+
Search

ताजा अपडेट +

पपुलर +

एमालेको पराजय र जुरमुराएर उठ्ने कुरा

एमालेको पराजय र जुरमुराएर उठ्ने कुरा
रामशरण प्याकुरेल
२ हप्ता अगाडी

गत भदौमा भएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहसको सुरूआत गर्यो । शासन प्रणाली, भ्रष्टाचार, राजनीतिक संस्कार, रोजगारी र अवसरको प्रश्नलाई केन्द्रमा राखेर युवापुस्ताले उठाएका आवाजले परम्परागत राजनीतिक दललाई चुनौती दिए । यही आन्दोलनको माग र त्यसले निर्माण गरेको राजनीतिक वातावरणबिच गत फागुन २१ गते सम्पन्न सङ्घीय निर्वाचनमा नेकपा (एमाले) ले अपेक्षाभन्दा धेरै कमजोर परिणाम भोग्नुपर्यो जुन निकै असामान्य र पीडादायक छ । निर्वाचनमा सबैभन्दा बढी विरोधको तारो एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको थियो नै, दल नेतृत्वको कार्यशैली र व्यवहारमाथि पनि चौतर्फी आक्रमण भयो ।

निर्वाचनमा एमालेको मत अवस्था सबैभन्दा बढी बदलिएको छ । उसले धेरै पटक जितेका ठाउँमा बढी मत परिवर्तन भएको छ । उसका उम्मेदवार थोरै दोस्रो, नत्र तेस्रो, चौथो भएका छन् । थोरै स्थानमा मात्र निकटतम प्रतिद्वन्दी हुन पुगेका छन् । हिजो जितेका उम्मेदवार प्रायः सबै हारेका छन् । नेतृत्वपङ्क्तिका प्रमुख नेताहरू फराकिलो मत अन्तरले नराम्रोसँग पराजित भएका छन् । निर्वाचनमा एमालेले पहिलेभन्दा २० प्रतिशत स्थानमा मात्र जितेको छ भने समानुपातिकतर्फको मत आधा भएको छ । आधाभन्दा बढी उम्मेदवारले जमानत जोगाउन सकेनन् भने दल नराम्ररी पछारिएर तेस्रो स्थानमा खुम्चिएको छ । सत्तरी जिल्लामा एमालेको उपस्थिति शून्य भएको छ । एक समय नेपालको सबैभन्दा सङ्गठित र प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित एमालेले यस पटक भोगेको यो पराजय केवल चुनावी परिणाम मात्र होइन, यो उसको राजनीतिक रणनीति, नेतृत्व शैली, सङ्गठनात्मक अवस्था र जनापेक्षाबीचको दूरीको सङ्केत पनि हो ।

जेनजी आन्दोलन मूलतः युवापुस्ताको असन्तुष्टिको अभिव्यक्ति थियो जुन कुनै एक दलविरूद्ध मात्र नभई सम्पूर्ण परम्परागत राजनीतिक संरचनाविरूद्ध केन्द्रित थियो । आन्दोलनका प्रमुख मागमा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा सुधार, पारदर्शी प्रशासन र नयाँ राजनीतिक संस्कारको स्थापना समावेश थिए । आन्दोलनले विशेषगरी युवामाझ एउटा नयाँ राजनीतिक चेतना निर्माण गर्यो। परम्परागत दलहरू-जसमा एमाले पनि पर्छ-लाई परिवर्तनको बाधकका रूपमा चित्रित गरियो । परिणामस्वरूप युवाको ठुलो हिस्सा परम्परागत दलप्रति आलोचनात्मक बन्यो । नेपालको जनसङ्ख्यामा युवा वर्गको अनुपात उल्लेखनीय भएकाले उनीहरूको राजनीतिक धारणा चुनावी परिणाममा निर्णायक बन्ने त यसै थियो, आन्दोलनले युवा मतदातालाई सक्रिय बनाउँदै वैकल्पिक राजनीतिक विकल्प खोज्न प्रेरित ग¥यो, जसले एमालेको मत आधारमा उल्लेखनीय प्रभाव पार्यो । एमालेको राजनीतिमा लामो समयदेखि नेतृत्वको प्रभाव अत्यधिक देखिन्छ । दलका अध्यक्ष ओलीको व्यक्तित्वले एमालेको राजनीतिक पहिचानलाई बलियो बनाएकामा पछिल्लो समय यही नेतृत्वकेन्द्रित शैली आलोचनाको विषय पनि बन्यो ।

दलभित्र निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको, आन्तरिक लोकतन्त्र कमजोर भएको तथा फरक मतलाई पर्याप्त स्थान नदिइएको आरोप लाग्दै आयो । यस प्रकारको नेतृत्व शैलीले केही कार्यकर्ता र समर्थकलाई निरास बनाएको देखियो, जसको प्रभाव चुनावी परिणाममा पनि परेको मान्न सकिन्छ । एमालेले अघिल्ला वर्षमा गरेको केही राजनीतिक निर्णयले पनि यसको सार्वजनिक छविमा असर पारेको थियो । विशेषगरी प्रधानमन्त्री हुँदा ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटन विसं २०७७ अत्यन्त विवादास्पद विषय बनाइयो । यद्यपि एमालेले त्यसलाई संवैधानिक अधिकारको प्रयोग भनेर व्याख्या गरेको थियो, विपक्षी दल र नागरिक समाजका धेरै समूहले यसलाई लोकतान्त्रिक अभ्यासविरूद्धको कदमका रूपमा चित्रित गरे । यस विवादले दलको लोकतान्त्रिक प्रतिबद्धताबारे प्रश्न उठाइरह्यो र सोको असर यस निर्वाचनमा समेत देखियो ।

एमालेको ऐतिहासिक शक्ति यसको बलियो सङ्गठनात्मक संरचना थियो । गाउँ, वडा, जिल्ला हुँदै केन्द्रसम्म अनुशासित सङ्गठन रहेको दलको पछिल्ला वर्षमा सङ्गठनात्मक सक्रियता अपेक्षाकृत कमजोर हुँदै गएको थियो । धेरै ठाउँमा दलीय संरचना निष्क्रिय भएको, स्थानीयस्तरमा मतदातासँगको सम्पर्क घटेको र नयाँ सदस्यता विस्तारमा सुस्ती आएको आरोप दलभित्र उठिरहेको थियो र चुनावमा दलले अपेक्षित सक्रियता देखाउन सकिरहेको थिएन ।

लामो समयदेखि एउटै अनुहार र औसत क्षमताका व्यक्तिको बाहुल्य दलको माथिल्लो तहमा रहँदा सङ्गठन स्वाभाविक रूपमा गतिशील नहुनु, नयाँ सोच, मौलिक विचार र सिर्जनात्मक बहसको ठाउँ साँघुरिदै जानाले प्रभावको खेल, स्वार्थको समायोजन तथा व्यक्तिगत लाभको बाँडफाँट नै आन्तरिक राजनीतिको दैनिकी बन्न थाल्यो ।

पछिल्ला वर्षमा नेपाली राजनीतिमा नयाँ दलहरूको उदय भएको छ । विशेषगरी सहरी क्षेत्रका मतदातामा वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढ्दै गएको थियो । परम्परागत दलप्रति निराशा बढ्दै जाँदा मतदाता नयाँ विकल्पतर्फ आकर्षित भएका थिए । त्यसको भरपसर उपयोग रास्वपाले गर्यो र चुनावमा करिब दुई तिहाइको परिणाम हात पार्यो ।

युवापुस्ताको राजनीतिक अपेक्षामा आएको फरकपना र भदौ २३ २४ का आन्दोलनपछि पनि दल फरक ठाउँमा उभिन पुग्यो । न यसले परिवर्तनलाई थोरै मात्र भए पनि आत्मसात् गर्यो न त जनतामा तथ्यलाई पस्केर आफ्नो अवस्था प्रस्ट गर्न सक्यो । प्रविधिमैत्री, पारदर्शिता खोज्ने, तर्कशील र आलोचनात्मक युवावर्ग परम्परागत राजनीतिक भाषणभन्दा परिणाममुखी नीति र व्यवहार चाहन्छन् भन्ने कुरालाई त्यति महत्त्व दिइएन । एमालेसहित धेरै दलको राजनीतिक शैली अझै पनि पुरानै ढाँचा र ढर्रामा चलिरहेको देखिन्छ । युवा सहभागिता, नीति निर्माणमा तिनको भूमिका र रोजगारीजस्ता विषयलाई पर्याप्त प्राथमिकता नदिइएकाले ‘पुरानाले गर्दैनन्’ भन्ने धारणा तल्लो तहसम्म फैलिएको थियो ।

नेपाली समाजमा अहिले सबैभन्दा ठुलो चिन्ता आर्थिक अवसरको अभाव हो । यदि कुनै राजनीतिक दलले बेरोजगारी, वैदेशिक रोजगारीमा निर्भरता, महँगी र आर्थिक असमानता जस्ता जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धि समस्यामा ठोस समाधान दिन सकेन भने जनताको समर्थन कमजोर हुँदै जान्छ । एमालेले विकास र स्थायित्वसहित ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लोकप्रिय राजनीतिक नारा अघि सारे पनि आर्थिक र सामाजिक मुद्दामा जनासन्तुष्टि बढ्ने काम भयो, जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन देखिन नसकेको आरोप जनस्तरसम्म फैलियो ।

एउटा निर्वाचनमा भएको पराजय राजनीतिक दलका लागि अन्त्य होइन, बरू आत्मसमीक्षा र सुधारको अवसर पनि हो । यदि एमालेले गम्भीर आत्मसमिक्षा गर्दै रणनीतिक सुधार गर्न सके भविष्यमा पुनः सशक्त राजनीतिक शक्ति बन्न सक्छ । अब एमालेले तत्कालै निम्न कुरामा ध्यान दिनुपर्छ :

गहिरो आत्मसमीक्षा : अहिलेसम्मको दलको आधिकारिक धारणा बाहिर आइनसके पनि सबैभन्दा पहिले दलले पराजयको वास्तविक कारण पहिचान गर्नुपर्छ । चुनावी परिणामलाई केवल बाह्य कारणसँग जोडेर मात्र व्याख्या गर्नु हुँदैन । दलभित्र खुला छलफल, आलोचनात्मक समीक्षा र तथ्यमा आधारित विश्लेषण आवश्यक हुन्छ । यसले भविष्यको रणनीति निर्माणमा मद्दत गर्छ । यति ठुलो धक्कापछि दलका नीति, कार्यशैली र यस परिणामका लागि नेतृत्व तहमा व्यक्तिविशेषको भूमिकाको समीक्षाका साथै आवश्यक देखिएमा नेतृत्व परिवर्तन गर्नेजस्ता कठोर कदम चाल्न समेत सक्नुपर्छ ।

आन्तरिक लोकतन्त्रको सुदृढीकरण : दलीय सङ्गठनलाई दीर्घकालीन रूपमा बलियो बनाउन आन्तरिक लोकतन्त्र अत्यन्त आवश्यक हुन्छ । निर्णय प्रक्रियामा विभिन्न तहका नेता/कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्छ । जब दलभित्र विचार व्यक्त गर्ने स्वतन्त्रता हुन्छ, तब सङ्गठनमा उत्साह र प्रतिबद्धता बढ्छ । पार्टी कमिटीमा केवल दलको माथिल्लो नेतृत्वप्रति बफादार नेताले महिमागान सुनाउँछन्, त्यही रटाउँछन् र बैठक सकिन्छ । यो ढङ्गले पार्टी संरचना एक प्रकारले ध्वस्त भएका छन् ।

युवालाई नेतृत्वमा अवसर : एमालेले युवापुस्तालाई नेतृत्व तहमा अवसर दिनुपर्छ । युवा नेताहरूलाई नीति निर्माण, सङ्गठन विस्तार र राजनीतिक अभियानमा अग्रभूमिमा ल्याउन सकियो भने प नयाँ ऊर्जा आउने छ ।

जनमुखी नीति र कार्यक्रम : राजनीतिक दलको वास्तविक शक्ति जनतासँगको सम्बन्ध हो । एमालेले अहिलेको शैलीलाई पूरै परिवर्तन गरेर जनताको दैनिक समस्यालाई केन्द्रमा राखी नीति निर्माण गर्नुपर्छ । रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण र सामाजिक सुरक्षाजस्ता विषयलाई सधैँ प्राथमिकतामा राख्नु आवश्यक छ र सोअनुसार कार्यान्वयनमा लैजान माथिदेखि टोल तहसम्मका कार्यकर्ता र पार्टी कमिटीलाई नयाँ ढङ्गले परिचालन गर्नुपर्छ ।

पारदर्शिता र सुशासनमा प्रतिबद्धता : भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन सकेमा जनविश्वास पुनः प्राप्त गर्न सकिन्छ । राजनीतिक नैतिकता र जवाफदेहिता कायम गर्न सकियो भने दलको सार्वजनिक छवि सुधार हुन सक्छ । ‘नेताले बोलेका सबै ठीक’ भन्ने भाष्यले अब काम गर्दैन ।

यस निर्वाचनमा एमालेले भोगेको पराजय नेपाली राजनीतिमा आएको परिवर्तनको सङ्केतका रूपमा बुझ्नुपर्छ । जेनजी आन्दोलनले उठाएका प्रश्न, युवापुस्ताको बढ्दो असन्तुष्टि, नेतृत्व शैली, सङ्गठनात्मक कमजोरी र जनापेक्षाबिचको दूरीले यस परिणाममा भूमिका खेलेको देखिन्छ । परिणाम स्विकार्नु र आफूलाई सर्वाङ्ग सच्याएर अघि बढ्नाकोे विकल्प छैन । नेताहरू धुलो टकटकाएर उठ्ने कुरा त गरिरहेका छन्, लडिएको जमिनको धरातलीय यथार्थ के हो र शरीरमा धुलो कहाँ कहाँ लागेको छ, खुट्याउन भने उनीहरूले सक्नुपर्छ ।

लोकतान्त्रिक राजनीतिमा कुनै पनि दलको हार स्थायी हुँदैन । यदि एमालेले गम्भीर आत्मसमीक्षा गर्दै सङ्गठन सुधार, युवा नेतृत्व विकास, जनमुखी नीति र सुशासनमा जोड दिन सक्यो भने पुनः सशक्त राजनीतिक शक्ति बन्ने सम्भावना अझै पनि विद्यमान छ । इतिहास हेर्दा विश्वका धेरै स्थापित दलहरू कहिले अत्यन्त शक्तिशाली बनेका छन् भने कहिले कमजोर अवस्थामा । तर उनीहरूको अस्तित्व समाप्त भएको छैन, किनकि उनीहरू समयानुसार आत्मसमीक्षा गर्दै, आफ्ना कमजोरी सुधार्दै र जनताको अपेक्षानुसार आफूलाई रूपान्तरण गर्दै अघि बढेका छन् । यसरी गम्भीर आत्मविश्लेषण र सुधारका माध्यमबाट वर्तमान पराजयलाई अवसरका रूपमा लिएर नयाँ सोच, नयाँ रणनीति र समावेशी राजनीतिक संस्कारको विकास गर्न सकेमा एमालेले भविष्यमा पुनः आफ्नो राजनीतिक प्रभाव विस्तार गर्न सक्ने छ । उसले आफ्नो राजनीतिक यात्रा नयाँ ढङ्गले अघि बढाउन सक्ने सम्भावना अझै पनि प्रशस्त छ । आशा गरौँ, धोइपखाली गरेर एमाले निख्खर बन्ने छ र नेपाली राजनीतिमा पुनंः अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्न सक्षम हुनेछ । (लेखक एमालेका बौद्धिक व्यक्तित्व हुनुहुन्छ ।)  २०८२ फागुन २७

 

 

प्रतिक्रिया

लेखकको बारेमा

रामशरण प्याकुरेल