+
Search

ताजा अपडेट +

पपुलर +

एकीकरणमार्गको प्रवद्धमा जोड

एकीकरणमार्गको प्रवद्धमा जोड
त्रिशूली प्रवाह
४ दिन अगाडी

नेपाली सेनाले विगत ६ वर्षदेखि गोरखा-धादिङ-नुवाकोट हुँदै काठमाडौँसम्म एकीकरणमार्ग पदयात्रा गरिरहेको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र उनले नेपाल विजय गर्न प्रयोग गरेका बाटालाई स्मरण गर्दै सेनाले विसं २०७६ देखि देशभरि नै उतिवेला प्रयोग गरेको मार्गको पहिचान र प्रवद्र्धन गराउन अगुवाइ र व्यवस्थापन गरिरहेको छ ।

गोरखादेखि नेपाल खाल्डो र हालका काठमाडौँ, भक्तपुर, ललितपुरसम्मको क्षेत्रभित्र पर्ने धादिङ, नुवाकोटको ऐतिहासिक तथ्यको उत्खनन गर्नाका साथै ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने, गढी-किल्लाको संरक्षण, पाटीपौवा, सत्तलको खोज तथा जीर्णोद्वार एवम् संरक्षण गर्ने उद्देश्य राखी सेनाले सुरु गरेको पदयात्राको कार्य प्रशंसायोग्य छ । सेनाको यस कार्यलाई स्थानीयवासी, जनप्रतिनिधि, सङ्घसंस्था र अन्य सरोकारवालाले सहयोग गरिरहेका छन् । यो मार्ग सञ्चालनमा आउँदा आन्तरिक पर्यटन प्रवद्र्धन भई त्यस क्षेत्रका बासिन्दाको आय-आर्जनमा टेवा पुग्नेछ । काठमाडौँदेखि पश्चिम नेपाल आवतजावत गर्ने प्रमुख बाटाका रूपमा रहेको हालको एकीकरणमार्ग काठमाडौँबाट पृथ्वी राजमार्ग नबन्दासम्म सञ्चालनमा थियो । विसं २०२६ मा पृथ्वी राजमार्ग निर्माण र सञ्चालनपछि बिस्तारै बन्द भएको यो मार्ग पुनः गुल्जार बनाउन यस क्षेत्रका बासिन्दाको साथ र सहयोग जरुरी छ । सेनाले सुरु गरेको पदमार्ग पदयात्रासँगै ठाउँ ठाउँमा पुरानो मार्गको मर्मतसम्भार, नयाँ साधारण बाटो खोल्ने र थप भौतिक पूर्वाधार गर्ने अभियान सुरु भइरहेको छ । सेनासँगै स्थानीय तह र सङ्घसंस्थाले हातेमालो गर्दै प्रवद्र्धनमा जोड दिन सके यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुनेछ ।

नेपाल एकीकरणको श्रीगणेश गरेको नुवाकोटमा सबैभन्दा बढी एकीकरणमार्ग छन् । इतिहास नै भविष्यका लागि मार्गदर्शक बन्न सक्ने भएकाले ऐतिहासिक तथ्य स्थापना गर्न सकिएमा भविष्यका पुस्तालाई पुर्खाको योगदानको तत्त्वबोध गराउन सकिन्छ । सेनाले गरेको यो पुनीत कार्य निकै सराहनीय छ । गणतन्त्रकाल सुरु भएपछि राष्ट्रनिर्माता पृथ्वीनारायणलाई विस्मृतिमा लैजाने कार्य सुरु भएको थियो । अब त राज्यले नै प्राथमिकता दिएर सार्वजनिक बिदा दिनेलगायत पृथ्वीजयन्ती भव्य रूपले मनाउने परम्परा सुरुवात गरेको छ । एकीकरण हुनुभन्दा अगाडि नुवाकोटको त्रिशूली नदीलाई सिमाना बनाएर त्रिशूलीबाट धादिङतर्फ गोरखा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य थिए । आफ्ना बुबा नरभूपालले पहिलोपटक नुवाकोटमाथि गरेको आक्रमण विफल भएपछि पृथ्वीनारायणले पनि आफ्नो दोस्रोपटकको प्रयासमा नुवाकोट विजयी गरी एकीकरण अभियान सुरु भएपछि विशाल नेपाल निर्माण सम्भव भएको हो । कान्तिपुर राज्यका अधीनमा रहेको नुवाकोटमाथि विजयपश्चात् नुवाकोटवासीका साथमा पृथ्वीनारायणले काठमाडौँ उपत्यकासहित अन्य राज्यमाथि विजय हासिल गरेका थिए । सोही क्रममा उनले पछ्याएको पदमार्गको संरक्षण, पर्यटन प्रवद्र्धन र युवापुस्तामा राष्ट्रिय एकताको भाव उत्पन्न गराउन सञ्चालन गरिएको ‘एकीकरणमार्ग पदयात्रा’, कोतघर-गढी-किल्लालगायत ऐतिहासिक तथा धार्मिक महत्त्वका संरचनाको संवद्र्धन, संरक्षण, प्रवद्र्धन र प्रचारमा उल्लेख्य सहयोग पु¥याउन केन्द्रित सेनालाई सबैले सहयोग गर्नुपर्छ । गोरखाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देश एकीकरण पदयात्रामार्फत दिएको छ । पदयात्राले गोरखादेखि काठमाडौँसम्मका जनतामा राष्ट्रनिर्माता पृथ्वीनारायणबाट नेपाल राष्ट्र निर्माणमा गरिएको योगदान र उनको रणनीतिक क्रियाकलापप्रति निकै चासो बढ्दै गइरहेको पाइन्छ । पदयात्रा मार्गका जनतालाई एक किसिमको चाड आएको अनुभूति भइराखेको छ र जिज्ञासा राख्दै त्यस अभियानलाई सार्थक बनाउन सहयोग गर्दै गरेको पनि देखिन्छ ।

करिब २५ वर्षसम्म गोरखाको तत्कालीन राजधानी रहेको नुवाकोट क्षेत्रमा हालसम्म प्रशस्त मात्रामा विद्यमान ऐतिहासिक अभिलेख, शिलालेख तथा भवन र सम्पदाको मर्मत, जीर्णोद्धार र संरक्षण हुन सकेमा नयाँ तथ्य पत्ता लाग्न सक्ने विश्वास गर्न सकिन्छ । विसं २०७२ को भूकम्पले विनाश गरेको ऐतिहासिक भवन निर्माण भएमा नुवाकोट बजारले कायापलट गर्न सक्ने हुन्छ । नुवाकोटका नौ कोट र गढीको विशेष अनुसन्धान र अन्वेषण हुन जरुरी भइसकेको छ । सो कार्यका लागि सरकारका तीनै तह सङ्घीय, प्रादेशिक एवम् स्थानीय तहले तदारुकताका साथ काम गर्नुपर्ने देखिन्छ । पदयात्रा मार्गमा पर्या-पर्यटन विकासको पनि प्रचुर सम्भावना छ । बाटो बनाउन र भौतिक पूर्वाधार निर्माण गर्न सरकारी पक्षले नै तदारुकता देखाउनुपर्छ । पर्यटकलाई आवश्यक पर्ने भौतिक सुविधा सरकारले नै निर्माण गरिदिनुपर्ने हुन्छ । नुवाकोटमा पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक हरियाली, भौगोलिक बनावट, धार्मिक-सांस्कृतिक क्षेत्र र ऐतिहासिक सम्पदा प्रशस्त छन्, जसको महत्त्वको पहिचानमा सबैको सक्रियता आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह