वैदिक सनातन परम्परामा पितृपूजा केवल धार्मिक कर्मकाण्डमा सिमित विषय नभई मानव सभ्यता, सामाजिक संरचना र नैतिक चेतनासँग गहिरो रूपमा जोडिएको सांस्कृतिक अभ्यास हो । जन्म, जीवन र संस्कारको निरन्तरतामा पूर्वजको योगदानलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धा, कृतज्ञता र उत्तरदायित्व प्रकट गर्ने माध्यमका रूपमा श्राद्ध, तर्पण र पिण्डदानलाई विशेष महत्त्व दिइएको छ । पितृप्रतिको यही श्रद्धाले व्यक्ति र समाजबिचको नैतिक सम्बन्धलाई बलियो बनाउँदै पुस्तान्तरणको सांस्कृतिक निरन्तरता सुनिश्चित गर्छ ।
नेपालको धार्मिक भूगोलमा पितृकर्मका लागि विशिष्ट मानिने तीर्थस्थलमध्ये नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाम एक ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित छ । प्राकृतिक रूपमा पवित्र त्रिशूली, सलाखु र फलाखु खोलाको त्रिवेणीमा अवस्थित यस तीर्थस्थलले प्राचीन कालदेखि नै पितृमोक्षको विश्वास बोकेको छ । उत्तरगयाधाम केवल श्राद्ध गर्ने स्थल मात्र नभई धार्मिक आस्था, पुराणीय इतिहास र सामाजिक विश्वासको संगमस्थलका रूपमा परिचित छ । विशेषगरी पौषेऔँशी (पौषकृष्ण औँशी) का दिन उत्तरगयाधाममा देखिने श्रद्धालुको विशाल उपस्थिति पितृपूजाप्रतिको गहिरो आस्था अझै जिवित रहेको स्पष्ट सङ्केत हो । वैदिक पात्रोअनुसार दक्षिणायनको अन्तिम औँशी भएकाले यस दिन गरिने श्राद्धलाई अत्यन्त फलदायी मानिन्छ । वर्षभरी नियमित रूपमा पितृकर्म गर्न नपाएका वा विभिन्न कारणले श्राद्ध रोकिएका परिवारले पौषेऔँशीलाई पितृप्रतिको दायित्व पूरा गर्ने विशेष अवसरका रूपमा लिने गरेका छन् ।
उत्तरगयाधाममा गरिने श्राद्ध केवल व्यक्तिगत धार्मिक कर्म नभई सामुहिक सांस्कृतिक अभ्यास पनि हो । यहाँ आउने श्रद्धालुमा नेपालका विभिन्न भू-भागसँगै भारतका तीर्थस्थल जान नसकेका भक्तजन समेत समावेश हुन्छन् । यसले उत्तरगयाधामलाई पितृश्रद्धाको राष्ट्रिय मात्र नभई क्षेत्रीय केन्द्रका रूपमा समेत स्थापित गरेको छ । समय, स्थान र पुस्ताबिचको सम्बन्धलाई जोड्ने यस्तो परम्पराले आधुनिक जीवनशैलीका बिच पनि नेपाली समाजमा पितृपूजाको सांस्कृतिक महत्त्वलाई जीवन्त बनाइरहेको छ । यसरी पौषेऔँशी र उत्तरगयाधाम केवल धार्मिक अनुष्ठानका विषय मात्र नभई इतिहास, आस्था, संस्कृति र सामाजिक चेतनाको गहिरो विम्बका रूपमा नेपाली समाजमा स्थापित छन् । पितृप्रतिको स्मृति र श्रद्धालाई पुस्तान्तरण गर्दै लैजाने यो परम्परा उत्तरगयाधामको धार्मिक गरिमासँगै नेपाली सांस्कृतिक पहिचानको अभिन्न अङ्ग बनेको छ ।
पौषेऔँशी : किन विशेष ?
पौषेऔँशीलाई वैदिक पात्रोअनुसार दक्षिणायनको अन्तिम औँशीका रूपमा विशेष महत्त्वकासाथ लिइन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार दक्षिणायनको समाप्तीसँगै सूर्य उत्तरायणतर्फ उन्मुख हुने भएकाले यस दिन गरिने पितृकर्मलाई अत्यन्त प्रभावकारी र फलदायी मानिन्छ । यही कारणले पौषेऔँशीलाई पितृपूजाको दृष्टिले वर्षकै महत्त्वपूर्ण दिनमध्ये एकका रूपमा स्वीकार गरिएको छ । धर्मशास्त्रीय मान्यताअनुसार वर्षभरी नियमित रूपमा श्राद्ध गर्न नपाएका, विविध पारिवारिक, सामाजिक वा भौतिक कारणले पितृकर्म अवरूद्ध भएका व्यक्तिले पौषेऔँशीका दिन श्रद्धापूर्वक श्राद्ध गरेमा दिवंगत पितृले मोक्ष प्राप्त गर्ने विश्वास रहिआएको छ । पितृप्रतिको कर्तव्य पूरा गर्न नसकेको आत्मग्लानीबाट मुक्त हुने अवसरका रूपमा पनि पौषेऔँशीलाई हेरिन्छ । यस दिन श्राद्ध विधिअनुसार पितृलाई विधिपूर्वक आह्वान गरी तर्पण, सिधादान तथा पिण्डदान गरिन्छ । शास्त्रीय विधिअनुसार पितृकर्म गर्दा शुद्धता, संयम र श्रद्धालाई विशेष महत्व दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार औँसीका दिन पितृसम्बन्धी कर्मकाण्ड सूर्य अस्ताउनु अघि नै सम्पन्न गर्नुपर्ने स्पष्ट शास्त्रीय मान्यता रहेको छ, जसले कर्मकाण्डको समय निर्धारणलाई थप अनुशासित बनाउँछ । पौषेऔँशी केवल धार्मिक अनुष्ठानको दिन मात्र नभई पितृप्रतिको स्मृति, सम्मान र कृतज्ञता व्यक्त गर्ने सामुहिक सांस्कृतिक अवसर पनि हो । यही कारणले यस दिन उत्तरगयाधामलगायत देशभरका पितृतीर्थस्थलमा श्रद्धालुको उल्लेख्य उपस्थिति देखिन्छ । जसले नेपाली समाजमा पितृपूजाको ऐतिहासिक र सांस्कृतिक महत्व अझै सुदृढ रहेको सन्देश दिन्छ ।
उत्तरगयाधाम : नेपालको पवित्र पितृतीर्थ
उत्तरगयाधाम नुवाकोट र रसुवाको सीमाक्षेत्रमा पर्ने बेत्रावती क्षेत्रमा अवस्थित नेपालको एक प्रमुख पितृतीर्थ हो । भौगोलिक र धार्मिक दृष्टिले विशिष्ट मानिने यस स्थानमा त्रिशूली, सलाखु र फलाखु खोलाको त्रिवेणी रहेको छ, जसले उत्तरगयाधामलाई प्राकृतिक रूपमा नै पवित्र र तिर्थीय महत्वयुक्त बनाएको छ । नदीको संगमस्थललाई वैदिक सनातन परम्परामा विशेष पवित्र मानिने भएकाले बेत्रावती प्राचीन कालदेखि नै पितृकर्मका लागि उपयुक्त स्थलका रूपमा परिचित रहँदै आएको छ । हिन्दु धर्मावलम्बीले यस क्षेत्रलाई ‘उत्तरगया’ भनेर मान्दै पितृको नाममा श्राद्ध, तर्पण, दान तथा पिण्डदान गर्ने परम्परा अपनाएका छन् । उत्तरगया नाम आफैंमा पितृमोक्षको प्रतिक मानिन्छ, जसले यस धामको धार्मिक गरिमालाई झन् उच्च बनाएको छ । धार्मिक विश्वासअनुसार यहाँ विधिपूर्वक पितृकर्म गरेमा दिवंगत पितृले मोक्ष प्राप्त गर्ने जनआस्था रहिआएको छ । धर्मशास्त्रीय मान्यताअनुसार बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिने हिन्दुकुश क्षेत्रका चार गयामध्ये एक गयाका रूपमा लिइन्छ । चार गयामध्ये तीन गया भारतमा अवस्थित छन् । त्यसैले भारतको गया तीर्थसम्म जान नसक्ने वा जान कठिन हुने श्रद्धालु नेपालमै रहेको उत्तरगयाधामलाई वैकल्पिक मात्र नभई समान धार्मिक