विदुर । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आयोगले सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूचीअनुसार यसपटक निर्वाचित भएका अधिकांश शिक्षित माननीय रहेका छन् । प्रजातन्त्र पुनस्र्थापनापछि भएका विगतका निर्वाचन विसं २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ को दाँजोमा यसपटक प्रत्यक्षतर्फ निर्वाचित आधाभन्दा धेरै सांसदले स्नातक उत्तीर्ण गर्नुभएको छ ।
आयोगलाई उहाँहरूले उपलब्ध गराउनुभएको विवरणअनुसार प्रत्यक्ष निर्वाचित एक सय ६५ सांसदमध्ये एक सय चार सांसदले स्नातक गर्नुभएको छ । यसपटक निर्वाचित भएर आउनुभएका नुवाकोटका दुई सांसदसहित नौजना विद्यावारिधि (पिएचडी) गर्नुभएका सांसद संसद् भवनमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । निर्वाचितमध्ये स्नातकोत्तर गर्ने सांसदको सङ्ख्या ४५ छ । त्यस्तै, स्नातक तह उत्तीर्ण गर्नुभएका ५० जना हुनुहुन्छ भने २२ जना सांसदले प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गर्नुभएको छ । नौ सांसदले एसएलसी उत्तीर्ण गर्नुभएको छ । यसरी हेर्दा ६३ प्रतिशत सांसद स्नातक उत्तीर्ण हुनुहुन्छ भने प्लस टुमाथि पढेकाको सङ्ख्या ७६ प्रतिशत छ । अघिल्ला संसद्मा शिक्षित सांसदको सङ्ख्या योभन्दा निकै कम थियो । समानुपातिकतर्फबाट सांसद निर्वाचित भइसकेपछि यो औसतमा केही हेरफेर हुन सक्नेछ । ‘अब विगतमा जस्तो एउटा विधेयकमा छलफल गर्दा अर्कै विधेयकको कुरा गर्नेजस्ता समस्या आउँदैनन् होला,’ संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले भन्नुभयो । यद्यपि, सांसदको योग्यता शैक्षिक उपाधिभन्दा जनताको इच्छा, आकाङ्क्षा र भावनालाई सदनमा कुन रूपमा प्रस्तुत गर्न सक्छ भन्ने कसीमा जाँचिने उहाँ बताउनुहुन्छ । ‘शैक्षिक योग्यता राम्रो हुँदा विषयवस्तुको बुझाइ र विचारको प्रस्तुतिसमेत प्रस्ट रूपमा गर्न सक्ने अवस्था बन्छ,’ उहाँले भन्नुभयो । विगतमा आफूले छलफल गर्नुपर्ने कतिपय विषयका लागि नेताकै भर पर्नुपर्ने अवस्था अबका सांसदलाई हुनेछैन ।
यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा विद्यावारिधि गरेका ५५ जना उम्मेदवार रहनुभएको थियो । तीमध्ये नौजना निर्वाचित हुनुभएको छ । निर्वाचितमध्ये नुवाकोट १ का डा.विक्रम तिमिल्सिना, नुवाकोट २ का डा.अच्युत्तम लमिछाने, तनहुँ १ का डा.स्वर्णिम वाग्ले, सर्लाही ४ का डा.अमरेशकुमार सिंह, रामेछापका डा.कृष्णहरि बुढाथोकी र स्याङ्जा १ का डा.धनञ्जय रेग्मी हुनुहुन्छ । त्यस्तै, विद्यावारिधि गर्नेमा कैलाली ५ बाट निर्वाचित आनन्दबहादुर चन्द, डडेलधुराका ताराप्रसाद जोशी र नेकपा एमालेका तर्फबाट संखुवासभाका निर्वाचित अर्जुनकुमार कार्की रहनुभएको छ । रास्वपा उपसभापति स्वर्णिम वाग्ले यसअघि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको एसिया-प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगमा सदस्य तथा उपाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । अमेरिकामा नेपाली राजदूतका रूपमा काम गरिसक्नुभएका एमालेका कार्कीले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको हो । उहाँले हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएको छ ।
यसैगरी, काङ्ग्रेस सभापति गगन थापालाई पराजित गर्दै विजयी अमरेशकुमार सिंहले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । राजनीतिमा आउनुअघि उहाँ अमृत साइन्स क्याम्पसमा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । नुवाकोट १ बाट निर्वाचित तिमिल्सिनाले सन् २०२२ मा ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । यस्तै, नुवाकोट २ बाट निर्वाचित अच्युत्तम लामिछानेले दक्षिण कोरियाको योङ–इन विश्वविद्यालयबाट स्पोर्टस् एन्ड एक्सरसाइज साइकोलोजीमा विद्यावारिधि गर्नुभएको छ । कृष्णहरि बुढाथोकीले त्रिभुवन विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँले आर्थिक प्रदर्शन रेमिट्यान्सलगायत विभिन्न विकाससम्बन्धी विषयमा अनुसन्धान गर्नुभएको छ । धनञ्जय रेग्मीले जापानको होक्काइडो विश्वविद्यालयबाट वातावरणीय पृथ्वी विज्ञानमा विद्यावारिधि गर्नुभई अमेरिकाको एरिजोना विश्वविद्यालयबाट पोस्ट-डक्टरल अनुसन्धान गर्नुभएको छ ।
त्यस्तै, आनन्दबहादुर चन्दले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थानमा अध्ययन गर्दै अमेरिकाको नर्थ क्यारोलाइना ए एन्ड टी स्टेट युनिभर्सिटीसँगको सहकार्यमा प्राकृतिक पदार्थ रसायन तथा फार्माकोग्नोसी विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०४८ देखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जित्दै आएको डडेलधुरामा जित हासिल गर्नुभएका ताराप्रसाद जोशीले भने जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । विगतमा विद्यालय शिक्षा पार नगरेका नेताहरू राजनीतिको केन्द्रमा रहने गरेको गुनासो आमरूपमै सुनिने गरिएको थियो । विसं २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ सम्मको निर्वाचनमा अधिकांश सांसदको शैक्षिक योग्यता कम, लोकतान्त्रिक आन्दोलन, जेल वा भूमिगत सङ्घर्षमा ज्यादा हुन्थ्यो । यसपटक भने प्रतिनिधिसभामा पढालेखा सांसद र युवाको बाहुल्य रहेको छ ।
नुवाकोट १ बाट प्रतिनिधिसभामा डा. तिमिल्सिना

डा. विक्रम तिमिल्सिना नाराभन्दा नीति, प्रमाण र जवाफदेहितामा विश्वास गर्ने राजनीतिक नेता हुनुहुन्छ । अनुसन्धान, अध्यापन र नीति बहसको लामो अनुभव बोक्नुभएका उहाँ राजनीतिलाई शक्ति सङ्कलनको साधन होइन, नागरिकप्रति जिम्मेवारी बहन गर्ने माध्यमका रूपमा बुझ्नुहुन्छ । उहाँका लागि राजनीति भनेको पद नभई दैनिक परीक्षा हो, जहाँ हरेक दिन नागरिकका प्रश्नको उत्तर दिनुपर्छ ।
विद्यालय तहदेखि नै राजनीतिक चेतना विकास गर्नुभएका तिमिल्सिना २०६२/०६३ को जनआन्दोलनमा सचेत नागरिकका रूपमा सक्रिय रहनुभयो । प्रत्यक्ष विद्यार्थी राजनीति नगरे पनि उहाँले दशकौँदेखि नागरिक समाज, शैक्षिक मञ्च र सार्वजनिक बहसमार्फत नेपाली राजनीति, लोकतन्त्र, आन्तरिक पार्टी लोकतन्त्र, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएको छ । विसं २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्य बनेसँगै उहाँ संस्थागत राजनीतिमा औपचारिक रूपमा संलग्न हुनुहुन्छ । डा. तिमिल्सिनाको राजनीतिक स्वभाव सुधारवादी, नीतिकेन्द्रित र प्रमाणआधारित छ । अनुसन्धानकर्ता भएकाले उहाँ तथ्य, तथ्याङ्क र अध्ययनविना कुनै नीति वा कार्यक्रम अघि बढ्न सक्दैन भन्ने मान्यता राख्नुहुन्छ । असम्भव र लोकप्रिय नाराभन्दा कार्यान्वयनयोग्य नीति र व्यावहारिक कार्यक्रम उहाँका प्राथमिकता हुन् । अल्पसङ्ख्यक, सीमान्तकृत र आवाजविहीन समुदायको सवाललाई राजनीतिको केन्द्रमा राख्नुपर्ने उहाँको स्पष्ट अडान छ । उहाँ अनियमितता र सम्झौतावादी राजनीतिसँग कहिल्यै सम्झौता गर्नुहुुन्न ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध डा. तिमिल्सिना सुशासन, सामाजिक न्याय, समावेशिता र प्रमाणमा आधारित नीति निर्माणलाई राज्य सञ्चालनको आधार मान्नुहुन्छ । उहाँको विश्वास स्पष्ट छ – देशको भविष्य राजनीतिक नेताका हातमा हुन्छ, तर नागरिकको जिम्मेवारी मत हालेर मात्र सकिँदैन । कडा कानुन, प्रभावकारी कार्यान्वयन, व्यापक परामर्श र निरन्तर नागरिक निगरानीविना लोकतन्त्र बलियो हुँदैन । काम गर्ने शैलीमा उहाँ विकेन्द्रीकृत, संवाद–केन्द्रित र कार्यमुखी हुनुहुन्छ । समुदायसँग बस्ने, सुन्ने, प्राथमिकता बुझ्ने र करदाताको पैसाको अधिकतम सदुपयोग गर्ने उहाँको कार्यदर्शन हो । उहाँ आफूलाई ‘नेता’का रूपमा प्रस्तुत गर्नुभन्दा पनि मानिसले विश्वास गरेर पछ्याउन चाहने व्यक्ति बन्न रुचाउनुहुन्छ । सामूहिक काम, जिम्मेवारीको स्पष्ट बाँडफाँट र विशेषज्ञताअनुसार काम गर्ने संस्कृतिमा उहाँ दृढ विश्वास राख्नुहुन्छ ।
नुवाकोट १ का सन्दर्भमा डा.तिमिल्सिनाका मुख्य प्राथमिकता सुशासन, शिक्षा र स्वास्थ्य, कृषि, कृषि पर्यटन, पूर्वाधार विकास र युवा रोजगारी हुन् । मलको समस्या, बिचौलियाको दबदबा र उत्पादनको उचित मूल्य नपाउने अवस्था कृषिमा नुवाकोटका केन्द्रीय समस्या भएको उहाँ ठान्नुहुन्छ । पर्यटन र कृषि पर्यटनलाई स्थानीय रोजगारी र अर्थतन्त्रसँग जोड्दै विकास गर्न सकिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । उहाँको राजनीतिक विश्वास यस्तो छ – नागरिकका हातमा शक्ति, नागरिकका हितमा शक्ति, राष्ट्र र नागरिकप्रति जवाफदेही राजनीति, सेवामूलक सत्ता, जवाफदेही राजनीति उहाँको मूल सन्देश छ ।
सङ्क्षिप्त व्यक्तिगत विवरण
नाम : डा. विक्रम तिमिल्सिना
उमेर : ४३ वर्ष
प्रतिनिधिसभा क्षेत्र : नुवाकोट १
स्थायी ठेगाना : पञ्चकन्या-१, बानियाँटार, नुवाकोट
शैक्षिक योग्यता : राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि ग्रिफिथ विश्वविद्यालय अस्ट्रेलिया, अन्तर्राष्ट्रिय अध्ययन (शान्ति तथा द्वन्द्व समाधान)मा स्नातकोत्तर, युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्ट्रेलिया, मानविकी तथा सामाजिक विज्ञान (अङ्ग्रेजी) मा स्नातकोत्तर त्रिवि नेपाल पेसागत तथा सामाजिक भूमिका, संस्थापक अध्यक्ष, एसिएन इन्स्टिच्युट फर एडभान्स्ड रिसर्च काठमाडौँ, पूर्वसेसनल लेक्चरर, त्रिवि (डिप्लोमेसी तथा अन्तर्राष्ट्रिय कानुन, एमफिल–पिएचडी कार्यक्रम), पूर्वाध्यापक राष्ट्रिय सशस्त्र प्रहरी बल एकेडेमी मातातीर्थ काठमाडौँ, पूर्वाध्यक्ष क्षेत्रपाल पूर्वविद्यार्थी सङ्घ लिखु गाउँपालिका नुवाकोट-१
हाल : २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ बाट २२ हजार ६ सय नौ मत ल्याई विजय हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सदस्य निर्वाचित डा. तिमिल्सिनाले नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका डा. प्रकाशशरण महतलाई चार हजार १२ को मतान्तरमा पराजित गर्नुभयो । महतले १८ हजार पाँच सय ९७ मत पाउनुभएको थियो ।
नुवाकोट २ बाट प्रतिनिधिसभामा डा.लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट २ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुनुभएका डा. अच्युत्तम लामिछानेले नेपाली काङ्ग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १६ हजार पाँच सय ५१ मतान्तरमा पराजित गर्नुभयो । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी केसीले १५ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको थियो । सुशासन र नीतिगत सुधारका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुहुने लामिछाने जनताले गरेको विश्वास तथा प्राप्त मतादेश इमानदार र सुशासनका लागि भएको बताउनुहुन्छ । उहाँले जनताको अपेक्षाअनुसार काम गर्ने वाचा गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनको जगमा भएको यो निर्वाचनको मुख्य मर्मअनुसार काम गर्न सदैव तत्पर रहनेछु, जनताको माया र विश्वासलाई खेर जान दिनेछैन, कुराभन्दा पनि यस क्षेत्रका जनताले महसुस हुने गरी काम देखाउँछु ।’
संसद्को लोगो लगाउने तरखरमा रहेका लामिछाने विसं २०३४ कात्तिक २७ गते भाइटीकाका दिन जन्मनुभएको हो । लामिछाने नुवाकोटवासीका लागि अब अपरिचित नाम भएन । आफ्ना पिताको पुख्र्यौली थलो र माताको जन्मथलो साबिक तुप्चे, हाल विदुर–७ तुप्चे नुवाकोटमै आफ्नो बालापन र विद्यालयजीवन बिताउनुभएका लामिछानेले विद्यालय तहको अध्ययन चण्डेश्वरी मावि, तुप्चे र रसुवाको बोगटीटारस्थित नीलकण्ठ माविबाट पूरा गर्नुभयो । उहाँको विवाह पनि विदुर–३ चैनपुरमै भएको छ । त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न क्याम्पस ताहाचलबाट स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नुभएका लामिछानेले जन्जु भिजन विश्वविद्यालय, दक्षिण कोरियामा कोरियाली भाषाको समेत अध्ययन गर्नुभएको छ । उहाँले महेन्द्ररत्न क्याम्पसबाट स्नातक तथा योङ इन विश्वविद्यालय, दक्षिण कोरियाबाट स्नातकोत्तर र खेल विज्ञानमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । विद्यार्थी जीवनबाटै मिहिनेत र स्वरोजगारमा तल्लीन डा.लामिछाने कर्मप्रतिको लगनशीलता नै जीवनको मूल्य हो भन्ने मान्यता राख्नुहुन्छ । खेलकुदको औपचारिक अध्ययन गरेको तथा स्वयम् तेक्वान्दो र योङ्मुदोका चौथो डन प्राप्त खेलाडी भएकाले उहाँ अनुशासन, लगनशीलता र दृढतामा विश्वास तथा प्रयत्न, प्रतिबद्धता र परिणाममा ज्यादा केन्द्रित हुनुहुन्छ । उहाँले होटेल म्यानेजमेन्टमा लामो अनुभव हासिल गर्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल विज्ञानमा प्रशिक्षण दिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रशिक्षक तथा रेफ्रीको समेत भूमिका निर्वाह गरिसक्नुभएका डा. लामिछानेले खेलविज्ञका रूपमा राष्ट्रिय खेलकुद परिषद्मा पाँच वर्षभन्दा लामो समय अध्यापन तथा प्रशिक्षण गर्नुभएको छ । काठमाडौँस्थित हारती शिक्षा मन्दिर माविमा प्रधानाध्यापकका रूपमा १० वर्षभन्दा लामो समय सेवा गर्नुभएका डा. लामिछानेले परम्परागत शैलीको किताबी ज्ञानभन्दा फरक तरिकाले बालबालिका तथा विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक एवम् मनोवैज्ञानिक विकास गर्ने हेतुले आफ्नो विद्यालयमा व्यावहारिक, प्रयोगात्मक र रियल–वल्र्ड च्यालेन्जमार्फत शिक्षण सिकाइको उदाहरणीय तरिका अवलम्बन गर्नुभएको थियो ।
स्काउट, युनेस्कोको खेल विभागलगायत राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका शिक्षा तथा खेलकुदका विभिन्न कार्यक्रममा आबद्ध डा. लामिछाने आफ्ना भोगाइ, सिकाइ, पढाइ र बुझाइलाई नीति निर्माण तहमा लगेर लागू गर्न चाहनुहुन्छ । केही दशकअघिसम्म हाम्रोजस्तै आर्थिक अवस्था भएको दक्षिण कोरिया कसरी विकसित मुलुकमा परिणत भयो भन्ने नजिकबाट देख्नुभएका उहाँले आफ्नो मातृभूमि नेपाल, त्यसमा पनि जन्मभूमि नुवाकोटको भूमिलाई विकास र समृद्धिका बाटामा अग्रसर गराउने उद्देश्य र खाकासहित नयाँ दृष्टि र लक्ष्य लिएर नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनी विजय हासिल गर्नुभएको छ । दुई छोरी, श्रीमती र आमासहित नेपालमै बसेर सक्रिय प्राज्ञिक, सामाजिक र राजनीतिक भूमिका निर्वाह गर्दै आउनुभएका डा. लामिछानेका दुवै सन्तति हाल नेपालमै स्नातकोत्तर र स्नातक तहमा अध्ययनरत छन् । भावी सन्ततिका लागि बस्नलायक देश बनाउने सङ्कल्पसहित राजनीतिमा होमिनुभएका डा. लामिछानेलाई नुवाकोट २ का मतदाताले प्रतिनिधि बनाएर पाँच वर्षका लागि पठाएका छन् ।






प्रतिक्रिया