नेपालको समकालीन राजनीतिक परिदृश्य पछिल्ला केही वर्षमा गहिरो संरचनात्मक संक्रमणको चरणबाट गुज्रिरहेको देखिन्छ । तीन दशकभन्दा लामो लोकतान्त्रिक अभ्यासपछि पनि अपेक्षितस्तरमा राजनीतिक स्थायित्व, सुशासन तथा संस्थागत पारदर्शिता स्थापित हुन नसक्दा जनमानसमा व्यापक असन्तोष र निराशा व्याप्तहुँदै गएको थियो । निरन्तर देखिएको सत्ता सङ्घर्ष, प्रणालीगत भ्रष्टाचार, बढ्दो बेरोजगारी तथा अपेक्षाकृत सुस्त आर्थिक-सामाजिक विकासले राज्यप्रति नागरिकको विश्वासमा उल्लेखनीय क्षय ल्याएको थियो । यही असन्तोष, परिवर्तनप्रतिको तिव्र आकांक्षा तथा वैकल्पिक राजनीतिक नेतृत्वको खोजीले नेपाली राजनीतिमा नयाँ शक्तिको उदय भएको छ ।
रास्वपाको उदय केवल एउटा नयाँ राजनीतिक दलको उदय मात्र होइन; यो नेपाली समाजमा विकसितहुँदै गएको राजनीतिक चेतना, उत्तरदायित्वपूर्ण शासनप्रतिको जनअपेक्षा तथा संस्थागत सुधारप्रतिको व्यापक आकांक्षाको प्रतिफल पनि हो । यसले दशकौँदेखि नेपाली राजनीतिको मुख्यधारामा वर्चस्व कायम गर्दै आएका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हालको नेपाली कम्युनिष्ट पार्टी जस्ता स्थापित शक्तिको परम्परागत राजनीतिक प्रभुत्वमाथि गम्भीर प्रश्न उठाउँदै प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यासलाई नयाँ आयाम फागुन २१ गते सम्पन्न निर्वाचनले प्रदान गरेको छ ।
परिवर्तनको अभिव्यक्ति
राजनीतिक विश्लेषकका अनुसार रास्वपाको लोकप्रियताको प्रमुख आधार ‘परम्परागत दलहरूप्रतिको गहिरो निराशा तथा नयाँ वैकल्पिक शक्तिप्रतिको खोजी’ हो । यस सन्दर्भमा जर्मन समाजशास्त्री म्याक्स वेबरले प्रतिपादन गरेको ‘क्यारिज्म्याटिक प्राधिकरण’ को अवधारणालाई पनि सान्दर्भिक रूपमा उल्लेख गर्न सकिन्छ । वेबरका अनुसार सामाजिक असन्तोष, राजनीतिक सङ्कट वा संरचनात्मक परिवर्तनको समयमा करिश्माई नेतृत्वले नयाँ राजनीतिक आन्दोलनलाई जन्म दिने सम्भावना उच्च हुन्छ । रास्वपाको प्रारम्भिक उभारलाई यसै सैद्धान्तिक दृष्टिकोणबाट पनि व्याख्या गर्न सकिन्छ । पत्रकारिता क्षेत्रबाट सार्वजनिक जीवनमा लोकप्रियता हासिल गरेका रबि लामिछानेको करिश्माई नेतृत्व, भ्रष्टाचारविरोधी छबि तथा प्रत्यक्ष जनसम्पर्कमा आधारित सञ्चार शैलीले पार्टीलाई छोटो अवधिमै व्यापक जनमानसमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
किन बढ्यो समर्थन
राजनीतिक परिवर्तनको माग, सुशासनप्रतिको अपेक्षा तथा स्थापित दलहरूप्रतिको असन्तोषले विभिन्न सामाजिक वर्गलाई यस दलतर्फ आकर्षित गरेको देखिन्छ । प्रमुख रूपमा निम्न सामाजिक समूह रास्वपाको समर्थन आधारका रूपमा देखा परेको छ ।
१.युवा वर्ग : रोजगारीका सीमित अवसर, गुणस्तरीय शिक्षाको अभाव, तथा देशभित्र आर्थिक सम्भावनाको न्यूनताले युवामा राज्य र राजनीतिक व्यवस्थाप्रति निराशा बढ्दै गएको थियो । युवामुखी भाष्य, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग तथा प्रत्यक्ष संवादको शैलीले यस वर्गसँग पार्टीको सम्बन्ध अझ सुदृढ भएको विश्लेषक बताउँछन् ।
२. शहरी मध्यम वर्ग : शहरी मध्यम वर्ग सामान्यतया सुशासन, पारदर्शिता, संस्थागत दक्षता तथा उत्तरदायी प्रशासनको अपेक्षा राख्ने सामाजिक समूहका रूपमा चिनिन्छ । परम्परागत दलको शासनशैलीप्रति असन्तुष्ट रहेको यही वर्गले रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा ग्रहण गरेको देखिन्छ ।
३. प्रवासी समुदाय : नेपाली प्रवासी समुदाय प्रायः देशको राजनीतिक अवस्थाप्रति आलोचनात्मक दृष्टिकोण राख्ने समूहका रूपमा देखिन्छ । डिजिटल प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत उनीहरू रास्वपाको अभियान, विचार तथा गतिविधिसँग सक्रिय रूपमा जोडिएको देखिन्छ । यसरी प्रवासी नेपालीको नैतिक तथा वैचारिक समर्थनले पनि रास्वपाको लोकप्रियता विस्तारमा योगदान पु¥याएको मानिन्छ ।
४. प्रयोग गर्न सक्ने सम्भावना : छोटो अवधिमै प्राप्त जनसमर्थन, स्थापित दलहरूप्रतिको असन्तोष तथा परिवर्तनप्रतिको व्यापक जनअपेक्षाले यस दललाई नेपाली राजनीतिक प्रणालीमा संरचनात्मक सुधारका लागि सक्रिय भूमिका खेल्ने सम्भावना दिएको छ ।
५. नयाँ राजनीतिक संस्कृतिको निर्माण : यदि रास्वपाले पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सफल भयो भने यसले नेपालको राजनीतिक प्रणालीमा नयाँ राजनीतिक संस्कृतिको आधार निर्माण गर्न सक्छ । उत्तरदायी नेतृत्व, नीति आधारित निर्णय प्रक्रिया तथा सार्वजनिक हितलाई प्राथमिकता दिने शासनशैलीले दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सहयोग पुर्याउन सक्छ ।
६. संस्थागत सुधार : नेपालको प्रशासनिक संरचना, सार्वजनिक सेवा प्रणाली तथा राज्य संयन्त्रमा व्यापक संस्थागत सुधारको आवश्यकता लामो समयदेखि औंल्याइँदै आएको छ । यस्ता सुधारले शासन प्रणालीलाई प्रभावकारी, दक्ष तथा नागरिकमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउन सक्छन् ।
७. युवा नेतृत्वको उदय : रास्वपाले युवा नेतृत्वलाई प्रोत्साहन गर्ने, नयाँ राजनीतिक प्रतिभालाई अवसर प्रदान गर्ने तथा नीति निर्माण प्रक्रियामा युवा सहभागिता बढाउने कार्यमार्फत दीर्घकालीन राजनीतिक रूपान्तरणको आधार निर्माण गर्न सक्छ । यसले राजनीतिक प्रणालीमा नवीन सोच, ऊर्जा तथा नीतिगत नवप्रवर्तनलाई प्रोत्साहन गर्ने सम्भावना पनि राख्छ ।
८. राजनीतिक शक्ति सन्तुलन : परम्परागत रूपमा प्रभावशाली रहेका दलहरूबीचको प्रतिस्पर्धामा नयाँ शक्ति प्रवेश गर्दा संसद् तथा नीति निर्माण प्रक्रियामा बहसको स्तर, नीति-आधारित प्रतिस्पर्धा तथा उत्तरदायित्वको माग अझ सशक्त बन्न सक्छ । यसले लोकतान्त्रिक संस्थालाई थप सक्रिय र उत्तरदायी बनाउने सम्भावना पनि सिर्जना गर्दछ ।
९. रास्वपाको वास्तविक परीक्षा : कुनै पनि नयाँ राजनीतिक शक्तिका लागि प्रारम्भिक लोकप्रियतालाई दीर्घकालीन राजनीतिक स्थायित्वमा रूपान्तरण गर्नु जटिल प्रक्रिया हुने भएकाले रास्वपाको वास्तविक परीक्षा अबको राजनीतिक अभ्यास र शासन सञ्चालनको क्षमतामा निर्भर रहने छ ।
१०. शासन अनुभवको अभाव : रास्वपाका धेरै नेता परम्परागत राजनीतिक पृष्ठभूमिबाट नभई पत्रकारिता, व्यवसाय, सामाजिक अभियान वा अन्य पेशागत क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । यद्यपि यसले नयाँ सोच र ऊर्जा ल्याउने सम्भावना बोकेको छ, तर सरकारी प्रशासन, नीति निर्माण तथा राज्य सञ्चालनसँग सम्बन्धित जटिल प्रक्रिया व्यवस्थापन गर्न आवश्यक अनुभवको अभाव चुनौतीका रूपमा देखिन सक्छ ।
