विदुर । दुई निर्वाचन क्षेत्र भएको नुवाकोट प्रतिनिधिसभा सदस्यका ३२ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
धरौटी जफत हुनेमा क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिमल थापा सात सय ५६, जनता समाजवादी पार्टीका होमबहादुर राई २४, नेपाल मजदुर किसान पार्टीका रविन्द्र डंगोल ५०, प्रगतिशिल लोकतान्त्रिक पार्टीका राजन गौतम ८८, मंगोल नेशनल अर्गनाइजेसनका कुमार रानामगर एक सय ५९, श्रम संस्कृति पार्टीका दावाफेन्जु लामा तामाङ दुई सय ८८, मितेरी पार्टी नेपालका बिवेक सिलवाल छ, नेकपा (माओवादी) का महेन्द्र तामाङ एक सय ५६, उज्यालो नेपाल पार्टीका अमित तामाङ दुई हजार ६३, स्वतन्त्र उम्मेदवार चेपे तामाङ १४, राजु थापा ४९, रामेश्वर भण्डारी २९, सजिव गुरूङ ६३ मत पाएका छन् । यो क्षेत्रमा जम्मा मतदाता सङ्ख्या एक लाख २३ हजार नौ सय २९, जम्मा खसेको मत ७१ हजार ४०, कूल बदर मत तीन हजार सात सय ६०, कूल सदर मत ६७ हजार दुई सय ८० मध्ये धरौटी जोगाउन यस क्षेत्रका उम्मेदवारले छ हजार सात सय २८ मत ल्याउनुपर्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत कुनै पनि निर्वाचन क्षेत्रमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी फिर्ता नहुने व्यवस्था रहेको छ । नुवाकोटको क्षेत्र नं १ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा.बिक्रम तिमल्सिनाले २२ हजार छ सय नौ, दोस्रो हुने नेपाली काङ्ग्रेसका डा.प्रकाशशरण महतले १८ हजार पाँच सय ९७, तेस्रो हुने नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार तीन सय ७७ र चौथों हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बद्री मैनालीले आठ हजार नौ सय ३२ मत प्राप्त गर्नुभएकोले उहाँहरू जमानत फिर्ता हुने निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा क्षेत्र नं १ का निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवनरी दर्तासँगै पुरूषको हकमा रू.१० हजार र महिलाको हकमा रू.पाँच हजार जमानत राख्ने व्यवस्था छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं २ का १२ मध्ये आठ जना उम्मेदवारको जमानत फिर्ता नहुने भएको छ । यस क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले छ हजार सात सय नौ मत प्राप्त गर्नुपर्नेछ । यस क्षेत्रमा जम्मा मतदाता सङ्ख्या एक लाख २३ हजार नौ सय ३९ मध्ये ७० हजार चार सय ५२ खसेको, तीन हजार तीन सय ६२ मत बदर भएको र कूल सदर मतको सङ्ख्या ६७ हजार ९० रहेको छ । यस क्षेत्रबाट विजयी भएका रास्वपाका डा.अच्युतम लामिछाने ३२ हजार ५४, दोस्रो भएका नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले १५ हजार पाँच सय तीन, तेस्रो भएका नेकपा (एमाले) का केशवराज पाण्डेले आठ हजार दुई सय ८२ र चौथों भएका नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार सात सय २० मत पाउनुभएकोले उहाँहरूको धरौटी जोगिएको छ । नेकपाका उम्मेदवार खतिवडाको ११ मत मात्रले जमानत जोगिएको छ । यो क्षेत्रबाट जमानत फिर्ता गर्न पुग्ने, भोट ल्याउन नसक्नेमा राप्रपाका झनक प्याकुरेल सात सय ७५, नेमकिपाका सुबास भट्ट २८, मङ्गोल नेशनल अर्गनाइजेसनका रेन्छेन तामाङ चार सय २६, नेकपा (संयुक्त) का किरण तिमल्सिना ५२, श्रम संस्कृति पार्टीका बिनोदकुमार तामाङ तीन सय ९६, नेकपा (माओवादी) का नवराज ढुङ्गाना ९०, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले दुई हजार सात सय ५०, आम जनता पार्टीका मानसिंह गर्दाइली ११ मत प्राप्त गरेका छन् ।






प्रतिक्रिया