धुन्चे । गाउँघरमा कुटानी-पिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्ट चलाउने प्रचलन रसुवामा क्रमशः हराउँदै गएको छ । घट्ट हराउँदै गएपछि सरोकारवालाले जगेर्नामा चासो देखाएका छन् ।
संरक्षण अभावमा पानीघट्टजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् । ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाई ढङ्गाको जाँतोको सहाराले मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्न पिस्ने पानीघट्ट विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानी-पिसानीको साधन थियो । गाउँघरका बासिन्दाले कुटानी-पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टलाई अपनाउने गर्थे । तर, अहिले पानीघट्ट चलाउने परम्परा हराउँदै गएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेले बताउनुभयो । ‘अहिले पानीघट्टको चलन हराउँदै गएको छ,’ उहाँले भन्नुभयो, ‘पहिला गाउँभरिका मानिस कुटानी-पिसानी गर्न पानीघट्ट आउने गर्थे, अहिले यो पुरानो चलन लोप हुँदै गएको छ ।’ पानीघट्टमा कुटानी-सिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिलभन्दा सस्तो पर्ने भए पनि प्रविधिको विकाससँगै यो लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो समय पानीघट्ट चलाउने प्रचलन लोप हुँदै गएको अवस्थामा परम्परागत सामग्रीको संरक्षण गर्नुपर्ने रसुवा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङको भनाइ रहेको छ । ‘पानीघट्टमा पिसिएको अन्न स्वादिलो हुन्छ,’ उहाँले भन्नुभयो । आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेकोमा संरक्षणमा जोड दिनुपर्ने धुन्चेका स्थानीय लामा रेन्जेन घलेले बताउनुभयो ।
रसुवाका पाँच गाउँपालिकाका २७ वटा वडामा प्रायः पानीघट्ट हुन्थे र त्यसमा पिसेको अन्न पोषिलो पनि हुन्थ्यो, अहिले हराइसक्यो भने पनि हुन्छ । युवा कोही सहर, कोही विदेश, सबै सुख र सजिलो खोज्ने भएपछि पानीघट्ट लोप हुँदै गइरहेको रसुवाकै कालिकास्थान बस्ने स्थानीय झंकनाथ न्यौपाने बताउनुहुन्छ । नौकुण्डका स्थानीय एवम् शिक्षक प्रभाकर अधिकारी भन्नुहुन्छ, ‘पानीघट्टले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ, प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने हुन्छ ।’ पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएका छन् । परम्परागत सिप र पहिचान जोगाउन पानीघट्टको संरक्षण गर्न आवश्यक रहेको बेत्रावतीका गणेश श्रेष्ठले बताउनुभयो।






प्रतिक्रिया