+
Search

ताजा अपडेट +

पपुलर +

जन्ती जुधेर झन्डै मारामार

जन्ती जुधेर झन्डै मारामार
त्रिशूली प्रवाह
४ घण्टा अगाडी

अहिलेको विदुर नगरपालिका-८, पहिलेको कल्याणपुर गाउँ पञ्चायत खुर्साने गाउँका नामी बोगटी परिवारका साहिँला बोगटीका एक मात्र छोरा लालबहादुर उमेरमा मभन्दा अलि कान्छा थिए । उनको विवाहमा जन्तीको निम्ता पाएर म पनि गएको थिएँ ।

तारुका जाने बाटो खुर्सानेबाट सामरी खोला किनारैकिनार सामरी भञ्ज्याङबाट देब्रेपट्टि कल्लाबारीका निगालाका झाङहरू भएको तामाङ बस्ती काटेपछि विशाल ओखरका रुख हेर्दै जाँदा डाँडाखर्कको लेक सल्लाघारी आयो । त्यहाँ डाँडाको भञ्ज्याङमा लामालामा काठका खम्बाले बनाएको चितुवा थुन्ने खोर पनि थियो । त्यतिवेला गाउँ र जङ्गलका दोबाटामा खोरमा चितुवा भित्र पस्दा आफैँ बन्द भएर थुनिएपछि त्यहीँ भरुवा बन्दुकले सबै गाउँलेकै अगाडि मार्ने चलन रहेछ । सल्लाघारी पार गरेर ओरालो झरेपछि तारुका गाउँबिचमा सुवेदार चक्रबहादुरजीकी छोरीको विवाह भव्य र आकर्षक बनाउन मटान, दलान भएको घर थियो र ठुलो आँगनमा चँदुवा टाँगेर बनाइएको जग्गे थियो ।

त्यस जन्तीबाट छानेर पाएसम्म ब्राह्मण छानेर साइपाटा भत्करु पठाउने परम्पराअनुसार दुई भत्करु र चारजनालाई साइपाटा बोकाएर पठाए हुने हो । तर, क्षेत्री काजीको फुर्ती ठुलै भएकाले बेहुली घरभन्दा वरै चौरमा बुट्टेदार किस्ती १५ थान र खाने मसला, रोटी, अर्सा, अनर्सा आदिदेखि अमलासम्म राखेर १७ भत्करु पठाइने भयो । खुर्साने र कुपिन्डे गाउँमा जम्मा तीन घर मात्र ब्राह्मण भएकाले मगर र क्षेत्री धेरै भए । एउटा किस्तीमा एक चिज मात्र राख्ने चलन रहेछ । साइपाटाको लर्कन वल्लो डाँडाबाटै आएको देखेर त्यहाँ दही, केरा, कसार, रोटीको खाजा दिने चलन छाड्ने सल्लाह भइसकेको रहेछ । हामी त्यहाँ पुगेर जग्गेको चारैपट्टि ओछ्याइएको राडीमा बसेर आ-आपूmले बोकेका किस्ती रुमाल निकालेर जग्गेभरि फिँजाएपछि एक बुढा सबैलाई रातो टीका लगाउँदै अगाडि गए । पछाडि अर्का बुढा तामाको पाँच पैसा दक्षिणा दिँदै भित्र गए । दही, रोटी, कसार खाजाको आशा गरेर ५-६ मिनेट जति बसेपछि एक १५-१६ वर्षे केटाले ढोकाअगाडिका थाममा अँगालो मार्दै उभिएरै भन्यो-अब जानुहोस्, किन बसिराको ? अनि सबै भत्करुले आपसमा मुखामुख गरी उठेर बेहुली भतेर र जन्ती दुलाहा बसेको ठाउँ बारीको पाटामै गयौँ ।

यसरी नयाँ अनुभव गरेका भत्करुजति बेहुली भतेर खाएपछि आँगनमा बिचमा रातभरि परालमा बसेर गफ गर्दै चुरोट तान्दै रात काटेर बिहानै जन्तीबाख्रो भोज पकाउन सबै तयारी गरेर क्षत्रीको दाउरा, भाँडा र दुनाटपरी मात्र दिने चलनअनुसार लिएर आफ्नै भरियाले लगेको दाल, चामल, तरकारी र खसीसमेत लिई पानीको धारो भएका ठाउँमा गयौँ । त्यसवेला जन्तीलाई पिँढीमा बस्न दिने चलनै थिएन । आँगनकै जग्गेवरिपरि अलिअलि पराल ओछ्याएको ठाउँमै बसेरै रात काट्नुपथ्र्यो ।

पँधेरानजिकै ठुलो पाटामा खसी काटेर जन्तीबाख्रो भतेर खाई बाजा बजाउँदै दुलही माग्न आँगनमा दमाईंले बाजा घन्काएर नाची धेरै बेरपछि दुलही अन्माएर सम्धी-सम्धी भेट गरेपछि उकालो चढेर अघिकै सल्लाघारीकै बाटो सरासर जाँदा सामरी खोलाको डेउडी फाँटको पुच्छारको ठुलो गरामा रिपेली खड्काको छोराको बिहेको दुलही लिएर फर्केको जन्तीले बाटो छेक्यो । नरसिंहाबाट धोती घो, धोती धो, धोती धो भन्ने आवाजमा बाजा बजाएपछि लौ जन्ती जुध्यो भनेर ठुलो हल्लाखल्ला भयो । अँध्यारो रातमा एक-दुई लाल्टिन बालेर आएका दुवैपट्टिका जन्तीले भन्न थाले, लौ-लौ, दुलाहा र दुलहीको सुरक्षा गर है ।

जन्ती भेटिएपछि आ-आफू आफैँ दाहिनेपट्टि लाग्नुपर्ने परम्परा रहेछ । तर, अगाडि दमाईं, त्यसपछि कलश बोक्ने कलस्यौली, अनि दुलहीको डोली, त्यसका पछाडि दुलाहाको डोली र जन्ती जानुपर्नेमा दमाईंले मूलबाटो छाड्न नमान्नाले अत्तो थापेर निहुँ खोजेको भन्ने चलन रहेछ । खेतको खाली गरामा अँध्यारामा एक-अर्कालाई घोक्रेठ्याक लगाउँदै दुवैथरी जन्तीमा हानाथाप भयो । त्यही वेलामा हर्कपुरका साहु जेठा ओझा ललितबहादुरले गाँठेलौरो घुमाउँदै उफ्रेर भने, ‘के हो यो, विराजा मुलुक हो ? रिपेली खड्का र खुर्सानेका बोगटी सबै फुपू-चेला, मामा-चेला लडाइँ गराउने ? को-को हो, लौ आइजा, मलाई हान् ।’ पछि कुन्नि, कसरी शान्ति भयो, थाहा पाइनँ, म त ११ वर्षे केटो । त्यसरी आधा रातमा खुर्सानेमा पुगेर भित्र्याएकी दुलही त्रिशूली, कोलोनीको हात्तीगौँडा भाँडा पसलमा एक मात्र छोराबुहारीका साथमा हुनुहुन्छ । मेरा दौँतरी लालबहादुरजीलाई श्रद्धाञ्जलि अर्पण गर्छु ।

                                                                                                                                                                                                                                                                                                      विदुर-४, बागवानी, नुवाकोट

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह