विसं २०८२ भदौ २३ र २४ को घटनापछि नेपाली समाज परिवर्तनतर्फ उन्मुख छ । कुनै घटनाले समाजको चेतनामा ठुलो परिवर्तन ल्याउँदछ भने त्यो घटनालाई क्रान्ति भन्ने गरिन्छ । जेन-जी पुस्ता र नेपाली समाजले गरेको आन्दोलन र विद्रोह नेपालको इतिहासको पछिल्लो क्रान्ति थियो । जुन क्रान्तिमा ७६ जना नेपाली युवा सहिद भए र हजारौँ नवयुवक घाइते भए ।
विश्वभरि नै लोकतन्त्रको जननी मुलुक भनेर बेलायतलाई मानिन्छ । बेलायतमा आजभन्दा चार सय वर्षअगाडि जोनलक नामका व्यक्तिको जन्म भएको थियो । जोनलकको जन्म भएको १० वर्षपछि सन् १६४२ मा बेलायतमै सर आइज्याक न्युटनको जन्म भयो । यी दुई व्यक्तिले विश्वलाई दुई महानतम योगदान गरेर विश्वचर्चित व्यक्तित्व बने । जोनलक राजनीतिक संसारमा लोकतन्त्रका पिता र न्युटन भौतिक विज्ञानका पिताका रूपमा पुजिन्छन् ।
जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा
संसारका सबै लोकतान्त्रिक मुलुकमा सरकारको मुख्य काम नागरिकको जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्नु हो । नागरिकको जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्नकै लागि राज्यको उत्पत्ति भएको हुन्छ । आजभन्दा चार सय वर्षअगाडिको बेलायत आजको नेपालभन्दा पनि गएगुज्रेको अवस्थामा थियो । त्यतिवेलाको बेलायत पृथ्वीनारायण शाहभन्दा डेढ शताब्दी अगाडिको नेपाल थियो । सत्रौँ शताब्दी अर्थात् सन् १६०० देखि १७०० एक सय वर्ष बेलायत निकै राजनीतिक उथलपुथलका घटनाले भरिभराउ शताब्दीको रूपमा देखिन्छ । बेलायतमा निरङ्कुश राजतन्त्रको शासन, सन् १६४१ देखि एक हजार ६ सय ५१ सम्म १० वर्षे हिंसात्मक गृहकार्य, सन् १६४९ मा बेलायतका राजालाई मृत्युदण्ड, बेलायत गणतान्त्रिक देशमा प्रवेश, ओलिभर क्रमवेलको सैनिक शासनको उदय, अस्थिर र अराजक समाज, सन् १६८८ को रक्तपातविहीन गौरवमय क्रान्तिले पुनः संवैधानिक राजतन्त्रको स्थापना नै बेलायतको राजनीतिक उथलपुथलका घटना हुन् ।
यी सबै राजनीतिक घटनालाई आफ्नै जीवनकालमा प्रत्यक्ष देखेका र भोगेका दुईजनाको नाम आज पनि राजनीतिको संसारमा महत्त्वपूर्ण चिन्तकको रूपमा लिने गरिन्छ । सन् १५८८ मा जन्मेर १६७९ मा संसारबाट बिदा भएका थमस हब्स र सन् १६३२ मा जन्मेर १७०४ मा यो संसारबाट बिदा भएका जोनलक दुवै लोकतन्त्रका पिताको रूपमा संसारभर पुजिन्छन् । यसैगरी, सन् १६४२ मा जन्मेर १७२७ मा यो संसारबाट बिदा भएका न्युटन पनि वैज्ञानिक संसारमा भौतिक विज्ञानका पिताका रूपमा पुजिने व्यक्तित्व हुन् ।लोकतन्त्रको जननी मुलुक बेलायतको सत्रौँ शताब्दी राजनीतिक रूपले निकै उथलपुथलपूर्ण घटना घटेको शताब्दी हो । बेलायतको राजा र संसदको बिच सार्वभौम अधिकारलाई लिएर सुरु भएको टकराव नागरिक जनयुद्धको रूपमा १० वर्षसम्म चलेको थियो । अङ्ग्रेज सिभिल वारको रूपमा सन् १६४१ देखि १६५१ सम्म चलेको गृहयुद्धमा निकै ठुलो धनजनको क्षति भएको थियो । यही गृहयुद्ध देख्दै र भोग्दै थमस हब्स हुर्किरहेका थिए भने सिभिल वारकै बिचमा राजा चाल्र्स प्रथमलाई बिचसडकमा शिर काटेर सन् १६४९ मा बेलायतलाई गणतन्त्र घोषणा गरिएको थियो । गणतन्त्र बेलायतको सम्पूर्ण शक्ति संसद्मा आएपछि संसद्का नेता ओलिभर क्रमवेलको नेतृत्वमा बेलायतको शासन चल्न थाल्यो । क्रमवेल गृहयुद्ध हाँक्ने सेनाको नेतृत्व गर्ने व्यक्तिको हातमा शासन आएपछि पनि बेलायती समाज स्थिर हुन सकेन । आठ वर्षको क्रमवेलको शासनबाट जनता खासै सन्तुष्ट भएनन् । क्रमवेलको निधनपछि संसद्को सत्ता कायम रहिरह्यो । अन्ततः सन् १६८८ मा बेलायत पुनः संवैधानिक राजतन्त्रमा फर्कियो र समाज स्थिर अवस्थामा फर्कियो । यो क्रान्तिलाई रक्तपातविहीन क्रान्ति भनेर भनिन्छ ।
बेलायतको गृहयुद्ध देख्दै र भोग्दै हुर्केका थमसद्वारा प्रतिपादित सिद्धान्त नै लोकतन्त्रको वैज्ञानिक सिद्धान्त मानिन्छ भने पछि हब्सको लोकतन्त्रलाई परिमार्जन गर्ने श्रेय जोनलकलाई जान्छ । हब्स शक्तिशाली बलियो शासकको पक्षपाती थिए । हब्स व्यक्तिवादी र बलियो राज्यको पक्षमा थिए भने जोनलक निश्चित समयपछि परिवर्तन भइरहने जनताको सामूहिक सम्झौताबाट राज्य निर्माण हुने पक्षमा थिए । राज्यको आवश्यकता जनताको जीवनको सुरक्षाका लागि हो । जनताको सामूहिक सम्झौताको सार्वभौम नै राज्य हो र राज्यको निर्माण जनताको जीवनको सुरक्षा एउटै मात्र उद्देश्य हो । गृहयुद्धको समयमा मानिस एक-आपसमा मर्न र मार्न, लुट्न र चुट्न, प्रत्येक व्यक्ति अर्को व्यक्तिसँग युद्धरत अवस्थामा हुँदा मानिसको जीवन असुरक्षित, कहिले मरिने हो ठेगान नभएको, क्रूर, अज्ञानी, एक्लो, विकास र प्रगतिविहीन अवस्थामा हुन्छ । यस्तो अवस्थाबाट बाहिर ल्याउन जनताले आफूसँग भएको सम्पूर्ण अधिकार एउटा सार्वभौमलाई सामूहिक सम्झौतामार्फत हस्तान्तरण गरिन्छ । सार्वभौमलाई सम्पूर्ण अधिकार सुम्पेर व्यक्ति अधिकारविहीन हुने स्थिति नै राज्यको उत्पत्तिको प्रस्थान हो । मानिसले आफ्नो जीवनको सम्पूर्ण सुरक्षा गर्ने जिम्मेवार सार्वभौम निर्माण गरी त्यसैलाई सम्पूर्ण अधिकार हस्तान्तरण नै राज्यको उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेर बेलायती समाजमा राज्यको उत्पत्ति र आवश्यकताबारे हब्सको महत्त्वपूर्ण योगदान छ ।
हब्सले राज्यसम्बन्धी आवश्यकताको सिद्धान्त सन् १६५१ मा लेभियाथान नामक पुस्तकमार्फत गरेका थिए । त्यसको ३० वर्षपछि सन् १६८९ मा सरकार निर्माणको दुई सम्झौताको सिद्धान्त भन्ने पुस्तकमार्फत जोनलकले जनताले सामूहिक रूपले एक सम्झौतामार्फत एक सार्वभौम संस्थालाई आफ्नो जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्ने दायित्व सबै सुम्पेर सरकारको निर्माण गरेको हुन्छ । यसरी निर्माण भएको सार्वभौम सरकारले जनताको जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्न असफल भएको अवस्थामा विद्रोहमार्फत सार्वभौम सरकार भङ्ग गर्न सक्ने अधिकार जनतामा सुरक्षित रहन्छ । जनताले आफ्नो जीवन, परिश्रमको आर्जनको सम्पत्ति र प्राकृतिक रूपले प्राप्त स्वतन्त्रताको अधिकारको रक्षा गर्न असमर्थ भएको अवस्थामा जनताले पहिले हस्तान्तरण गरेको सार्वभौम पुनः जनतामा फर्किने सिद्धान्त नै राज्य वा सरकारको उत्पत्तिको सामाजिक सम्झौताको सिद्धान्त हो । यसै सिद्धान्तलाई सरकार वा राज्यको उत्पत्तिको सामूहिक सम्झौताको सिद्धान्त भनिन्छ ।
सामूहिक सम्झौतामार्फत जनतामा निहित प्राकृतिक सार्वभौम सबै अधिकार सार्वभौमलाई हस्तान्तरण हुने सामाजिक सम्झौताको सिद्धान्त नै लोकतन्त्रको आधार हो । प्रत्येक चार वा पाँच वर्षपछि जनतामा निहित प्राकृतिक सार्वभौम अधिकार लिन राजनीतिक दल जनताको मतमार्फत अनुमोदन हुने वालिग मताधिकारको व्यवस्था नै लोकतान्त्रिक व्यवस्था हो । यदि यसबिचमा सरकारमा रहने राजनीतिक दल जनताको जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्न असफल भएको स्थितिमा जनताले विद्रोहमार्फत निश्चित समयअगावै आफ्नो प्राकृतिक सार्वभौम अधिकार फिर्ती गर्न सक्ने प्रणाली नै वास्तविक लोकतन्त्र हो ।
सामाजिक सम्झौताको सिद्धान्त : वास्तविक लोकतन्त्र
थमस आफ्नो सामाजिक सम्झौताको चिन्तनमा राज्यको अस्तित्व हुनुभन्दा अगाडिको स्थितिलाई प्राकृतिक अवस्था भन्ने गर्दछन् । राज्यविहीन अवस्थामा मानिसको स्वभावलाई प्राकृतिक स्वभाव भन्दछन् । मानिस राज्यविहीन अवस्थामा सम्पत्तिका लागि एक-आपसमा काटमारमा उत्रने, एउटाको परिश्रमको सम्पत्ति बलियो मानिसले लुट्ने, चोर्ने स्वभावको हुने, व्यक्ति-व्यक्तिबिच नै युद्धरत स्थितिमा रहने, कसैले कसैको जीवन, सम्पत्तिको रक्षा र सम्मान नगर्ने, सम्पत्तिको कारण मानिसको जीवन एकदम असुरक्षित हुने, मृत्युको भयको कारण मानिस एक-आपसमा डर र त्रासमा रहने, प्रत्येक व्यक्तिको जीवन छोटो समयको हुने, व्यक्तिको स्वार्थी र निर्दयी स्वभावको कारण समाज अराजक र अस्थिर हुने गर्दछ । यस्तो प्राकृतिक अवस्थामा कुनै विकास र प्रगति नहुने, उद्योग-धन्दा र व्यापार असम्भव हुने हुँदा यो परिस्थितिबाट बाहिर ल्याउन मानिसलाई अधिकारविहीन अवस्थामा ल्याउन आवश्यक हुन्छ । मानिसलाई अराजक गतिविधिबाट अलग्याउन अधिकारविहीन स्थितिमा पुर्याउन उसको अधिकार एउटा सार्वभौम अस्तित्व खडा गरी सबै मानिसलाई अधिकारविहीन स्थितिमा राख्नु नै राज्यको उत्पत्तिको अवस्था हो ।
राज्य मानिसको सम्पूर्ण प्राकृतिक अधिकारको सङ्ग्रहसहितको सार्वभौम हो । यो सार्वभौमभित्र सबै मानिसको प्राकृतिक अधिकार सङ्ग्रहित हुन्छ र प्राकृतिक मानिस पूर्णरूपले अधिकारविहीन स्थितिमा रहन्छ । मानिस अधिकारविहीन स्थितिमा रहँदा काटमार, लुटपाट र अराजक स्थितिको अन्त्य हुन्छ र बलियो राज्यको निर्माण हुन्छ । सार्वभौम यस्तो राज्य हो जसमा सबै नागरिकले आफ्नो प्राकृतिक अधिकार जीवनको सुरक्षाका लागि राज्यलाई हस्तान्तरण गरेर नागरिक अधिकारविहीन स्थितिमा पुग्न मन्जुर गरेको अवस्था हो । राज्य नागरिकको प्राकृतिक अधिकार सङ्ग्रहित रहेको सर्वसक्तिमान सार्वभौम अमूर्त अस्तित्व हो । राज्यले निर्माण गरेको नियम-कानुनभित्र आफ्नो गतिविधि गर्नु नै नागरिकको अधिकार हो । नागरिकले अगाडि नै आफ्नो जीवनको सुरक्षाका लागि आफ्नो सम्पूर्ण प्राकृतिक अधिकार त्यागिसकेको हुन्छ । राज्यले नियम-कानुनको निर्माण गरेर पुनः नागरिकको प्राकृतिक अधिकार उसलाई फिर्ती गरेको हुन्छ । नियम-कानुन भन्दा बाहिर नागरिकसँग कुनै पनि अधिकार नरहने स्थिति नै राज्यको अस्तित्वको स्थिति हो ।
यही सिद्धान्तलाई पछि जोनलकले जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्ने सम्पूर्ण दायित्व सार्वभौम सरकारको हो भन्ने चिन्तन अगाडि सारे । जनताको जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्न नसक्ने सार्वभौमलाई विद्रोहमार्फत सार्वभौमविहीन तुल्याई सम्पूर्ण सार्वभौम जनता आफैँमा फर्काउन सकिने व्यवस्था नै वास्तविक लोकतन्त्र हो । जोनलकले प्रतिपादन गरेको यो विधि नै आज संसारभर लोकतान्त्रिक प्रणालीको नामले प्रसिद्ध छ । (पेसाले औषधि व्यवसायी श्रेष्ठ नुवाकोटको इतिहासका जानकार हुनाका साथै दर्शन विषयमा कलम चलाउनुहुन्छ ।)




प्रतिक्रिया