्रकाशशरण महतसहित प्रत्यक्ष र समानुपातिक गरी २३ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । पार्टी विधानबमोजिम जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई दु्रतमार्गबाट केन्द्रीय समितिमा सिफारिस गरिएको पार्टीका जिल्ला सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय समितिले गत मङ्सिर १५ गते पार्टी विधानबमोजिम क्षेत्रीयस्तरबाट नामावली सिफारिस गर्न निर्देशन गरेसँगै दुवै क्षेत्रबाट आकाङ्क्षी उम्मेदवारको नामावली सङ्कलन गरिएको थियो । सोअनुसार क्षेत्र नं १ मा प्रत्यक्षतर्फ पार्टी केन्द्रीय प्रवक्ता डा.प्रकाशरण महतको नाम एकल सिफारिस भएको सचिव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्रीयस्तरको बैठकबाट विभागीय ढङ्गले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस भएको छ, प्रत्यक्षमा क्षेत्र नं २ मा बहादुरसिंह लामाको नाम पहिलो नम्बरमा सिफारिस भएर आएको छ ।’
काङ्ग्रेस नुवाकोट बैठकले आगामी राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दिन क्षेत्रीय कार्यसमितिबाट आएका नामावलीलाई अन्तिम रूप दिँदै केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको हो । उहाँका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक मात्र उम्मेदवारका रूपमा डा. महतलाई सिफारिस गरिएको हो । क्षेत्रीय कार्यसमितिको अघिल्लो बिहीबारको बैठकले एकल उम्मेदवारका रूपमा उहाँको नाम मात्र सिफारिस गरेसँगै जिल्ला कार्यसमितिले पनि सोही निर्णय गरेको हो । सो क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ महेन्द्र थिङ, कविराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अञ्जु आचार्य र कल्पना नेपाली तथा राष्ट्रिय सभामा उम्मेदवारीका लागि रामकृष्ण थापा र भाग्यश्री लामालाई सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ वर्तमान प्रदेश सभा सदस्य बहादुरसिंह तामाङ लामा, जगदीश्वरनरसिंह केसी, ध्रुवप्रसाद अधिकारी, चोकराज शाक्य, श्रीप्रसाद सापकोटा, विन्दा अर्याल र नवराज पाण्डेको नाम सिफारिस गरिएको छ । उहाँहरूको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गर्दै बागमती प्रदेश समितिलाई बोधार्थ पठाइएको जिल्ला सचिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक उम्मेदवारतर्फ क्षेत्र नं. २ बाट पहिलो नम्बरमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको नाम सिफारिस गरिएको छ । यस्तै, अन्य उम्मेदवारमा जगतबहादुर तामाङ, रुक्मिणी सेढाईं र गीता अमात्यको नाम सिफारिस भएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि नुवाकोटबाट जिल्ला समितिका सचिव श्रीराम श्रेष्ठ, उपसभापति राजु थापा र संविधानसभा सदस्य राज्यलक्ष्मी पाँडेको नाम सिफारिस गरिएको छ । जिल्ला सभापति रमेशकुमार महतको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पार्टीका क्रियाशील सदस्यता वितरणमा देखिएका त्रुटि तथा उजुरीका सम्बन्धमा छानबिन गर्न राजकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । त्यस्तै, जेन-जी आन्दोलनका क्रममा अराजक गतिविधिसहित पार्टी कार्यालयमा आगजनी गरेको अभियोगमा प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइए पनि हालसम्म कुनै कारबाही नभएको भन्दै पुनः कारबाहीको प्रक्रिया अघि बढाउन अनुरोध गर्ने, क्षति पुगेको पार्टी कार्यालय भवनको पुनर्निर्माणका लागि क्रियाशील सदस्यसँग रु.२० का दरले सहयोग शुल्क सङ्कलन गर्ने निर्णय गरिएको छ ।
विसं २०३८ मा राष्ट्रिय पञ्चायत सदस्यमा नुवाकोटबाट निर्वाचित अर्जुननरसिंह केसी त्यसपछिका हरेक निर्वाचनमा उम्मेदवार बन्न छुट्नुभएको छैन । उहाँ वि.सं. २०४३ मा रापंसमा पराजित भएपछि जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुनुभएको थियो । यसपटक पनि उहाँको नाम क्षेत्र नं. २ बाट समानुपातिकमा पहिलो नम्बरमा सिफारिस भएको छ । ७८ वर्षीय केसी रापंस र सङ्घीय संसद् सदस्य निर्वाचनमा नौपटक सहभागी भए पनि राष्ट्रिय पञ्चायतमा एकपटक, सङ्घीय संसद्मा तीनपटक पराजित हुनुभयो । उहाँले विसं २०३८ मा भारी मतले रापंसमा जिते पनि विसं २०४३ मा भने हार व्यहोर्नुप¥यो । विसं २०४६ को जनआन्दोलनपछिको विसं २०४८ र २०५१ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं.३ बाट विजयी केसी विसं २०५६ र २०६४ का निर्वाचनमा उक्त क्षेत्रबाट पराजित हुनुभएको थियो । विसं २०७० को संविधानसभा निर्वाचनमा विजयी केसी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा साबिक क्षेत्र नं. ३ ( हालको २ नं निर्वाचन क्षेत्र) बाट हार्नुभयो भने विसं २०७९ को निर्वाचनमा निर्वाचित हुनुभयो । केसी पञ्चायतकालमा स्वास्थ्य राज्यमन्त्री हुँदै बहुदलीय व्यवस्थामा स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना र सहरी विकासमन्त्री हुनुभएको छ । विसं २०४६ पछि काङ्ग्रेसमा प्रवेश गर्नुभएका उहाँले केन्द्रीय सदस्य हुँदै केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । पछिल्लो प्रतिनिधिसभामा सभामुखमा आकाङ्क्षी केसी राजनीति गर्दा पटक-पटक गरी तीन वर्ष कारागारको यातनासमेत भोग्नुभएका नेता हुनुहुन्छ ।
तीन महिनापछि हुने निर्वाचनमा नुवाकोट-१ बाट प्रत्यक्षतर्फ निर्वाचन लड्न एकल नाम सिफारिस हुनुभएका डा. महत विसं २०६२/०६३ को जनआन्दोलनपछि गठन भएको अन्तरिम व्यवस्थापिकामा सदस्यका रूपमा छिर्नुभएको थियो । उहाँ विसं २०६४ को पहिलो संविधानसभा र विसं २०७० को दोस्रो संविधानसभामा काङ्ग्रेसको खसआर्य वर्गबाट समानुपातिक सदस्य बन्नुभएको थियो । विसं २०७२ को संविधान जारीपछिको विसं २०७४ मङ्सिर १४ गते सम्पन्न संसदीय निर्वाचनमा काठमाडौँ-५ नम्बरबाट उम्मेदवार डा. महतले धरौटीसमेत जोगाउन सक्नुभएन । त्यसैगरी विसं २०७९ को सङ्घीय संसद्को निर्वाचनमा उहाँ समानुपातिकबाट सदस्य हुनुभयो । विसं २०६१ जेठ २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्रालयको कार्यभारसहित पहिलोपटक राज्यमन्त्री हुनुभएका डा. महतले विसं २०६६ जेठ ११ गते माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री र पछि पुष्पकमल दाहाल प्रचण्डकालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । ६६ वर्षीय डा. महत यसपटक पनि निर्वाचनमा नुवाकोट-१ बाट निर्वाचित भएर सङ्घीय संसद्मा छिर्ने योजनामा तल्लीन हुनुहुन्छ ।
काङ्ग्रेसले सङ्घीय संसद्मा नुवाकोट-२ बाट प्रत्यक्षमा लामाको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । उहाँ विसं २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन मनकामना गाविसको अध्यक्षमा काङ्ग्रेसका तर्फबाट निर्वाचित हुँदै विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित भए पनि विसं २०७० को दोस्रो संविधानसभामा विजयी हुनुभएको थियो । उहाँ विसं २०७२ को संविधान जारीपछिको पहिलो निर्वाचन विसं २०७४ मा नुवाकोटबाट आदिवासी जनजाति पुरुष वर्गबाट समानुपातिकको पहिलो नम्बरमा उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य हुनुभयो । संविधान जारीपछिको दोस्रो प्रदेश सभा निर्वाचन विसं २०७९ मा नुवाकोट-२ प्रदेश ‘ख’ बाट काङ्ग्रेसका तर्फबाट प्रत्यक्षतर्फ निर्वाचित उहाँ आर्थिक मामिला तथा योजनामन्त्री हुँदै ६ महिना बागमती प्रदेशको मुख्यमन्त्रीसमेत हुनुभयो । काङ्ग्रेसका केन्द्रीय सदस्य लामा ठेक्कापट्टासम्बन्धी व्यवसायीका रूपमा देशभर परिचित हुनुहुन्छ । ५५ वर्षीय लामा यसपटक प्रदेश सभा सदस्य हुँदाहुँदै नुवाकोट-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर संसद् प्रवेश गर्ने दाउमा हुनुहुन्छ ।
त्यसैगरी नुवाकोट-२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ दोस्रो नम्बरमा सिफारिस हुनुभएका जगदीश्वरनरसिंह केसी विसं २०५७/२०७९ सम्म झन्डै २१ वर्ष जिल्ला सभापति रहनुभएको थियो । विसं २०७४ को प्रदेश सभा निर्वाचनमा नुवाकोट-२ प्रदेश ‘क’ बाट उम्मेदवार बन्नुभएका केसी पराजित हुनुभएको थियो । विसं २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभामा काङ्ग्रेस नुवाकोटबाट समानुपातिकतर्फ संविधानसभा सदस्य बन्ने अवसर पाउनुभएका केसी फागुनमा हुने निर्वाचनमा क्षेत्र नं २ को प्रत्यक्षतर्फको टिकट फुत्काउन लागिपर्नुभएको छ । साढे चार दशकदेखि चुनाव लडेका भेट्रान र योङ उम्मेदवारमध्ये कसले टिकट पाउने हुन्, हेर्न बाँकी नै छ ।




प्रतिक्रिया