+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा निर्वाचन ४२ दिन बाँकी

प्रतिनिधिसभा निर्वाचन ४२ दिन बाँकी
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्योलता र अनिश्चितता हटेको छ । अब प्रतिनिधिसभा सदस्य निर्वाचन निर्धारित रूपमा हुने भएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमा मंगलबार उत्साहप्रद र शान्तिपूर्ण मनोनयन दर्ता भएको छ । एक सय ६५ सिटका लागि दल र स्वतन्त्रसहित तीन हजार चार सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ । नुवाकोटको दुई सिटमा ३१ र रसुवाको एक सिटका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

नुवाकोटको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी उम्मेदवारी मनोनयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जानकारी दिएको छ । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी १८ जनाको मनोनयन भएको छ । यो क्षेत्रबाट नेकपा (एमाले) का बद्री मैनाली, नेपाली काङ्ग्रेसका डा. प्रकाशशरण महत, नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विक्रम तिमिल्सिनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यसैगरी, उज्यालो नेपाल पार्टीका अमित तामाङ, मङ्गोल नेपाल अर्गनाइजेसनका कुमार रानामगर, श्रम संस्कृति पार्टीका दावा फेन्जु लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महेन्द्र तामाङ, नेपाल मजदुर किसान पार्टीका रवीन्द्र डङ्गोल, प्रगतिशील लोकतान्तिक पार्टीका राजन गौतम, मितेरी पार्टी नेपालका विवेक सिलवाल र जनता समाजवादी पार्टी नेपालका होमबहादुर राईको उम्मेदवारी दर्ता भएको छ । यो क्षेत्रबाट १३ दल र पाँच स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता भएको छ । यस क्षेत्रबाट चेपे तामाङ तादी-२, माधव थापा पञ्चकन्या-४, राजु थापा पञ्चकन्या-३, रामेश्वर भण्डारी तादी-४, सञ्जीव गुरुङ शिवपुरी-४ ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नुवाकोटको क्षेत्र नम्बर २ बाट १३ दलका १३ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अचुत्तम लामिछाने, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का किरण तिमिल्सिना, नेकपा (एमाले)का केशवराज पाण्डे, नेपाली काङ्ग्रेसका जगदीश्वरनरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नवराज ढुङ्गाना, आम जनता पार्टी (एकल चुनाव चिह्न) का मानसिंह दाइली, प्रगतिशील लोकतान्तिक पार्टीका रजमान तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनका रेन्छेन तामाङ, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ, नेपाल मजदुर (किसान पार्टी) का सुवास भट्ट, नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडा, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि नुवाकोटमा राजनीतिक दलहरूले प्रत्यक्षमा महिला उम्मेदवार बनाए भने स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने महिला कोही देखिएन । तर, रसुवामा भने कालिका गाउँपालिका-५ गौरीगाउँकी चित्रकुमारी देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जानकारी दिएको छ । रसुवामा नौजना दलबाट र तीनजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बुधबार नौ दलका नौजनाले र तीनजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय रसुवाका अनुसार नेपाली काङ्ग्रेसका मोहन आचार्य, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रेमबहादुर तामाङ, नेपाली कम्युनिस्ट पार्टीका माधव लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का होमनाथ आचार्य, उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दावासाङ्वो तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरेले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी, चित्रकुमारी देवकोटा, दावा मिङमार तामाङ र सागर लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह