+
Search

ताजा अपडेट +

पपुलर +

नौपटक निर्वाचन लडेका केसीले यसपटक भाइलाई अघि सारे

नौपटक निर्वाचन लडेका केसीले यसपटक भाइलाई अघि सारे
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । राष्ट्रिय पञ्चायतदेखि बहुदलकाल हुँदै गणतन्त्रसम्म नुवाकोटबाट हरेकपटक चुनाव लड्दै आउनुभएका नेपाली काङ्ग्रेसका सदाबहार नेता अर्जुननरसिंह केसीले फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । गत शनिबार गृहजिल्ला पुगेर उहाँले भन्नुभयो, ‘मलाई पार्टीको कहीँ-केहीमा राख्नुपर्दैन, अब युवापुस्ताले नै नेतृत्व लिनुपर्छ ।’ चुनाव नलडे पनि राजनीतिबाट टाढा भने नहुने केसीले पत्रकारमाझ प्रस्ट पार्नुभयो ।

सरकारले आगामी फागुनमा प्रतिनिधिसभा निर्वाचन घोषणा गरेपछि चुनाव हुन्छ र हुँदैन भन्नेमा अहिले तर्क-वितर्क चलिरहेको छ । अघिल्लो संसद्का पहिलो र दोस्रो दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) संसद् पुनस्र्थापनाको पक्षमा गतिविधि बढाउँदै निर्वाचनको तयारीमा पनि जुटिरहेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि परिस्थिति बदलिएसँगै पटक-पटक सांसद र मन्त्री भएका कतिपय नेताहरूले भटाभट चुनाव नलड्ने भनी स्वघोषणा गर्नेको ताँती नै अहिले लागेको छ । नुवाकोटबाट विसं २०३८ देखि निर्वाचनमा उम्मेदवार भई भारी मतले विजेता केसीले गत हप्ता विदुरमा रहेको आफ्नै घर (जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते जलाइएको) बाट पत्रकार सम्मेलन गरेर आसन्न प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गर्नुभएको हो । नेपाली काङ्ग्रेस नुवाकोट कार्यसमिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उहाँको नाम क्षेत्र नं २ बाट समानुपातिकमा पहिलो नम्बरमा सिफारिस गरेको छ । उहाँसहित जिल्लाको दुईवटा क्षेत्रीय समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम गत शुक्रबार जिल्ला कार्यसमितिले निर्णय गरेर केन्द्र पठाएको थियो ।

पार्टीका नेता-कार्यकर्ताले क्षेत्रबाट सिफारिस हुन आग्रह गरेकोमा केसीले अघिल्लो चुनावमै अन्तिमपटक भनेर भोट मागेकाले अब चुनाव नलड्ने बताउनुभएको छ । केसी पहिलो निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्य हुनुभएको थियो । उहाँ विसं २०४३ मा हारेपछि सोही वर्ष जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुनुभयो । त्यसयताका २०४८ देखिका ६ निर्वाचन लडेका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाड्नुभएको छ । ७८ वर्षीय केसी रापंस र सङ्घीय संसद् सदस्य निर्वाचनमा नौपटक सहभागी भए पनि राष्ट्रिय पञ्चायतमा एकपटक, सङ्घीय संसद्मा तीनपटक पराजित हुनुभयो । उहाँले विसं २०४३ मा भने हार व्यहोर्नुप¥यो । विसं २०४६ को जनआन्दोलनपछिको विसं २०४८ र २०५१ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट विजयी केसी विसं २०५६ र २०६४ का निर्वाचनमा उक्त क्षेत्रबाट पराजित हुनुभएको थियो । विसं २०७० को संविधानसभा निर्वाचनमा विजयी केसी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा साबिक क्षेत्र नं ३ (हालको २ नं निर्वाचन क्षेत्र) बाट हार्नुभयो भने विसं २०७९ को निर्वाचनमा निर्वाचित हुनुभयो । केसी पञ्चायतकालमा स्वास्थ्य राज्यमन्त्री हुँदै बहुदलीय व्यवस्थामा स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना र सहरी विकासमन्त्री हुनुभएको थियो । विसं २०४६ पछि काङ्ग्रेसमा प्रवेश गर्नुभएका उहाँले केन्द्रीय सदस्य हुँदै केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । पछिल्लो प्रतिनिधिसभामा सभामुखमा आकाङ्क्षी केसी राजनीति गर्दा पटक-पटक गरी तीन वर्ष कारागारको यातनासमेत भोग्नुभएका नेता हुनुहुन्छ ।

आगामी निर्वाचनका लागि नुवाकोट-२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ दोस्रो नम्बरमा सिफारिस हुनुभएका जगदीश्वरनरसिंह केसी अर्जुननरसिंहका भाइ हुनुहुन्छ । काङ्ग्रेसले जारी गरेको मापदण्ड निर्देशिका कार्यान्वयन भए प्रदेश सभा सदस्य रहेका कारण पहिलो नम्बरमा सिफारिस भए पनि बहादुरसिंह लामा तामाङ उम्मेदवार बन्न पाउनुहुनेछैन । सो क्षेत्रमा दोस्रो नम्बरमा सिफारिस हुनुभएका जगदीश्वरनरसिंहलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनका लागि अर्जुननरसिंहले चुनाव नलड्ने घोषणा गरेर पार्टीलाई अप्ठ्यारो पार्नुभएको छ । जिल्लामा विगतदेखि नै महत र केसीले एक-एकवटा क्षेत्र कब्जा गर्दै आउनुभएकाले यसपटक पनि क्षेत्र नं १ मा महतले टिकट पाउँदा दुईमा केसीले नपाए निर्वाचनको परिणाम नसोचेको आउने काङ्ग्रेस वृत्तमा चर्चा चलिरहेको छ । विसं २०५७/२०७९ सम्म झन्डै २१ वर्ष जिल्ला सभापति रहनुभएका जगदीश्वरनरसिंह विसं २०७४ को प्रदेश सभा निर्वाचनमा नुवाकोट-२ प्रदेश ‘क’बाट उम्मेदवार बन्नु भई पराजित हुनुभएको थियो । दुई-दुईपटक संविधानसभा सदस्य हुनुभएका जगदीश्वरनरसिंहले यसपटक प्रत्यक्षमा कुनै पनि हालतमा नछाड्ने उहाँका नजिकका कार्यकर्ताले बताउने गरेका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह