+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वआइजिपी लामाका लुकेका पक्ष

पूर्वआइजिपी लामाका लुकेका पक्ष
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

दिलबहादुर लामा नेपाली प्रशासनिक र राजनीतिक क्षेत्रका साथै प्रजातान्त्रिक आन्दोलनका प्रखर सेनानीका रूपमा चिनिएका एक सशक्त व्यक्ति हुन् । विशेषतः नेपाल प्रहरीको ११औँ प्रहरी महानिरीक्षकका रूपमा डिबी लामालाई नचिन्ने सायदै कोही छन् । उनी दोस्रो विश्वयुद्धमा बर्मा (हाल म्यानमार) मा लडेका बहादुर सैनिकसमेत हुन् । त्यसै समयमा उनी नेपालमा राणाविरोधी आन्दोलनमा सङ्घर्ष गरेका प्रजातन्त्रका सेनानी पनि थिए । उनी रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर जनप्रतिनिधिका रूपमा देशको सेवा गरेका राजनीतिज्ञसमेत हुन् । लामा बेलायती सेनामा भर्ती भएर विश्वयुद्ध लडेका तथा विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी, नेपाल प्रहरीमा प्रवेश गरी प्रहरी महानिरीक्षक भएर कारागार जीवन बिताएर रिहा भएपछि सांसद र मन्त्रीसमेत भएका सायदै पहिलो नेपाली हुन् । यसकारण पनि लामाको परिचय कुनै एक आयामबाट मात्र दिएर पुग्दैन ।

लामाको जीवनका उतारचढाव तत्कालीन परिवर्तनको गतिमा हिँडेको नेपाली राजनीतिक, सामाजिक र ऐतिहासिक घटनाक्रमसँग प्रत्यक्ष जोडिएको छ भन्दा फरक पर्दैन । लामाको जीवनको सङ्घर्ष, योगदान र जीवनी एउटा महत्त्वपूर्ण ऐतिहासिक पक्षलाई बहन गर्दै अघि बढेको थियो । तर, यहाँ खासगरी उनको प्रशासनिक र राजनीतिक जीवनका केही पक्षलाई समावेश गर्न मात्र सम्भव देखिन्छ । लामाको जन्म विसं १९८७ मा पिता ललितमान घले र आमा दुर्गादेवीको माहिलो सुपुत्रका रूपमा नुवाकोट जिल्लाको विदुर-११, गेर्खु गाउँमा भएको थियो । उनी तत्कालीन समयमा गाउँको आर्थिक रूपमा सम्पन्न र राजनीतिक-सामाजिक सुझबुझ भएको तामाङ परिवारमा जन्मिएकाले बाल्यकालमा राजधानी काठमाडौँमा डेरा गरी पढ्ने अवसर पाएका थिए ।

दोस्रो विश्वयुद्धमा सहभागी
काठमाडौँमा प्रारम्भिक शिक्षा हासिल गर्दै गर्दा साथीभाइका सङ्गतमा उनले अङ्ग्रेजी साम्राज्य सेनाको पञ्जाबको होसियारपुरस्थित ब्वाइज कम्पनीमा तालिम लिई विदेशी सेनामा भर्ती भएर दोस्रो विश्वयुद्धताका म्यानमारमा भएको युद्धमा भाग लिएर अनुभवसमेत प्राप्त गरेका छन् । दोस्रो विश्वयुद्धपछि बेलायतको उपनिवेशबाट एसियाका धेरै देश स्वतन्त्र हुने क्रममा सन् १९४७ मा भारत र पछि बर्मा स्वतन्त्र भयो । सो घटनाले त्यसवेला स्वदेश तथा विदेशमा रहेका नेपालीको भावना पनि एकतन्त्रीय निरङ्कुश जहानियाँ राणाशासन हटाउनेतर्फ केन्द्रित हुँदै गयो । त्यतिवेलाका धेरै नेपाली फौजले कोही बेलायत र कोहीले बर्मेली सेनामै निरन्तरता दिइरहेका थिए । तर, विदेशी सेना छाडेर नेपालकै स्वतन्त्रता र प्रजातन्त्रका लागि एउटा योद्धाका रूपमा सहभागी हुन लामा नेपाल फर्के । सधैँ विदेशमा रहनुभन्दा मातृभूमिप्रतिको प्रेम र देशभक्तिको भावनाले नेपाल फर्किएर उनले आन्दोलनको एक स्वतन्त्र सेनानी बनी देश र प्रजातन्त्रका लागि निर्णायक युद्ध लडे । वि.सं. २००७ कात्तिक २७ गते गोरुतिहारको साइतमा रक्सौल पुग्ने हिसाबले लामासहितको टोली पटनाबाट हतियारसहित प्रस्थान गरेको थियो । जनमुक्ति सेनाले नेपाली काङ्ग्रेसको चिह्न चार ताराअङ्कित पट्टी बाँधेर विभिन्न टोलीमा विभाजन गरी जिम्मेवारी तोकेको थियो । रातको १० बजे जनमुक्ति सेनाले वीरगन्ज सहरलाई चारैतिरबाट धावा बोलेको थियो । सेनाले ठोरी, परवानीपुर, झन्डीनगर, बहादुरगन्जलगायत क्षेत्रमा आक्रमण गर्न तथा कब्जा जमाउन सफल भएको थियो ।

सेनाले सल्काएको सशस्त्र क्रान्तिको ज्वाला काठमाडौँबाहेक नेपालभर एकैचोटि सल्कियो । वि.सं. २००७ फागुन ४ गते राजा त्रिभुवन भारतको नयाँदिल्लीबाट स्वदेश फर्किएपछि प्रजातन्त्र स्थापना भएको समाचार रेडियोबाट प्रसारण गरिएको थियो र फागुन ७ गते मोहनशमशेरको प्रधानमन्त्रित्वमा राणा र काङ्ग्रेसको संयुक्त सरकार गठन भयो । संयुक्त सरकारमा गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला बन्नुभयो । देशमा प्रजातन्त्र ल्याउनका निम्ति स्थापना भएको सेनालाई सुम्पेको कार्य सफलतापूर्वक सम्पन्न गरेकाले क्रान्तिको प्रतीकका रूपमा स्थापित गर्दै फागुन २८ गते बसेको संयुक्त सरकार, राणा र काङ्ग्रेसको बैठकमा जनमुक्ति सेनालाई रक्षादलमा परिणत गरी तीन बटालियनको एक ब्रिगेड बनाएर देशको अर्धसैनिक बलका रूपमा राख्ने बिपीको धारणा सर्वसम्मतले पारित भयो ।

सुबेदारबाट महानिरीक्षक
राणा शासनविरुद्ध विभिन्न मोर्चामा सक्रिय लामा त्यसवेलाको मुक्ति सेनाबाट नेपालको रक्षादल ब्रिगेड हुँदै वि.सं. २००७ फागुन २८ गते नेपाल पुलिस फोर्सको सशस्त्र बटालियनको सुबेदार पदमा परिणत भएका थिए । वि.सं. २०१२ मा प्रहरी ऐन जारी भयो । त्यसपछि नेपालका विभिन्न क्षेत्रमा विभिन्न पदको जिम्मेवारी सम्हाल्दै लामा नेपाल प्रहरीको महानिरीक्षकजस्तो उच्चतम पदमा पुगे । विसं २०३९ असारदेखि २०४३ जेठसम्म नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेका लामा पछि भूतपूर्व प्रहरी सङ्गठनका चौथो अध्यक्षसमेत बने । उनकै कार्यकालमा विसं २०४३ मा प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन सुरु भयो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइँदैन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता र प्रहरी परिवार महिला सङ्घ उनकै कार्यकालमा स्थापना भयो । सुगममा कार्यरत जनशक्तिलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा सरुवा गर्ने सुरुआत पनि उनले गरे । सङ्गठनमा कार्यरत जनशक्तिले सुगम र दुर्गम दुवै क्षेत्रको अनिवार्य अनुभव बटुल्नुपर्ने धारणा उनको थियो । लामाको कार्यकालमा नेपालभरका विभिन्न आपराधिक घटना र गतिविधि सबै तहका कर्मचारीलाई जानकारी दिन मासिक रूपमा ‘प्रहरी बुलेटिन’ प्रकाशन गराई निःशुल्क वितरण गर्ने प्रणाली थालियो । त्यस्तै, उनको कार्यकालमा प्रहरीबाट वर्षभरि भए-गरेका गतिविधि जनसमक्ष ल्याउन ‘प्रहरी दर्पण’ (पुलिस मिरर) नामक म्यागजिन अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन सुरु भयो । विसं २०२९ तिर ललितपुर जिल्लाअन्तर्गत फुल्चोकी सिमसार स्टोरमा खटिएका दुई पालेको निर्ममतापूर्वकक हत्या हुनाका साथै त्यहाँ रहेको ३५ हजार थान जिलेटिनसमेत चोरी हुन गएको थियो । यो गम्भीर घटनाको अनुसन्धान गरी दोषीलाई सजाय दिई निर्दोषलाई छुटाउन अनुसन्धान सफल पारेकामा राजा वीरेन्द्रबाट मध्यमाञ्चल क्षेत्रीय भ्रमणका सिलसिलामा चार ग्रेड थप गरिएको र सो कुरा राजपत्रमा समेत उल्लेख भएको थियो । नेपाल प्रहरी प्रमुख आइजिपी पदमा रहँदा सङ्गठनभित्रका प्रशासनिक र आर्थिक क्षेत्रमा सुधार, प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि र प्रहरीको सिप विकाससम्बन्धी प्राविधिक पक्षमा लामाले धेरै महत्त्वपूर्ण कार्य गर्दा गर्दै वि.सं. २०४३ असार ३१ गते पदबाट अवकाश पाए ।

प्रहरी सङ्गठनको आधुनिकीकरण र सक्षम नेतृत्व प्रदानमा लामाको योगदान जति छ, त्यति नै विवादित पनि रह्यो । विसं २०३६ मा धनकुटाको छिन्ताङमा प्रहरी दमन गरी १५ जनाको हत्या प्रकरणमा लामा विवादमा तानिएका थिए । उनी साधारण लेखपढ मात्रै भएका प्रहरी अधिकारी भए पनि पञ्चायती प्रधानमन्त्री तुलसी गिरी र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका सिफारिसमा आइजिपी बन्न सफल भए । विसं २०४३ जेठमा सेवाबाट अवकाश पाएका लामा त्यसको केही महिनापछि नै सुन तस्करीको अभियोगमा पक्राउ परे । राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर गुरुङ २२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि त्यस घटनाका मुख्य योजनाकार लामा भएको आरोप लाग्यो । उनीसँगै धीरेन्द्रका अङ्गरक्षक (प्रमुख सेनानी) भरत गुरुङ पनि समातिए । सोही अभियोगमा लामा र गुरुङ करिब पाँच वर्षसम्म कारागार बसे । झ्यालखानामा लामालाई धेरै यातना र केरकार गरिएको कुरा बाहिर आयो । उनले लेखेको पुस्तकमा पनि आफूप्रति राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी चरम यातना दिइएको र आफ्ना परिवारलाई समेत यातना दिइएको उल्लेख छ । पछि अदालतले प्रमाण नपुगेको भन्दै लामालाई सफाइ दियो । आफूमाथि दरबारले प्रतिशोध लिन सुन तस्करीको अभियोगमा फसाएको स्पष्टोक्ति दिँदै नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा पुगी सभापति एवम् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरे । उनको अनुरोधलाई स्वीकार गरी सभापति कोइरालाले काङ्ग्रेसको सक्रिय सदस्यको प्रमाणपत्र प्रदान गरे । त्यसपछि लामा आफ्नो जिल्ला नुवाकोट फर्की काङ्ग्रेसको सङ्गठन विस्तारमा पुनः सक्रिय भए । विसं २०५६ को आमचुनावमा काङ्ग्रेसका तर्फबाट रसुवा जिल्लामा उम्मेदवारको टिकट पाएपछि उनी विजयी पनि भए । प्रतिनिधिसभाको सदस्य भएपछि उनले तत्कालीन काङ्ग्रेस (प्रजातान्त्रिक)का सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रिकालमा मन्त्रिमण्डलमा सामान्य प्रशासन सहायकमन्त्रीको जिम्मेवारी पाएका थिए । लामा काङ्ग्रेस महासमिति सदस्यसमेत भएका थिए ।

बट्टार, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह