+
Search

ताजा अपडेट +

पपुलर +

नीलकण्ठ माविमा चिनियाँ भाषा र बौद्धदर्शनमा पठनपाठन सुरू

नीलकण्ठ माविमा चिनियाँ भाषा र बौद्धदर्शनमा पठनपाठन सुरू
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

धुन्चे । उत्तरगया-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्राविधिक सहयोगमा चिनियाँ भाषा (हान्यु/चोङ्वन) र बौद्ध दर्शनमा स्नातक तहको कक्षा गत मङ्सिर २१ गतेदेखि सुरू भएको छ । चारवर्षीय कोर्सका लागि रसुवाका उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिका तथा नुवाकोटका गरी २४ विद्यार्थी भर्ना भई कक्षा सञ्चालन भइरहेको छ । हान्युका विशेषज्ञ र बौद्धदर्शनका अध्यापकले विद्यार्थीलाई व्यावहारिक ज्ञान पनि प्रदान गर्नेछन् ।

प्रधानाध्यापक माधव लामिछानेले कार्यक्रममा भर्ना हुनका लागि विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने जनाउँदै तिनलाई छात्रवृत्ति र अन्य सुविधा पनि उपलब्ध गराइने बताउनुभयो । आर्थिक रूपमा कमजोर तर उत्कृष्ट विद्यार्थीलाई विशेष प्राथमिकता दिइने बताइएको छ । लुम्बिनी बौद्धविश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्यले स्नातक तहको सो कार्यक्रमअन्तर्गत पहिलो दुई वर्षमा भाषाको आधारभूत ज्ञान दिइने तथा अर्को दुई वर्षमा बौद्धदर्शन र चोङ्वन भाषा शिक्षण पद्धतिमा विशेष ध्यान केन्द्रित गरिने बताउनुभयो । सोका लागि एक वर्ष (दुई सेमेस्टर) नीलकण्ठ (रसुवा) मा, दुई वर्ष (चार सेमेस्टर) चीनमा र अन्तिम एक वर्ष (दुई सेमेस्टर) नीलकण्ठमै अध्ययनअध्यापन हुने छ । ब्याचलर इन टिचिङ चाइनिज टु स्पिकर्स अफ अदर ल्याङ्ग्वेज (बिटिसिएसओएल) नाम रहेको सो कार्यक्रम बागमती प्रदेशमै पहिलो पटक सञ्चालन भएको हो । चिनियाँ भाषा र बौद्धदर्शन दुवैलाई एकैसाथ समेटेर सञ्चालन हुने यो कार्यक्रमले दुवै देशबिचको घनिष्ठ सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ । त्यससम्बन्धी सम्झौता गत भदौ २ गते लुम्बिनीमा गाउँपालिकाका अध्यक्ष माधव अर्याल र विश्वविद्यालयका कुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष अर्यालले मित्रराष्ट्र चीनको सिमाना रसुवा जिल्ला रहेको सो भेगका धेरै मानिस केरूङ जाने अवस्था बढिरहेकाले गाउँपालिकामा यस्तो अन्तरराष्ट्रियस्तरको कार्यक्रम सञ्चालन हुनु गौरवको कुरा भएको जनाउँदै यसले सो क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत गर्ने र भविष्यमा रोजगारीका अवसर पनि सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह