जनसङ्ख्या वृद्धिका कारण विश्वमा वनजङ्गलको विनाश दिनप्रतिदिन तीव्र गतिले भइरहेको छ । यसबाहेक प्रत्येक वर्ष विश्वमा हुने बाढीपहिरो र डढेलाबाट पनि वन क्षेत्र धेरै क्षति हुने गर्छ । जङ्गल मानव जातिको साझा सम्पत्ति हो । यसबिना प्राणीको अस्तित्व सम्भव छैन । विश्वमा वनजङ्गलले ढाकेको क्षेत्र फरक फरक छ । यसको कुल क्षेत्रको आधा हिस्सा केवल पाँच देश अर्थात् चीन, ब्राजिल, संयुक्त राज्य अमेरिका, क्यानडा र रूसमा मात्र छ । बाँकी क्षेत्र अन्य देशमा छ । जैविक विविधता संरक्षण र पारिस्थितिक प्रणाली सुचालु रूपले कायम गर्न वनजङ्गलको महत्त्वपूर्ण भूमिका छ । यसबाहेक यसले हरितगृह ग्यास उत्सर्जन कम गर्न र सम्पूर्ण प्राणीलाई बाँच्न सघाउँछ ।
साधारणतया एक व्यक्तिलाई प्रतिदिन पाँच सय पचास लिटर प्राणवायु चाहिन्छ । बजार मूल्य प्रतिलिटर एक हजारको दरले एक व्यक्तिलाई प्रतिदिन रू.पाँच लाख ५० हजार बराबरको अक्सिजन चाहिन्छ । यसबाहेक एउटा रूखले प्रत्येक वर्ष सञ्चित गरेको सरदर ९६ टनसम्म भूमिगत पानी वाष्पीकरणमार्फत वायुमण्डलमा पुर्याउँछ । एउटा वयस्क स्वस्थ्य रूखको अक्सिजन उत्पादन क्षमता वार्षिक एक सय तिन लिटरसम्म हुन्छ जसबाट कुनै पनि व्यक्तिको श्वासप्रश्वासमा मद्दत पुग्छ । यसबाहेक एक रूखले वायुमण्डलबाट वार्षिक २२ केजी कार्बनडाइअक्साइड ग्यास अवशोषण गर्छ, जसबाट सम्पूर्ण मानव जातिलाई फाइदा हुन्छ । नेपालको अन्दाजी ८७ प्रतिशत भूभाग पहाडले ढाकेको छ । यहाँ बाढीपहिराका कारण करिब ६० प्रतिशत जनता जोखिमावस्थामा छन् । वास्तवमा प्राकृतिक प्रकोप नियन्त्रण तथा न्यूनीकरणका लागि वनजङ्गल प्रवद्र्धन तथा संरक्षणले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यति मात्र नभई वनजङ्गलबाट कार्बन बिक्री गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।
नेपालको कुल क्षेत्रफलको झन्डै ६६ लाख हेक्टर भूभाग वन क्षेत्रले ढाकेको छ । वन तथा वातावरण मन्त्रालयद्वारा प्रकाशित तथ्याङ्कानुसार एक हेक्टर वनले एक सय ७६ दशमलव ९५ मेट्रिक टन कार्बन सञ्चित गर्छ । यसका आधारमा हिसाब गर्दा यहाँको वनबाट बर्सेनि कुल रू एक अर्ब १० करोड आठ लाख ७० हजार मेट्रिक टन कार्बन सञ्चित हुने र यसको बिक्रीबाट प्रत्येक वर्ष धेरै राजस्व वृद्धि गर्न सकिने अनुमान गरिएको छ । कार्बन भण्डारणको अनुपातिक सम्भावनाका हिसाबले दक्षिण एसियाका अन्य देशका तुलनामा नेपालको अवस्था अग्रस्थानमा रहेकाले वनजङ्गलबाट कार्बन व्यापारको सम्भावना छ । हाल विश्व बजारमा विद्यमान मूल्यका आधारमा प्रतिवर्ष झन्डै एक खर्बभन्दा बढीको कार्बन व्यापार नेपालले गर्न सक्छ । यस व्यापारलाई सरकारले प्राथमिकतामा दिन तत्पर हुनुपर्छ ।
विगतका सरकार विश्व बैंकसँग कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता गरेर व्यापारको चरणमा प्रवेश गरेको थियो । तर वनजङ्गलको संरक्षणबिना उक्त व्यापार लाभप्रद हुन सक्दैन । नेपालमा खोज अनुसन्धानबिना गरिने विकासनिर्माण प्रत्युत्पादक भएका छन् । केही दशकअघि ‘हरियो वन नेपालको धन’ भन्ने उक्तिलाई आज सार्थक बनाउने अवसर आएको छ । यसका लागि विश्व तापमान वृद्धिबाट उत्पन्न समस्याको समाधानका लागि सरकार सक्षम हुनुपर्छ । जङ्गलबिना मङ्गल हुँदैन, मानव र प्रकृतिको कल्याण पनि सम्भव हुँदैन । यसबाहेक सरोकारवाला वनजङ्गल संरक्षण तथा प्रवद्र्धनका लागि गम्भीर हुनु जरूरी छ । अध्ययन अनुसन्धानबिनाको विकासनिर्माणलाई रोकेर पर्यावरणमैत्री विकास प्रारूपलाई अवलम्बन गर्नु जरूरी छ । पछिल्ला केही वर्षदेखि नेपालमा प्राकृतिक वनमाथि अत्यधिक चाप र दोहन भएको छ । हुन त विसं २०३५ देखि सामुदायिक वन (पञ्चायती वन) मा लाखौँ हेक्टर वृक्षरोपण भएको थियो । यसबाहेक ७७ जिल्लामा विभिन्न प्रजातिका तिनचार लाख हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको पनि आधिकारिक तथ्याङ्क छ । उक्त वृक्षरोपण गरिएका क्षेत्रमा वैज्ञानिक वन वा दिगो वन व्यवस्थापन गर्दा प्राकृतिक वनमाथिको अत्याधिक चाप र दोहन घटाउन सकिन्छ । प्राकृतिक वनबाट सुकेका, ढलेका र कृत्रिम वनमा वैज्ञानिक तरिकाले व्यवस्थापन गरी देशका सम्पूर्ण उपभोक्तालाई आवश्यक पर्ने दाउरा सजिलैसँग पूर्ति गर्न सकिन्छ । यसका लागि सम्बन्धित व्यक्ति तथा संस्थाको जिम्मेवारीपूर्वक सक्रियता आवश्यक छ ।
वनजङ्गलबाट कार्बनको व्यापार त्यति सहज छैन । जलवायु परिवर्तनबाट परिरहेका र पर्न सक्ने नकारात्मक प्रभावसम्बन्धी अध्ययन न्यून भएकाले कुन भौगोलिक क्षेत्रमा कस्तो प्रकारको र कति परिमाणमा के कस्ता प्रभाव परेका छन् भन्ने आजसम्म पहिचान हुन सकेको छैन । जलवायु परिवर्तनका कारण देशका सम्पूर्ण वनजङ्गलमा परेको प्रतिकूल प्रभावको विस्तृत लेखाजोखा गर्न सकिएको छैन । जलवायु परिवर्तनका कारण हिमालको तापक्रम दिन प्रतिदिन बढिरहेको छ जसको नकारात्मक प्रभाव तराईदेखि पहाड र हिमालसम्मका वनजङ्गलमा परेको छ । नेपालमा झन्डै २२ हजार सामुदायिक वन उपभोक्ता समूहलगायत ३० हजारभन्दा बढी समुदायमा आधारित वन समूह छन् । यसबाहेक केही कृषक समूह छन् जसलाई जडीबुटी तथा सुगन्धित वनस्पतिको खेतीमा लगाई व्यवसायीकरण गर्न सके वन संरक्षण गर्न तथा स्थानीय जनताको आयआर्जन अभिवृद्धि गरी जीविकोपार्जन गर्न पनि सघाउ पुग्ने छ ।






प्रतिक्रिया