विदुर । सरकारले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको क्रममा प्रहरीको गोली लागी मृत्यु भएकामध्ये ४५ व्यक्तिको नाम सहिदको सूचीमा समावेश गरी सार्वजनिक गरेको छ । उक्त सहिदको नामको लहरमा तादी-३, खरानीटार, नुवाकोट स्थायी घर भई हाल तारकेश्वर नपा-४, गणेशस्थान, काठमाडौँमा बस्दै आएको धीरज श्रेष्ठको नाम पनि रहेको छ । २५ वर्षीय श्रेष्ठको भदौ २४ मा बालाजुमा प्रहरीको गोली लागी घटनास्थलमै मृत्यु भएको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेर गत कात्तिक १७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी धीरजसहित ४५ जनालाई सहिद घोषणा गरेको हो । सरकारले उक्त आन्दोलनको क्रममा ज्यान गुमाएका ७७ मध्ये ४५ व्यक्तिलाई मात्र सहिद घोषणा गरेर नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । प्रकाशित सूचीको २६ नम्बरमा धीरजको नाम समावेश छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताको विरुद्धमा जेनेरेसन-जेड (जेन-जी) युवाहरूले गत भदौ २३ मा काठमाडौंमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । ‘युवा पुस्ताको आवाजको सम्मान गरियोस्, देशमा पारदर्शितासहित नागरिक अधिकार सुनिश्चित होस्’ उनीहरूको माग थियो । आन्दोलनको पहिलो दिनमै राज्यले बर्बर दमन ग¥यो । शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थीमाथि गोली चल्दा १९ युवाको मृत्यु भयो र सयौँ घाइते भए । सोही दृश्य नजिकबाट नियालिरहेका तादी-३, खरानीटारका २५ वर्षीय धीरज श्रेष्ठ भदौ २४ मा बालाजुमा प्रहरीको गोलीबाट सहिद भए । धीरज सामाजिक रूपमा सक्रिय, साहसी र निडर व्यक्ति रहेको उनका साथीहरू बताउँछन् । बुबा नारायण र आमा मेनुका श्रेष्ठको दुई छोरामध्ये कान्छा धीरज सानैदेखिको आत्मविश्वास, स्पष्टता र जिम्मेवार स्वभावका कारण चिनिन्थे । जेठो दाजु धीरन नौ वर्षदेखि अस्ट्रेलियामा छन् । ‘धीरजले जे भन्थ्यो, पूरा गथ्र्यो,’ बुबा सम्झिन्छन्, ‘अन्यायको विरोध, सबैप्रति सम्मान-यही उसका गुण थिए ।’ घर-परिवार, साथीभाई र छिमेक सबैको श्रद्धा उनीप्रति विशेष थियो ।
गत डेढ वर्षदेखि जुत्ता-कपडाको अनलाइन व्यवसायमार्फत आत्मनिर्भर बनेका धीरजको सामाजिक सञ्जाल बन्द भएपछि व्यापार प्रभावित हुन गयो, जसले उनीभित्र अन्याय र असन्तुलित निर्णयप्रति आक्रोश जगायो । यसै कारणले भदौ २३ मा बानेश्वरमा भएको जेन-जी आन्दोलनमा उनी खुलेर सहभागी भए । आन्दोलनमा गोलीको छर्राले घाइते साथीलाई देखेपछि उनमा न्यायप्रतिको दृढता झनै बढ्यो । त्यही साँझ घर फर्कँदा उहाँको अनुहार शान्त देखिए पनि मनभित्रको पीडा र रोष बुबाआमाले सहजै पहिल्याएका थिए । ‘अन्यायमाथि चुप लागेर बस्न हुँदैन,’ उनी आक्रोश पोख्थे । भदौ २४ को दिउँसो १ बजेतिर धीरज घाइते साथी भेट्न घरबाट निस्कँदै गर्दा आमाले सावधानी अपनाउन आग्रह गरेकी थिइन्, ‘देशभर अशान्त छ बाबु, भिडभाडमा केही हुन सक्छ ।’ तर, धीरजको उत्तर थियो, ‘म धेरै टाढा जाँदिनँ, साथी भेटिनँ भने बालाजु चोकसम्म हिँडेर फर्किन्छु ।’ छोराको देशप्रेम, विश्वास र निडरताले परिवारमा पनि आन्दोलनप्रतिको एकता बढ्दै गएको थियो । अघिल्लो दिन निर्दोष विद्यार्थीमाथि गोली चलाइएको दृश्य धीरजको मनमा गहिरो चोट बनेर बसेको थियो । ‘यस्तो वेला चुप बस्नु पापजस्तै हो,’ उहाँले आमा मेनुकालाई भनेका थिए । सत्य र न्यायका लागि बोल्नुपर्छ भन्ने अठोटका साथ उनी घरबाट निस्कँदा उनको अनुहारमा दृढता, चिन्ता र कर्तव्यबोध मिसिएको थियो । निस्कँदै गर्दा चस्मा छुटेको थाहा पाएपछि फर्किए, आमाले चस्मा थमाइदिइन् । त्यही वेला उनले गलाको सिक्री फुकालेर आमालाई राखिदिनु भने, ‘भिडमा हराउन सक्छ ।’ त्यो सामान्य क्षण नै आमाका लागि छोरासँगको अन्तिम आत्मीय स्पर्श बन्यो ।
धीरज निस्केको केही समयमै तारकेश्वर अस्पतालबाट फोन आयो, ‘धीरज घाइते भएका छन्, तुरुन्त आउनुहोस् ।’ केहीबेरमै पुगेका बुबाआमालाई अस्पतालले घटनास्थलमै उनको प्राण गइसकेको जानकारी दियो । बालाजु चौकीअगाडि प्रहरीद्वारा चलाइएका अन्धाधुन्ध गोलीमध्ये एउटा गोलीले उनको घाँटी छेडेको थियो । घाँटीबाट निरन्तर बगिरहेको रगत, आमाको अँगालो, तर मौन भइसकेको धीरज-यसले परिवारमाथि अपूरणीय शोक थोपरियो । देशका लागि बोल्नुपर्ने धीरज परिवर्तनको आवाज सुन्न नपाईकनै चुप लाग्न बाध्य भए ।
अझ पीडादायक त यो थियो कि धीरज अस्ट्रेलिया जान अन्तिम तयारीमा थिए । भदौ २७ मा बायोमेट्रिक दिन बोलावट आएको थियो । भदौ २४ मै उनी देशकै लागि सहिद बन्न पुगे । बुबाले आन्दोलनमा हिँड्दा विदेश प्रक्रियामा असर पर्ला भनेर सम्झाए पनि धीरजको उत्तर सधैँ एउटै, ‘देश रह्यो भने विदेश पनि जान पाइन्छ । देशको लागि बोल्न डराएन भने भविष्य स्वतः बनिन्छ ।’ उनका यी शब्दले नै बुबालाई आन्दोलनप्रतिको हिम्मत दिएको थियो । धीरजको पढाइ र पेसागत यात्रा पनि प्रेरणादायी थियो । खरानीटारमा कक्षा चार पढेपछि काठमाडौँ आए, स्नातक पूरा गरे र होटेल म्यानेजमेन्ट पढे । खुमलटारमा बर्गर हाउस सञ्चालन गर्दै युवालाई रोजगारी दिने सपना बोकेका उनले परिवारसँगै बस्न चाहँदा त्यो व्यवसाय छाडे । पछिल्लो समय अनलाइन व्यवसायमार्फत घरमै रहेर काम गर्थे, जसले आमासँग बिताएको समय र आत्मीय सम्बन्ध अझ मजबुत बनाएको थियो । आमा मेनुकाका आँखामा छोराको छाया सधैँ झल्किरहन्छ, ‘धीरज छोरा मात्र होइन, छोरीझैँ मायालु थियो । भान्सा, बजार, घरधन्दा सबैमा साथ दिने ।’ घरमा उनको हाँसो, बोली र उपस्थितिले ऊर्जा थप्थ्यो । धीरजको बाल्यकाल पनि प्रेम र जिम्मेवारीले भरिएको थियो । खरानीटारका दाइ राजीव भन्छन्, ‘सानैदेखि धीरज निकै संवेदनशील थियो । स्कुल जाँदा भाइलाई काँधमा बोकेरै लैजानुपथ्र्यो । अहिले त्यो बोझ होइन, उसको प्रेम थियो भन्ने थाहा हुन्छ ।’
भदौ २३ र २४ को बर्बरताले देशभर आमाहरूको काख रित्यायो, धेरैका बुढेसकालको सहारा खोस्यो । धीरजका बुबाआमा भन्छन्, ‘छोराले देखेको सपना अधुरो नहोस् । देशमा परिवर्तन आओस् ।’ आमा मेनुकाका कानमा अझै पनि छोराको आवाज गुन्जिन्छ, ‘देश परिवर्तन हामीले नगरे कसले गर्छ ?’ जेन-जी आन्दोलनका ४२ सहिद परिवारले ‘जेन-जी सहिद परिवार कल्याणकारी समाज’ गठन गरी अध्यक्ष भोजविक्रम थापाको नेतृत्वमा गत कात्तिक २४ मा दर्ता गराइसकेका छन् । धीरजका बुबा नारायण प्रवक्ताको भूमिकामा छन् । सरकारले १५ लाख राहत दिएको छ, तर समाजको धारणा स्पष्ट छ, यो क्षतिपूर्ति मात्रै होइन, सम्मान र न्यायको प्रश्न हो । दोषीमाथि कारबाही, सहिद परिवारका लागि स्वास्थ्य-शिक्षा-रोजगारी र सङ्घीय संसद् भवनपरिसरमा सहिदहरूको सालिक-समाजका मुख्य माग हुन् । ‘संसद् प्रवेश गर्ने नेताहरूले ती अनुहार हेरेर सम्झिऊन्-किन र कसका लागि ज्यान गएको हो,’ समाजको आग्रह छ । समाजको आशा छ, जेन-जी युवाको बलिदान इतिहासका पानामा मात्र सीमित नहोस्, देशको नीति, प्रणाली र नेतृत्वमा व्यावहारिक परिवर्तन भएर देखाओस् ।




प्रतिक्रिया