धुन्चे । रसुवामा नौ जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका नौ जना उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।
मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उमेदवार रहनु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम जमानत जोगाउन नसक्नेमा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मंगोल नेश्नल अर्गनाइजेसनका बिनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा (माओवादी) का होमप्रसाद आचार्य छन् । यसैगरी, स्वतन्त्र उमेदवार बनेका चित्रकुमारी देवकोटा, मिङ्मर तमाङ र सागर लामाले पनि धरौटी जोगाउन सकेनन् । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्नेमा सो प्रतिशत नपुगेका कारण उहाँहरूको धरौटी जफत भएको र सो रकम राज्यकोषमा सदर स्या गरिने जनाइएको छ । नियमानुसार उम्मेदवार दर्ता गर्दा पुरूषले रू.१० हजार र महिलाले रू.पाँच हजार राजस्व खातामा शुल्क दाखिला गर्नुपर्छ । पुरूषको भन्दा महिला उमेदवारको ५० प्रतिशत शुल्क कम हुने भएका कारण रसुवा जिल्लाबाट महिला उम्मेदवारको रूपमा एक मात्र चित्रकुमारी देवकोटा खडा हुनुभएका कारण उहाँको नाउँबाट रू.पाँच हजार र अन्य पुरूष आठ उम्मेदवारको रू.१० हजार गरी रू.८५ हजार नेपाल सरकारको खातामा जाने बताइएको छ ।
रसुवामा नौ दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवारमध्ये विजयी हुनुभएका कांग्रेसका मोहन आचार्य, रास्वपाका बसन्त भट्ट र नेकपा (एमाले) का प्रेम तामाङले नियमानुसार धरौटी रकम फिर्ता पाउने बताइएको छ । निर्वाचन कार्यालयले निर्वाचन ऐन नियमानुसार दल र स्वतन्त्र उमेदवार सबैलाई चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।






प्रतिक्रिया