महत्त्वको पितृतीर्थका रूपमा स्वीकार गर्दै आएका छन् । यसकारण उत्तरगयाधाम नेपालको मात्र नभई क्षेत्रीयस्तरमै पितृश्रद्धाको केन्द्रका रूपमा विकसित भएको छ । उत्तरगयाधामको महत्त्व धार्मिक कर्मकाण्डमा मात्र सिमित छैन । यस स्थानले धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र सामाजिक आस्थालाई समेत एकसाथ जोड्ने काम गरेको छ । पौषेऔँशी, महालय श्राद्ध र अन्य पितृकर्मका अवसरमा यहाँ देखिने भक्तजनको उल्लेख्य उपस्थितिले उत्तरगयाधामको ऐतिहासिक निरन्तरता र वर्तमान सान्दर्भिकता दुवैलाई उजागर गर्छ । यसरी त्रिवेणीको प्राकृतिक पवित्रता, पुराणीय मान्यता र जनविश्वासको संयोजनले उत्तरगयाधामलाई नेपालको एक अनुपम पितृतीर्थका रूपमा स्थापित गरेको छ, जहाँ आस्था, परम्परा र इतिहास एकै स्थानमा संगम भएको देखिन्छ ।
धार्मिक इतिहास र पुराणीय मान्यता
उत्तरगयाधामको धार्मिक महत्त्व केवल वर्तमान आस्थामा सिमित छैन, यसको जरा प्राचीन पुराणीय इतिहास र धार्मिक किम्वदन्तीसँग गहिरो रूपमा गाँसिएको छ । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गंगाको प्रवाह भएकाले यस पवित्र भूमिलाई ‘बेत्रगंगा’ का नामले चिनिएको हो । यही पुराणीय सन्दर्भले उत्तरगयाधामलाई पितृकर्मका लागि विशेष पुण्यदायीस्थलका रूपमा स्थापित गरेको मानिन्छ । धार्मिक किम्वदन्तीअनुसार सत्ययुगमा देवता र दानवले अमृत प्राप्तिका लागि समुद्र मन्थन गर्दा अत्यन्त घातक हलाहल (काँलकुट) विष उत्पन्न भयो । संसार नै विनाशको सङ्कटमा पर्दा महादेवले करूणावश उक्त विष आफ्नै घाँटीमा धारण गरी श्रृष्टिको रक्षा गरेका थिए । विषको असह्य ताप शान्त पार्न महादेव उत्तर हिमालयतर्फ भौतारिँदा यसै क्षेत्रमा आइपुगेको विश्वास गरिन्छ । जनविश्वासअनुसार महादेवले बेतको लौरोले पहाडमा प्रहार गर्दा त्यहाँबाट बेत्रगंगा (देवी गंगा) उत्पन्न भयो, जसको शीतल जलले विषको ताप कम भएको मानिन्छ । त्यसैगरी, महादेवले त्रिशूल प्रहार गर्दा निस्किएको जलबाट त्रिशूली नदी बगेको धार्मिक विश्वास रहिआएको छ । यी दुवै पवित्र नदी अन्य साना खोलासहित संगम हुने स्थान नै वर्तमान बेत्रावती हो । त्रिशूली, बेत्रगंगा (सलाखु/फलाँखु) लगायत नदीको संगमस्थल बेत्रावतीलाई वैदिक परम्परामा विशेष पुण्यभूमि मानिन्छ । यहीकारण पौष कृष्णऔँशीका दिन यहाँ सबै देवता र मृतात्माको अदृश्य जमघट हुने जनविश्वासका साथ श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा विकसित भएको मानिन्छ । पितृले यस दिन आफ्ना सन्तानबाट श्रद्धा प्राप्त गरी मोक्षतर्फ उन्मुख हुने विश्वासले उत्तरगयाधामलाई पितृश्रद्धाको केन्द्र बनाएको छ । यसरी उत्तरगयाधामको धार्मिक इतिहास केवल मिथक वा किम्वदन्तीमा सिमित नभई पुस्तौंदेखि पुस्तासम्म स्थानान्तरणहुँदै आएको जनआस्था, सांस्कृतिक अभ्यास र धार्मिक चेतनाको निरन्तरता हो । पुराणीय मान्यताले उत्तरगयाधामलाई आध्यात्मिक दृष्टिले उच्च स्थानमा पु¥याएको छ भने आज पनि यही विश्वासले हजारौँश्रद्धालुलाई यहाँसम्म डो¥याइरहेको छ ।
श्राद्ध परम्परा : विधि, शास्त्रीय आधार र धार्मिक विश्वास
हिन्दु धर्मशास्त्रअनुसार श्राद्ध परम्परा पितृप्रतिको श्रद्धा, कृतज्ञता र आध्यात्मिक उत्तरदायित्वको महत्त्वपूर्ण प्रतिक मानिन्छ । शास्त्रीय विधानअनुसार ‘दर्श श्राद्ध’ को अवसरमा घरतर्फका तथा मामाघरतर्फका गरी तीन-तीन पुस्तासम्मका पितृको स्मरण गर्दै विधिपूर्वक पिण्डदान गर्ने परम्परा रहिआएको छ । यस कर्मलाई पितृलोकमा रहेका आत्माको तृप्ती, शान्ति तथा सद्गतिको साधनका रूपमा व्याख्या गरिएको छ । त्यसैगरी ‘महालय श्राद्ध’ लाई श्राद्ध परम्पराको अत्यन्त महत्त्वपूर्ण र व्यापक पक्ष मानिन्छ । महालय अवधिमा कुल, गोत्र वा सम्बन्धको सीमाभन्दा पर गई ज्ञात तथा अज्ञात सबै पितृको नाममा पिण्डदान गर्ने चलन वैदिक कालदेखि नै स्थापित रहेको पाइन्छ । धर्मशास्त्रमा महालय श्राद्धलाई पितृ स्वयम् पृथ्वीमा अवतरण गर्ने विशेष समयका रूपमा वर्णन गरिएको छ, जसका कारण यस अवधिमा गरिएको श्राद्ध अत्यन्त फलदायी मानिन्छ । तर पछिल्ला वर्षमा आधुनिक जीवनशैली, समयाभाव तथा धार्मिक चेतनामा आएको परिवर्तनका कारण महालय श्राद्धको विधि क्रमशः लोपोन्मुख हुँदै गएको तथ्य धर्मशास्त्रविद्ले औंल्याउँदै आएका छन् । यसै सन्दर्भमा पौष कृष्णऔँशीको दिन विशेष धार्मिक महत्व बोकेको मानिन्छ । यस दिन आमाबाबु दिवंगत भइसकेका व्यक्तिले सकेसम्म प्रत्येक वर्ष र यदि सम्भव नभए जीवनमा कम्तीमा एकपटक भए पनि उत्तरगयाधाममा श्राद्ध तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ । उत्तरगयाधामलाई पितृमोक्षको विशेष तीर्थस्थलका रूपमा लिइन्छ, जहाँ सम्पन्न गरिएको श्राद्धले पितृको उद्धार, आत्मिक शान्ति र कुलको कल्याण सुनिश्चित गर्ने धार्मिक विश्वास रहिआएको छ ।
धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको जीवन्त उदाहरण : उत्तरगयाधाम
उत्तरगयाधाम केवल हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मात्र नभई बौद्ध धर्मावलम्बीको लागि समेत गहिरो श्रद्धा र विश्वासको स्थलका रूपमा स्थापित हुँदै आएको छ । यस पवित्रधाममा विभिन्न धार्मिक परम्परा, संस्कार र आस्थाले एकअर्कालाई सम्मान गर्दै सहअस्तित्व कायम गरेको स्पष्ट देख्न सकिन्छ । हिन्दु धर्मावलम्बी यहाँ आफ्ना दिवंगत पितृको स्मरणमा श्राद्ध, पिण्डदान, तर्पण तथा दान-पुण्य जस्ता वैदिक कर्म विधिपूर्वक सम्पन्न गर्ने गर्छन् । यी कर्म पितृको आत्मिक शान्ति, सद्गति तथा कूलकल्याणका लागि गरिने धार्मिक दायित्वका रूपमा मानिन्छन् । अर्कोतर्फ, बौद्ध धर्मावलम्बीले आफ्ना दिवंगत आफन्तको पुण्यस्मृतिमा लामाबाट विशेष मन्त्रपाठ गराई बत्ती बाल्ने, प्रार्थना गर्ने तथा शान्तिकामना गर्ने परम्परा अवलम्बन गर्दै आएका छन् । यसरी एउटै पवित्र स्थलमा विभिन्न धर्म र संस्कृतिका अनुयायीले आ-आफ्ना धार्मिक विधि, विश्वास र संस्कार निर्विघ्न रूपमा पालना गर्नु उत्तरगयाधामको विशिष्ट पहिचान बनेको छ । यसले धार्मिक सहिष्णुता, आपसी सम्मान र सांस्कृतिक एकताको सशक्त सन्देश प्रवाह गर्नुका साथै नेपालजस्तो बहुधार्मिक र बहुसांस्कृतिक समाजको मौलिक चरित्रलाई समेत उजागर गरेको छ ।
आजको सन्दर्भ र व्यवस्थापन : युवाको सक्रिय सहभागिता
पौषे औँशीका दिन उत्तरगयाधाममा हजारौँ श्रद्धालुको आगमन हुने भएकाले भीड व्यवस्थापन, सरसफाई, सुरक्षा तथा समन्वय अत्यन्तै चुनौतीपूर्ण हुन्छ । यस वर्ष पनि श्रद्धालुको ठूलो चापलाई व्यवस्थित बनाउन स्थानीय तहसँगै सामाजिक संस्था र युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विशेषगरी गोसाईँकुण्ड युवा क्लब तथा बेत्रावती क्षेत्रका स्थानीय युवाको सक्रिय सहभागिता उत्तरगयाधामको व्यवस्थापनलाई सफल बनाउन निर्णायक बनेको छ । नदी किनारमा श्रद्धालुलाई सुरक्षित रूपमा श्राद्ध गर्न सहयोग पु¥याउने, आवतजावतलाई व्यवस्थित गर्ने, वृद्धवृद्धा तथा असहाय भक्तजनलाई सहजीकरण गर्ने तथा सरसफाई र फोहोर व्यवस्थापनमा युवा दिनभर खटिएका छन् । भीड बढी हुने समय र स्थानमा स्वयम्सेवकका रूपमा परिचालित युवाले दुर्घटना न्यूनीकरण, लाइन व्यवस्थापन र जानकारी प्रदान गर्ने काम गरेका छन् । यसले श्रद्धालुलाई सहज वातावरणमा पितृकर्म सम्पन्न गर्न सहयोग पुगेको छ । स्थानीय प्रशासन र विदुर नगरपालिकासँग समन्वय गर्दै गोसेकुण्ड युवा क्लबका सदस्य तथा बेत्रावतीका युवाले धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् । धार्मिक पर्व तथा तीर्थस्थलको व्यवस्थापनमा युवाको यस्तो सक्रियता उत्तरगयाधामको गरिमा अभिवृद्धि गर्नुकासाथै भावी पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने सकारात्मक सङ्केतका रूपमा पनि हेरिएको छ । आधुनिक समयमा धार्मिक परम्परालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन युवाको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको देखिन्छ ।
निष्कर्ष
पौषेऔँशी र उत्तरगयाधाम केवल परम्परागत धार्मिक कर्मकाण्डमा सिमित विषय मात्र होइन; यी पितृप्रति श्रद्धा, स्मृति र कृतज्ञताको जीवित सांस्कृतिक अभ्यासका रूपमा स्थापित छन् । पितृपूजामार्फत आफ्ना पूर्वजको योगदानलाई स्मरण गर्नु, उनीहरूप्रति सम्मान प्रकट गर्नु तथा आत्मिक ऋणबाट मुक्त हुने भावनाले नेपाली समाजमा यस परम्परालाई पुस्तौंदेखि निरन्तरता दिएको छ । आधुनिक जीवनशैली, तीव्र शहरीकरण र व्यस्त दैनिकताबिच पनि पौषेऔँशीका अवसरमा उत्तरगयाधाममा देखिने भक्तजनको उल्लेखनीय उपस्थितिले पितृपूजाप्रतिको जनआस्था अझै पनि गहिरो र सशक्त रहेको स्पष्ट सन्देश दिन्छ । यसले परम्परा र आधुनिकताबिचको सन्तुलन कायम गर्दै नेपाली समाजले आफ्नो सांस्कृतिक पहिचानलाई कसरी जोगाइराखेको छ भन्ने तथ्यलाई समेत उजागर गर्छ । इतिहास, धर्म, संस्कृति, सहिष्णुता र विश्वासको अनुपम संगम बनेको उत्तरगयाधाम केवल एक तीर्थस्थल मात्र नभई नेपाली सभ्यता र सामाजिक चेतनाको प्रतिक हो । यस्ता पवित्र स्थल र परम्पराको संरक्षण, प्रवद्र्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो । यस अर्थमा, उत्तरगयाधाम नेपाली समाजको अमूल्य धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा सदैव सम्मानपूर्वक जीवित रहने विश्वास गर्न सकिन्छ ।
विदुर-१, ढुंगे, नुवाकोट




प्रतिक्रिया