धुन्चे । पशु अधिकारकर्मीहरूको विरोधको बाबजुद पनि गोरु जुधाएर आनन्द लिने प्रचलन हरेक वर्ष नुवाकोट, रसुवा र धादिङका नयाँ-नयाँ स्थानमा फैलिरहेको छ । नुवाकोटको तारुका, पञ्चकन्या, थानसिंह, शिवपुरीको शिवालयलगायत आधा दर्जन क्षेत्रका स्थानीयले यसपटक पनि ५० हलभन्दा बढी गोरु जुधाएर परम्परालाई निरन्तरता दिएका छन् ।
रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा स्थानीयले यस वर्ष एक सय ५० हल गोरु जुधाएर मनोरञ्जन लिँदै माघेसङ्क्रान्ति पर्व मनाए । सङ्क्रान्तिको अवसरमा गोसाइँकुण्ड युवा क्लबको आयोजनामा रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा माघ १ गते बिहीबार परम्परागत रूपमा ११ हल गोरु जुधाइएको छ । हरेक वर्ष माघ १ गते माघेसङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरुजुधाइ मेलाले यस वर्ष पनि निरन्तरता पाएको छ । स्थानीय बेत्रावती निवासी गणेश श्रेष्ठले बताएअनुसार यस वर्ष ११ हल गोरुबिच प्रतिस्पर्धा गराई पुरस्कृत गरिएको थियो ।
क्लबले विसं २०६२ देखि हरेक वर्ष माघेसङ्क्रान्तिका दिन बेत्रावतीमा गोरुजुधाइ उत्सव गर्दै आएको छ । प्रतियोगितामा भाग लिएका ११ हल गोरु दर्ता भएको आयोजकले जनाएको छ । रसुवाको कालिका, उत्तरगया गाउँपालिकाका गाउँबाट र नुवाकोटका हर्कपुर, साहुँगाउँ, तुप्चे, फिकुरी, गेर्खुलगायतका गाउँका किसान आ-आफ्ना जुरे गोरु जुधाएर मनोरञ्जन तथा पुरस्कार प्राप्त गर्नका लागि वर्षभरि पौष्टिक खानेकुरा खुवाएर पालेका गोरु ल्याउँछन् । गोरुजुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङस्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको थियो । साथै, सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको स्थानीय शशि डङ्गोलले बताउनुभयो ।

नेपाल र तिब्बतबिच विसं १८४९ असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसियालीमा मनाइँदै आएको गोरुजुधाइ मेलाले ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायत देशभरबाट हजारौँ दर्शक सहभागी हुने गरेका छन् । कृषिमा आधुनिकीकरणसँगै हातेट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको क्लबले जनाएको छ । गोरुजुधाइमा सहभागी गोरुधनीका लागि नगद पुरस्कारको व्यवस्था तथा सहभागी सबै गोरुलाई भिटामिन तथा बिमा गरिएको थियो ।
तिब्बती सेना र नेपाली सेनाबिच बेत्रावतीमा सन्धि भएपछि खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको स्थानीय बताउँछन् । भोट, तिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसियालीमा गोरु जुधाएर उत्सव मनाउन थालिएको हो भने सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि कहिलेदेखि गोरु जुधाउने उत्सव सुरु भएको कुराको यकिन अभिलेखचाहिँ अहिलेसम्म फेला परेको छैन । गोरुजुधाइ छिमेकी जिल्ला नुवाकोट र धादिङमा पनि हुने गर्दछ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उहाँलाई मनोरञ्जन दिलाउन गोरुजुधाइ मेलाको सुरुवात गरिएको किंवदन्ती रहेको छ । सिंह विसं १९७८ मा नुवाकोटको तारुकाको चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उहाँका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाउँलेको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवनलगायतका जिल्लाबाट सर्वसाधारण आउने गर्दछन् ।
त्यसैगरी, धादिङ जिल्लाको विभिन्न स्थानमा सो दिन एक सय हल गोरु जुधाइएको जानकारी प्राप्त भएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघेसङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोटमा नौ, खाल्टेमा सात, मस्र्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबासको दार्खामा १७, मार्पकमा चार, फूलखर्कमा ११, बुढाथुममा नौ र ज्वालामुखीको मैदीमा ६ हल गोरु जुधाइएको आयोजकहरूले जानकारी दिएका छन् । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व जोडिएको मूलपानीका शम्भु थापाले बताउनुभयो । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबिचको भोट सन्धि १९४९ सँग जोडिएको छ । बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघेसङ्क्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको किंवदन्ती रहिआएको जानकार बताउँछन् । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शकको भिड लाग्ने गरेको छ ।
पहिला-पहिला छिमेकीले रमाइलोस्वरूप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइँदै आएको छ । कुन साँढे गोरु कुनसँग जुधाउने, उमेर र आकार निक्र्योल गरिन्छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्काे पक्षकाले जितेको ठहरिन्छ । बर्खाभरि खेतबारी जोत्ने र हिउँदमा बलियो बनाएर पालेको गोरुलाई किसानले मनोरञ्जनका लागि जुधाउँदै आएकामा पछिल्लो वर्षमा प्रतियोगिताको रूपमा जुधाउने गरिएको हो । मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रूपमा विकसित हुँदै आएको मैदीकी सुशीला विश्वकर्माले जानकारी दिइन् । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरुजुधाइ परम्परा एक सय वर्षभन्दा पुरानो मानिन्छ । माघेसङ्क्रान्ति भन्नेबित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ ।






प्रतिक्रिया