११. सङ्गठन निर्माण : राजनीतिक दलको दीर्घकालीन प्रभावशीलता सुदृढ सङ्गठनात्मक संरचनामा निर्भर हुन्छ । विश्लेषकका अनुसार रास्वपाको सङ्गठनात्मक संरचना अझै प्रारम्भिक चरणमै रहेको देखिन्छ । केन्द्रदेखि स्थानीय तहसम्म सुदृढ सङ्गठन विस्तार गर्नु रास्वपाका लागि महत्त्वपूर्ण रणनीतिक आवश्यकता बन्न सक्छ ।
१२. जनापेक्षाको व्यवस्थापन : रास्वपाले ‘नयाँ राजनीति’, पारदर्शिता तथा सुशासनको प्रतिबद्धता प्रस्तुत गर्दै व्यापक जनसमर्थन प्राप्त गरेको छ । त्यसैले जनअपेक्षाको यथार्थपरक व्यवस्थापन, स्पष्ट नीतिगत प्राथमिकता तथा प्रभावकारी कार्यान्वयन क्षमता पार्टीका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ ।
१३. आन्तरिक व्यवस्थापन : रास्वपाले दीर्घकालीन रूपमा आफ्नो वैकल्पिक राजनीतिक छविलाई कायम राख्न आन्तरिक लोकतन्त्र, पारदर्शी निर्णय प्रक्रिया तथा संस्थागत उत्तरदायित्वलाई मजबुत बनाउनु आवश्यक हुनेछ ।
१४. सम्भावित दीर्घकालीन रणनीति : आगामी दशकमा स्थायी राजनीतिक प्रभाव कायम राख्नका लागि दलले केही महत्त्वपूर्ण रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
१५. नीति-केन्द्रित राजनीति : दीर्घकालीन राजनीतिक विश्वसनीयता निर्माण गर्न लोकप्रिय नाराभन्दा स्पष्ट, व्यावहारिक तथा प्रमाण-आधारित नीतिलाई प्राथमिकता दिनु आवश्यक हुन्छ । यस्तो दृष्टिकोणले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियामा गुणात्मक सुधार ल्याउने सम्भावना पनि बढाउँछ ।
१६. अनुसन्धान र नीति निर्माण संरचना : रास्वपाले अर्थतन्त्र, प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा वैदेशिक नीति जस्ता क्षेत्रमा गहन अनुसन्धान र नीतिगत सिफारिस प्रदान गर्न सक्षम अनुसन्धान केन्द्र स्थापना गर्नु उपयोगी हुन सक्छ । यसले दललाई प्रमाण आधारित नीति निर्माणमा सहयोग पुर्याउने छ ।
१७. स्थानीय तहमा सङ्गठन विस्तार : विशेषतः स्थानीय तहमा सङ्गठन विस्तारले जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने र दीर्घकालीन राजनीतिक आधार निर्माण गर्ने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
१८. सुशासनको उदाहरण : यदि पार्टीले प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रणालीको दक्षता वृद्धि तथा भ्रष्टाचार नियन्त्रणमा ठोस् र देखिने परिणाम दिन सक्यो भने यसले नागरिकमा दीर्घकालीन राजनीतिक विश्वास निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ ।
स्थापित राजनीतिक दलहरूप्रतिको असन्तोष, सुशासनप्रतिको माग तथा नयाँ राजनीतिक संस्कृतिको खोजीले रास्वपाको उदयलाई सम्भव बनाएको छ ।
यदि पार्टीले जनापेक्षानुसार प्रभावकारी शासन सञ्चालन गर्न असफल भयो भने यसको वर्तमान लोकप्रियता क्षणिक राजनीतिक लहरमा सीमित हुने सम्भावना पनि नकार्न सकिँदैन । यसैले आगामी वर्षमा रास्वपाले लिने रणनीतिक निर्णय विशेषतः शासनशैली, नीति कार्यान्वयनको क्षमता तथा अन्य राजनीतिक शक्तिसँगको सम्बन्धले नेपालको भविष्यको राजनीतिक दिशा र लोकतान्त्रिक अभ्यासको स्वरूपलाई महत्त्वपूर्ण रूपमा प्रभावित गर्ने सम्भावना रहेको देखिन्छ ।
विदुर-१ ढुङ्गे, नुवाकोट






प्रतिक्रिया