+
Search

ताजा अपडेट +

पपुलर +

नन्दप्रसाद किन बिर्सिए हँ

नन्दप्रसाद किन बिर्सिए हँ
त्रिशूली प्रवाह
८ महिना अगाडी

नेपालमा कम्युनिस्ट पार्टी पनि १६ वटा रहेछन्, तर जनता, युवक-युवती प्रायः सबै विदेशमा छन् । कुनै वेला ड्रममा भात पकाएर रैबन्दी खाई देशलाई संसारकै सामु नमुना आधुनिक विकास गर्ने भनेर राजा फाल्ने जुलुसका कार्यकर्ताले मलाई पनि खाँटी वामपन्थी बनाइछाडेका थिए । आज ३६ वर्षपछि २०८२ साल पुस ५ गते वाम क्रान्तिकारी नेता पुष्पकमल दाहाल प्रचण्डले भाषणमा भन्नुभयो, ‘१६ वटा वाम पार्टी एकता गरेर अरू बाँकी वाम घटकलाई पनि मिलाएर निर्वाचनमा जानु जरुरी छ । उमेर होइन, हिम्मतिला जनता जुनसुकै उमेरका भए पनि एकताबद्ध भएर जेन-जी भाइबहिनीलाई हाम्रो अनुभवका साथ लिएर राष्ट्रप्रेमी एक नम्बर दल बनी देशलाई सङ्कटबाट मुक्त पार्छाैँ । हाम्रो मेची-महाकालीमै फैलिसकेको यो मूल शक्तिलाई हेपेर चुनाव सार्ने चेष्टा नगरियोस् । विशाल विदेशी सैनिकसँग लडेर बहादुरी कमाएको नेपाली इतिहास छ । आफूलाई हात्ती हात्ती भन्ने दल आज मुसा बनेका छन् । ती आगामी चुनावमा पत्तासाफ हुने डरले तिल्मिलाएर जे पनि बोली जनतालाई तर्साउँदैछन् ।’

Utsuk Books & Stationery
Satkar Machinery Center

माक्र्स, लेनिन, माओ आदिको जपतप गाउँदै एंगेल्ससमेतको तस्बिर राख्नुको सट्टा अभिमन्युदेखि पृथ्वीनारायण शाहसम्मको बहादुरी सम्झेर आ-आफ्ना खेतबारीमा रहेको ढुङ्गामाटाको मात्र सदुपयोग गर्दै जङ्गलमा स्थानानुकूल उम्रने अनमोल जडीबुटीदेखि विशाल वृक्षमा फल्ने हर्रोबर्रोसम्मलाई सदुपयोग गरेमा हामी परजीवी हुनुपर्दैन । अनि कुनै नेताको झोले बनी जीवनभरि तिनको पछि लागेर धोका खानु पनि पर्दैन । घरखेत बेची बिचौलियालाई पोसेर र नेतालाई घुस दिएर पर्यटक प्रवेशाज्ञामा विदेशको तातो बालुवामा डढ्दै आफैँलाई धिक्कार्दै असफल हुँदा उल्टै प्रहरी र गुन्डा लगाएरै रोजगार संस्थाका लठैतको घोक्रेठ्याक लगाएको देखेर पनि नेचेत्नु विडम्बनापूर्ण छ । फेरि नेताकै पछि लागेर चाकरी गर्दै तिनैलाई नै मत दिएर नौ पटकसम्म सांसद बनाइरहने रोगले पिल्सिनुभन्दा अब त ब्युँझेर आफ्नै खेतबारीमा भैँसी पालेर दुधभात खाए कसो होला ?

विसं २०५२ देखि २०८२ सम्म सिंहदरबारदेखि लेकका भेडीगोठ र तराईका उखुबारीसम्म, पाँचतारे होटेलका कक्षदेखि खुला चौर र सडकका पैदलमार्गसम्म आ-आफ्ना योग्यताका पोसाक र बिल्ला भिरेर जजसले जे-जस्ता नाटक देखाएर देश र जनतालाई ठगिरहेका थिए, तिनको सबै परिचय भदौ २३-२४ गतेको नयाँ नाटकले खोलिदियो । विगतका सबै दृश्य त सर्कस र पिसी सरकारले देखाउने जादुजस्तै पो रहेछन् । सबैले आ-आफ्नो आम्दानीको पेसा मात्र पो चलाएका रहेछन् ।

यस्तो होइन भने यत्तिका वर्षसम्म देश र जनताको नाउँमा शासकदेखि प्रशासकसम्म, प्रधानन्यायाधीशदेखि वकिलसम्म, राष्ट्रपतिदेखि समाजसेवीसम्मका निकाय, व्यक्तिले पालैपालो कुर्सी ओगटेर राष्ट्रिय ढुकुटीबाटै अर्बौँ तलबभत्ता खाए पनि त्यो निरीह नन्दप्रसाद अधिकारीको शव किन देख्न सकेनन्, किन अन्येष्टि गर्न सकेनन् ? यो प्रश्नको सही उत्तर दिन नसक्ने सबैलाई ठग र नालायक रहेछन् भनेर किन नभन्ने ? यसमा कसैले चित्त दुखाउनुपर्दैन । चित्त दुखाए व्यर्थ हुनेछ ।

विदुर-४ बागवानी, नुवाकोट

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह